Presidential

डुबानबारे भारतीय पक्षसँग कुरा गर्न चर्को दबाब


डुबानबारे भारतीय पक्षसँग कुरा गर्न चर्को दबाब

४ भदौ । तीन दिनपछि प्रधानमन्त्री शेरबहादुर देउवाको भारत भ्रमण हुँदै छ । भ्रमणका क्रममा द्विपक्षीय सम्बन्ध र हितका विषयमा छलफल हुन्छ नै, तर त्यसभन्दा पनि धेरै यस पटक प्रधानमन्त्रीको भारत भ्रमण केही दबाबबीच हुन लागिरहेको छ ।

नयाँ दिल्ली टेक्नुअघि प्रधानमन्त्री देउवालाई नेपाल–भारत सीमामा भारतीय पक्षले एकतर्फी रुपमा निर्माण गरेका बाँधहरुबारे कुरा उठाउन चर्को दबाब परेको छ । साउनको अन्तिम हप्ता आएको भीषण बाढी, पहिरो र डुबानले तराई–मधेसको जनजीवन तहसनहस नै हुन पुग्यो । सयौं जनाले ज्यान गुमाए भने अर्बौंको भौतिक सम्पत्ति क्षति हुन पुग्यो । अहिले पनि मधेस डुबानले उब्जाएको समस्या टरिसकेको छैन । विस्थापितहरुलाई कसरी पुनः व्यवस्थापन गर्ने भन्ने समस्या सरकारसामु रहेको छ ।

मधेसका अधिकांश भूभाग डुबानमा पर्नुका कारण भारतीय पक्षले सप्तकोसी र लक्ष्मणपुर व्यारेजका ढोकाहरु समयमै नखोल्दा भएको स्पष्टै देखिएको छ । उपप्रधानमन्त्री एवं परराष्ट्रमन्त्री कृष्णबहादुर महराले सप्तकोसी र लक्ष्मणपुर व्यारेजका ढोकाहरु खोल्न भारतीय पक्षलाई गरेको आग्रह समयमै सुनुवाई भएन । कोसीको बहाव घटेपछि सप्तकोसीको ढोका खोलिए पनि त्यतिन्जेलसम्म नेपालले धेरै नै क्षति बेहोर्नु परिरहेको थियो । त्यसबाहेक मधेसका अधिकांश भूभाग डुबानमा पर्नुमा भारतीय पक्षले सीमा नजिकै निर्माण गरेका साना–ठूला गरी डेढ दर्जनजति बाँधहरु रहेको पनि निक्र्योल गरिएको छ ।

प्रधानमन्त्री देउवाको भारत भ्रमणको एजेन्डामा सीमा क्षेत्रमा भारतले निर्माण गरेको बाँधको कुरा थिएन । पेट्रोलियम पाइपलाइनलगायत विषय नै द्विदेशीय छलफलको एजेन्डामा थिए । तर, भारत भ्रमणमा निस्किनुअघि राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्न पुग्दा ‘भारत भ्रमणका क्रममा भारतीय पक्षबारे डुबानबारे कुरा राख्न’ सल्लाह दिएपछि प्रधानमन्त्रीलाई चर्कै दबाब परेको छ । शनिबार राष्ट्रपति भण्डारीले देउवालाई सीमा क्षेत्रमा निर्माण गरिएका बाँधले मधेस डुबानमा परेको उल्लेख गर्दै बाँध र तटबन्धका विषयमा भारतसँग गम्भीर कुराकानी गर्न सुझाव दिएकी थिइन् ।

राष्ट्रपतिले डुबानबारे भारतीय पक्षसँग गम्भीर रुपले कुरा उठाउन आग्रह गरेलगत्तै पूर्वप्रधानमन्त्रीहरुले पनि भारत भ्रमणमा जान लागेका प्रधानमन्त्री देउवालाई डुबानका समस्यालाई केन्द्रविन्दुमा राखेर भारतीय पक्षसँग कुराकानी गर्न सुझाव दिएका थिए । पूर्वप्रधानमन्त्रीहरु झलनाथ खनाल, पुष्पकमल दाहाल, लोकन्द्रबहादुर चन्द र खिलराज रेग्मीले सो विषयमा प्रधानमन्त्री देउवालाई सल्लाह दिएका थिए ।

    
        Loading...

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

    
        Loading...     
    

अन्तरवार्ता

समाचार