Presidential

‘स्थायी कमिटीमा राख्छौँ भनेर लिएका थिए, उप–कमिटीमा राखेछन्’

‘स्थायी कमिटीमा राख्छौँ भनेर लिएका थिए, उप–कमिटीमा राखेछन्’

९ भदौ । राधाकृष्ण मैनाली मुश्किलले एमाले कार्यालय, धुम्बाराही जान्छन् । उनका लागि त्यहाँ न बस्ने कुनै ठाउँ छ न त केही काम नै । अन्तरपार्टी निर्देशनमा उनलाई अरु राजीतिक दलसँग सहमति, सम्वाद र सहकार्यसम्बन्धी काम दिइएको उल्लेख छ । तर, आजसम्म उनलाई कुनै एउटा वार्तामा पनि खबर गरिएको छैन ।

विहीबार विहान आठ बजे चाहिँ मैनाली धुम्बाराही पुगेका थिए । हालै सम्पन्न स्थायी समितिको बैठकले अरु दलबाट एमालेमा आउन चाहनेहरुसँग वार्ता गर्न र उनीहरुलाई जिम्मेवारी दिनका लागि स्थायी समितिसमक्ष सिफारिश गर्न महासचिव ईश्वर पोखरेलको संयोजकत्वमा गठन गरेको समितिका कनिष्ट सदस्य छन्, मैनाली । त्यही कमिटीको बैठकमा भाग लिन उनलाई कार्यालय सचिव कृष्णगोपाल श्रेष्ठले अघिल्लो विहान खबर गरे्का थिए ।

कार्यकर्तासँग घुलमिल हुने, रमाइलो कुराकानी गर्ने र एकताका फराकिलो जनसम्पर्क भएका यी नेता पार्टी कार्यालय नै किन जाँदैनन् त ? यस प्रश्नको मैनालीसँग लामो जवाफ छ ।

पार्टीमा चित्त नबुझेपछि बाहिरिएर ज्ञानेन्द्रको सरकारमा मन्त्री भएका नेकपा (माले), हालको एमालेका स्थापनाभन्दा पनि पुराना यी नेता ०६३ सालपछि थप विरक्तिएका थिए । उर्लेर आएको माओवादीका पाइला राखे पनि यिनको मन चाहिँ आफैँले बनाएको पार्टीतिरै रहेछ । त्यहाँ उनी न घुलमिल हुन सके, न त कुनै जिम्मेवारी नै पाए ।

त्यही बेलामा एमालेका नेताहरुले मैनालीसँग सम्पर्क राखे । नवौँ महाधिवेशनभन्दा पहिला पुराना नेता, कार्यकर्तालाई घर फर्काउने अभियान अन्तर्गत मैनालीलाई पनि फर्किन अनुरोध गरे । एक, दुई जनाले होइन, तत्कालीन एमाले अध्यक्ष झलनाथ खनालको डल्लुस्थित घरमा बसेर एमालेको सिंगै नेतृत्वले उनलाई पार्टीमा फर्किन अनुरोध गरेपछि उनी राजी भए ।

एमालेकै लागि १४ वर्ष जेल बसेका मैनालीको माग थियो, मलाई जहाँबाट हटाइएको हो, त्यहीँ पुनःस्थापित गर्नुपर्छ अर्थात् स्थायी समिति सदस्य चाहिन्छ । एमालेका नेताहरुले तत्कालै होइन, महाधिवेशनपछि चाहिँ पक्का भनेर बचन दिएका थिए ।

झापामा ‘वर्गशत्रु खत्तम‘ भन्दै आन्दोलन गर्ने बेलाका सहयोद्धा केपी ओली पार्टी अध्यक्ष भएपछि मैनाली थप उत्साहित बने । बेलाबेलामा ओलीले बालकोटमै बोलाएर राम्रै ’रेस्पोन्स‘ गरेपछि अब जीवनको उत्तराद्र्धमा त्यति एउटा जिम्मा पाइन्छ भन्नेमा उनी आशावादी रहेछन् । त्यस्तैमा एकदिन उनलाई भनियो, ’माधव नेपालले मानिरहेका छैनन् ।’ उनले माधव नेपाललाई पनि भेटे र बुझ्दा त कुरा उल्टो रहेछ ।
महाधिवेशनपछि मैनालीलाई केन्द्रीय समितिमा राखिएको छ । उनले बुझेका छन्, १ सय ८५ सदस्यीय जम्बो टीममा उनलाई मानका खातिर मान दिन त्यहाँ राखिएको छ । त्यही भएर उनी धुम्बराहीतिर जाँदैनन् ।

