Presidential

मधेसका अधिकांश जिल्लामा कम रोपाइँ


मधेसका अधिकांश जिल्लामा कम रोपाइँ

२५ साउन । तराई–मधेसका २० जिल्लामा कम पानी परेका कारण समयमै रोपाइँ हुन नसक्दा यो वर्ष धान उत्पादन कम हुने अनुमान गरिएको छ । गएको वर्ष भने समयमै वर्षाद् भएका कारण धान उत्पादन वृद्धि भएको थियो । धान उत्पादन वृद्धि भएकै कारण गत वर्ष आर्थिक वृद्धिदरसमेत भएको थियो ।

यस पटक भने मध्य वर्षाद् सकिन लाग्दा पनि मधेसका अधिकांश जिल्लामा शतप्रतिशत रोपाइँ हुन सकेको छैन । केही जिल्लामा मात्र शतप्रतिशत रोपाइँ भएका छन् । तर, अधिकांश जिल्लामा भने आधा मात्रै रोपाइँ भएका छन् ।

कृषि विकास मन्त्रालयका सहप्रवक्ता शंकर सापकोटाका अनुसार, रोपाइँ कम भएका जिल्लाहरुका किसानलाई लक्षित गरेर राहत कार्यक्रम सरकारले ल्याएको हुँदा कम वर्षादका कारण कम रोपाइँ भएका जिल्लाहरुमा समेत रोपाइँ हुनसक्ने देखिएको छ ।

अहिलेसम्म कैलाली र कञ्चनपुर गरी दुई जिल्लामा मात्र शतप्रतिशत रोपाइँ भएका छन् । त्यस्तै, रुपन्देही, नवलपरासी, पर्सा र बारामा ९९ प्रतिशत रोपाइँ भएका छन् । त्यसपछि सुनसरीमा ९६, बर्दियामा ९१, रौतहट र चितवनमा ९०, कपिलवस्तु र बाँकेमा ८५, झापामा ८२ र दाङमा ७५ प्रतिशत रोपाइँ भएका छन् ।

अन्नको भण्डार मानिने मोरङमा भने कम वर्षाद्का कारण अहिलेसम्म ६५ प्रतिशत मात्र रोपाइँ भएको छ । यस्तै, सप्तरीमा ७० प्रतिशत रोपाइँ भएको छ भने सिरहा, धनुषा र सर्लाहीमा आधा मात्रै अर्थात् ५० प्रतिशत मात्र रोपाइँ भएका छन् । सबभन्दा कम महोत्तरीमा ४५ प्रतिशत रोपाइँ भएको छ ।

    
        Loading...

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

    
        Loading...     
    

अन्तरवार्ता

समाचार