Presidential

वरिष्ठ नेता नेपाल मतदाताको घरदैलोमा


वरिष्ठ नेता नेपाल मतदाताको घरदैलोमा

२ नम्बरको चुनावी अभियानमा एमाले नेताहरु सक्रिय

२६ भदौ । केही दिनयता नेकपा (एमाले) का वरिष्ठ नेता माधवकुमार नेपाल २ नम्बर प्रदेशका विभिन्न चुनावी अभियानमा सक्रिय छन् । स्थानीय तहको तेस्रो चरणअन्तर्गत २ नम्बर प्रदेशको निर्वाचन आउन सात दिन बाँकी रहँदा नेता नेपाल एमालेका उम्मेदवारहरुलाई जिताउन सो प्रदेशका चुनावी अभियानमा सक्रिय भएका हुन् । सो प्रदेश नेता नेपालको गृहप्रदेश पनि हो ।

सो प्रदेशका विभिन्न चुनावी अभियानमा सरिक हुने क्रममा वरिष्ठ नेता नेपाल महोत्तरी जिल्लाका विभिन्न गाउँबस्तीमा आयोजित सभा र घरदैलो कार्यक्रममा व्यस्त छन् । आइतबार मात्रै बर्दिवास–९, पशुपतिनगरमा आयोजित चुनावीसभालाई सम्बोधन गर्दै नेता नेपालले संविधानमा केही कुरा थपिनु पर्ने, स्पष्ट पारिनु पर्नेसम्मका कुरामा एमाले अनुदार नरहेको स्पष्ट पारे ।

‘अहिले संविधान संशोधनका नाउँमा निकालिएका कुरा सबै बखेडा हुन्’ नेता नेपालले भने, ‘संविधान कार्यान्वयन र अभ्यास गरिँदै जाँदा थप्नुपर्ने र हटाउनुपर्ने विषय देखिए एमाले समूचित सुधारका लागि सधैँ खुला छ ।’ प्रचूर सम्भावना रहेर पनि इच्छाशक्ति र समृद्धिको योजना ल्याउन नसक्दा मुलुक पछि परेको उल्लेख गर्दै नेपालले भने, ‘समृद्धि अबको हाम्रो संकल्प हुनुपर्छ, यसका लागि तन्नेरी हातहरुको क्रियाशीलता र सरकारको इमानदार प्रयत्नको खाँचो छ ।’

नेता नेपालले आइतबार मात्रै बर्दिवास–५, किसाननगर, बर्दिवास–९ पशुपतिनगर, भंगाहा–४ रामनगर, भंगाहा–५, सीतापुरबजार, औरही नपाको औरहीबजार र गौशाला बजारमा घरदैलो कार्यक्रममा सहभागी हुँदै ती ठाउँमा आयोजित चुनावी सभालाई सम्बोधन गरेका थिए ।

यसैगरी, एमाले उपाध्यक्ष भीम रावलले बर्दिवास–१ स्थित बर्दिवासचोकमा आयोजित चुनावीसभालाई सम्बोधन गर्दै मुलुकको समृद्धि, लोकतन्त्रको संस्थागत विकास, संविधान कार्यान्वयन र सुशासनको अनुभूति जनतालाई दिलाउनु दलहरुको प्राथमिकता हुनुपर्ने बताए ।

    
        Loading...

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

    
        Loading...     
    

अन्तरवार्ता

समाचार