Presidential

बिरुवा एमालेमा रोपेँ, फल माओवादीको खाइरहेको छु 


बिरुवा एमालेमा रोपेँ, फल माओवादीको खाइरहेको छु 

केही दिनअघि पहिलो न्युजका प्रतिनिधि जनगायक जेबी टुहुरेलाई भेट्न कलंकीस्थित सुनार बस्तीको मकैबारी छिचोल्दै उनको घरमा पुग्दा पावरवाला चस्माभित्रका चिम्सा आँखाले स्वागत गरे । ‘मेरो निवास भेट्टाउन केही गाह्रो त भएन ?’ उनले प्रश्न तेस्र्याए ।
कुनै बेला ‘धेरै विकास गरिसके अरु देशका नारीले, हाम्लाई मात्र थिचेको छ घाँसको भारीले’ जस्ता जागरणमुखी गीत गाएर जनताका प्रिय गायक बनेका टुहुरे जीवनका उत्तराद्र्धतिर लागे पनि अझै जागरिला नै देखिन्छन् । उनको जोसमा कुनै पनि कमी देखिँदैन । ‘अझै पनि ममा एकल कार्यक्रम गर्ने आँट छ’ अनौपचारिक कुराकानीका क्रममा उनले भने । करिब एक घण्टा उनले आफ्नो जीवनका विभिन्न पाटोलाई मिहिन ढंगले खोतल्ने प्रयास गरे ।
जीवन–यात्राका क्रममा भोगेका अनुभव र अनुभूतिहरुलाई उनले विस्तारै केलाए । पहिलो न्युजका कार्यकारी सम्पादक मोहन बास्तोलासँग टुहुरेले आफ्नो विगत यसरी खोतलेः

एक सामान्य व्यक्ति

सामान्य रुपमा हेर्ने हो भने म सामान्य व्यक्ति हुँ । मैले सानैदेखि जनचेतना र सन्देशमुलक गीतहरू गाउँदै हिँडे । यसरी हेर्दा म साँस्कृतिक जागरण ल्याउने व्यक्तिमा दरिन्छु । धेरैले मलाई जनवादी गायकका रुपमा पनि चिन्ने गरेका छन् भन्ने लाग्छ ।

जनगायक बन्नुको पृष्ठभूमि

२०२२ सालतिर मोरङ जिल्लाको साखरे भन्ने ठाउँको एउटा विद्यालयमा अध्यापन गर्थेँ म । त्यहीँ बेला मैले केही नाटकहरू लेखेको थिएँ र त्यसको मञ्चन समेत गराएको थिएँ । मधुमल्लाको नुन खोला र माओखोला क्षेत्रमा हामी गीत गाउँदै हिँड्थ्यौँ ।

मलाई अहिले पनि सम्झना छ, एक जना प्रहरी इन्स्पेक्टरले मलाई ‘यो माओ खोलाको नाम तिमीहरूले राखेका हौ कि क्या हो’ भनेर केरकार गरेका थिए । मैले हाँसेर टारेको थिएँ त्यतिबेला । हामीले पछि त तोरीबारी र बयरडाँगीसम्म पुगेर गीत गायौँ ।

ममा विस्तारै साँस्कृतिक चेतना पलाउँदै गयो । जनतालाई कसरी गोलबद्ध गर्ने भन्ने चिन्तन मभित्र व्याप्त हुँदै थियो । विस्तारै मभित्र वामपन्थी चेतना भरिँदै आयो र मैले गीत/संगीत त श्रमजीवि जनताको मुक्तिको पक्षमा गाउनुपर्ने रहेछ भन्ने कुरा बोध गरेँ ।

जब मैले श्रमजीवी जनताका पक्षमा गीत गाउन थालेँ, मलाई जनताले पनि अलि बढी नै माया–ममता दर्साउन थाले । जनताको माया र स्नेह पाउन थालेपछि जे–जस्ता दुःख–कष्ट भए पनि अब यही साँस्कृतिक क्षेत्रलाई नै अँगाल्नुपर्छ भन्ने चेत ममा ब्युँतियो । म वामपन्थी राजनीतिमा बेरिदैँ गएँ र मलाई पनि झन्–झन् गायन क्षेत्रले अँगालो मार्दै लग्यो ।

