Presidential

विद्यार्थी सिट संख्या ३०० : भर्ना १०,८६८


विद्यार्थी सिट संख्या ३०० : भर्ना १०,८६८

नेपाल ल क्याम्पस : प्राध्यापक, कक्षाकोठा, डेस्क, बेन्च र अन्य सुविधा उस्तै, तर एक विद्यार्थीको ठाउँमा ३६ विद्यार्थी भर्ना

काठमाडौँ, २६ असार । त्रिभुवन विश्वविद्यालयमा स्नातक तहको कानुन शिक्षा अध्ययन गर्नेहरूको संख्या अध्यधिक बढेको छ । एलएलबीमा अधिकतम तीन सय क्षमता रहेको नेपाल ल क्याम्पसमा प्रथम वर्षमा १० हजार आठ सय ६८ भर्ना भएका छन् । एलएलबी प्रथम वर्षका करिब ११ हजारले परीक्षा दिएर दोस्रो वर्षमा प्रवेश गर्दै छन् । तर, अब कति भर्ना लिने भन्ने अन्योल थपिएको छ ।

क्षमताभन्दा अध्यधिक बढी भर्ना लिएको र गुणस्तर नभएको भन्दै सर्वोच्च अदालतमा रिट परेपछि कति संख्यामा नयाँ भर्ना गर्ने भन्ने अन्योल छ । नयाँ भर्नाका लागि प्रवेश परीक्षाको फारम भर्दै गर्दा सर्वोच्चमा मुद्दा परेको थियो । सर्वोच्चले भर्ना क्षमता यकिन गरी सीमित संख्यामा भर्ना गर्न आदेश दिएको थियो ।

सर्वोच्चको आदेशपछि ल क्याम्पसले अध्ययन कमिटी बनाएको थियो । सो कमिटीले समावेशी कोटासहित एलएलबीमा तीन सय भर्ना गर्न उचित हुने सिफारिस गरेको थियो । क्याम्पस प्रमुख डा। डिएन पराजुलीले कति संख्यामा भर्ना गर्ने र अब प्रवेश परीक्षाको आवेदन खुलाउने वा नखुलाउने भन्ने विषयमा कार्यकारी परिषद्को निर्णय पर्खेको बताए । यसअघि खुलाएको प्रदेश परीक्षामा करिब २६ सयले आवेदन फारम भरेका छन् । नेपाल ल क्याम्पसका प्रमुख पराजुलीका अनुसार एलएलबीमा पूर्वश्रममन्त्री सरिता गिरी तथा अन्य नेताहरूसमेत भर्ना भएका छन् । कानुनतर्फ स्नातक तहमा बिएएलएलबी र एलएलबी गरी दुईथरी कार्यक्रम छन् । स्थानीय तहका उपाध्यक्ष तथा उपमेयरलाई न्यायिक समितिको संयोजकको जिम्मेवारी तोकेपछि जनप्रतिनिधि कानुन शिक्षा लिन भर्ना हुने संख्या धेरै छ । गाउँपालिका, नगरपालिकामा न्यायिक समिति छन् । स्थानीय तहका उपाध्यक्षहरूलाई कानुनी ज्ञान हुनु अनिवार्यजस्तै भएको छ । नेपाल ल क्याम्पसमा झन्डै दुई सय स्थानीय तहका उपाध्यक्षले एलएलबी पढ्न आएको क्याम्पस प्रमुख पराजुलीले बताए ।

भर्ना हुने संख्या धेरै भए पनि नियमित पढ्न आउने र परीक्षा दिनेको संख्या एकदमै न्यून छ । विद्यार्थी नियमित रूपमा पढ्न आउने हो भने तीन सयलाई पनि सेवा दिन मुस्किल हुने बताए । धेरै विद्यार्थीले जाँचसमेत नदिएको उनले बताए । सुरुमा केही विद्यार्थी अध्ययन गर्न आए पनि पछिल्ला दिनमा कम हुँदै गएको बताए ।

