Presidential

सांसदको व्यवहारले सभामुख हायलकायल


सांसदको व्यवहारले सभामुख हायलकायल

काठमाडौं, २९ जेठ । संघीय संसद्को प्रतिनिधिसभा बैठकमा मंगलबार नौलो दृश्य देखियो । सरकारले आगामी वर्षका लागि ल्याएको बजेटमाथिको छलफलमा भाग लिने क्रममा यस्तो नौलो दृश्य देखिएको हो । सरकार सञ्चालन गरिरहेको नेकपाका सांसद झपट रावलले रोस्टममा पुगेर ४ मिनेटसम्म मौन धारण गरे । सरकारले ल्याएको बजेटप्रति व्यंग्यात्मक शैलीमा उनले रोस्टममा पुगेर मौनधारण गरेको देख्दा बैठकमा सहभागी सांसद कानेखुसी गर्दै थिए । त्यसपछि सभामुखको आसनमा रहेकी राधा ज्ञवालीले उनलाई हेर्दै ‘के भयो माननीय ज्यू’ भनी प्रश्न गरिन् ।
कैलालीबाट निर्वाचित नेकपा सांसद रावलले करिब १ मिनेट मौन बसेपछि संसद् भवनको सिलिङ र बैठक कक्षतर्फ हेरेर बिताए । बैठकको अध्यक्षता गरिरहेकी ज्ञवालीको प्रश्नले झस्किएजस्तो गरी उनले एकछिन घोरिएर जवाफ दिए ‘केही नभएकाले सभामुख महोदय † नबोलेको ।’
त्यसपछि ज्ञवालीले अब बोल्नुहोस् भनेपछि पनि रावलले मौनधारण नै गरिरहे । केही बेर अझै मौन रहेपछि सभामुख आसनबाट ज्ञवालीले फेरि सोधिन्, ‘यसरी समयको सदुपयोग भएन कि माननीयज्यू ?’ त्यतिन्जेल उनले रोस्टममा पुगेर मौनधारण गरेको ३ मिनेट भइसकेको थियो । रावलले गला अवरुद्धको शैलीमा भने ‘त्यो किताबमा नअटेको हुनाले सभामुख महोदय ।’

छोटो प्रतिक्रियापछि रावल केही नबोली अघिझंै मौन धारण गरिरहे । त्यसपछि ज्ञवालीले रोस्टमको माइक काटिदिनका लागि सचिवालयका कर्मचारीसँग राय मागिन् । कर्मचारीले दिएको रायअनुसार उनले सांसद रावललाई उनको सांकेतिक विरोधको ध्यानाकर्षण भइसकेको बताइन् । उनले सदनको ध्यानाकर्षण भएकाले बोल्न आग्रह गरिन् । प्रतिनिधिसभामा मन्त्रालयगत वार्षिक कार्यक्रममाथि छलफलका क्रममा सहरी विकास मन्त्रालयको बजेटमाथि आफ्नो धारणा राख्न रोस्टम पुगेका रावलले ६ मिनेट समय पाएका थिए । सभामुखको ध्यानाकर्षण हुन ४ मिनेट लाग्यो । त्यसपछि आफूले पाएको समयभित्र नै धारणा राख्ने बताउँदै रावलले मन्त्रालयले विभेदकारी कार्यक्रम ल्याएको आरोप लगाए । त्यसपछि आक्रोशपूर्ण अभिव्यक्ति दिँदै सहरी विकासमन्त्री मोहम्मद इस्तियाक राईलाई ‘विभेदकारी’को आरोप लगाए ।
‘मै खाऊँ मै लाऊँ सुख सयल वा मोज म गरुँ, मै बाँचूँ मै नाचूँ अरू सबै मरून् दुर्बलहरू’ भन्ने कवि शिरोमणि लेखनाथ पौडेलको कविताको पंक्ति सुनाउँदै रावलले आफू दुर्बल जनताको प्रतिनिधि भएको बताए । उनले दुर्बल जनताको प्रतिनिधिलाई दुर्लभको रूपमा मन्त्रालयले हेरेको भन्दै सहरी विकासमन्त्रीको विरोध गरे । उनले सहरी विकासको सबै बजेट मन्त्री राईले आफ्नो जिल्ला बाँकेको निर्वाचन क्षेत्रमा केन्द्रित गरेको आरोप लगाए । आफू सत्तारूढ दलको सांसद भएका कारण सरकारको आलोचना गर्न नमिल्ने भएकाले आफू मौन बसेको स्पष्टीकरण दिँदै उनले आफूहरूले भनेको कुरा सरकारले नसुनेको गुनासो गरे ।

सांसद रावलले देशभरिका सबैभन्दा बढी भूमिहीन र घरबारविहीन समुदाय बसोबास गर्ने कैलालीमा सहरी विकासले कुनै कार्यक्रम नराखेको भन्दै आक्रोश पोखे । उनले आफू निर्वाचित भएको क्षेत्रमा सहरी विकासको विशेष कार्यक्रम राख्नुपर्नेमा कुनै कार्यक्रम नसमेटिँदा दुःख लागेको भन्दै सरकारको गतिविधि व्यवस्थित सहर निर्माणभन्दा पनि आफूअनुकूलका कार्यक्रम र आफ्नै क्षेत्र मात्रै समेट्दा झन् चिन्तित हुनुपरेको उनले धारणा राखे । उनका अनुसार उनी निर्वाचित भएको क्षेत्र कैलाली २ मा पुनःस्थापित बादीहरू अहिले पनि रूखमुनि बसिरहेका छन् भने मुक्त कमैयाहरूले घर पाएका छैनन् । दलित र गरिबहरूको पनि ठूलो संख्या छ । तर, सहरी विकास मन्त्रालयले त्यहाँ बजेट दिएको छैन । उनले आफू बजेट र नीति तथा कार्यक्रमबाट सन्तुष्ट भए पनि मन्त्रीले विभेद गरेकोमा दुःख लागेको बताए ।
#आजको राजधानी दैनिकबाट

    
        Loading...

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

    
        Loading...     
    

अन्तरवार्ता

समाचार