Presidential

सातौं पटक जिब्रो छेडी टोल टोल घुमे बुद्धकृष्ण    


सातौं पटक जिब्रो छेडी टोल टोल घुमे बुद्धकृष्ण    

भक्तपुर, २ वैशाख ।  मध्याह्न १२ बजेदेखि नै मध्यपुरथिमि नगरपालिकाको बोडे क्षेत्रमा मान्छेको भीड बढ्दै गयो । हेर्दाहेर्दै मध्यपुरथिमि–८ बोडेको पाँचौँ गणेशको दक्षिण फर्केको पाटी आसपासदेखि बोडेका अधिकांश क्षेत्रमा मानिसको भीड बढ्दै गयो । बिस्का जात्रामा मनाइने थिमी बोडेको प्रसिद्ध जिब्रो छेड्ने जात्रा हेर्न एकैछिनमा मानिस खचाखच भए ।

त्यही भीडबाट अलिपर प्रतिनिधिसभाका सदस्य महेश बस्नेत, प्रदेश नं ३ प्रदेशसभा सदस्य डा राजेन्द्रमान श्रेष्ठ, मध्यपुरथिमिका प्रमुख मदनसुन्दर श्रेष्ठले जात्राको अवलोकन गर्दै तस्वीर लिन थाल्नुभयो । त्यसको केही बेरमै बाँसको चिम्टी बजाउँदै एक हुल मानिस हातको साङ्लो बनाएर आयो, सबैको ध्यान त्यतै केन्द्रित भयो, अघिअघि १० इञ्च लामो सियो बोकेको मानिस र केहीपछि जिब्रो छेड्न तयार भएर बोडेका सबै देवीदेवताको मन्दिरमा पूजा गर्दै ४७ वर्षीय बुद्धकृष्ण वागश्रेष्ठ आइपुग्नुभयो । बोडेका बासिन्दाले उहाँको जयजयकार गरे ।
पाँचौँ गणेशको दक्षिण फर्केको पाटीमा बनाइएको मञ्चमा उक्लिएपछि कर्मी नाइकेहरुले वरिपरि अक्षता फूल छर्किएर देवीदेवतालाई सम्झदै धूपबत्ती बालेपछि एक महीनाअघि तयार पारी तेलमा डुबाइराखिएको १० इञ्च लामो सुइराले हजारौँ मानिसकै अगाडि श्रेष्ठको जिब्रो छेडियो । त्यसपछि उहाँले सबैलाई नमस्कार र अभिवादन गरेपछि चन्द्राकारकोे भ्वाय् अर्थात महाद्वीप बोकेर निस्कनुभयो । महाद्वीप बोकेर करीब पौने एक घण्टासम्म बोडेको टोलटोल घुमेर पुनः भाँगु टोलमा पुगी महालक्ष्मी मन्दिरभित्र प्रवेश गरेपछि सुइरो निकालेर मन्दिरमा ठोकिएपछि जात्रा सम्पन्न भयो ।

चैत मसान्तको दिन बोडे महालक्ष्मी मन्दिर प्राङ्गणमा लिङ्गो उठाएपछि जिब्रो छेड्ने श्रेष्ठले निराहार व्रत बसेर आज जिब्रो छेडेपछि जिब्रोको घाउमा महालक्ष्मी मन्दिरको माटो झिकी लगाएर नाट्येश्वरको पूजा गर्नुभएको थियो । प्वाल भएको जिब्रामा महालक्ष्मीको माटो लगाए घाउ निको हुने र त्यसमा अन्य औषधि लाउनु नपर्ने श्रेष्ठले बताउनुभयो । “परम्परादेखि चल्दै आएकोे जिब्रो छेड्ने जात्रा लोप हुनबाट जोगाउन यस वर्ष पनि मैले जिब्रो छेडेको हुँ”, उहाँले भन्नुभयो ।