नौ सय ६० विद्यार्थी पढाउन सक्ने त्रिचन्द्र क्याम्पसमा ३५ सय भर्ना

नेपालमा साइन्सका कतिपय विद्यार्थीले प्रयोगात्मक कक्षामा हुनुपर्ने उपकरण नै नदेखी पढाइ सक्ने गरेका छन् । साइन्सका कार्यक्रम सञ्चालन गरेका त्रिविलगायत विश्वविद्यालयका केही आंगिक क्याम्पसमा आवश्यकताअनुसार प्रयोगात्मक कक्षा छैन । क्याम्पसमा क्षमताभन्दा तेब्बर विद्यार्थी भर्ना हुने भएकाले अधिकांशले प्रयोगशालामा अभ्यास गर्न पाउँदैनन् । त्यसैले लगानी र मिहिनेत बढी हुने साइन्सको नतिजा पछिल्लो समय बिएकोभन्दा कमजोर छ । विश्वविद्यालय अनुदान आयोगले गरेको अनुसन्धानमा यस्तो बेथिति भेटिएको हो ।

बिएस्सी र एमएस्सी कक्षा सञ्चालन गरिरहेका आंगिक क्याम्पसहरूको अवस्था अध्ययन गर्न आयोगद्वारा गठित प्रा।डा। राजु खनाल नेतृत्वको समितिले साइन्सको अवस्था नाजुक रहेको प्रतिवेदन बुझाएको छ । समितिले ०७५ मा गरेको अध्ययनअनुसार पछिल्ला वर्षहरूमा मानविकीतर्फको बिएभन्दा बिएस्सीको नतिजा कमजोर छ । ०७४ मा बिएस्सीका विद्यार्थीको उत्तीर्ण प्रतिशत ४०।५८ रहेकामा बिएमा ४४।५५ प्रतिशत उत्तीर्ण भएका थिए । त्यस्तै, ०७३ मा बिएस्सीमा औसत ३५।९९ प्रतिशत उत्तीर्ण भएकामा बिएमा ३९।५५ प्रतिशत पास भएका थिए ।

समितिले बुझाएको ‘बिएस्सी र एमएस्सी कक्षा सञ्चालन गरिरहेका आंगिक क्याम्पसहरूको अवस्था प्रतिवेदन, २०७५’मा कतिपय क्याम्पस साइन्सका कार्यक्रम सञ्चालन गर्न भौतिक र जनशक्तिका हिसाबले उपयुक्त नभएको सिफारिस गरेको छ । समितिले त्रिविका २४ र मध्यपश्चिम तथा सुदूरपश्चिम विश्वविद्यालयको अवस्था अध्ययन गरेको थियो । समितिमा प्राडा निरञ्जन पराजुली, डा गीताञ्जली त्रिपाठी र दिनेश प्रजापति सदस्य थिए ।

त्रिभुवन विश्वविद्यालयका ६० आंगिक क्याम्पसमध्ये २४ मा साइन्स कार्यक्रम सञ्चालन भइरहेको छ । त्रिविअन्तर्गत साइन्सको कुल क्षमताको ४० प्रतिशत त्रिचन्द्रमा छ । त्रिचन्द्रमा साइन्सका सबै विषयमा स्नातक तहमा एक हजार पाँच सय विद्यार्थी कोटा रहेकोमा तीन हजार पाँच सयसम्म भर्ना हुने गरेको समितिको प्रतिवेदनमा उल्लेख छ । प्रयोगशालाको अवस्थाका आधारमा त ९ सय ६९ कोटा मात्रै तोक्न सिफारिस गरेको छ । यही प्रयोगशाला पनि पुनर्निर्माण गर्नुपर्ने जनाएको छ ।

समितिले प्रयोगात्मक पढाइको अवस्था झन् नाजुक भएको जनाएको छ । भौतिकशास्त्रमा एउटा प्रयोगात्मक कक्षामा १२० जनासम्म राखेर पढाइने र परीक्षा लिनमात्र ४५ दिन लाग्ने गरेको जनाएको छ । त्यस्तै, माइक्रोबायोलोजीमा करिव एक हजार दुई सय विद्यार्थी हुने र ६०–७० जनाको समुहमा प्रयोगात्मक हुने गरेको छ । रशायनशास्त्र अध्ययन गर्ने विद्यार्थीलाई केमिकलको अभाव छ । वायोरसायनशास्त्रलगायतका नयाँ कोर्ष पढाउने शिक्षकसमेत नभएको विद्यार्थीको गुनासो छ ।