भूमिगतकालको गायन

मेरो गायनलाई भूमिगत कालमा आम जनताले मन पराउँथे । तर, प्रहरी प्रशासनले भने ममाथि सधैँ गिद्धे दृष्टि नै राख्यो । कतिपय अवस्थामा प्रशासनले मलाई जेल हाल्ने, मार्नेसम्मको धम्की दिन्थ्यो तर म कहिल्यै पनि प्रशासनसँग झुकेर र आफ्नो गायन क्षेत्र छाडेर भागिनँ ।

प्रशासनको धम्कीका सामु झुकेर मैले त्यतिबेला यो क्षेत्र छाडेको भए सायद म अहिले जुन स्थानमा छु, यो स्थानमा पक्कै पनि हुने थिइनँ । मलाई अहिले पनि ती दिनहरू सम्झिँदा गौरव लाग्छ । जनताको गीत गाउने जेबी टुहुरे पहिला पनि जेबी टुहुरे थियो, अहिले पनि जेबी टुहुरे नै छ ।

विवाह घरमै पुलिसले पछ्याएपछि…

भूमिगत कालमा निमेष–निमेषमा प्रहरीसँग बँच्नुपर्ने अवस्था थियो । जनताका गीत गाउनेहरूलाई प्रहरीले सुराकी खटाएका हुन्थ्यो । मलाई समात्न पटक–पटक प्रयत्न गरिएको थियो । ती दिनहरू मेरो मानसपटलमा अहिले पनि नाचिरहेका छन् । तीमध्ये केही घटना म अहिले पनि बिर्सन सक्दिनँ ।

म एक पटक साँस्कृतिक कार्यक्रम लिएर पूर्वतिर गएको थिएँ । दमकमा केही फटाहाहरूले मलाई हातपात गरे । त्यस्तै, झापाकै सुरुङ्गामा साँस्कृतिक कार्यक्रम गर्न जाँदा प्रहरीले मेरो पिछा ग¥यो । मैले थाहा पाएँ । नजिकै विवाह हुँदै थियो । म त्यहीँ गएँ । राति खेतैखेतको बाटो भाग्दै ज्यान बचाएँ । तर, मेरो निरन्तरतामा कहिल्यै कमी आएन ।

पूर्व कोसी प्रान्त, झापा विद्रोह, मुक्तिमोर्चा, माले, एमाले हुँदै अहिले माओवादीमा रहँदा पनि मैले मेरो गायनलाई मर्न दिएको छुइनँ । म अहिले फरक पार्टीमा छु । तर, मजस्ता साँस्कृतिककर्मीहरूको निकै ठूलो योगदानले नेकपा (माले) हुँदै एमाले बनेको हो ।

बिरुवा एमालेमा, फल माओवादीबाट

मैले पूर्व कोसी प्रान्त, झापा विद्रोह, मुक्तिमोर्चा, माले र एमालेमा हुँदा ती पार्टीहरूमा ठूलो योगदान गरेँ । मैले आफ्नो ऊर्जावान् उमेर र उमङ्ग तिनै पार्टीहरूमा खर्च गरेँ । तर, मैले लामो समय बिताएको पार्टीले मेरो मूल्यांकन गर्न नसक्दा बसी खाने उमेरमा गहु्रँगो मन लिएर पार्टी छाडनुपर्ने अवस्था आयो ।

२०६६ साल जेठ ३१ गते त्यही दिन थियो, जुन दिन मैले माइतीघर छाडेर पराइ घरमा गएको जस्तो अनुभूति गर्नुप¥यो । एमाले छाड्न मलाई धेरै गाह्रोे भएको थियो । कतिपय नेताहरूले त ‘किन यसो गर्नुभएको ? अझै विचार गर्नुस्, एमालेमा फर्कनुस्’ पनि भने । तर, म फर्किनँ ।

अहिले माओवादीले जुन सम्मान दिएको छ, म त्यसमा सन्तुष्ट छु । एमालेमा छँदा साँस्कृतिककर्मीहरूको सम्मान गर्, कम्तीमा पनि यो क्षेत्रबाट एक जनालाई सभासद् बनाऔँ भन्दा तत्कालीन पार्टी अध्यक्ष झलनाथ खनालले ‘साँस्कृतिककर्मीको काम त गीत गाउने हो, कहाँ नेता बन्ने हो’ भन्नुभयो । अहिले माओवादीले सांसद बनाएको छ, म खुसी छु । मैले बिरुवा एमालेमा रोपेँ, फलचाहिँ माओवादीमा खाइरहेको छु ।

