Presidential

यस्तो हुनुहुन्थ्यो राजेश्वर देवकोटा


यस्तो हुनुहुन्थ्यो राजेश्वर देवकोटा

(रोचक घिमिरे, नेपाली साहित्यिक पत्रकारिताको उच्च र सम्मानित नाम । ५६ वर्षदेखि निरन्तर प्रकाशन हुँदै आएको ‘रचना’ का सम्पादक एवं नेपाल साहित्यिक पत्रकार संघको पूर्वअध्यक्ष घिमिरेलाई २०७३ सालको पद्मश्री साधना सम्मानबाट बिहीबार मात्रै सम्मानित गर्ने निर्णय भएको छ । अथक साधक घिमिरेसँगै अर्का अग्रज साहित्यिक पत्रकार नगेन्द्रराज शर्मा पनि सम्मानित भएका छन् ।

सम्मानित सर्जक घिमिरेप्रति हार्दिक बधाइ अर्पण गर्दै उनको नयाँ संस्मरणात्मक कृति ‘अनुहार र अनुभूति’ भित्र समेटिएको एउटा संस्मरण प्रस्तुत गरिएको छ । सो किताब बुकआर्ट नेपालले केही समयअघि प्रकाशन गरेको हो ।)

‘रचना’ पत्रिका प्रकाशनको तयारीका क्रममा नै लेखक साहित्यकारहरू सँग मेरो परिचय भएको हो । परिचय गराउने माध्यम कतै भैरव अर्याल कतै रमेश विकल हुन्थे । साहित्य क्षेत्रमा म नवागन्तुक थिएँ भने उनीहरू स्थापित भैसकेका लेखक थिए । यस्तै स्थितिमा एक दिन भैरवले मलाई वासुदेव लुइँटेल कहाँ लिएर गए । पाटन ढोका स्थित मदन पुरस्कार गुठीमा कार्यरत लुइँटेललाई भेट्न हामी उहाँको कार्यालयमा गयौं । कुरा बुझे पछि उहाँले आफ्नो एउटा व्यङ्ग्य कविता दिनुभयो । अनि भन्नुभयो– “तिमीहरू बित्ते कहाँ जाओ ! उसको पनि लेख माग, चर्को व्यङ्ग्य लेख्न कहलिएको छ उ पनि ।” यो बित्ते भनेको को हो मैले बुझिन । भैरव चाहिँ बित्तेसँग परिचित रहेछन् । लुइँटेलको कोठाबाट बाहिरिएपछि मैले भैरवसँग सोधें– यो बित्ते भनेको को हो ? भैरवले भने– ‘यी लुइँटेल बुढा जसको पनि आफ्नै तालले न्वारन गर्छन् बुझ्यौ । राजेश्वर देवकोटाको नाम यिनले ‘बित्ते’ राखेका छन् ।’ होचो कदका, पातलो जिउडालका भएको हुनाले राजेश्वरलाई चिनाउने नाम ‘बित्ते’ राखेको रहेछ भन्ने बुभेंm मैले ।

अर्को दिन राजेश्वर देवकोटालाई भेट्न भैरव र म नयाँसडकको दमकल पछाडि रहेको ‘नेपाल एड्भटाइजर्स’ भन्ने विज्ञापन एजेन्सीको अफिशमा गयौं । राजेश्वर त्यहींका हाकिम हुनुहुन्थ्यो । हामीले उहाँलाई भेटेर एउटा व्यङ्ग्य लेख ‘रचना’ का निम्ति माग्यौं । दुई तीन दिन पछि लिन आउने तारीख दिनुभो उहाँले । पछि मैले गएर लेख ल्याएँ । ‘झर्रोको कथा’ शीर्षकको राजेश्वर देवकोटाको त्यो लेख ‘रचना’ को पहिलो अङ्क (२०१८ वि.सं.) मा छापिएको छ ।

राजेश्वर देवकोटालाई सर्वप्रथम मैले त्यसरी चिनेको हुँ । त्यसो त परिचय हुनु अगाडि नै मैले उहाँलाई टाढैबाट देख्ने गरेको चाहिं थिएँ । बागबजारको सडकमा बराबर एक जोर मान्छे हिंडेका देखिन्थे । एक जना निकै अग्ला, डम्म जिउडाल भएका र अर्का चाहिँ निकै होचा, दुब्ला पातला थिए । त्यो चल्तीको सडकमा तिनलाई देख्नेहरू भन्थे ‘लौ डण्डीबियो आउँदैछन् ।’ ती अग्ला मान्छे बालचन्द्र शर्मा डण्डी र होचा मान्छे राजेश्वर देवकोटा बियो रहेछन् भनेर पछि थाहा भो मलाई । मान्छे अनुसारको कस्तो सार्थक नाम रहेछ ।

