Presidential

कांग्रेस नेताहरुद्वारा आचारसंहिताको व्यापक उल्लघंन


कांग्रेस नेताहरुद्वारा आचारसंहिताको व्यापक उल्लघंन

२९ भदौ । स्थानीय तहको तेस्रो चरणको निर्वाचनअन्तर्गत प्रदेश नं. २ को निर्वाचन आउन अब ५ दिन मात्र बाँकी छ । सबै राजनीतिक दलहरुले चुनावी अभियानलाई तीव्रता दिइरहेका छन् । चुनावी अभियानका क्रममा निर्वाचन आचारसंहिता मिच्ने कार्य पनि दलका नेताहरुले गरिरहेका छन् ।

अरु राजनीतिक दलभन्दा नेपाली कांग्रेसका नेताहरु आचारसंहिता उल्लंघन गर्नेहरुमा अग्रपंक्तिमा देखिएका छन् । निर्वाचन आयोगले निर्वाचन आचारसंहिता उल्लंघन गरेका कारण कांग्रेसका नेताहरुसँग स्पष्टिकरण सोध्ने र ध्यानाकर्षण गराउने काम गरिरहेको छ ।

पछिल्लो समय निर्वाचन प्रचारप्रसारका क्रममा धनुषामा नेपाली काँग्रेसका नेता विमलेन्द्र निधिले कांग्रेसको निर्वाचन चिह्न अंकित गम्छा लगाई सहभागी भएपछि आयोगले स्पष्टिकरण सोधेको छ । निधिको कार्य निर्वाचन आचारसंहिता विपरीत भएकाले स्पष्टीकरण पेश गर्न आयोगले उनलाई निर्देशन दिएको छ ।

सिरहाको धनगढी नगरपालिकाको जिरो माइलमा आयोजित चुनावी सभामा कांग्रेस सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवालाई स्वागत गर्न बालबालिकाको प्रयोग गरिएको विषयमा पनि आयोगले गम्भीर रुपमा ध्यानाकर्षण गरेको छ । चुनावी कार्यक्रममा बालबालिकाको प्रयोग गर्ने विषय निर्वाचन आचारसंहिता विपरीत भएको भन्दै आयोगले काँग्रेस सिरहाका सभापतिलाई २४ घन्टाभित्र आयोगसमक्ष स्पष्टीकरण पेश गर्न निर्देशन दिएको छ ।

यसअघि पनि कांग्रेसका नेताहरुले आचारसंहिता विपरीत कार्य गरेका हुँदा आयोगले स्पष्टिकरण सोध्ने र ध्यानाकर्षण गराउने काम गरेको थियो । कांग्रेस नेता डा. शेखर कोइरालाले वीरगञ्जमा घरदैलो गर्दा चुनाव चिन्हअंकित टीसर्ट लगाएका कार्यकर्ताहरुले घेरिएका हुँदा उनलाई आयोगले ध्यानाकर्षण गराएको थियो । त्यस्तै, कांग्रेसकै तर्फबाट सिंचाइ राज्यमन्त्री बनेका अमरसिंह पुनले बाराको जीतपुर–सिमरा उपमहानगरपालिकामा चुनावी अभियान गर्दा आचारसंहिता उल्लंघन गरेकामा आयोगले उनीसँग स्पष्टिकरण सोधेको थियो ।

त्यसैगरी, धनुषाको मिथिला नगरपालिकाको लालगढमा भदौ २७ गते काँग्रेस र नेकपा (माओवादी केन्द्र)ले निकालेको संयुक्त चुनावी ¥यालीमा दलको झण्डा बोकेर बालबालिकालाई प्रचारप्रसारमा खटाइएको भन्दै आयोगले यालीका आयोजकलाई २४ घन्टाभित्र आयोगसमक्ष स्पष्टीकरण पेश गर्न बेग्लाबेग्लै निर्देशन दिएको छ ।

    
        Loading...

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

    
        Loading...     
    

अन्तरवार्ता

समाचार