Presidential

आँसु टिल्पिलाउँदै जीवराज आश्रितका छोरा डा. सागरले भने– ‘मेरो सफलता देखेर बुबाको आत्मा खुसी होस्’

आँसु टिल्पिलाउँदै जीवराज आश्रितका छोरा डा. सागरले भने– ‘मेरो सफलता देखेर बुबाको आत्मा खुसी होस्’

२०५० जेठ ३ को त्यो कालो दिन सम्झिँदा सागर न्यौपाने आफूलाई सम्हाल्न सक्दैनन्, जुन दिन उनले लाखौँ मानिसहरुका प्रिय नेता, आफ्ना बुबा जीवराज आश्रितलाई गुमाएका थिए । जननेता मदन भण्डारी र कुशल संगठक आश्रित सधैँका लागि विदा भएको २३ वर्ष बितिसकेका छ र त्यतिबेला सानै रहेका उहाँका सन्तानहरुले पनि अब आ–आफ्नो बाटो समातिसेका छन् । आश्रित-पुत्र सागर चीनबाट कुशल चिकित्सक बनेर फर्किएका छन् र यतिबेला पार्टीका अंकलहरु अर्थात बुबाका साथीहरुलाई एकएक गरी भेटिरहेका छन् ।

कलिलैमा बुवा गुमाएका र आमा माया ज्ञवालीको काखमा हुर्किएका सागर बुबाको प्रसंग आउनासाथ भावुक भइहाल्छन् । कुराकानीका क्रममा कतिपटक त उनले समेत पत्तो नपाउने गरी उनको पावरवाला चस्मा छिचोलेर आँसुका थोपा बगे ।

सागर १४ वर्ष छिमेकी मुलुक चीनमा बसेर ग्यास्ट्रिक क्यान्सरमा विशेषज्ञता (सुपर स्पेसियालिटी) हासिल गरेर फर्केका छन् । सन यात्सेन युनिभर्सिटी अफ मेडिकल साइन्सेसबाट ग्यास्ट्रिक क्यान्सर सर्जरीमा विद्यावारिधि गरेका सागरले पहिलो न्युजका कार्यकारी सम्पादक मोहन बाँस्तोलासँग डेढ घन्टा बसाइका क्रममा आफ्नो अध्ययन, परिवार, देशको राजनीतिदेखि आफूले समात्ने आगामी बाटो आदिबारे खुलेर कुरा गरेका छन् । प्रस्तुत छ, त्यसको सम्पादित अंशः

सम्झनामा बुवा

मेरो सम्झनामा बुबा इमानदार कार्यकर्ता जस्तो लाग्छ । म सानै थिएँ । त्यसैले उहाँका सबै आनी–बानीबारे त थाहा हुने कुरा भएन । फेरि उहाँ भूमिगत भएका कारण धेरै समय सँगै बस्ने पनि पाइएन । मैले उहाँलाई जति देखेँ, कि अध्ययनमा व्यस्त हुनुहुन्थ्यो कि त अरु नेताहरुसँग भेटघाटमै ।

म ललिपुरमा जन्मिएको हुँ । पोखरा र बुटवलमा हामी बुबासँगै बस्यौँ । मैले सम्झेसम्म बुबाले कहिल्यै पनि सानो झोला र त्यसभित्र केही सामानहरु कहिल्यै छुटाउनु हुन्थेन । पछि मात्र थाहा पाएँ, त्यसभित्र उहाँले पार्टीका महत्वपूर्ण सामाग्रीहरु बोक्नु हुँदोरहेछ ।

मेरो बालमष्तिष्कले धेरै कुरा ख्याल गर्न त सम्भव थिएन । तर, मलाई उहाँ एकदम अनुशासनमा रहने व्यक्ति जस्तो लाग्थ्यो । मैले यहाँसम्म आउँदा बाटो देखाउने धेरै पथप्रर्दशक र गुरुहरु भेटेको छु । उहाँहरु पनि मेरो आदर्श हुनुहुन्छ । तर, मेरो बुबा भएर मात्र भनेको होइन, मलाई उहाँ अरु नेताहरुभन्दा अनुशासित लाग्थ्यो ।

