Presidential

एमाले अध्यक्ष ओलीले हटाएरै छाडे ‘विवादास्पद’ स्वकीय सचिवलाई


एमाले अध्यक्ष ओलीले हटाएरै छाडे ‘विवादास्पद’ स्वकीय सचिवलाई

२६ भदौ । नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले अन्ततः विवादास्पद आफ्ना स्वकीय सचिव रमेश आचार्यलाई हटाएरै छाडेका छन् । अध्यक्ष ओलीको नाम बेचेर आर्थिक लाभ लिन पल्किएका आचार्यलाई ओलीले गएको मंसिर तेस्रो साता नै हटाएका थिए । तर, तिनै आचार्यले आफ्नो राजनीतिक भविष्य समाप्त हुने भन्दै रोइकराई गरेपछि उनको पद थमौती गरिएको थियो ।

तर, दस महिनापछि विवादास्पद आचार्यलाई हटाइएको छ । अध्यक्ष ओलीले आफ्नो सचिवालय हेरेफेर गर्ने क्रममा आचार्यलाई हटाएका हुन् । अध्यक्ष ओलीको प्रमुख स्वकीय सचिवमा राजेश बज्राचार्य रहेका छन् भने अनिस दाहाललाई स्वकीय सचिवको जिम्मेवारी दिइएको छ । अध्यक्ष ओलीको प्रेस संयोजन गर्ने जिम्मेवारी भने चेतन अधिकारीलाई दिइएको छ । उनी ओली प्रधानमन्त्री हुँदा प्रेस संयोजकको जिम्मेवारीमा थिए ।

एमाले केन्द्रीय सदस्य देवराज घिमिरेलाई भने जनसम्पर्कको जिम्मेवारी दिइएको छ । घिमिरेलाई विभिन्न पार्टीका नेता एवं पार्टी कार्यालयबाट हुने कार्य सम्पादनको जिम्मेवार दिइएको छ ।

गएको मंसिरमा नै अध्यक्ष ओलीले स्वकीय सचिवबाट हटाएका आचार्यले भने कम्तिमा पनि दस महिना काम गर्न पाएका छन् । आचार्यका बारेमा पार्टीभित्रैका नेता–कार्यकर्तादेखि उद्योगी–व्यवसायीहरुले आर्थिक बार्गेनिङ गरेको गुनासो गरेपछि मंसिरमा नै हटाइएको थियो । तर, तत्काल आफूलाई हटाउँदा राजनीतिक जीवन नै समाप्त हुने भन्दै उनले बालकोटमा गएर लम्पसार परेपछि उनलाई पछि सोही पदमा राखिएको थियो ।

ओलीको प्रधानमन्त्रीत्वकालमा पनि स्वकीय सचिव रहेका आचार्यलाई ओलीले ‘अबदेखि मकहाँ नआउनू’ भनेपछि उनी लाजै पचाएर जाने गरेको बताइन्छ । केही मेडिकल कलेज, बालुवा–गिट्टी निकासीकर्तालगायतले ओलीसमक्ष आचार्यका बारेमा गुनासो गरेपछि उनलाई मंसिरमा नै हटाइएको थियो ।

    
        Loading...

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

    
        Loading...     
    

अन्तरवार्ता

समाचार