Presidential

थारूहरूका मसिहा

थारूहरूका मसिहा

बलराम अधिकारी

काठमाडौँः जिन्दगीका ५४ वसन्त पार गरिसकेका बलराम अधिकारी कपिलवस्तुको क्षेत्र नम्बर १ बाट दोस्रो संविधानसभा निर्वाचनमा प्रत्यक्षतर्फ विजयी सभासद् हुन् । सामान्य जीवनशैली रुचाउने र सधैं सादा जीवन र उच्च विचार मन पराउने अधिकारीलाई सभासद् मात्र भनेर परिचय गराउँदा अन्याय हुनेछ । किनकि, कपिलवस्तुका थारू बस्तीहरूमा शिक्षाको चेतना फैलाउन र कृषि क्षेत्रको विकासमा आमूल परिवर्तन ल्याउनमा उनको महत्त्वपूर्ण भूमिका रहेको छ । त्यसैले त उनी नेपाली कांग्रेसका जल्दाबल्दा नेता दीपकुमार उपाध्यायलाई ३ हजार ३६ मतले हराएर सभासद्मा निर्वाचित भएका हुन् ।
हुन त राजनीति गर्नेहरूका निम्ति एक पटकको हार वा जित स्थायी हुँदैन भनिन्छ । उनको जीवनमा पनि सोही भनाइ लागू भएको छ । ०६४ सालको संविधानसभाको निर्वाचनमा ९५ मतले कांग्रेस नेता उपाध्यायसँग हारेका उनले यस पटक भने भारी अन्तरले उपाध्यायलाई हराउन पुगे ।
उनको जीवन संघर्षमय रह्यो । ‘गर्नु गर्‍यौ बलराम भैंसी पालेर‘‘।’ बोलको गीत एकताका खुबै चर्चित थियो । जसमा भैंसी पालेर सफल भएका किसानको कथा छ । वास्तविक जीवनमै पनि उनले नौ वर्षको कलिलो उमेरदेखि नै गाईभैंसी स्याहार्न थालेका थिए । ‘एघार वर्षको उमेरसम्म त मैले गोठमै बसेर गाईभैंसी दुहुने, भकारो सोहोर्ने, मोही पार्ने काममै लाग्नुपर्‍यो’– उनले बाल्यकाल सम्झिए ।
उनको जन्म मिजुरेडाँडा, कास्कीमा २०१७ साल साउन ४ गते भएको हो । गाईभैंसी पाल्ने, दूध र घिउ बेच्ने र त्यही आम्दानीबाट परिवार धान्ने सामान्य आर्थिक अवस्थाबीच उनको बाल्यकाल बित्यो । उनले बडो दुस्खपूर्वक अहिलेको हिमालय निम्न मावि, छापामा पढे । ८ र ९ कक्षा चितवनको गीतानगर आएर पढ्न थाले । उनका माइला र साइला काका चितवन सरेका थिए । त्यसैले उनलाई केही हदसम्म सजिलो भयो । उनका बुबा पनि कास्की छाडेर कपिलवस्तुको रजहर गाविसमा बसाइँ सरे । बुबासँगै सिस्वार गाविस झरेका उनले पुरानो शिक्षा अनुसार फेरि नौ कक्षा दोहोर्‍याएर पढ्नुपर्‍यो ।
०३६ सालमा एसएलसी पास गरेपछि उच्च अध्ययनका लागि उनी चितवन गए । वीरेन्द्र बहुमुखी क्याम्पसमा भर्ना भएर पढाइ र राजनीतिलाई अगाडि बढाए । शिव पौडेलको हत्या प्रकरणपछि क्याम्पसमा तनावपूर्ण स्थिति थियो । उनी ०३७ सालको विद्यार्थी आन्दोलनमा खुबै खटे । ०३४ सालदेखि नै विद्यार्थी राजनीतिमा आबद्ध उनलाई जिम्मेवारी लिएरै अघि बढ्न असहज भएन । उनी सोही क्याम्पसमा अनेरास्ववियुको प्रारम्भिक कमिटीको अध्यक्ष भए, स्वतन्त्र विद्यार्थी युनियनको सदस्य भए, पार्टी युथ लिगको प्रमुख र अनेरास्ववियुको जिल्ला कमिटी सदस्यसमेत भए । केही वर्ष चितवनमा काम गरे उनले । जति समय गरे, राम्रैसित गरे र परिणाम ल्याउने गरी गरे । ०३७ सालको जनमतसंग्रहमा बहुदलको पक्षमा दिनरात नभनी हिँडे ।