एक पटक बुबासँगै पोखराबाट बुटवलको यात्रा गर्ने अवसर मिलेको थियो । त्यसबेला निकै रमाइलो लागेको थियो । मैले हरेक पटक परीक्षामा प्राप्त गरेको सफलतामा बुबा मभन्दा बढी खुशी हुनुहुन्थ्यो । मेरो छोराले यति प्रतिशत ल्यायो भनेर ममी र अरुलाई सुनाउनु हुन्थ्यो । मेरो बालचञ्चले मन त्यसै त्यसै खुशीले उफ्रिएको अनुभूति हुन्थ्यो ।

बुबा भएको भए…

१४ वर्ष छिमेकी मुलुक चीनमा बसेर त्यहीँबाट ग्यास्ट्रिक क्यान्सरमा विशेषज्ञता (सुपर स्पेसियालिटी) हासिल गरेर म भर्खर नेपाल फर्किएको छु । निश्चय पनि बुबा हुनुभएको भए मेरो यो सफलतामा निकै प्रशंन्न हुनुहुन्थ्यो । मैले बुबालाई गौरवका साथ यो सफलता सुनाउने थिएँ । तर, त्यो सौभाग्य मलाई उपलब्ध भएन । एक्लै सम्झिदाँ मलाई निश्चय पनि कता–कता बुबाको अभाव खड्किन्छ ।

म सानैदेखि अध्ययनमा रुचि राख्ने स्वाभावको थिएँ । बुबा पनि मेरो पढाइप्रति एकदमै सजग हुनुहुन्थ्यो । बारम्वार मेरो छोराले अध्ययन गरोस्, ठूलो मान्छे बनोस् भन्ने मात्र चाहना उहाँले राख्नुहुन्थ्यो । म पनि मैले अध्ययन गरेँ भने बुबा खुसी हुनुहुन्छ भनेर झन्झन् बढी अध्ययन गर्थें । राम्रो विद्यालयमा अध्ययन गराउनुपर्छ, यो निकै चलाख छ भनेर बुवा मलाई उत्प्रेरणा दिने गर्नुहुन्थ्यो । मेरो पढाइप्रति सबैभन्दा बढी चिन्ता गर्ने व्यक्ति नै नहुँदा र उहाँलाई यो सफलता सुनाउन नपाउँदा मन खिन्न हुनु स्वाभाविकै हो । मेरो बुबा नभए पनि उहाँको आत्माले मेरो सफलता देखेर शुखी व्यक्त गरिरहेको होला भन्ने मनमा लाग्छ ।

२३ वर्षपछि पनि बुबाको सम्झना ताजै

बुबा वितेको २३ वर्ष भइसक्यो । उहाँ वित्दा म ११ वर्षको थिएँ, अहिले ३४ वर्षको भएँ । उहाँले जुन बेला राजनीति गर्नुभएको थियो, त्यो बेला र अहिलेको राजनीतिमा निकै भिन्नता छ । उहाँले राजनीति गर्दा अनुशासन महत्वपूर्ण मानिन्थ्यो । अहिले त्यो चीज हराउँदै गएको हो कि जस्तो देखिएको छ । बुबाहरुले जुन त्याग, तपस्या र वलिदानीपूर्ण संघर्षबाट पार्टीलाई माथि उठाउनुभएको थियो, त्यो प्रतिष्ठासहितको पार्टीलाई बचाउन सकेको अवस्थामा मात्र बुबाप्रति सम्मान होला जस्तो लाग्छ । उहाँ पार्टीको सम्पत्तिको हो । उहाँ मरेर गए पनि उहाँले छाडेका पदचापमा पार्टी हिडेको देख्दा केही हदसम्म खुसी पनि लाग्छ ।

अध्ययनमा परिवार र पार्टीको योगदान

मैले अहिले जुन सफलता प्राप्त गरेको छु, निश्चय पनि मेरो परिवारको त यो सफलतामा हात छ नै, सँगसँगै बुबाहरुले बनाएको पार्टी नेकपा (एमाले)को पनि निकै ठूलो भूमिका छ । मैले छात्रवृत्तिमै अध्ययन गरेको हुँ । यो अवसर जुटाउने कुरामा पार्टीको भूमिका महत्वपूर्ण छ । मेरो सफलतामा पार्टीले गरेको सहयोगलाई मैले अतुलनीय ठानेको छु । पार्टीले मलाई सहयोग नगरेको भए मैले चीनमा गएर अध्ययन गर्ने मौका नपाउन सक्थेँ । पार्टीले मौका दिएपछि नै मैले आफ्नो क्षमता प्रदर्शन गर्न पाएँ र यो सफलता प्राप्त गरेँ ।