भक्तपुर क्याम्पस : तीन विद्यार्थीलाई एक शिक्षक, तर उपकरण प्रयोगबिहिन
भक्तपुर बहुमुखी क्याम्पसमा विज्ञान कार्यक्रममा कुल विद्यार्थी संख्या एक सय ३८ छ । यी विद्यार्थीका लागि २५ पुर्णकालीन र १८ आंशिक शिक्षक छन् । यो आधारमा तीन विद्यार्थीबराबर एक शिक्षक छन् । तर, क्याम्पसमा साइन्सका प्रयोगशाला र उपकरण प्रयोगविहीन छन् ।

बिज्ञान तथा प्रबिधि अध्ययन संस्थानको डीन कार्यालयले क्याम्पसको वनस्पतिशास्त्र बिभागलाई दिएको अटोक्लेव, ओभन, इन्कुभेटर अनुसन्धानका लागि प्रयोगमै आएका छैनन् । प्राणीशास्त्र र वनस्पतिशास्त्र विषयमा टिस्युकल्चर र मलिक्युलर बायोलोजीको पाठ्यक्रम रहेपनि प्रयोगशाला र पढाउने शिक्षक छैनन् । केही उपकरणको ‘शिपिङ बक्स’ नै नखोलिएको अनुदान आयोगको अनुसन्धान प्रतिवेदनमा उल्लेख छ । कतिपय प्रयोगशाला भए पनि उपयोग नगरेको जनाएको छ ।

पद्मकन्या क्याम्पस : प्रयोगशाला छन, प्रयोग छैन
पद्मकन्या क्याम्पसमा पाठ्यक्रममा भएका विषयको समेत प्रयोगात्मक हुने गरेको छैन । प्राणीशास्त्र, वनस्पतिशास्त्र र माइक्रोवायोलोजीमा प्रयोगात्मक काम हुन नसकेको पाइएको छ । रशायनशास्त्र विभागमा स्पेक्टोफोटोम्टर भए पनि सञ्चालनमा छैन । सो उपकरण शिक्षकलाई समेत चलाउन नआएको विद्यार्थीहरूले गुनासो गरेको प्रतिबेदनमा उल्लेख छ । फिजिकल केमेस्ट्रीको प्रयोगशाला नै छैन । वनस्पति बिभागमा टिस्यु कल्चर सम्बन्धी प्रयोगात्मक कक्षा हुँदैन भने माइक्रोवायोलोजीमा पनि कोर्ष अनुसार २० प्रतिशत पनि प्रयोगात्मक हुँदैन ।

अमृत साइन्समा उपकरण र सामाग्रि अभाव
लैनचौरस्थित अमृत साइन्स क्याम्पसमा प्रयोगशालामा उपकरण र सामाग्रीको अभाव रहेको पाइएको छ । कप्म्पुटेशनल ल्याबका लागि शिक्षकको ब्यवस्था नै छैन । रसायनशास्त्रतर्फको अनुसन्धान प्रयोगशाला निकै सानो छ ।

वीरेन्द्र बहुमुखी क्याम्पस : चाहिने भन्दा नचाहिने केमिकल बढी
भरतपुरस्थित वीरेन्द्र बहुमुखी क्याम्पसको प्रयोगशालाको अवस्था दयनिय छ । प्रयोगशालामा गुणस्तरहिन सामाग्रि आउने र पाठ्यक्रम अनुसारको प्रयोगात्मक हुन सकेको छैन । क्याम्पसको वनस्पिति बिभागमा सामान भएर पनि विषयगत शिक्ष्ँकको अभावमा टिस्यु कल्चरको प्रयोगात्मक कक्षा हुन सकेको छैन । रसायनशास्त्रका शिक्षकका अनुसार क्याम्पसमा चाहिने भन्दा नचाहिने केमिकल आउने गरेको छ । सो कलेजका शिक्षक निजी कलेजमा धाउँदा पठनपाठन नै प्रभावित भएको छ ।