०४१ सालमा उनी पुन कपिलवस्तुमै फर्किए । पार्टीमा जान्ने, बुझ्ने भइसकेका थिए उनी । कपिलवस्तुमा संगठन थिएन । उनी चितवनको जिम्मा अन्य साथीहरूलाई सुम्पिएर कपिलवस्तुमा पार्टी काम गर्न आएका थिए । गाउँमा खुला राजनीति गर्ने अवस्था थिएन । र, उनले शिक्षण पेसामा हात हाले । ०४३ सालमा प्रकाश प्रावि खोले । अहिले उक्त स्कुल मावि बनेको छ । उनले थारू बस्तीमा पञ्चायती व्यवस्थाविरुद्ध चेतना जागृत गर्न दसैंको अवसर पारेर ‘पचास रुपियाँको तमासुक’ नामक नाटक प्रदर्शन गरे । तत्कालीन प्रधानपञ्च देवी निरौलाले उनलाई फसाउने उद्देश्यले वन क्षेत्रमा विद्यालय बनाएको र व्यवस्थाविरोधी अभियानमा जनता भड्काएको भनेर जिल्ला प्रशासनमा उजुरी दिए ।
गाउँमा टिक्न नदिने अवस्था आएपछि उनीहरूले एउटा उपाय निकाले । त्यतिबेला साना किसान आयोजनाको प्रमुखलाई सबैले श्रद्धा र सम्मान गर्थे । आयोजनाका तत्कालीन प्रमुख हेमनाथ शर्मालाई आफ्नो अप्ठेरो बताएपछि उनैको सुझावअनुसार उनी चल्न थाले ।
गाउँमा पाँच वटा साना किसान समूह बने । समूहका अगुवा उनी भए । सो समूहले नवौं वडामा केरा खेती, तरकारी, बाख्रा, खोचमा पोखरी, बाबियो विकास केन्द्रलगायतको अवधारणा अघि सार्‍यो भने किसानका छोराछोरी पढ्न जान टाढा पर्ने हुनाले प्रकाश प्राविलाई पनि त्यसै अन्तर्गत राखियो । समूहले गाउँमा भव्य कार्यक्रम गर्दा जिल्लाका सबै कार्यालय प्रमुख उपस्थित भएका थिए । समूह नेताका हैसियतले साना किसानको अवधारणा सबैसामु सार्वजनिक गरे उनले । संजोगवश, तत्कालीन अञ्चलाधीश लालकाजी गुरुङ सोही क्षेत्रतिर सिकार खेल्न जाँदै रहेछन् । उनलाई पनि निम्ता गरेर अतिथि बनाइयो । उनकै आग्रहमा कार्यक्रममा सहभागी सबै गन्यमान्यले विद्यालय निरीक्षण गर्न राजी भए । उनले अञ्चलाधीशसमक्ष ‘आफूले अनपढ थारूका बच्चालाई केही चेतना दिने हिसाबले विद्यालय स्थापना गरेको तर प्रधानपञ्चले अनाहकमा वन मासेको मुद्दा हालेको’ गुनासो गरे । अञ्चलाधीशलाई सिमाना सार्नसक्ने अधिकार थियो । उनले विद्यालय वन क्षेत्रमै परेको रहेछ भने पनि किल्ला उखेलेर विद्यालय हाताभन्दा बाहिर सार्न आदेश दिए । एउटा समस्या त हल भयो । तर, व्यवस्था विरोधीको उजुरीको मुद्दा जिल्ला प्रशासन कार्यालयमा छँदैथियो । उनले स्याङ्जा, कास्की र लमजुङजस्ता पूर्वी क्षेत्रका आफूहरूको लगाव लेखपढमा रहेको, निम्न आय भएका थारुको बस्तीमा शिक्षाको चेतना फैलाउन र मनोरन्जन प्रदान गर्ने हिसाबले नाटक गर्दा समाज बिगार्ने तत्व भनेर प्रधानपञ्च निरौलाले अनाहकमा उजुरी दिएको भन्दै रोइकराइ गरे । त्यसपछि प्रजिअले  ‘निश्चिन्त भएर विद्यालय अघि बढाउनु, केही अप्ठेरो परे मकहाँ आउनू’ भन्ने आदेश दिए ।