ममी आमा नभएको भए…

सुरुका दिनमा ममीले गरेका दुःख दिन सम्झिँदा अहिले पनि पीडा हुन्छ । विवाहपछि लामो समय बुबा भूमिगत हुनुभएको थियो । सँगै बस्ने ममीको चाहना चाहना अधुरै थियो । जब देशमा बहुदल आयो, बुबाहरु खुल्ला हुनुभयो । त्यसपछि परिवारसँगै बस्ने मनभरी सपना साँचिरहेका बेला बुबाको देहान्तले ममी कति मर्माहत हुनुभयो होला, म त्यो कल्पना पनि गर्न सक्दिनँ । आँधीहुरीले सबै सपना उडाए पनि उहाँ कहिल्यै विचलित हुनुभएन । बुबाको अभावमा पनि ममीले काँध थाप्नुभयो । टुटेका सपना दिदी र ममा विस्तारै जोड्दै जानुभयो । अथाह दुःख गरेर ममीले हामीलाई कहिल्यै बुबाको अभाव हुन दिनुभएन । सानै उमेरदेखि दुःख सहन सक्ने क्षमताका कारण ममीले सबै पीडा लुकाएर पनि हामीमा सपना बुन्दिनुभयो । ममीले बुनिदिएका सपनाले मलाई सफलताका खुड्किला चढ्न सहयोग पु¥यायो । दुःख सहन सक्ने बानी परेका कारण पहिलाका दुःखलाई भुलेर केही सुखानुभूति गर्ने चरणमा परेको बज्रपातलाई पनि ममीले सहज पचाउनुभयो ।

चीन नगएको भए अनेरास्ववियुको राजनीति गर्थें

मैले पहिलादेखि नै राजनीतिमा सक्रिय भएर काम गर्ने अवसर प्राप्त गरिनँ । म नेपालमै रहेको भए वा चीन गएर पढ्ने अवसर प्राप्त नगरेको भए अनेरास्ववियुको राजनीति गर्ने थिएँ । मैले बुढानिलकण्ठ स्कुलमा अध्ययन गरेँ । बनस्थली पनि पढेँ । उच्च शिक्षाको अध्ययनसँगै मेरो रहर राजनीति गर्ने थियो । त्यो सम्भव भएन । म सानो छदाँ पनि पार्टीका‘अंकलहरु घरमा आउने–जाने गर्नुहुन्थ्यो । उहाँहरुले गरेका कुराहरु सुन्थेँ । बुबा निरन्तर राजनीतिमा सक्रिय भएको देख्दा ममा त्यसै बेलादेखि राजनीतिको रङ चढेको थियो । चीन नजाँदै म एमालेको संगठित सदस्य भएर राजनीति गरौँ कि भन्ने मुडमा पनि थिएँ । तर, अध्ययनका सिलसिलामा चीन गएपछि मेरो राजनीतिसँगको सम्बन्ध विस्तारै घट्दै गयो, अध्ययनसँगको सम्बन्ध बढ्दै गयो । पढाइ र राजनीति फरक पाटा रहेछन् । राजनीतिमा धेरै ठूलो योगदान नभएकाले पूरै राजनीति मात्रै गर्न त सम्भव नहोला तर राजनीतिभन्दा टाढा चाहिँ बस्दिनँ ।

पार्टी र देशलाई विज्ञताबाट सहयोग

पार्टीलाई अहिले विभिन्न क्षेत्रका विज्ञहरुको आवश्यकता छ । देशलाई पनि विज्ञ चाहिएको छ । रातदिन भाषण मात्रै गरेर हिँड्ने भन्दा पनि आफ्नो विज्ञताबाट पार्टीलाई सहयोग गर्न सकियो भने पार्टी र देशका लागि बढी फाइदा होला जस्तो लाग्छ । पार्टीले आफ्ना लागि मात्र युवाहरुलाई प्रयोग गर्ने होइन, पार्टीलाई योगदान गर्नु भनेको त्यो देशका लागि पनि योगदान हो ।

