Presidential


प्रतिस्पर्धा

हाम्रो गाउँमा यसपालि पनि छनौटको मेला लाग्यो । मलाई सेवक छान्नुस् भन्नेहरू युवा–युवती, प्रौढ–प्रौढा, गोरो, कालो, गहुँगोरो, सबैथरीका मान्छेहरूलाई लिई घर–घरमा धाइरहेका छन् ।

‘सेवक अरूलाई होइन मलाई छानेर फेरि एक पटक सेवा गर्ने मौका दिनुस् । अब त अनुभवी पनि भा’छु । विदेशबाट तालिम लेरा’ छु । अरूले भन्दा राम्रोसँग सेवा गर्छु । फेरि एकपटक काम गर्ने मौका दिनुस् बिन्ती छ’– पुरानाहरू भन्छन् ।

‘सेवक छान्दा पनि विचार पु¥याउनुपर्छ । मीठो बोलेको भरमा विश्वास ग¥यो भने पहिलेकै जसरी धोका पाइन्छ । पुरानाले सुत्केरी भत्ता खाने, रातो पासपोर्ट बेच्ने, दल बदल्ने, भ्रष्टाचार गर्ने गरी तपाईँहरूलाई धोका दिए । त्यस्ता कुपात्र होइन, हामीजस्ता सुपात्र छाने पो गाउँमा क्रान्ति र विकास आउँछ त ।’ कोही फकाउँछन् ।
‘परिवर्तन, विकास, क्रान्ति, सबैले भन्छन् तर गर्दैनन् । हामीले भने गरेरै देखाउछौँ ।’ अर्काथरी चर्का कुरा गर्दछन् ।

यसबाट गाउँको काममा बाधा पुगेकोले गाउँलेहरूले कचहरी डाके । कचहरीमा निम्न कुरामा छलफल भयो–

‘जाबो सेवक छान्न पनि हामीलाई कसैले सिकाउनुपर्छ त ? को इमानदार हो । को चण्डाल हो । को मुखौटे छ । कसले के ग¥यो । आएकामध्ये सेवकमा को फिट हुन्छ यस्ता कुरा त यिनीहरूले हामीलाई सोध्नुपर्ने । कस्तो उल्टो जमाना हो यो ? हामीलाई पो सिकाउन आउँछन् बा….।’

त्यसपछि– ‘हामी गरीब छौँ । दैनिक पाखुरा नबजाई हाम्रो चुल्हो बल्दैन, यो हाम्रो परम्परा हो । अहिलेसम्म छानिएकाहरू मुखौटे भए । त्यसैले यसपालि कसैलाई पनि सेवक छानिदैन’– सर्वसम्मत निस्केको यो निस्कर्षलाई सबैले विनासर्त मान्ने कबुल गरे ।

तर भोलिपल्टदेखि गाउँका नाइके नै मलाई सेवक छान्नुस् भन्ने प्रत्येक समूहको अगुवाइ गरिरहेका भेटिए ।

ठूलो चोर

‘प्रमुखज्यू, तपाईँको जीतपछि हाम्रो गाउँमा चोरको बिगबिगी झन् बढ्यो । चोर पत्ता लगाई हदैसम्मको सजाय दिई हामीेलाई शान्ति सुरक्षा दिनुस् । जहिले पनि चुनावमा चोरी डकैती बढ्ने गरे पनि यसपालि त अचाक्ली नै भयो । चुनाव सकिएको कति भैसक्यो, लौन ! जे गरेर भए पनि शान्ति ल्याइदिनुस् । ‘म विजयी भएमा गाउँको चोरीचकारी नामेट पार्छु भन्नु भाथ्यो नि ! कृपा गरेर आफ्नो बचन पूरा गर्नुहोस् ।’

‘तपाईँहरूले मैले गर्न नसक्ने कुरा माग्नुहुन्छ कि भन्ने डर लागेको थियो । यो समस्या त मेरा लागि केही होइन, बायाँ हातको खेल हो यो । तपाईंहरू ढुक्क हुनुहोस्, भोलिदेखि नै चोरीचकारी सबै बन्द हुन्छ । तपाईँहरूले भोलिबाटै ढोका, दराज, सेफ, बाक्सामा ताला लगाउन नपर्ने गरी शान्ति सुरक्षा प्रदान गरिदिने छु ।’
गाउँलेका कुरा सुनेपछि भर्खर निर्वाचित गाउँप्रमुख चतुरलालले आश्वासन दियो । गुनासो गर्न गएका गाउँलेहरूलाई चुनाव जितेको उपलक्ष्यमा साँझमा भोज पनि खुवायो ।

गाउँलेहरू आफ्नो नेताको दरो आश्वासनबाट आश्वस्त भई राति मस्तसँग निदाए । भोलिपल्ट ब्यूँझँदा सबैका लत्ताकपडा, भाँडाकुँडा, अन्नपात, बस्तुभाउ धरी चोरी भयो । आङ्का लुगा र ओढेका च्यादरबाहेक घर, कटेरा, गोठ, खोर सबै हुरीले पत्कर बढारे जसरी सिनित्तै पारिदियो । गाउँमा कोलाहल मच्चियो । गाउँलेहरू रुँदै कराउँदै हारगुहार माग्न गाउँप्रमुखकोमा जाने सुरले भेला भए । भेलामा गाउँलेको सदा भलो चिताउने शिक्षक धीरज खत्री पनि गए । दुःखी गाउँलेका कुरा सुनिसकेपछि धीरजले भने– ‘हामी मूर्ख छम्, महामूर्ख ! नामूद चोर जान्दाजान्दै ठेस लागेको दोबाटाको ढुङ्गालाई देउता माने जसरी मान्छौँ, अनेक पटक हाकाहाकी अर्काको भोट चोर्नेलाई पटक पटक गाउँप्रमुख बनाउछौँ अनि हाम्रामा चोरी नभए कसकोमा हुन्छ त ?’

    
        Loading...

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

    
        Loading...     
    

अन्तरवार्ता

समाचार