माइन्युटमा सही नगरी विदा

‘मैले किन सही गर्ने ? मलाई स्थायी कमिटीमा राख्छौँ भनेर लिएका थिए, अहिले उपकमिटीमा राखेछन् । मैले आफ्नो कुरो राखेँ र हिँडेँ । एमाले आएर मैले आफैँ केही जिम्मेवारी पाएको छैन । त्यस्तो अवस्थामा मैले अरुलाई के जिम्मेवारी दिने भनेर सिफारिश गर्ने ? त्यही भनेर म त बैठकमै बसिनँ ।’

विहीबारको बैठकमा मैनालीले आफ्नो लामो गुनासो सुनाए । सार उही थियो, ‘मलाई नै केही जिम्मा दिनुभएको छैन, अनि मैले कसरी अरुलाई जिम्मा दिन्छौँ, एमालेमा आऊ भन्न सक्छु ?’ नेताहरुसँग खास जवाफ थिएन । ‘हामी अध्यक्षलाई भन्छौँ, बैठकमा सहभागी हुनूस्’ भन्दा पनि मैनाली माइन्युटमा सही नगरी निस्केछन् । किन त ? उनी भन्छ्न्, ‘मैले किन सही गर्ने ? मलाई स्थायी कमिटीमा राख्छौँ भनेर लिएका थिए, अहिले उपकमिटीमा राखेछन् । मैले आफ्नो कुरो राखेँ र हिँडेँ । एमाले आएर मैले आफैँ केही जिम्मेवारी पाएको छैन । त्यस्तो अवस्थामा मैले अरुलाई के जिम्मेवारी दिने भनेर सिफारिश गर्ने ? त्यही भनेर म त बैठकमै बसिनँ ।’

आफूजस्तै धेरै नेता–कार्यकर्ता जिम्मेवारीविहीन भएको मैनालीले सुनाए । ‘एमालेमा फर्किन चाहनेहरुको ठूलो पंक्ति छ । तर, फर्किसकेकाहरुले नै काम नपाएको देखेर उनीहरु हच्किएका छन्’, उनले सुनाए, ‘फर्केकामध्ये एकजना विजय सुब्बालाई चाहिँ जिम्मा दिए, बाँकी यत्तिकै हल्लिरहेका छन् ।’

बालकोट गएका छैनन्

जिम्मेवारी चाहियो भनेर मैनालीले अध्यक्ष ओलीलाई धेरैपटक अनुरोध गरे । त्यसका लागि घरमै गएर भेटे, प्रधानमन्त्री हुँदा भेटे, अरु नेतामार्फत भने । ओली प्रधानमन्त्रीबाट बाहिरिएपछि चाहिँ उनले भेटेका छैनन् । किन त ? ‘प्रचण्डले प्रधानमन्त्री बनाइदिएका थिए, आफ्नै बुद्धिले सरकार टिकाउन सकेनन् र बाहिरिए’, उनी भन्छन्, ‘म के हर्षले फूलमाला लिएर भेट्न जाऊँ ?’ फेरि जाने हो भने भेट नहुने अर्को समस्या पनि उनले भोगेका छन्, ‘उनले आफैँ बोलाए हो, नत्र तीन घन्टा कुर्नुपर्छ गएर के गर्नु ?