छोरी–ज्वाइँलाई देखाएर आरोप

मलाई कतिपयले छोरी–ज्वाइँले गरेको पैसा हिना–मिनाको विषयलाई माओवादीले सल्ट्याएपछि त्यता गएको भनेर पनि आरोप लगाए । जीवनका ऊर्जाशील उमेर बिताएको पार्टीमा लामो समय योगदान गर्दा मूल्यांकन हुँदैन, सम्मान हुँदैन र कुनै पार्टीले ‘म तिम्रो योग्यताको मूल्यांकन गर्छु’ भन्छ भने त्यस्तो पार्टीमा जानु उचित थिएन र ? तर, मलाई झुठा आरोप लगाएर बद्नाम गर्ने काम गरियो ।

अहिले पनि एमालेमा मलाई माया गर्नेको ठूलो पंक्ति छ । म नेताहरूका वरिपरि घुम्न सकिनँ । नेताका चम्चेहरूले मेरो बारेमा कुरा लगाए । उनीहरू नेता भए । मैले अन्तिममा एमाले छाड्नुपर्ने अवस्था आयो ।

माओवादीले आइजआइज भनेपछि…

दस वर्ष युद्ध लडेर आएको माओवादीले साँस्कृतिक क्षेत्रका व्यक्तिहरूलाई संगठित गर्न खोजिरहेको थियो । एमालेमा साँस्कृतिककर्मीहरू भनेका पार्टीका ‘दमाई’ हुन्, यिनीहरूलाई पार्टीका कार्यक्रममा नचाउने मात्र हो भन्ने चेतना थियो । एमालेबाट चरम उपेक्षामा परेको र माओवादीले सम्मान गर्न चाहेको हुँदा मैले धेरै सोचेँ र अन्तिममा एमाले छाडेर माओवादीमा प्रवेश गर्ने निर्णय गरेँ ।

जीवनका ऊर्जाशील उमेर, रगत र पसिना बगाएको पार्टी छाड्दा धेरै पीडा भयो । तर, अहिले ती पीडाहरू विस्तारै कम हुँदै गएका छन् । म अहिले पनि वामपन्थी शक्तिहरू एक हुनुपर्छ भन्ने मान्यतामा छु । कुर्सीको लडाइँले गर्दा सम्भव भएको छैन । नेपालको परिवर्तन गर्ने हो भने वामपन्थी शक्ति एक ठाउँमा आउनुको विकल्प देखिँदैन ।

जेएनका कारण एमाले छाडेँ

संविधानसभाको पहिलो निर्वाचनका बेला केही साथीहरू झलनाथ खनालको घरमा पुगेर ‘जनसाँस्कृतिक महासंघको तर्फबाट मलाई समानुपातिक सभासद बनाउनुपर्छ’ भनेर ‘डेलिगेसन’ जानुभएको रहेछ । उहाँले ‘कलाकार कहाँ नेता बन्ने हो र उनीहरू त जनताको बीचमा गीत गाएर हिँड्ने पो हो त’ भनेर कलाकारहरूकै अपमान गर्नुभएछ ।

म त्यतिबेला ६४ वर्षको थिएँ । साथीहरूले त्यस्तो कुरा सुनाएपछि मलाई पनि नमिठो लाग्यो । मैले एमाले छाड्ने निर्णय गरेँ । अहिले मैले उत्पादन गरेका दर्जनौँ भाइबहिनीहरू एमालेमा छन् । केहीले राम्रो अवसर पनि पाएका छन् । त्यो देख्दा मलाई गौरव लाग्छ । मैले उनीहरुलाई कहिल्यै एमाले छाडेर मसँग आऊ भनिनँ । उनीहरू त्यहि स्थापित छन् । मेरा चेला–चपेटाको एमालेमै उज्ज्वल भविष्य देख्दा खुसी लाग्छ ।

अझै मरेको छैन उत्साह

सबैले ‘जेबी, अब त तिम्रो उमेरले नेटो काट्यो भन्छन्’ । तर, मेरो उत्साहमा केही कमी आएको छैन । अझै पनि म एकल कार्यक्रम गर्न पाए हुन्थ्यो भन्नेमा छु । हेरांै, के हुन्छ ? अहिले प्रविधिले निकै फड्को मारेको छ । भूमिगत रुपमा गाउनु पर्ने र प्रशासनको आँखामा पर्नुपर्ने अवस्था पनि छैन । अहिले साँस्कृतिक क्षेत्रबाट धेरै गर्न सकिन्छ जस्तो लाग्छ मलाई ।

    
        Loading...

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

    
        Loading...     
    

अन्तरवार्ता

समाचार