Presidential

सहरमा बाँच्न मर्न जान्नुपर्छ


सहरमा बाँच्न मर्न जान्नुपर्छ

म त्यसबेला ‘गोरखापत्र’को जिल्ला समाचारदाता थिएँ । एकदिन मैले समाचार र फिचरबाट दिक्क भएर अब केही दिन औपचारिक समाचार नलेख्ने प्रण गरी अनौपचारिक समाचार बनाएर लेख्ने विचारले नयाँ काम गर्ने अठोट गरेँ । त्यसै विचारमुताविक मैले मेरै जिल्लाका पुराना साहित्यकारहरूलाई गोरखापत्रमा स्थान दिनुपर्छ भन्ने हेतुले उसको अन्तरवार्ता लिन गएँ । पहिले त उसले मलाई अन्तरवार्ता दिनै मानेको थिएन । मैले धेरै करकर गरेपछि मात्र मेरो टेपमा आफ्ना अभिमत राख्न ऊ सकारात्मक भयो ।

उसले भन्यो –‘नाथे गाउँमा बसेर लेख्ने लेखकको के अन्तरवार्ता न सन्तरवार्ता ।’

मैले उसको शिक्षण जीवन, राजनीतिक जीवन र साहित्यिक जीवनलाई त्रिवेणीका रूपमा आफूले मूल्याङ्कन गरेको फेहरिस्त प्रस्तुत गरेपछि मात्र ऊ त्यसबेला मलाई अन्तरवार्ता दिन राजी भयो । उसले रामै्र अन्तरवार्ता दियो पनि । मैले ऊबाट धेरै गुह्य कुरा सिँके । पत्रिकामा उसको वार्ता छापियो पनि । तर किनकिन मलाई उसको जीवनका पाटाहरूले भनेँ निकै दिनसम्म मथिङ्गलमा रिङ्ग्याई रहे ।

सम्पादित अंश निकै छोटो रूपमा पत्रिकामा आयो । मैले फेरि उसको घरमा गएर उसलाई पत्रिका देखाएँ । दिएँ । ऊ न खुसी न बेखुसी केही पनि भएन । मैले उसलाई प्रकाशनमा न्याय गर्न सकिनँ कि जस्तो लाग्यो । उसले धेरै कुरा गर्न चाहेन । म घर फिरेँ र आफूले पत्रिकामा पठाएको अनौपचारिक अंशलाई हेर्न थालेँ ।

उसले वार्तामा ‘म’ भने पनि यहाँ चाहिँ ‘ऊ’ भनेको यशराज हो । उसले सहरलाई कहिल्यै पनि सकारात्मक रूपले हेरेको रहेनछ । ऊ भन्ने गर्छ –‘मलाई सहरले पटकपटक ठगेको छ ?’

हो, सहरले उसलाई पटकपटक ठगेको छ । यो सहरका मान्छेहरू मतलबी र स्वार्थी छन् । यो कुरा उसले साँचै भनेको हो । उसले अठार सालमा मेट्रिक पास गरेको हो । उसले त्यसबेला केही समय सहरमा कलेज पनि पढ्यो तर उसलाई बाँच्न धौधौ परेकाले उसले सहर छोडिदियो ।

गाउँमा जानासाथ उसलाई पक्रेर प्राथमिक स्कुलको मास्टरमा भर्ना गरिदिए । त्यसबेला उसको उमेर यस्तै सोह्रसत्रको हुँदो हो । त्यही साल उसका बाले उसलाई आफ्नै जातकी केटी खोजेर बिहे गरिदिए । उसकी पहिली श्रीमतीको सवा वर्षमा निधन भयो । उसले एउटा छोरासम्म जन्माउँन भ्याई । त्यसपछि उसले आफैँले तीन वर्षपछि अर्की बिहे गर्यो । त्यसबाट उसका पाँच जना सन्तान भए । चार छोरा एक छोरी । सात वर्षको दाम्पत्यपछि माहिलीले पनि छोडेर गएपछि यति ठूलो संसारमा यशराज एक्लै भयो ।

माहिली गएकी वर्षदिनमै उसले साँहिली अर्थात् अहिलेकी कान्छी बिहे गरेको हो –झ्याँइझ्याँइ बाजै बजाएर । कान्छीतिर उसका सात सन्तान भए छ छोरी एक छोरा । उसका सबैतिर गरी सात छोरी छ छोराहरू भए । बारतेह्र वर्षको गाउँको मास्टरी गरेपछि उसलाई दिक्क भएछ ।

उसले जागिर बिसायो । पन्चायत जानेजाने बेलामा उसलाई गाउँमै उपप्रधानपन्चको टिकट दिइयो । उसले जित्यो । पन्चायत गए पनि ऊचाहिँ गएन । बहुदल आएपछि उसले फेरि टिकट पायो तर यसपाली भने उसले बामपन्थी उमेद्वार भएर टिकट पाएको थियो । फेरि जित्यो उसले । दुई कार्यकाल गाउँको सेवा गरेपछि उसले राजनीतिलाई पनि चटक्कै छाडिदियो । र साहित्य लेख्न थालेको हो । उसले पचासको दसकमा दुई वटा कवितासंग्रहका किताब प्रकाशन गरेको रहेछ । एउटा गाउँकै क्लबले प्रकाशित गरिदिएको रहेछ भने अर्को विराटनगरतिरको प्रकाशनले । उसले कहिल्यै आफ्नो कृति प्रकाशनका लागि कसैलाई जी हजुरी गरेको छैन । त्यसैले ऊ आफूलाई पछि परेको ठान्छ । यतिभएर पनि उसमा स्वाभिमान चुलिएको छ । उसले आफ्नो लेखन र व्यक्तित्वलाई आफ्नो जिल्लाले राम्रै गरी लिएकाले सन्तोस लिएको छ ।