पृथ्वीनारायण क्याम्पस : प्रयोगात्मकमा क्षमताभन्दा दुई गुणा विद्यार्थी
पोखरास्थित पृथ्वीनारायण क्याम्पस पनि केहि विषयमा प्रयोगात्मक कक्षामा समस्या छ । भौतिकशास्त्रमा प्रयोगशालाको क्षमता भन्दा दुई गुणा बढी विद्यार्थी सहभागि हुने गरेका छन् । रसायनशास्त्रमा केमिकलको अभाव छ । प्राणाीशास्त्र विभागमा माइस्कोसकोप र काइक्रमेस्लाइडको अभाव छ । पुराना शिक्षकले नोट दिने तर राम्रो संग नपढाउने समस्या छ । शिक्षक निजी कलेज धाउँदा पढाइ प्रभावित भएको गुनासो छ ।

ठाकुरराम बहुमुखी : अयोग्य प्रयोगशाला
वीरगञ्जस्थित ठाकुरराम बहुमुखी क्याम्पसका कुनै पनि प्रयोगशाला विद्यार्थीका लागि प्रयोग योग्य नभएको अध्ययन प्रतिबेदनमा उल्लेख छ । प्राणीशास्त्र बिभागमा मलिक्युलर बायोलोजीको प्राक्टिकल नभएको पाइएको छ । पाठ्यक्रम अनुसार प्रयोगात्मक नहुने र केहि विषयमा उपकरणको अभाव हुने गरेको छ । गणित र तथ्याङकशास्त्रको लागि कम्प्युटर प्रयोगशाला छैन ।

रामस्वरुप रामसागर : २० वर्षदेखि उस्तै
जनकपुरस्थित रामस्वरुप रामसागर बहुमुखी क्याम्पसका प्रयोगशाला समेत प्रयोग योग्य नभएको अध्ययन समितिको ठहर छ । सो क्याम्पसमा २० वर्षदेखि बिज्ञानको सामान आएका छैनन । कतिपय शिक्षक पढाउन समेत योग्य नभएको विद्यार्थीहरूले गुनासो गरेका छन् । सो क्याम्पसमा वनस्पतिशास्त्र वाहेकका विषयमा प्रयोगात्मक कक्षा हुँदैन ।

सूर्यनारायण सत्यनारायण : बिएससी बन्द गर्न सुझाव
सिराहाको सूर्यनारायण सत्यनारायण मरवैता यादव बहुमुखी क्याम्पसमा बिएससी कार्यक्रम अत्यन्तै कमजोर रहेको पाइएको छ । पहिले आइएससी हुँदा सञ्चालनमा आएको प्रयोगशाला अहिलेसम्म सुधार र स्तरोन्नती गरिएको छैन । प्राणीशास्त्र र रसायनशास्त्रमा कुनै प्रयोगात्मक हुने गरेको छैन । विद्यार्थी संख्या पनि थोरै छ । अध्ययन समितिले सो क्याम्पसको बिएससी कार्याक्रम बन्द गर्न सुझाव दिएको छ ।

महेन्द्र बिन्देश्वरी : प्रयोगात्मक उपकरणमा खिया
राजविराजस्थित कहेन्द्र विन्देश्वरी क्याम्पसको साइन्सको कार्यक्रम नाजुक छ । साइन्सको पढाईमात्र होइन प्रयोगात्मक कार्यसमेत नहुँदा उपकरणमा खिया लागेका छन् । प्रविणता प्रमाणपत्र तहहुँदा जे अवस्थामा सञ्चालन थियो अहिले सोही अवस्थामै छ । उपकरणहरू पुराना र लामो समय प्रयोगमा नल्याउँदा काम नलाग्ने भएका छन् । ग्लास बोतलमा रहेका केमिकल सुकेका र प्रयोगशालामा डिस्टिल वाटर बनाउने मेसिन खिया लागेर बिग्रिएका छन् । प्रयोगशालामा सुक्ष्मजीव कल्चरको ब्यवस्था छैन । त्यसैगरी पाठ्यक्रम अनुसार मलिक्युलर बायोलोजी, बायोरशायनशास्त्रको प्रयोगशाला नै स्थापना भएको छैन ।