राजेश्वर पछि मन्त्री समेत हुनुभो । त्यो बेला पनि उहाँलाई उपहासको पात्र बनाइन्थ्यो । ट्राफिक प्रहरीले ड्राइभर मात्र भएको कार झण्डा फहराउँदै सडकमा गुडेको देखेर रोकेछ र भनेछ– ‘मन्त्री नभएको गाडीमा झण्डा फहराएर हिड्ने हो ?’ पछाडिको सीटमा टेकेर उभिदै गाडी भित्रको मान्छे बोलेछ– ‘ए म यहीं छु, म नै मन्त्री हुँ !’

राजेश्वरको उपहासमा चलाइएको अर्को भनाइ पनि त्यो वेला चर्चित थियो । एक जना व्यक्ति राजेश्वर देवकोटालाई भेट्न उहाँको घर गएछ । झ्यालमा एक जना बालकलाई देखेर सोधेछ– ‘ए बाबु बुवा हुनुहुन्छ ?’ बालकले भनेछ ‘हुनुहुन्छ, बैठकमा बस्तै गर्नुस्, म पठाइदिन्छु ।’ पछि बैठकमा गृहपति प्रविष्ट भएछन् । आगन्तुक जिल खाएछ, झ्यालमा देखिएको त्यही बालक नै पो राजेश्वर देवकोटा रहेछन् ।

093fcf5e19bf39879b7decc20ca760c6

राजेश्वर देवकोटा भूमिसुधार मन्त्री हुनुहुन्थ्यो । एक दिन उहाँका निजी सचिवको फोन आयो मलाई । उनले भने– ‘मन्त्री जी कुरा गर्नुहुन्छ रे ।’ उताबाट भनियो– ‘रोचक बाबु ! बाबुराम पौडेलले सम्पर्क निम्ति तपाईंको फोन नम्बर टिपाउनु भएको रहेछ । उहाँलाई जहाँ भए पनि मलाई तुरुन्त भेट्न भन्दिनुस् है !’ मैले ‘हवस्’ भनें र फोन राखियो । बाबुराम पौडेल त्यो वेला आफ्नो घर रामेछाप गएका थिए । मैले तुरुन्त आकाशवाणी मार्पmत् मन्त्रीको सन्देश उनीकहाँ पठाएँ । उनी छिट्टै काठमाडौं आएर मन्त्रीलाई भेटे । अनि दाङको भूमिसुधार अधिकारी नियुक्त भएर गए ।

राजेश्वर देवकोटा मन्त्री, राष्ट्रिय पञ्चायतको अध्यक्ष जस्ता ठूला ठूला पदमा पुग्नुभो । प्रशासनिक दायित्वबाट मुक्त भएपछि उहाँ बृहत् आध्यात्मिक परिषद् नामक संस्थामा सक्रिय हुनुभो । मेरा पिता सोमनाथ घिमिरे व्यास पनि त्यस संस्थामा आबद्ध हुनुहुन्थ्यो । योगी नरहरिनाथ त्यसका अध्यक्ष हुनुहुन्थ्यो । योगीजीका निकटवर्ती भएकाले मेरा पिता र राजेश्वर दुवैको आत्मीयता बढ्नु स्वाभाविकै थियो । मलाई उहाँ ‘साथीका पुत्र साथी’ भन्ने गर्नुहुन्थ्यो । कहिले काहीं राजेश्वर राष्ट्रिय पञ्चायतको चुनाव पनि लड्ने गर्नु हुन्थ्यो । त्यो वेला म कहाँ आएर भन्नुहुन्थ्यो ‘हाँडी गाउँका किसानहरूसँग मेरा निम्ति भोट मागिदिनु प¥यो ।’ उहाँको आग्रह टार्न नसकेर आफ्नो जग्गा कमाउने केही स्थानीय किसान सँग भेट गराइदिन्थें ।

