Presidential

भर्ना अभियानमा परिचालित हुन युवाविद्यार्थीलाई प्रधानमन्त्रीको आग्रह    


भर्ना अभियानमा परिचालित हुन युवाविद्यार्थीलाई प्रधानमन्त्रीको आग्रह    

काठमाडौँ, ४ वैशाख ।  प्रधानमन्त्री केपी शर्मा ओलीले विद्यालय भर्ना अभियान सफल बनाउन विभिन्न युवा विद्यार्थी सङ्गठनलाई आग्रह गर्नुभएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज आयोजित अन्तरक्र्रियामा उहाँले गत वर्षदेखि विशेष रुपले शुरु गरिएको विद्यार्थी भर्ना अभियानलाई घरघरमै गएर सञ्चालन गर्न विद्यार्थी र युवालाई आग्रह गर्नुभयो । युवा र विद्यार्थीले अब सिर्जनशील समाज सुधारका काममा लाग्नका लागि कुनै अवरोध नरहेको उहाँले स्पष्ट पार्नुभयो । “अब राजनीतिक सङ्घर्ष र आन्दोलन गर्नुपर्ने दिन सकिएका छन्”, प्रधानमन्त्रीले भन्नुभयो, “अब युवाहरुले समाज सुधारका लागि शिक्षा, स्वास्थ्य, श्रम, सीप र उत्पादनजस्ता कुरामा ध्यान दिनुपर्छ ।
नेपाललाई विद्वानहरुको देशका रुपमा पहिचान बनाउनुपर्नेमा जोड दिँदै उहाँले भन्नुभयो, “हाम्रा विद्वान् पुर्खाको जेनेटिक मेमोरीको उपयोग हामीले गर्नुपर्छ । विद्वान् पुर्खाका सन्तान हामी केही समय निरक्षर रह्यौँ तर अब यो अवस्था रहिरहन सक्दैन ।” प्रधानमन्त्री ओलीले बालबालिका विद्यालय भर्नाका लागि अभिभावक सचेतना सञ्चालन गर्नुपर्नेमा पनि जोड दिनुभयो । “यस वर्षदेखि विद्यालय उमेरका कोही बालबालिका पनि विद्यालय बाहिर हुनुहुँदैन”, प्रधानमन्त्री ओलीले भन्नुभयो ।
शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले सरकारले यही वैशाख २ देखि १६ गतेसम्म राष्ट्रिय भर्ना अभियान सञ्चालन गरेको बताउँदै यसमा सबैको सहयोगको अपेक्षा व्यक्त गर्नुभयो । सरकारले हरेक वर्ष वैशाख २ लाई राष्ट्रिय भर्ना दिवसका रुपमा मनाउने घोषणा पनि गरेको छ । गत वर्ष प्रधानमन्त्रीलगायत धेरै पदाधिकारी, नेता र अभिनेताले विद्यार्थीलाई भर्ना गराएर तिनको अभिभावकत्व ग्रहण गर्नुभएको थियो ।
–––

    
        Loading...

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

    
        Loading...     
    

अन्तरवार्ता

समाचार