मैले तत्कालै पार्टीमा सक्रिय बन्ने योजना बनाएको छैन । मैले अहिले नै पार्टीमा सक्रिय हुने र पदको अपेक्षा गर्ने कुरा गरेँ भने मेरो महत्वाकांक्षा हुन्छ । पहिला आफूले पनि पार्टीमा योगदान गर्न सक्नुपर्छ । योगदान नै नगरी तत्कालै फाइदा लिने वा जीवराज आश्रितको छोरा भएकै कारणले केही पनि योगदान नै नगरी मन्त्री–सांसद बन्ने कुरा सम्भव हुँदैन । यद्यपि, भविष्यमा मैले पार्टीमा योगदान गर्न सकेँ, पार्टीले मेरो आवश्यकता महशुस गर्यो भने केही पनि बन्दिनँ भन्ने कुरा हुँदैन ।

राजनीतिबाट पूरै सन्तुष्ट छैन

नेपालमा बहुदल आएको २६ वर्ष वितिसकेको छ । यसबीचमा नेपालबाट राजतन्त्र हट्यो, गणतन्त्र आयो । यो उपलब्धि हो । समयको परिवर्तनसँगै पार्टीहरुले पनि आफ्ना नीति, विचार र सिद्धान्तहरुमा परिवर्तन गर्दै जानुपर्छ । यसरी हेर्दा पार्टी ‘आउट अफ ट्रयाक’ मै त गएको छैन तर गर्नुपर्ने जति सफलता प्राप्त चाहिँ प्राप्त नगरेको हो कि जस्तो लाग्छ । पार्टीभित्रका धेरै आलोचनाहरु सञ्चारमाध्यममा आउने गरेका छन् । म त्यति धेरै चासो त राख्दिनँ तर त्यस्तो नभएको भए हुन्थ्यो जस्तो चाहिँ लाग्छ
मेरो अध्ययन

मैले मेडिकल साइन्समा विद्यावारिधि गरेको छु । मैले नै विद्यावारिधि गरेको विषयमा अध्ययन गर्ने चिकित्सकहरु मेरो बुझाइमा नेपालमा सायदै हुनुहुन्छ । यो अनुसन्धानमा आधारित विषय भएकाले पनि केही कठिन अवश्य छ । पेट र आन्द्रासम्बन्धी रोगीहरुका बारेमा मैले अध्ययन गरेको हुँ । अझ भन्ने हो भने मेरो विषय ग्याष्ट्रिक क्यान्सरसँग सम्वन्धित छ । एमबीबीएस गरेपछि एमडी गरेँ । त्यसपछि त्यसैमा पीएचडी गरेँ ।
नेपालमा सजिलो छैन

मैले चीनमा १४ वर्ष अध्ययन गरे पनि नेपालका सन्दर्भमा अपरिपक्क जस्तै छु । पहिलो कुरा त मैले मेडिकल लाइसेन्स लिनुपर्ने हुन्छ । त्यो प्रक्रिया पूरा गर्नका लागि कम्तीमा एक वर्ष लाग्छ । नेपालमा झट्ट अवसर पाइहाल्न पनि समय लाग्न सक्छ । मैले सन् २००८ मै एमबीबीएस गरेको हुँ । तर, अहिलेसम्म नेपालबाट लाइसेन्स नलिएकाले समस्या भएको छ । मैले डाक्टरका लागि अध्ययन गर्नेभन्दा बढी गरेँ । तर, लाइसेन्सकै कारण एक वर्ष त्यत्तिकै बस्नु पर्नेछ ।  

जब लाइसेन्स लिन्छु, त्यसपछि सहज हुनेछ । मैले यहाँ गर्छु मात्र भन्नुपर्छ, काम पाउँछु । केही वर्ष मैले रोजगारी गरेपछि म आफैँले पनि काम गरेर जाने सम्भावना छ ।

125 पटक पढिएको

    
        Loading...     
    

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

        
            Loading...     
        

    अन्तरवार्ता

    समाचार