साधु सन्तहरू प्रति विशेष आस्था राख्ने प्रवृत्ति उहाँमा देखिन्थ्यो । योगी नरहरिनाथ प्रति ज्यादै आदरभाव राख्नु हुन्थ्यो । स्वामी प्रपन्नाचार्यलाई त सार्वजनिक कार्यक्रममा उहाँले खुट्टैमा निहुरेर ढोगेको देखेको छु मैले । हिन्दू राष्ट्र, हिन्दू राजा, सनातन हिन्दू शिक्षाका पक्षपाती हुनुहुन्थ्यो राजेश्वर ।
‘रचना’ लाई बराबर लेख रचना दिनुहुन्थ्यो । कहिले डा. सुमन ढकाल मार्पmत् त कहिले आफ्नै सहयोगी मार्पmत् आफ्ना सृजना पठाउने गर्नु हुन्थ्यो । अज्ञात लेखक र अज्ञात पाठक भनेर पनि आफ्नो सामग्री प्रकाशनार्थ पठाउने गर्नु हुन्थ्यो । शैलीले गर्दा अरूकै अक्षर भएपनि म चिनिहाल्थें । लुकुवा लेखकलाई मैले चिनें भन्थें । यो सम्पादक सँग केही लागेन भन्ने प्रतिकृया व्यक्त गर्नु हुन्थ्यो ।

आफ्नो सामग्री छापिएको भए पनि नभएपनि ‘रचना’ का नियमित पाठक हुनुहुन्थ्यो राजेश्वर देवकोटा । कहिले उहाँको घरमा आपैंm गएर पत्रिका दिन्थें, कहिले डा. सुमन ढकाल मार्पmत् पठाउने गर्थें । कुनै अङ्क पुगेन भनें फोन गरेर माग्नु हुन्थ्यो । उहाँको घरमा जाँदा दूध दही मोही खान पाइन्थ्यो । गाई पाल्ने गर्नु हुन्थ्यो, परालको ठूलो कुन्यू हुन्थ्यो । कहिले त उहाँ आपैmंले दूध दुहेको पनि देखिन्थ्यो । यस्तो थियो उहाँको गो सेवा ।

राजेश्वर देवकोटा सँग घटेको एउटा घटना हामी दुवैका निम्ति अविस्मरणीय रहेको छ । त्यस घटना बारे साङ्केतिक रूपमा मात्र ‘अज्ञात लेखक’ का नाममा ‘वासुदेव पुराण’ शीर्षक वासुदेव लुइँटेल बारेको पुस्तकमा उहाँले दुर्घटनाका साथी भनेर मेरो बारेमा अलिकति लेख्नु भएको छ । त्यति मात्रले घटना स्पष्ट बुझिदैन । यस बारेमा मैले उहाँलाई भनें “त्यस घटनाबारे तपाईं लेख्नु हुन्न भने म लेख्छु ।’ उहाँले ‘म नै लेखौंला, मैले लेखिन भनें तपाईं लेख्नु होला’ भन्नुभो । तर उहाँले लेख्न भ्याउनु भएन । अहिले म त्यस बारेको रहस्योद्घाटन गर्दैछु ।

एकतीस बत्तीस सालतिर हुनुपर्छ । हामी दम्पती पोखरा घुम्न गएका थियौं । स्वीस बस सर्भिसको पर्यटक बसमा चढेर हामी काठमाडौं फर्कदै थियौं । डुम्रे तिर बस पुगेपछि एक जनाले बस रोके । तिनको एउटा हातमा काउलीका बिरुवाको मुठो थियो । अर्को हातमा झोला थियो । ड्राइभरले बस रोकेर काठमाडौं जान लागेका ती यात्रीलाई गाडीमा चढाए । भित्र आएपछि चिनें उहाँ त राजेश्वर देवकोटा हुनुहुँदो रहेछ । उहाँले पनि मलाई देख्नु भो र मेरो नजीकैको खाली सीटमा बस्नुभो । दुवै जना विभिन्न गफमा मग्न हुँदै रमाइलो सँग बाटो छोट्याउँदै आयौं । राजेश्वर एक्लै हुनुहुन्थ्यो म श्रीमती सहित थिएँ ।

