Presidential

दुर्गम डोल्पाका अभियन्ता

aa-copy

उर्गेन दोर्जे गुरुङ

काठमाडौँः डेढ दशकदेखि काठमाडौंको व्यस्त माहोलमा जीवन बिताइरहे पनि डोल्पाका उर्गेन दोर्जे गुरुङको मन भने सधैँभरि हिमाली भेगको आफ्नै दुर्गम गाउँबस्तीतिरै डुलिरहेको हुन्छ ।  हिमालपारिको डोल्पाको अति दुर्गम थलो साल्दाङमा के गर्न सकिन्छ भन्नेमै उनकै ध्यान गइरहन्छ । डोल्पाको सदरमुकाम दुनैबाट ६ दिनको यात्रा तय गर्नुपर्ने उनको गाउँ साल्दाङ पुग्नैलाई कति कठिन छ ? त्यसको बयान गुरुङ यसरी गर्छन्– ‘दुनैबाट धेरै नै टाढा छ । बाटाभरि कतै पनि होटलहरू छैनन्, दुनैबाट खानेकुरा बोकेर जानुपर्छ । बरु मेरो गाउँबाट तिब्बत भने एकदिनमा नै पुग्न सकिन्छ ।’

सानो छँदा गाउँमै रहेका उनले किशोर भएपछि बौद्ध धर्म र दर्शनसम्बन्धी अध्ययन भारतको हिमाचल प्रदेशबाट सिध्याए । अध्ययन गरेर नेपाल फर्किएपछि काठमाडौंमै जीवन गुजारिरहेका उनी सन् २००५ को एउटा दिनलाई भने विशेष स्मरण गर्न चाहन्छन् । डोल्पाको आफ्नै गाउँ नजिक एउटा प्राचीन गुम्बा थियो, याचेर गुम्बा । सदियौंदेखि बौद्ध दर्शन र धर्ममा आस्था राख्नेहरूले पुज्दै आएको उक्त गुम्बाका मूल्यवान् मूर्तिहरू तिब्बतबाट आएका खम्पाहरूले चोरेर लगे ।

मध्यरातमा आएका तिब्बतीहरूले गुम्बामा रहेका ३ जना पुजारीहरूको मुख थुनेर, बन्दुक तेस्र्याएर र खुकुरीसमेत प्रहार गरेर २८ थान मूर्ति लगे । त्यसरी चोरिएका मूर्तिहरूमध्ये कुनै २५ सय वर्ष पुराना थिए भने कुनै तीन सय वर्ष पुराना थिए । गुरुङ भन्छन्– ‘मूर्ति चोरी भएपछि स्थानीय जनताले त्यसलाई फिर्ता ल्याउन खासै पहल गर्न सकेनन् । अरू कसैले पनि चासो नलिएपछि मेरो मन पोल्यो । र, मैले चोरिएका मूर्तिहरू फिर्ता ल्याउन पहल गरेँ । कतिपयले त किन एक्लै प्रयत्न गर्छस् ? भनेर पनि सोधे । तर, मेरो मन मानेन र मैले चोरिएका मूर्तिहरू ल्याउन निकै संघर्ष गरेँ ।’

गुरुङले मूर्ति फिर्ता ल्याउन चीनको राजधानी बेइजिङसहित ल्हासा र छिन्दुमा ६ महिना पूरै बिताए । उनले तिब्बतको सीमावर्ती क्षेत्र डोम्पासेनका प्रहरीले ती मूर्तिहरू बरामद गरेको पत्ता लगाए । भन्छन्– ‘चोरिएका मूर्ति फिर्ता ल्याउन मैले चीनमा ६ महिनासम्म विभिन्न कानुनी प्रक्रिया पूरा गर्नुपर्‍यो ।’ करिब १५ लाखजति खर्च भयो ।

चोरिएका मूर्तिहरू चीन सरकारले नेपाललाई फिर्ता गर्ने भएपछि उनी काठमाडौं फर्किए र गृह मन्त्रालयका सहसचिवलाई लिएर चीन गए । चीनस्थित नेपाली दूतावासको रोहवरमा चोरिएका मूर्तिहरू उनले काठमाडौं ल्याए ।
काठमाडौं ल्याएपछि फेरि डोल्पाको त्यही गुम्बामा नै पुर्‍याएर मूर्ति पुनस्स्थापित गर्नुपर्ने थियो । उनले तत्कालीन संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री पृथ्वीसुब्बा गुरुङलाई अनुरोध गरेपछि मन्त्रीसहितको टोली याचेर गुम्बामा पुगेर मूर्ति पुनस्स्थापित गर्ने काम सम्पन्न गरियो । त्यतिबेलाको कुरा सम्झिँदै गुरुङ भन्छन्– ‘चोरिएका मूर्तिहरू काठमाडौंबाट डोल्पासम्म पुर्‍याउन हेलिकोप्टरको भाडामात्रै ५ लाख रुपियाँ लाग्यो । तर, त्यो रकम भने सरकारले नै बेहोरिदियो ।’