स्नातकोत्तर क्याम्पस : शिक्षकले बाड्छन किर्तिपुरको फोटोकपी
बिराटनगरस्थित स्नातकोत्तर क्याम्पसमा उपकरण र प्रयोगशालाको अवस्था राम्रो छैन । उपकरणहरू नचल्ले अवस्थामा छन् । प्रयोगशाला कक्षाहरू धुलाम्मे र फोहर अवस्थामा छन् । फिजियोलोजी, प्यागोलोजी, जेनेटिक्स, साइटोलोजी जस्ता विषयमा प्रयोगात्मक कक्षा हुन सकेका छैनन । प्रतिबेदनमा भनिएको छ, ‘किर्तिपुरबाट फोटोकपी गरेर ल्याइएका कपिहरू विद्यार्थीलाई उपलब्ध गराइन्छ, प्रयोगशालामा पुस्तक छैनन । शिक्षकको अभाव छ ।’ डीन कार्यालयबाट आएका उपकरणसबै कम गुणस्तर र नचल्ने किसिमका छन् ।

केन्द्रीय प्रबिधि क्याम्पस : विद्यार्थीबाट नयाँ उत्पादन
धरानस्थित केन्द्रीय प्रबिधि क्याम्पसको अवस्था राम्रो रहेको पाइएको छ । शिक्षक र विद्यार्थीको सहकार्यमा नयाँ नयाँ उत्पादन गर्न समेत सफल भएको पाइएको छ । केहि विषयबाहेकमा उपकरणको पनि ब्यवस्था छ । खाद्य प्रबिधिको पाठ्यक्रम अनुसार करिव ८० प्रतिशत प्रयोगात्मक कक्षा सञ्चालन भएका छन् । विद्यार्थीहरूले रियो जुस, सिस्नो पाउडर समेत उत्पादन गरेका छन् । प्रयोगात्मक कक्षा राम्रो भएका कारणले पनि खाद्य प्रबिधिमा विद्यार्थीको आकर्षण बढेको प्रतिबेदनमा उल्लेख छ ।

सेमेस्टर प्रमाणलीमा कतै ३२ जना कतै ६०
त्रिविको स्नातकोत्तर तहमा सबै कार्यक्रम सेमेस्टर प्राणलीमा सञ्चालन भएको छ । त्रिविमा ब्यवस्थानका कायृक्रम सञ्चालन गर्ने केहि आंगिक क्याम्पसमा अत्यधिक चाप छ । ब्यवस्थापन संकायको एमबिएस सेमेस्टर प्रणालीमा सुरु भए पनि विद्यार्थी संख्या धेरै छ । त्रिविकै सेमेस्टर प्रणालीमा सञ्चालन हुने कार्यक्रममा विद्यार्थी संख्या फरक छ । त्रिविले एमबिएमा ३५ र एमबिएममा ४४ जना राख्ने ब्यवस्था गरेको छ । तर ब्यवस्थापन संकायकै एमबिएस कार्यक्रममा एउटा कम्तिमा ६० जना राखेर पढाउने गरेका छन् । शंकरदेव क्याम्पसले एउटा सेमेस्टरमा बिबिए र बिबिएममा ३२ जना राखेर पढाउँछ । तर एमबिएसमा एउटा सेमेस्टरमा ६० जना राख्ने गरेको छ । स्पेसलाइजेसन विषयमा त्यो भन्दा पनि बढी विद्यार्थी एउटा सेमेस्टरमा पढ्छन् । शंकरदेवले एक सेमेस्टरमा एमबिएसमा १५ सय विद्यार्थी भर्ना गरेको छ । क्षमता अनुसार सो संख्या धेरै रहेको एक प्राध्यापकले बताए ।

त्रिविको आंगिक नेपाल कमर्श क्याम्पसमा समेत विद्यार्थीको चाप धेरै छ । सो क्याम्पसले प्रत्येक वर्ष सबै सिफ्टमा गरी एक हजारको हारहारीमा भर्ना गर्दछ । क्याम्पस प्रमुख प्राडा जीवन भट्टराईले सेमेस्टरको मर्म अनुसार पठनपाठनका लागि एउटा सेमेस्टरमा ६० जना धेरै हुुने बताए । उनले भने, ‘हामीले केन्द्रको नर्मस् मानेका हौं, विद्यार्थीको सहि मुल्याङकनका लागि त्यो संख्या धेरै हो ।’दिउँसो र बेलुकीमा पुर्वाधार प्रसस्त भए पनि बिहान पढ्न चाहने विद्यार्थीको चाप धेरै छ ।

नयाँ पत्रिकाबाट

    
        Loading...

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

    
        Loading...     
    

अन्तरवार्ता

समाचार