एकदिन काम विशेषले म फेरि उसको घर गएँ । ऊ पुराना अखबार हेरेर फुलिस्केप कागजमा केके लेखिरहेको थियो । मकै भटमासले मेरो अदबपूर्वक स्वागत् गरेपछि उसले भन्यो –‘पैसा नै सबैथोक होइन । मन ठूलो पार्नुपर्छ । परिवारकै लागि मात्र पैसा थुपार्नुपर्छ भन्ने केही छैन ।’

मैले भने –‘हुन त हो तर अलिअलि पनि भएन भने त यसले मानिसलाई मार्दछ ।’

ऊ जङ्गीयो –‘के मानिसले मर्दा आफूसँगै पैसा लान्छ ?’

मैले भनेँ –‘लाँदैनँ ।’

–‘मेरा छोराछोरीहरू सबै एकसेएक छन् । सबैको एकै ठाउँमा बसाइ नभएपनि तिनीहरूलाई नपुग्दो भने केही छैन ।’

मैले हो भन्ने स्वीकृतिसूचक टाउको मात्रै हल्लाएँ ।

उसले थप्यो –‘भाइ, सहरमा बचाउँन आफूलाई मार्न जान्नुपर्छ । मैले सहरको रहर नगरेरै हो । म आफू जिउँदो होईहोई आफूलाई मुर्दा बनाउँन सक्दिनँ ।’

त्यसपछि उसले गाउँको अनेक कोणबाट बखान ग¥यो । उसले गाउँको आफ्नो जीवनलाई सहरको धपेडी युक्त जीवनभन्दा कता हो कता स्वर्ग ठानेको रै’छ । ऊ विवाद र चर्चाबाट धेरै सुदूर टाढा आज पनि आफ्नो साधनालाई पाइन हाल्न तन्मय छ । उसको लेखनले गाउँका सबै खाले विषयलाई पक्रेका छन् । बीचमा ऊ द्वन्द्ववादी साहित्य पनि लेख्ने भएछ ।

त्यसबेला जनयुद्धको समय थियो । दिउँसो सैनिकको टोली आएर थर्काउँथ्यो । राति विद्रोहीको समूह आएर खाना र बास माग्थे । ऊ दुवैको चर्तिकलालाई मूकदर्शक भएर सुन्थ्यो । गर्न भने केही सक्दैनथ्यो । दिउँसोको विरोध गर्दा गोली खाइने । रातिको प्रतिवाद गर्दा एम्बुसमा परिने । यसैगरी उसको जीवन अगाडि बढ्दै गयो । बीचमा सन्तानको करकरले हो या दर्शनको झुकावले हो ऊ माओवादीतिर लागेछ । केही समय भूमिगत पनि भयो । देशमा द्वन्द्व पनि समायोजन हुने भयो । फेरि शान्तिवार्ता सुरू भयो । मुलुकै संविधानसभाको भूमरीमा होमियो । उसलाई पनि उसको भनेको पार्टीले समानुपातिकमा क्षेत्र नं एकबाट सूचिकृत ग¥यो । उसले आफ्नो क्षेत्रको प्रत्यक्ष उमेद्वारलाई अत्यधिक मतले संविधानसभाको चुनावमा जितायो । तर उसको नाम भने सिफारिसमात्र भयो । चुनिने बेलामा उसको नाम त काटिएछ । ऊ यसपटक जिल्लाराम प¥यो ।

अब उसले आफ्नो भनेको पार्टीसँगको नाता टुटायो । उसलाई उतिखेरै सारै विश्वास थिएन रे ! जब उसले नाता टुटाएको पार्टीको सरकार केन्द्रमा गठन भयो त्यसपछि फेरि उसको नाम नसोधिकनै प्रज्ञाप्रतिष्ठानमा सिफरिस भयो । यसपटक पनि भयो के भने उसको नाम फेरि हटाइयो ।

दुईदुई पटक उसलाई नसोधिकनै नाम राख्ने र हटाउँने गरेपछि उसलाई अब भने राजनीतिदेखि नराम्ररी वितृष्णा भयो । उसले अब कसैलाई पनि समर्थन नगर्ने भयो । यतिखेर ऊ गाउँघरमै खेतीपाती र साहित्य साधनामा रमाएको छ । उसको कसैसँग केही भनसुन र प्राप्तिको आशा छैन । ऊ कसैको विरोध पनि गर्दैन र समर्थन पनि गर्दैन ।
ं ं ं

यस्तै मेसोमा मैले उसको वार्ता गोरखापत्रमा छपाएँथेँ । उसले मलाई सामान्य ‘धन्यवाद’ दियो । मैले उप्रति कृतज्ञता जाहेर गरेँ ।

मेरो अन्तर्मनले मलाई नै भनिरहेको थियो –यो मुलुकले गाउँमा बसेर राष्ट्रसेवा गर्ने प्रतिभाको कदर कहिले गर्छ होला ?

    
        Loading...

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

    
        Loading...     
    

अन्तरवार्ता

समाचार