हाम्रो बस थानकोट गुर्जुधारा हुँदै कलङ्की तर्पm अघि बढिरहेको थियो । ढुङ्गा अड्डा निरको ओरालोमा पुगेपछि ड्राइभर ब्रेक ! ब्रेक ! भन्दै थिए । ब्रेक फेल भएको बस अचानक भित्तामा गएर ठूलो स्वरमा ड्याङ्ग गरेर रोकियो । बस भित्र कोलाहल मच्चियो । श्रीमती सुस्मिता तिर हेरें, बस अगाडिको डण्डीमा टाउको ठोकिएर रक्ताम्य भइछन् । बेहोस् भएकी उनलाई समात्दै बस बाहिर ओर्लिएँ । धन्न ड्राइभरले भित्तामा ठोकाएर जोगाएछन् । सडकको अर्को तर्फ बस खसेको भए कति जना सिलटिम्मूर हुने स्थिति रहेछ । बाहिर निस्केपछि देखें एक जना छ्ट्पटाउँदै क्रन्दन गरिरहेका छन्, वरिपरि मान्छेले घेरेका छन् । को रहेछ भनेर ठम्याएर हेर्दा देखें– त्यो व्यक्ति राजेश्वर देवकोटा पो हुनुहुँदो रहेछ । यता मेरी श्रीमती पनि अशक्त थिइन् । राजेश्वरजीको हालत झन् खराब लाग्यो । अब दुवैलाई जतिसक्तो चाँडो अस्पताल पु¥याउनु एक मात्र विकल्प थियो । धन्न एउटा ट्याक्सी भेटियो । ती दुर्घटनाग्रस्त दुवै जनालाई ट्याक्सीमा हालेर बीर अस्पतालको इमर्जेन्सी वार्डमा ल्याएँ । त्यहाँ दुवैको परीक्षण गरे डाक्टरले । अङ्ग परीक्षण निम्ति राजेश्वरजीको लुगा फुकाल्नु प¥यो । उहाँ इन्तु न चिन्तु हुनुहुन्थ्यो । जाडो वेला थियो । उहाँको ओभर कोट खोलें, भित्र कोट खोलें, त्यसपछि लबेदा खोलें, लबेदा पछि न्यानो खेसको भोटो रहेछ, त्यस भित्र गन्जी रहेछ । तल पनि जाडोका त्यस्तै परिधान थिए । यसरी पाँचपत्र लुगा फुकालेपछि बल्ल उहाँको परीक्षण, एक्सरे आदि भयो । यत्रो लुगा लगाएपछि मात्र राजेश्वर देवकोटाको व्यक्तित्व हेर्न लायक देखिदो रहेछ । मेरी श्रीमती त चाँडै होसमा आइन्, देवकोटाजीको होस् अलि पछि खुल्यो । दुवैजनाका निधारमा, टाउकोमा गालामा तीन चार ठाउँमा टाँका लगाउनु प¥यो । होस् खुलेपछि राजेश्वरजीले म तिर हेर्दै भन्नुभो– ‘म कहाँ छु ?’ मैले वृत्तान्त बताएँ । डाक्टरले अब घर गएहुन्छ भने । मैले राजेश्वरजीको घरमा फोन गर्न खोजें । होइन आत्तिन्छन् नगरौं भनेर उहाँले रोक्नुभयो । अब दुवै जना बिरामीलाई घर लैजान ट्याक्सी ल्याएँ मैले । राजेश्वरजीले ‘म एक्लै जान्छु, सक्छु ट्याक्सी ल्याइदिनुस् तपाईंकी श्रीमतीलाई पनि चाँडै घर लगेर आराम गराउनु छ ढिलाहुन्छ’ भन्नुभो । उहाँले मान्दै नमाने पछि मैले त्यही ट्याक्सीका ड्राइभरलाई अराएर उहाँलाई घर पठाएँ । अर्को ट्याक्सी लिएर श्रीमती सहित म आफ्नो घर फर्किएँ ।

सात दिन पछि टाँका खोल्न अस्पतालमा बोलाएको थियो । श्रीमतीलाई लिएर म गएँ । राजेश्वर त टाँका खोल्न अस्पताल किन आउनु हुन्थ्यो होला र ! घरमै डाक्टर कम्पाउन्डर बोलाएर टाँका काट्न लगाउनुभयो होला भन्ने ठान्यांै हामीले । नाम लेखाएर आफ्नो पालो पर्खेर बस्यौं हामी । टाँका काट्ने कोठा बाहिर निकै भीड थियो । हाम्रो पालो आएको थिएन यत्तिकैमा ढोका बाहिर उभिएका पालेले कराए र भने राजेश्वर देवकोटा ! ! उनले दुई तीनपटक यो नाम भने । पालो पर्खिएकाहरू गाईं गुईं गर्न थाले यी त पहिलेका मन्त्री होइनन् र ? कहाँ छन् त ती ? चारै तिर हामी पनि उत्सुक भएर हेर्दै थियौं । भीडको बीचबाट उठेर एक जना साना मान्छे फुत्रुक् फुत्रुक् गर्दै डाक्टरको कोठा भित्र पसे । हामी पनि छक्क प¥यौं । बुढा पनि टाँका खोल्न अस्पतालमै पो आएछन् भनेर छक्क प¥यौं । टाँका खोलिसकेर राजेश्वर बाहिर आउनुभयो । हामीलाई देखेर नजीक आएर मेरी श्रीमतीलाई सोध्नुभो ‘कस्तो छ नानीलाई ? ठूलो दशा काट्यौं हो कि हामीले !’ मैले भने– ‘टाँका काट्न अस्पताल मै आउनु भएको ?’ उहाँले भन्नुभो– ‘किन मैले आउनु हुँदैन र ? तपाईंहरू जस्तै त हुँ नि म पनि ।’ उहाँको यस्तो सरलता र सादगी उदाहरणीय लाग्यो मलाई ।