यसअघि २०६१ सालदेखि २०६४ सालसम्म जिब्रो छेड्नुभएका उहाँको आमाको निधनपछि बोडेका जुजुभाइ बाँसश्रेष्ठले २०६५ देखि २०७२ सालसम्म जिब्रो छेडेर यो जात्रालाई निरन्तरता दिनुभयो । गत वर्ष पुन ः जिब्रो छेड्नुभएका बुद्धकृष्णले यस वर्ष साताँै पटक जिब्रो छेड्नुभएको हो । उहाँले भन्नुभयो, “विभिन्न रोगका कारण डाक्टरले बाँच्दैन भनेको थियो, त्यही वर्ष मैले जिब्रो छेडँे, मेरो रोग निको भयो, त्यसपछि रोजगारीका लागि कोरिया गएँ, उताबाट फर्किएपछि थिमिको कोरिया नेपाल मैत्री अस्पतालमा निरन्तर एम्बुलेन्स चलाइरहेको छु, परिवार पनि धेरै राम्रो भएर आयो, अहिले भगवान्प्रतिको त्यही विश्वास र आस्थाले परम्परा जोगाउन फेरि जिब्रो छेड्ने जात्रालाई जोगाउन जिब्रो छेड्न थालेको हुँ ।

विसं २०६० सम्म उहाँकै दाजु कृष्णचन्द्रले १२ वर्षसम्म निरन्तर रुपमा जिब्रो छेडेर जात्रा चलाइएको थियो । किंवदन्तीअनुसार प्राचीनकालमा बोडेमा नीलबाराहीको दायाँबायाँ बस्ने भूतप्रेत, पिशाच, ख्याक तथा कङ्काल (बउचा) ले बोडेका मानिसलाई धेरै दुःख दिने गरेपछि तान्त्रिक भीमदत्त कर्माचार्यले तान्त्रिक विद्याले बोडेभरि पासो राखिदिए । बोडेमा दुःख दिन आएको ख्याक तान्त्रिक कर्माचार्यको पासोमा प¥यो । कर्माचार्यले लामो कपाल र जिब्रो, डरलाग्दो पिशाच नीलबाराहीको दाहिने पाले भएको थाहा पाएपछि उसको कपाल काटे, लुगा फुकाले र लामो सियो जबर्जस्ती जिब्रोमा घुसारी भाग्न नपाओस् भनी घँुघुरु बाँधिदिए ।

उनले पिशाचको जिब्रो छेडी बलेको महाद्वीप र काठको गह्रुँगो भारी बोकाएर बोडे घुमाए । कष्ट सहन नसकी पिशाचले आपूmलाई छाडिदिए जुनसुकै वाचा गर्ने बताएपछि कर्माचार्यले अबउप्रान्त बोडे देशमा दुःख नदिने, रोग, अनिकाल, अनावृष्टि, अतिवृष्टि, महाभूकम्प हुन नदिने, धर्मको चेष्टा बढाउने र बोडेवासीले भनेझैँ सात वर्षसम्म सोही दिन जिब्रो छेड्न आउनुपर्ने वाचा गराई छाडिदिएको किंवदन्ती छ । एक रात सपनामा नीलबाराहीले आफ्नो द्वारपाललाई अपमानित गरेकाले कर्माचार्यलाई बाँकी नराख्ने भनी आक्रोश व्यक्त गरेपछि पछुतो मान्दै कर्माचार्यले जिब्रो छेड्नु अगाडि क्षमा पूजा गर्ने चलन चलाए, जुन अहिलेसम्म कायमै छ । वाचानुरूप सात पटकसम्म पिशाचको जिब्रो छेडियो । त्यसपछि ऊ नआउने भएपछि कर्माचार्यले सोहीअनुरूप बोडेवासीबाटै जिब्रो छेडाएको किंवदन्ती रहेको स्थानीयवासी बताउँछन् ।
–––

    
        Loading...

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

    
        Loading...     
    

अन्तरवार्ता

समाचार