Presidential

प्रधानमन्त्रीले झूठ बोले कि निर्वाचन आयोगले ?


प्रधानमन्त्रीले झूठ बोले कि निर्वाचन आयोगले ?

२८ भदौ । प्रधानमन्त्री शेरबहादुर देउवाले पछिल्लो समय तीन मन्त्री र एक राज्यमन्त्री थपेर मन्त्रिमण्डल विस्तार गरेपछि निर्वाचन आयोग क्षुब्ध देखियो । आयोगले विज्ञप्ति नै निकालेर ‘निर्वाचन आचारसंहिता विपरीत काम भएको’ भन्दै मन्त्रिमण्डल विस्तारप्रति आपत्ति नै जनायो । तर, आयोगले आपत्ति जनाएको २४ घन्टा पनि नबित्दै प्रधानमन्त्री देउवाले दाबी गर्दै भने, ‘आयोगसँग सहमति लिएरै मन्त्रिमण्डल विस्तार भएको हो ।’

के देउवाले आयोगसँग सहमति लिएरै मन्त्रिमण्डल विस्तार गरेका हुन् त ? सोमबार मात्रै प्रधानमन्त्री देउवाले राप्रपा (प्रजातान्त्रिक) का चार सांसदलाई समेटेर मन्त्रिमण्डल विस्तार गरेपछि निर्वाचन आचारसंहिता मिचिएको कुरा घनीभूत रुपमा उठेको छ । आगामी मंसिर १० र २१ गते केन्द्रीय संसद् र प्रदेशसभाको निर्वाचन मिति घोषणा भइसकेको हुँदा आयोगले भदौ १४ गतेदेखि नै लागू हुनेगरी आचारसंहिता लागू गरेको हो । तर, सरकारले भने आचारसंहितालाई प्रभावित पार्ने गरी मन्त्रिमण्डल विस्तार गर्नेदेखि अरु कार्यहरुसमेत गर्दै आइरहेको छ ।

आचारसंहिता मिच्न सरकार उद्यत देखिएपछि आयोगले आपत्ति जनायो । यसलाई सामान्य कुरा मान्न सकिँदैन । आचारसंहिता पालनामा कडाइ गर्न अग्रसर रहेको आयोगलाई सरकारले नै अटेर गरेपछि आयोगको कदममा ठेस लाग्न पुगेको छ । आयोगले सरकारलाई दिएको ७ बुँदे निर्देशनको ठाडो उल्लंघन भई आचारसंहिता मिचिन पुगेको देखिएको छ ।

अझ, प्रधानमन्त्री देउवाका पछिल्ला कदम र अभिव्यक्तिले आयोगका कामकारबाहीलाई ठाडो चुनौतीसमेत दिएको छ । मंगलबार मात्रै सप्तरीको चुनावी सभालाई सम्बोधन गर्न जाने क्रममा विराटनगर पुगेका देउवाले आयोगसँग सहमति लिएर मन्त्रिमण्डल विस्तार गरेको कुरा बताए । यदि, सरकारले सहमति लिएरै मन्त्रिमण्डल विस्तार गरेको थियो भने आयोगले आपत्ति जनाउनुपर्ने कारण थिएन । यो प्रकरणले कि त प्रधानमन्त्री देउवाले झूठ बोलेको हुनुपर्छ, कि आयोगले पानीमाथिको ओभानो बन्न मन्त्रिमण्डल विस्तारलाई लिएर आपत्ति जनाएको हुनुपर्छ ।

त्यस्तै, प्रधानमन्त्री देउवाले मन्त्रिमण्डल अझै विस्तार हुनसक्ने बताएर आयोगलाई सिधै चुनौती दिएका छन् । प्रधानमन्त्री देउवाका अभिव्यक्तिले उनी आचारसंहिता मानेर अघि बढ्ने पक्षमा देखिँदैनन् । आफूसँगै रहेको शान्ति तथा पुनर्निर्माण मन्त्रालयमा मन्त्री थप्ने सोचमा देउवा रहेको बताइन्छ ।

सत्तारुढ दलहरुबाट आचारसंहिता मिच्ने कार्यले बढावा पाइरहेको बेला प्रधानमन्त्री देउवाका अभिव्यक्ति र व्यवहारले आचारसंहिता उल्लंघनका घटना झनै बढ्ने देखिएका छन् । मंगलबार मात्रै उपसभामुख गंगाप्रसाद यादवले आचारसंहिता विपरीत चुनावी प्रचारमा आफूलाई होम्नुमा आचारसंहिता मिच्ने कार्यमा सत्तारुढ दलहरु क्रियाशील छन् भन्ने देखाउँछ ।

    
        Loading...

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

    
        Loading...     
    

अन्तरवार्ता

समाचार