त्यसपछि उनको सामाजिक अभियानमा कसैले पनि विरोध नगर्ने बरु सहयोग गर्ने प्रतिबद्धता जनाउन थाले । जिल्ला शिक्षा अधिकारीले तत्कालै १८ हजार रुपियाँ रकम र ६ बन्डल कर्कट पाता दिने घोषण गरे भने त्यही सालबाट शिक्षक दरबन्दीसमेत राखिदिए । सुरुको दरबन्दीबाट उनी आफैं सो विद्यालयमा नियुक्त भए । प्रधानाध्यापकको समेत जिम्मेवारी लिएर बसे । उनले स्थापनाकालदेखि स्थायी भएको १० वर्षसम्म लगातार पढाए । ०५६ सालमा आएर पार्टीले टिकट दिएपछि भने उनले शिक्षकबाट राजीनामा दिए र पूर्णकालीन भएर पार्टी काममा मात्र होमिए । त्यसो त शिक्षक रहँदै पनि ०४३ सालमै उनी भूमिगत रूपमा पार्टीको  जिल्ला कमिटी सदस्य भइसकेका थिए । पार्टीको जिल्ला सचिवालय सदस्य, क्षेत्रीय इन्चार्ज हुँदै ०५४ सालमा पार्टी फुटेपछि ०५५ वैशाखबाट पार्टी सचिव भए ।
पार्टी अध्यक्षात्मक प्रणालीमा गएपछि अध्यक्ष पनि भए उनी । यसरी ०४३ सालदेखि लगातार जिल्ला कमिटी सदस्यमा रहेका उनी ०६९ मंसिरदेखि भने अञ्चल कमिटी सदस्यको जिम्मेवारीमा रहे । नवौं महाधिवेशनको प्रतिनिधिमा पनि जिल्लाबाट सबैभन्दा बढी मत ल्याएर चयन भए उनी ।
कपिलवस्तुको रजहर आएपछि पनि उनले खुबै दुस्ख गरे । डेढ बिवघा जमिनमा आफैंले खनजोत गर्ने, बाली लगाउने काम गरे । पढुन्जेल पनि खुबै दुस्ख गरेर पढे । खनियोको रूखबाट लडेर उनका दुवै हात भाँच्चिए पनि उनी क्रियाशील रहे । गोरुसिङ्गेदेखि पश्चिम सबै क्षेत्रको जिम्मा उनैले लिएका थिए । सो क्षेत्र पहाडिया–मधेसी, हिन्दु–मुस्लिम मिश्रित बसोबास भएको क्षेत्र हो । त्यस्तो स्थानमा सबै समुदायले उनलाई विश्वास गर्थे ।
उनका बुबा–आमा कपिलवस्तुको शिवगढी बस्ने गरे पनि उनको परिवार भने मोतीपुर गाविसस्थित चपर गाउँमा बस्दै आएको छ । दुई छोरी र एक छोरामध्ये छोरीहरूको विवाह भइसकेको छ भने छोरो बीईआईटी पढ्न नर्वे गएका छन् ।
संविधानसभा सदस्य भएकाले उनको बढी ध्यान आगामी माघ ८ भित्र संविधान बनाउनेमै केन्द्रित छ । विगतमा ‘जातीय–क्षेत्रीय कुराले गर्दा संविधान बनेन, अब त्यो कुरा जनताबाटै अस्वीकृत भएको छ, त्यसैले भए सहमतिबाट नभए प्रक्रियामा गएर भने पनि संविधान जारी भएरै छोड्छ’–उनको विश्वास छ । उनले समग्र जिल्लाको सिँचाइ, नदी तटबन्ध, बाटोघाटो, पानी, विद्युत्, बुद्धको घरका रूपमा कपिलवस्तुलाई चिनाउने गरी काम गर्ने योजना बनाएका छन् । भन्छन्– ‘चार वर्षमा ती विकासका झलक पूरा हुने गरी काम भइरहेको छ ।’

7 पटक पढिएको

    
        Loading...     
    

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

        
            Loading...     
        

    अन्तरवार्ता

    समाचार