Presidential

आफ्नै उपप्रधानमन्त्रीका भनाइको खण्डन गरे प्रधानमन्त्री देउवाले


आफ्नै उपप्रधानमन्त्रीका भनाइको खण्डन गरे प्रधानमन्त्री देउवाले

२७ भदौ । प्रधानमन्त्री शेरबहादुर देउवाले आफ्नै मन्त्रिपरिषद्का एक उपप्रधानमन्त्रीको भनाइलाई खण्डन गरेका छन् । उपप्रधान तथा संघीय मामिला तथा स्थानीय विकास मन्त्री विजयकुमार गच्छदारले निर्वाचन आचारसंहिताका कारण सरकारलाई काम गर्न अप्ठेरो परेको बताएका केही दिनपछि नै प्रधानमन्त्री देउवाले आचारसंहिताका कारण सरकारलाई कुनै अप्ठेरो नपरेको स्पष्टिकरण दिएका हुन् ।

उपप्रधानमन्त्री गच्छदारले केही दिनअघि सप्तरी पुगेर एक पत्रकार सम्मेलन गर्दै निर्वाचन आयोगले आचारसंहिता लगाएका कारण सरकारलाई काम गर्न अप्ठेरो परेको बताएका थिए । उनले आयोगलाई आचारसंहिता खुलाउनसमेत अनुरोध गरेका थिए ।

२ नम्बर प्रदेशको चुनावी कार्यक्रममा सहभागी हुन मंगलबार बिहान विराटनगर विमानस्थलमा ओर्लिएका प्रधानमन्त्री देउवाले भने आचारसंहिताले सरकारलाई कुनै अप्ठेरो नपरेको बताएका थिए । उनले सरकारलाई आवश्यक कामकाजमा कुनै अप्ठेरो पर्न गएमा निर्वाचन आयोगको सहमति लिएर मात्र गरिने जानकारी गराएका थिए । निर्वाचन आयोगले जारी गरेको आचारसंहिता सरकारले उल्लंघन नगरेको स्पष्ट पार्दै प्रधानमन्त्री देउवाले बताए, ‘आचारसंहिता पालना गर्न सरकार प्रतिबद्ध रहेको छ ।’

तर, सोमबार मन्त्रिमण्डल विस्तार गरेपछि भने निर्वाचन आयोगले सरकारले आचारसंहिता विपरीत काम गरेको भन्दै आपत्ति जनाएको थियो । मन्त्रिमण्डल विस्तारको सम्बन्धमा प्रधानमन्त्री देउवाले आवश्यकताअनुसार नै मन्त्रिमण्डल विस्तार गरिएको पनि बताएका थिए ।

    
        Loading...

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

    
        Loading...     
    

अन्तरवार्ता

समाचार