Presidential

अन्ततः बोहरालाई नै मन्त्री बनाउन देउवा बाध्य


अन्ततः बोहरालाई नै मन्त्री बनाउन देउवा बाध्य

२६ भदौ । प्रधानमन्त्री शेरबहादुर देउवा अन्तिम समयसम्म पनि राप्रपा (प्रजातान्त्रिक) का उपाध्यक्ष दीपक बोहरालाई मन्त्री बनाउने पक्षमा थिएनन् । राप्रपा (प्रजातान्त्रिक) का अध्यक्ष पशुपतिशमशेर जबरालाई पनि प्रधानमन्त्री देउवाले पटक–पटक बोहराबाहेक अरु सांसदको नाम मन्त्रीका लागि दिन दिन अनुरोध गर्दै आएका थिए । तर, देउवाको केही लागेन र बोहरालाई आफ्नो मन्त्रिपरिषद्मा सामेल तुल्याउन बाध्य भएका छन् ।

प्रधानमन्त्री देउवाले साना दलहरुलाई सरकारमा सामेल तुल्याउनका लागि चार वटा मन्त्रालय आफूसँगै राखेका थिए । ती मन्त्रालयहरु राप्रपा फुटाएर प्रजातान्त्रिक बनाएका राणालाई दिन देउवा सहमत भएका थिए । बोहरालाई मन्त्री बनाउनैपर्ने बाध्यता देउवालाई परेपछि त्यसमध्ये कम महत्वको मानिने विज्ञान तथा प्रविधि मन्त्रालय बोहरालाई दिन प्रधानमन्त्री देउवा राजी भएका हुन् ।

बोहरासँगै सुनीलबहादुर थापालाई उद्योग र विक्रम पाण्डेलाई वन तथा भूसंरक्षण मन्त्रालय दिएर देउवाले मन्त्रिपरिषद् विस्तार गरेका हुन् । पछिल्लो समय मन्त्रिमण्डल बनेसँगै इतिहासमै सबभन्दा ठूला ५४ सदस्यीय मन्त्रिमण्डल बन्न पुगेको छ । २०५२ सालमा आफूले बनाएको ४८ सदस्यीय जम्बो मन्त्रिमण्डलको रेकर्ड तोड्दै देउवाले दोस्रो पटक यति ठूलो मन्त्रिमण्डल गठन गरेका हुन् ।

विवादास्पद छविका बोहरालाई मन्त्रीमण्डलमा सामेल तुल्याउन भने देउवालाई चर्कै दबाब परेको बताइन्छ । पछिल्लो समय, नेपाल आयल निगमको जग्गा खरिद प्रकरणमा बोहरा पनि मुछिएपछि देउवाले उनलाई मन्त्री बनाउन अनिच्छा देखाएका थिए । तर, राप्रपा विभाजनका बेला कमल थापातिर रहेको सांसदहरुलाई समेत राणाको नेतृत्वमा गठन भएको राप्रपा (प्रजातान्त्रिक) का ल्याउन बोहराले उल्लेख्य भूमिका खेलेका हुँदा राणाले बोहरालाई नै मन्त्री बनाउनुपर्ने बाध्यता थियो ।

अझ, बोहरालाई पछिल्लो पटक जन्मिएको राप्रपा (प्रजातान्त्रिक) को संसदीय दलको नेता बनाएपछि देउवालाई झनै अप्ठेरो परेको थियो । बोहरालाई नै संसदीय दलको नेता बनाइएपछि र राणाले पनि उनकै नेतृत्वमा राप्रपा (प्रजातान्त्रिक) लाई सरकारमा सामेल गराउन प्रधानमन्त्री देउवालाई कर गरेपछि देउवा बोहरालाई मन्त्रीमण्डलमा सामेल गर्न बाध्य भएको बताइन्छ ।

    
        Loading...

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

    
        Loading...     
    

अन्तरवार्ता

समाचार