पुरातात्विक महत्त्वका चोरिएका मूल्यवान् मूर्तिहरू फिर्ता ल्याउन अथक प्रयत्न गरेका प्रतिफलस्वरूप गुरुङलाई तत्कालीन सरकारले सम्मान पनि गरेको थियो । गुरुङ भन्छन्– ‘मूर्ति चोर्नेहरूमध्ये तीन जनालाई चीन सरकारले फाँसीको सजाय सुनाएको छ भने अरूलाई जेलमा राखेको छ । साथै, अहिले त्यही गुम्बानजिकै प्रहरी चौकी स्थापना गरेर मूर्तिको सुरक्षा गर्ने काम पनि भएको छ । यी सबै काम मेरै प्रयत्नमा भएका हुन् ।’
गुरुङलाई  राजनीतिप्रति पनि रुचि छ । उनी अहिले नेकपा (एमाले), कर्णाली सम्पर्क मञ्चको सल्लाहकार कमिटी संयोजक छन् ।

यसअघि भने उनी डोल्पा–काठमाडौं सम्पर्क मञ्चको अध्यक्ष र कर्णाली अञ्चल सम्पर्क कमिटीको उपाध्यक्ष थिए । पहिला राजनीतिमा खासै रुचि नभएका उनी एमालेमा भने त्यही मूर्ति चोरी प्रकरणपछि जोडिएका हुन् । उनी खुलस्तै भन्छन्– ‘डोल्पातिरका कतिपय नेताहरू बौद्धका खम्पाहरूसँग मिलेर काम गर्थे । मलाई त्यो चित्त नबुझेको हुँदा राजनीतिप्रति खासै रुचि थिएन । तर, चोरिएका मूर्तिहरू फिर्ता ल्याउन एमालेका नेताहरूले जुन चासो देखाए र जसरी पहल गरे, त्यसपछि भने मलाई एमाले राम्रो लाग्यो र म एमालेमा आबद्ध भएर राजनीति गर्न थालेको छु ।’

उनले आफ्नो गाउँको विकासमा पनि थुप्रै योगदान गरेका छन् । सात वर्षसम्म गाउँमै बसेर काठमाडौं आएका उनले गाउँमा स्कुल नहुँदाको पीडा राम्ररी नै भोगेका थिए । पढ्नैकै लागि उनी काठमाडौं आएका थिए । बौद्धस्थित दुन्जोम रिम्पोन्छे गुम्बामा पढिसिध्याएर हिमाचल प्रदेशको बुद्धिस्ट कलेजबाट उच्च शिक्षा पूरा गरेका उनलाई डोल्पाको साल्दाङमा स्कुल नभएकोमा ठूलो पीडा थियो । त्यही भएर नै उनले पाँच वर्षअघि गाउँमा स्कुल स्थापना गरे । त्यसअघि भने उनले काठमाडौंको विशालनगरमा बौद्ध दर्शन र धर्मसम्बन्धी अध्ययन गर्नेहरूका लागि एउटा स्कुल स्थापना गरेका थिए । भन्छन्–‘माओवादी युद्धकालमा विकट हिमाली जिल्लाका मानिसहरू प्रभावित भए ।

त्यसमा बालबालिका सबभन्दा बढी प्रभावित भए । उनीहरूका पढाइ प्रभावित हुने देखेर मैले काठमाडौं ल्याएर पढाउने चाँजोपाजोसहित स्कुल खोलेँ ।’ विकट हिमाली जिल्लाहरू हुम्ला, जुम्ला, डोल्पा र मनाङका गरिब र विपन्न परिवारका १ सय ३५ विद्यार्थी अहिले उनको स्कुलमा अध्ययन गरिरहेका छन् । काठमाडौंमा स्कुल हुँदाहुँदै किन गाउँमा पनि स्कुल खोल्न चाहनुभयो त ? गुरुङ भन्छन्– ‘गाउँभन्दा बाहिर अध्ययन गरेकाहरूले गाउँलाई सम्झिँदैनन् । कि त उनीहरू विदेश नै जान चाहन्छन्, कि त काठमाडौंमा नै संघर्ष गरेर बस्न चाहन्छन् ।

तर, गाउँकै स्कुलमा पढ्यो भने उनीहरूलाई गाउँको माया हुन्छ र गाउँको विकासमा उनीहरू लाग्छन् पनि । त्यही भएर मैले गाउँमै स्कुल खोल्न चाहेको हुँ ।’ समाजसेवा बाहेक कपडाको व्यापारसमेत गर्ने गुरुङ आफू बौद्ध धर्मावलम्बी भएको कारण बौद्ध धर्म र दर्शनको प्रचारमा पनि समय दिन चाहन्छन् । उनी भन्छन्–  ‘अहिले बुद्ध दर्शन र धर्मको विश्वव्यापी रूपमा जसरी प्रभाव परिरहेको छ, यसले विश्व शान्ति र मुक्तिको दिशामा उल्लेख्य काम गर्ने र सकारात्मक सन्देश दिने मैले अपेक्षा राखेको छु ।’

0 पटक पढिएको

    
        Loading...     
    

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

        
            Loading...     
        

    अन्तरवार्ता

    समाचार