Presidential

डेङ्गु रोगबारे जनमानसमा ज्ञानको कमी


डेङ्गु रोगबारे जनमानसमा ज्ञानको कमी

काठमाडौँ, ३ असोज ।

हिमाल, पहाड र तराई भिन्नभिन्न हावापानी र मौसम भएका अधिकांश जिल्लामा डेङ्गु रोग सार्ने ‘एडिस एजेप्टी’ र ‘एडिस एल्बोपिक्टस’ पोथी जातका लामखुट्टे पुगेको पाइएको छ । सो रोग सबै प्रदेशसहित ६८ जिल्ला देखापरेको कीटजन्य रोगको व्यवस्थापन गर्ने निकाय इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले जनाएको छ ।

मनाङमा समेत एक जनामा डेङ्गु देखापरेको छ । महाशाखाको पछिल्लो विवरणअनुसार रोगका कारण हालसम्म काठमाडौँ, सिन्धुपाल्चोक, सुनसरी, चितवन र डोटीमा गरी ६ जनाको मृत्यु भएको छ । सात हजार ३७० जनामा डेङ्गु रोगी फेला परेका छन् । निजी क्लिनिकमा उपचार गर्नेको सङ्ख्या यसमा उल्लेख गरिएको छैन ।

नेपाल स्वास्थ्य अनुसन्धान परिषद्का वरिष्ठ कीटजन्य रोग अनुसन्धानकर्ता डा मेघनाथ घिमालका अनुसार नेपालमा एडिस एजेप्टीले एक हजार ८०० र एडिस एल्बोपिक्टसले दुई हजार १०० मिटरको उचाइमा प्रजनन गर्ने क्षमता पाइएको छ । “जलवायु परिवर्तन र तापमान वृद्धिका कारण ती दुवै प्रजातिका लामखुट्टे सबै हावापानी भएको ठाउँमा पुगेका छन् । डेङ्गुको प्रकोप फैलिन सक्छ भनेर वीरगञ्जदेखि पहिल्याउँदै रसुवाको धुन्चेसम्म अध्ययन गरेका थियौँ । नियन्त्रणका कार्यक्रम ल्याउन सरकारसँग आग्रह गरेका थियौँ”, उहाँले भन्नुभयो ।

सन् २०१२ मा छ महीना लगाएर परिषद्ले अध्ययन सम्पन्न गरेको थियो । डेङ्गु सार्ने लामखुट्टे लगभग दुई हजार १०० मिटरको उचाइसम्म फैलिन सक्ने र ती उचाइमा लामखुट्टेका एडल, लार्भा र फुलसमेत फेला परेको जानकारी स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयलाई दिइएको थियो । परिषद्को अध्ययनले सो रोग महामारीका रुपमा फैलिसकेको तर जनमानसमा रोगबारे ज्ञानको कमी भएको देखाएको छ । अध्ययनअनुसार माथिल्लो भूभाग अर्थात् हिमाल र पहाडी जिल्लाका १६ तथा तल्लो अर्थात् तराईका जिल्लाका ५३ प्रतिशत नागरिकले मात्र डेङ्गुबारे सुनेको पाइएको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सल्लाहकार चिकित्सक कृष्णकुमार राई डेङ्गु रोग महामारीका रुपमा नफैलिएको र रोग नियन्त्रण गर्न मन्त्रालयले प्राथमिकता दिएको बताउनुहुन्छ । उहाँ भन्नुुहुन्छ, “डेङ्गु रोगबाट त्रसित हुनुपर्ने अवस्था छैन । सावधानी भने अपनाउनुपर्छ ।”

अस्पतालमा चाप यथावत्

टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा ज्वरो तथा डेङ्गु परीक्षण गर्न आउने विरामीको चाप यथावत् छ । अस्पतालमा दैनिक सात सयभन्दा बढी ज्वरोका बिरामीले मुख्यतः डेङ्गु रोगका बारेमा आफ्नो स्वास्थ्य परीक्षण गराउने गरेको अस्पतालका सूचना अधिकारी रूपनारायण खतिवडाले जानकारी दिनुभयो ।

भदौमा अस्पतालमा झण्डै चार हजार जनाभन्दा बढीको डेङ्गु परीक्षण गरिएकामा आधाभन्दा बढीमा डेङ्गु पोजेटिभ भेटिएको छ । केन्द्रीय तहको एक मात्र सरुवा रोग नियन्त्रण सो अस्पतालले बिरामीको सहजताका लागि दुई फिवर क्लिनिक सञ्चालन गरेको छ । क्लिनिकमा चार विशेषज्ञ चिकित्सकसहित नर्स र अन्य स्वास्थ्यकर्मी कार्यरत छन् ।