दुर्घटना बारेको उपर्युक्त घटना लेख्छु भनेर पनि लेख्न भ्याउनु भएन राजेश्वरजीले । उहाँको अवसान पछि त्यो अविस्मरणीय घटना बारे लेख्नु सान्दर्भिक ठानें । राजेश्वर देवकोटा अब हाम्रो माझ हुनुहुन्न । उहाँको कर्म, उहाँका कृति र नेपाली साहित्यलाई समृद्ध पार्न दिनुभएको योगदानले गर्दा भौतिक शरीर नरहेपनि स्रष्टा राजेश्वर देवकोटा अविस्मरणीय भएर हाम्रो स्मृतिमा जीवन्त रहिरहनु हुने छ ।

आफ्ना प्रकाशित पुस्तक दिने गर्नु हुन्थ्यो देवकोटा । पछिल्ला दुइटा पुस्तक मलाई दिन बाँकी थिए । अस्वस्थावस्थामा नै उहाँले ती पुस्तक डा. सुमन ढकाल मार्पmत् मलाई पठाउनु भएछ । फोनमा कृतज्ञता व्यक्त गरें । पछि अस्पतालमा भर्ना भएर उपचार गराउनु भयो । त्यस वेला आफू काठमाडौं बाहिर भएको हुँदा उहाँ सँग भेट हुन सकेन । फोनमा भएको त्यो वार्तालाप नै उहाँसँगको अन्तिम सम्पर्क हुन पुग्यो ।

श्रीमतीको निधन पछि उहाँ एक्लो हुनुभएको थियो । सन्तानहरू बाहिर विदेशमा थिए । एक्लोपना र अस्वस्थता दुवैबाट आक्रान्त हुनुहुन्थ्यो उहाँ । आफ्mन्त बिहीन एकाकी अस्वस्थ जीवन भोगाइकै बीच भौतिक शरीर छोड्नु भो । १९८६ असोज २३ मा जन्मेका राजेश्वर देवकोटा २०७२ साउन २५ मा दिवंगत हुनुभयो । आपूm प्रति स्नेह र सद्भाव राख्ने यी दिवंगत स्रष्टा प्रति हार्दिक नमन !

    
        Loading...

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

  • सहरमा बाँच्न मर्न जान्नुपर्छ

    सहरमा बाँच्न मर्न जान्नुपर्छ

    हो, सहरले उसलाई पटकपटक ठगेको छ । यो सहरका मान्छेहरू मतलबी र स्वार्थी छन् । यो कुरा उसले साँचै भनेको हो । उसले ..

  • ‘तपाईँहरूले मैले गर्न नसक्ने कुरा माग्नुहुन्छ कि भन्ने डर लागेको थियो । यो समस्या त मेरा लागि केही होइन, बायाँ..

  • अमर शाहका दुई कविता

    अमर शाहका दुई कविता

    यसरी फर्कदा जन्म गाउँमा लामो अन्तरालपछि खाटा बस्दै गरेको घाउ कन्याएझैं गरिरहेछु अनुभव लगातार पीडा र आनन्दको..

  • युनिक र मायाको ‘तीजको गीतमा’ को म्युजिक भिडियो सार्वजनिक

    युनिक र मायाको ‘तीजको गीतमा’ को म्युजिक भिडियो सार्वजनिक

    उक्त गीतमा सुरज गैरे विवशको शब्द रहेको छ भने अर्जुन पोखरेलको संगीत रहेको । सो गीतको म्युजिक भिडियोको निर्देशन ..

    
        Loading...     
    

अन्तरवार्ता

समाचार