आफ्नो पार्टीमा आबद्ध हुन एमालेद्वारा आह्वान

महासचिव ईश्वर पोखरेलको संयोजकत्वमा गठित कार्यदलको आज बसेको बैठकले विभिन्न व्यक्ति तथा पार्टीलाई आफ्नो पार्टीमा समाहित गराउनका पहल थाल्ने निर्णय गरेको छ । बैठकपछि कार्यदलका सदस्य तथा प्रचार विभाग प्रमुख योगेश भट्टराईले वक्तव्य जारी गरेर भनेका छन्, ‘ऐतिहासिक संविधानसभाबाट नेपाली जनताका प्रतिनिधिहरुले जारी गरेको नेपालको संविधानको कार्यान्वयन गर्दै नेपाल राष्ट्रलाई समृद्धिको दिशातर्फ अगाडि बढाउन, लोकतान्त्रिक प्रक्रियालाई अझ सुदृढ बनाउनु, राष्ट्रिय स्वाभिमान, सार्वभौम सहित नेपालको राष्ट्रियतालाई सुदृढ गर्नु र बलियो, सुदृढ र जनआधारित राजनीतिक दल निर्माण गर्नु आजको महत्वपूर्ण राष्ट्रिय कार्यभार हो । नेकपा (एमाले) नेपालको लोकतान्त्रिक आन्दोलनको अगुवा शक्ति हो । नेपालको वामपन्थी तथा कम्युनिष्ट आन्दोलनको मूल–प्रवाह हो । शान्तिपूर्ण तथा लोकतान्त्रिक बाटोबाट नेपाली समाजको प्रगतिशील रुपान्तरण गर्ने जनताको बहुदलीय जनवादलाई मार्गदर्शक सिद्धान्तका रुपमा स्थापित गर्दै राष्ट्रव्यापी रुपमा देशभक्त, प्रगतिशील तथा जनपक्षीय चरित्र सहितको सुदृढ पार्टी पनि आजको दिनमा नेकपा (एमाले) नै हो। आउँदा दिनका प्रतिस्पर्धामा श्रेष्ठता हासिल गर्न विचार र व्यवहार मिल्ने राजनीतिक दल, समूह तथा व्यक्तिहरुलाई नेकपा (एमाले)मा एकताबद्ध गर्दै जाने नीति पार्टीको रहेको छ ।’

आज बसेको कार्यदलको बैठकले बलियो राष्ट्रिय राजनीतिक शक्तिका रुपमा नेकपा (एमाले)लाई स्थापित गर्न विभिन्न राजनीतिक दल, समूह तथा व्यक्तिहरुलाई नेकपा (एमाले)मा एकताबद्ध हुँदै राष्ट्र र जनताको चाहना अनुरुप उपरोक्त ऐतिहासिक भूमिकाहरु निर्वाह गर्न अपिल गरेको छ ।

उक्त वक्तव्यमा उल्लेख छ, ‘यसै सन्दर्भमा आज बसेको कार्यदलको बैठकले बलियो राष्ट्रिय राजनीतिक शक्तिका रुपमा नेकपा (एमाले)लाई स्थापित गर्न विभिन्न राजनीतिक दल, समूह तथा व्यक्तिहरुलाई नेकपा (एमाले)मा एकताबद्ध हुँदै राष्ट्र र जनताको चाहना अनुरुप उपरोक्त ऐतिहासिक भूमिकाहरु निर्वाह गर्न अपिल गरेको छ । साथै, बैठकले यस प्रयोजनका निम्ति विभिन्न राजनीतिक दल, समूह तथा व्यक्ति–व्यक्तित्वहरुसँग संवादको प्रक्रिया अघि बढाउने निर्णय समेत गरेको छ । बैठकले यसअघि हाम्रो पार्टीमा समाहित भएका र आगामी दिनमा पार्टीमा समाहित हुने राजनीतिक व्यक्तित्वहरुलाई उचित सांगठनिक जिम्मेवारी प्रदान गर्ने निर्णय गरेको छ र त्यसको गृहकार्य गरी पार्टी स्थायी समितिमा अविलम्ब पेश गर्ने निर्णय गरेको छ ।’

उक्त कार्यदलमा प्रदीप ज्ञवाली, पृथ्वीसुब्बा गुरुङ, गोकर्ण विष्ट, योगेश भट्टराई र राधाकृष्ण मैनाली सदस्य छन् ।

162 पटक पढिएको

    
        Loading...     
    

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

        
            Loading...     
        

    अन्तरवार्ता

    समाचार