विश्व स्वास्थ्य सङ्गठनले ‘लामखुट्टे खोज र नष्ट गर’ नै डेङ्गु रोग नियन्त्रणको प्रभावकारी माध्यम भएको स्पष्ट पारेको छ । यसका लागि हरेक घर, परिवार र समुदायले सक्रिय रुपमा यस कार्यमा सहभागी हुन उसले आग्रहसमेत गरेको छ । सङ्गठनका नेपाल कार्यालयमा कार्यरत वरिष्ठ कीट विज्ञानका चिकित्सक लङटेन वाङचुकले भन्नुभयो, “घरमा, घर वरिपरि पानी जम्न नदिई सफा राख्नु, लामखुट्टेलाई नियन्त्रण गर्नु नै डेङ्गु रोगबाट बच्ने उपाय हो । यसका लागि हरेक व्यक्ति आफैँ सचेत बन्नुपर्छ ।”

सङ्गठनमा कार्यरत अर्का चिकित्सक बिएन नागपाल अन्य लामखुट्टेको तुलनामा एडिस जातका लामखुट्टे बढी चलाख भएकाले नियन्त्रण गर्न पछिल्लो समय चुनौतीपूर्ण बनेको बताउनुहुन्छ । उहाँका अनुसार हालसम्म विश्वका १२६ देशमा डेङ्गु रोग फैलिसकेको छ । सन् १९५६ मा विश्वका नौ देशमा मात्र सो रोग देखिएको थियो । शहरी क्षेत्रमा लामखुट्टेले अन्य प्राणीको रगत चुस्न नपाएपछि विशेष गरी सफा शहरी क्षेत्रमा डेङ्गु फैलिएको विश्लेषण उहाँको छ ।

नागपालले भन्नुभयो, “लामखुट्टे नष्ट गर्न व्यक्ति व्यक्तिमा जनचेतना हुनुपर्छ । औषधि र खोपले मात्र यसलाई नियन्त्रण गर्न सकिँदैन । व्यक्तिले आफ्नो व्यवहार परिवर्तन गर्नुपर्छ । घरका भाँडावर्तन तथा अन्य स्थानमा पानी जम्न दिनु हुँदैन । घरमा पानी छोपेर राख्नुपर्छ ।”

कर्मचारी समायोजनका कारण कीटजन्य रोग नियन्त्रण गर्न जनशक्तिको अभाव रहेको छ । समायोजनले गर्दा कीटजन्य रोग व्यवस्थापनका अधिकांश स्वास्थ्यकर्मी फाजिलमा परेका छन् । “कीटजन्य रोग व्यवस्थापन गर्न आर्थिक स्रोत तथा जनशक्ति स्थानीय तथा प्रदेश तहमा गएको छ”, इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका जनस्वास्थ्य अधिकृत लीलाविक्रम थापा भन्नहुन्छ ।

डेङ्गु रोग एडिस जातको पोथी लामखुट्टेको टोकाइबाट सर्ने एक प्रकारको सरुवा रोग हो । पोथी जातको सो लामखुट्टेको टोकाइको भाइरसबाट सङ्क्रमित भई रोग सार्दछ । प्रायः सो जातको लामखुट्टेले विशेषगरी दिउँसो मात्र टोक्ने गर्दछ । बर्सात्को समय शुरु भएपछि सो रोग बढी देखापर्दछ । सफा पानी जमेको स्थानमा सो जातको लामखुट्टेले फुल पार्ने गर्दछ । सोही फुलबाट प्युपा हुँदै नयाँ लामखुट्टे उत्पन्न हुन्छ ।

ज्वरो आउने, टाउको दुख्ने, आँखाको गेडी दुख्ने, शरीरमा डाबर आउने, अरुचि हुने, जोर्नी तथा मांसपेशी बेस्सरी दुख्ने, पेट तथा आन्द्रामा गडबडी हुने सो रोगका लक्षण भएको सरुवा रोग विशेषज्ञ चिकित्सक शेरबहादुर पुनले जानकारी दिनुभयो । मुख्यतः लामखुट्टेको टोकाइबाट जोगिनु नै मुख्य रुपमा सो रोगबाट बच्ने उपाय मानिन्छ । उहाँ भन्नुहुन्छ, “पूरा शरीर ढाकिने गरी कपडा लगाउने, लामखुट्टेको टोकाइबाट बच्न राति र दिउँसो पनि झुलभित्र सुत्ने, घर वरपर सफा राख्ने, पानी जम्न नदिने, पानी राख्ने भाँडा जस्तै पानी ट्याङ्की, ग्रागी, बाल्टिन, ड्रमलगायत भाँडा सधैँ छोपेर राख्नुपर्छ ।”

    
        Loading...

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

    
        Loading...     
    

अन्तरवार्ता

समाचार