Presidential

नारायणगढ मुग्लिन सडक पुनः अवरुद्ध, रिउ नदीले खतराको सङ्केत नाघ्यो

नारायणगढ मुग्लिन सडक पुनः अवरुद्ध, रिउ नदीले खतराको सङ्केत नाघ्यो

१७ असार । चितवनको चण्डिभञ्याङ गाविस–९ स्थित पाँचकिलो भन्ने पहिरोसँगै खसेको ढुङ्गो हटाएर खुलाइएको केही घन्टामै फेरि नारायणगढ मुग्लिन सडक अवरुद्ध हुन पुगेको छ ।

रोकिएका गाडी गन्तव्यमा जान नभ्याउँदै पहिरो खसेको प्रहरीले जनाएको छ । भारी वर्षासँगै खसेको ढुङ्गा सडकमा तेर्सिंदा बिहान ५ बजेर ५० मिनेटदेखि अवरुद्ध सडकलाई केही घन्टा लगाएर खुला गरिएको थियो । अहिले फेरि चार स्थानमा पहिरो खसेर बाटो पूर्ण बन्द भएको छ ।

‘गाडी पास हुनै नपाइ पुनःपहिरो खसेर बाटो बन्द भयो, चितवनका प्रहरी प्रमुख एवम् प्रहरी उपरीक्षक वसन्तबहादुर कुँवरले भने, डोजरको सहायतामा पहिरो हटाउने क्रम जारी छ ।’ तर पानी पर्न नरोकिएकाले मुस्किल भइरहेको उनले जानकारी दिए ।

उक्त सडकको चार किलो, पाँच किलो, नौ किलो र घुमाउने भन्ने स्थानमा पहिरो खसेको छ । एक ठाउँमा पहिरो हटाउँदा अर्को स्थानमा पहिरो खस्ने क्रम रहेकाले यहाँका यात्रुहरुले सास्ती पाएका छन् ।

सडक बन्द हुँदा उक्त खण्डमा गाडीको लामो लाइन लागेको छ । दैनिक सातहजार भन्दा बढी सवारी चल्ने सो सडकखण्ड बन्द हुँदा चितवनबाट काठमाडौँ, पोखरा क्षेत्र जाने आउने सवारी पूर्णरुपमा रोकिन्छन् ।
यता रातिदेखिनै परेको वर्षाका कारण चितवनको जनजीवन प्रभावित भएको छ । दक्षिण माडीका खोलामा बाढी आएकाले यातायात अवरुद्ध छ । बिहान बाढीले खतराको सङ्केत नाघेको जिल्ला विपद् व्यवस्थापन समितिका सूचना अधिकारी बलराम लुइँटेलले जानकारी दिए ।

माडीको रिउ नदीले खतराको सङ्केत नाघ्यो

यसैगरी दक्षिण चितवनको माडीमा रातिदेखि परेको वर्षाका कारण रिउ नदीमा खतराको सङ्केत नाघेको छ ।

जिल्ला विपद् व्यवस्थापन समितिका सूचना अधिकारी बलराम लुइँटेलका अनुसार यहाँको नदीको सतह ३ दशमलव ४ मिटर नाघेमा खतराको सङ्केत हुन्छ । तर अहिले बाढीको सतह ३ दशमलव ८ मिटर पुगेको छ ।

खतराको सङ्केत नाघेपछि घन्टी बज्न थालेको लुइँटेलले जानकारी दिए। योसँगै सोही क्षेत्रमा पर्ने मगुई र बाँदरमुढे खोलाले समेत खतराको सङ्केत नाघेकाले सो क्षेत्र आपपासका स्थानीयवासीलाई सतर्क हुन अपिल गरिएको समितिले जनाएको छ । उनले सबै समिति र उपसमितिका पदाधिकारीहरुलाई सूचना आदानप्रदान गरिएकाले कुनै घटना भइहाले उद्धारको तयारीमा रहन निर्देशन दिएको बताए ।

सो सतह बढेसँगै यहाँको धोबाहा, रतनी, बोटे सिमरा, अमिलियालगायत गाउँ प्रभावित भएका छन् । जल तथा मौसम विज्ञान विभाग बाढी पूर्वानुमान शाखाले केही बेरअघि एक सूचना जारी गरी वर्षा अझै रहने भन्दै दिनभर माडी आसपासका मानिसलाई सतर्क रहन आग्रह गरेको छ ।

गत वर्ष युएनडिपीको सहयोगमा यहाँका विभिन्न पाँच ठाउँमा पूर्व सूचना प्रणाली निर्माण भएपछि खतराको जानकारी पहिले नै आएको हो ।

गएरातिदेखि परेको भारी वर्षाका कारण दक्षिण चितवनको माडीको जनजीवन प्रभावित भएको छ । जिल्ला विपद् व्यवस्थापन समिति चितवनले दक्षिण माडीलाई बाढीको उच्च जोखिम क्षेत्रका रुपमा पहिचान गरेको छ ।

वर्षापछि यहाँका खहरे खोलामा उर्लिएको बाढीले माडी–ठोरी, भरतपुरको सवारी आवागमनसमेत अवरुद्ध भएको छ । माडी नगरपालिकाको चिताई खोला पुल नजिकैको केही मिटर सडक नै बाढीले भत्काएको इलाका प्रहरी कार्यालय माडीले जानकारी दिएको छ ।

अहिले पनि वर्षा जारी रहेकाले सतर्क रहन भनिएको छ । राति १ बजेदेखि परेको पानी अझै यहाँ जारी छ । रासस

    
        Loading...     
    

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

        
            Loading...     
        

    अन्तरवार्ता

    समाचार