Presidential

भूकम्पपीडितका नाममा अमेरिकामा कांग्रेस कार्यकर्ताद्वारा ४६ लाख हिनामिना

भूकम्पपीडितका नाममा अमेरिकामा कांग्रेस कार्यकर्ताद्वारा ४६ लाख हिनामिना

१७ असार । गत वर्ष नेपालमा भूकम्प गएपछि कतिपयका लागि त्यही नै कमाउने अवसर बनेको समाचार सार्वजनिक नभएको होइन । भूकम्पपीडितका लागि भन्दै रकम उठाएर अमेरिकामा भ्रष्टाचार भएको तथ्य हालै खुलेको छ ।

नेपालमा त्रिपाल, जस्ता पाता, खाद्य सामग्री बेचिएको त सुनिएकै हो । नेपाली कांग्रेसका कार्यकर्ताहरुले अमेरिका पुगेर पनि भुकम्प पीडितका लागि रकम दुरुपयोग गर्न बाँकी राखेनन् । उनीहरुले भूकम्पीडितका नाममा उठाएको ४६ लाख रुपैयाँ हिनामिना गरेका छन् ।

गत वर्ष नेपालमा गएको भूकम्पबाट पीडितलाई राहत दिन भनेर अमेरिकामा संकलन गरिएको रकम अहिलेसम्म पीडितसम्म पुगेको छैन । उक्त रकम कांग्रेसको भातृ संगठन नेपाली जनसम्पर्क समिति, अमेरिकाका पदाधिकारीहरुले हिनामिना गरेको देखिएको छ । ४५ हजार ९ सय डलर (झण्डै ४६ लाख रुपैयाँ) जनसम्पर्क समितिका सभापति आनन्द विष्ट, महासचिव मुनेन्द्र नेम्वाङ र कोषाध्यक्ष विजय थुलुङले कार्यसमितिलाई थाहै नदिई खर्च गरेका छन् ।

खातामा एक वर्षअघि ६० हजार डलर रहेकोमा गत साता स्टेटमेन्ट लिँदा ९ हजार डलर मात्र भेटिएपछि यो विषयले सार्वजनिक भएको हो । गत वर्षदेखि जनसम्पर्क समिति दुई खेमामा बिभाजित छ । सभापतिमा शेरबहादुर देउवा निकट विष्ट छन् भने उपसभापतिमा कांग्रेस नेता अर्जुननरसिंह केसीका सहोदर भाइ धनन्जयनरसिंह केसी छन् । एकले अर्कालाई खुइल्याउने क्रममा अहिले दुबै पक्ष भूकम्पपीडितलाई उठाएको रकम खानेमा दरिएका छन् ।

भूकम्पपीडितका नाममा उठाएको रकम बैंकबाटै सभापति, महासचिव र कोषाध्यक्षको मिलेमतोमा गायव पारिएपछि विहीबार बसेको बैठकले छानबिन समिति समेत गठन गरेको छ । विहीबारको बैठकमा समितिका केन्द्रिय सदस्य अमृत भट्टराई (मिचिगन) को संयोजकत्वमा पाँच सदस्यीय कार्यदल गठन गरिएको छ । कार्यदलका सदस्यहरुमा शुभेन्द्र रानाभाट, वेदप्रसाद खरेल, लोक लामा र सुभाष लामा छन् । यो समितिलाई १० दिनभित्र सबै यथार्थ बुझेर प्रतिवेदन पेश गर्न अख्तियारी दिइएको छ ।

बैठकमा समितिका अध्यक्ष गोरख (आनन्द) विष्टले आपूmलाई समेत जानकारी नदिई महासचिव मुनिन्द्र नेम्वाङ र कोषाध्यक्ष विजय थुलूङले खाताबाट ४५ हजार ९ सय डलर गायव बनाएको रिपोर्टिङ गरेका थिए । ‘हामी हिजो बैंकमा स्टेटमेन्ट लिन गयौं, स्टेटमेन्ट प्रिन्टका क्रममा खाताबाट रकम गायब भएको थाहा पाएपछि म झण्डै वेहोस भएँ,’ बैठकमा अध्यक्ष विष्टको भनाइ रहेको बैठकका एक सहभागीले जानकारी दिए ।

बैठकमा वरिष्ठ उपाध्यक्ष धनञ्जयनरसिंह केसी, महासचिव मुनिन्द नेम्वाङ, कोषाध्यक्ष विजय थुलुङलगायतका केही सदस्यहरु भने उपस्थित भएनन् । अध्यक्ष विष्टले बैंकको खाता, चेकलगायतको आर्थिक जिम्मा कोषाध्यक्षको हुने भएकोले आपूmले विश्वास गर्दा अहिले संस्था नै वदनामी हुने अवस्थामा आइपुगेको बताएका थिए ।

भूकम्पपीडितका लागि भनेर संकलित रकम समयमै नेपाल नपठाएर किन लामो समयसम्म खातामा राखियो ? यो विषयमा सदस्यहरुले प्रश्न गर्दा भने अध्यक्ष विष्ट निरुत्तर भएका थिए । बैंक स्टेटमेन्ट र चेकको प्रतिलिपी अनुसार गत वर्ष सहयोग संकलनको समयमा खातामा ५४ हजार ७ सय ६८ डलर जम्मा भएको थियो । जुन १६, २०१६ मा समितिको खातामा ९ हजार ३ सय ९७ डलर मात्र बाँकी छ । अधिकांश चेकमा अध्यक्ष विष्ट र महासचिव नेम्वाङको हस्ताक्षर गरेर रकम निकालिएको छ । थोरैमात्र चेकमा कोषाध्यक्ष थुलुङले हस्ताक्षर गरेका छन् ।

बैठकमा ४५ हजार ९ सय डलर कसरी निकालियो र अहिले कहाँ राखिएको छ भन्ने बारेमा निकै सोधखोज भएको थियो । प्राप्त विवरण अनुसार चेक नम्बर १००७ देखि १०२७ सम्म लगातार रकम निकालिएको छ । त्यस्तै अप्रिल ६ मा ५ हजार र मे ९ मा ३ हजार डलर कोषाध्यक्ष विजय थुलुङले निकाले कुरा बैंकको स्टेटमेन्टबाट खुलेको छ ।

बैठकमा जनसम्पर्कका विभिन्न च्याप्टरहरुले संकलन गरेर पठाएको रकममध्य केही रकम र चेकहरु खातामा जम्मानै नगरी अपचलन गरेको हुनसक्ने शंका केही सदस्यहले गरेका थिए । ‘यो विषयमा समेत भूकम्पपीडितहरुलाई कुनकुन च्याप्टरले कति रकम संकलन गरेर केन्द्रलाई पठाएका थिए त्यसको विवरण पठाउन समेत अनुरोध गरिएको छ,’ एक सदस्यले बताए ।

अलग्गै बैठक

यसैबीच बैठकमा अनुपस्थित रहेका उपाध्यक्ष धनञ्जयनरसिंह केसी समूहले विहीबार साँझै छुट्टै बैठक बसेर बिभिन्न निर्णयहरु गरेको छ । प्राप्त जानकारी अनुसार, यो समूहले गरेको निर्णयमा बार्षिक साधारणसभा आउँदो नोभेम्बर १२ र १३ मा न्युयोर्कमा गर्ने उल्लेख छ । संस्थाको आर्थिक हिसाब किताब दुई दिनभित्र सार्वजनिक गर्न कोषाध्यक्षलाई जिम्मेवारी दिने निर्णय भएको छ ।

4 पटक पढिएको

    
        Loading...     
    

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

        
            Loading...     
        

    अन्तरवार्ता

    समाचार