Presidential

१० महिनापछि सिटिसी मल सञ्चालनमा

१० महिनापछि सिटिसी मल सञ्चालनमा

ctcकाठमाडौं । भूकम्प गएको १० महिनापछि सिभिल ग्रुप अफ कम्पनीले राजधानीको व्यस्त स्थान बागदरबारमा निर्माण गरेको सिटिसी मल सञ्चालनमा आएको छ ।

भवन विभागको प्राविधिक टोलीलाई समेत निरीक्षण तथा उनीहरूको सुझावपछि सामान्य मर्मत सम्भारपछि मल सञ्चालनमा ल्याइएको हो । भूकम्पलगत्तै सिभिल मलमा धेरै नै क्षति भएको भन्ने सञ्चार माध्यमका रिपोर्टिङले त्यहाँका व्यवसायीहरू विस्थापित भएको बताउँदै कम्पनीले त्यस्ता हल्लाको पछि नलाग्न आग्रह गरेको छ । कम्पनीले सोही भ्रम चिर्न ११औं तलामा कम्पनीको कार्यालय राख्ने र त्यसमा चेयरमेन आफैं बस्ने बताएको छ । नेपालकै वरिष्ठ इन्जिनियरहरूको समूहद्वारा प्रवद्र्धित सो समूहले सिटिसी मल राजधानीको व्यवस्थित र आधुनिक मलका रूपमा विकास गर्ने उद्देश्यले तीन वर्षदेखि सञ्चालनमा ल्याएको थियो ।

राजधानीमा वैशाख १२ को भूकम्पपछि धेरै मलमा क्षति पुगे पनि सिभिलले भने १० महिना लगाएर मर्मत सम्भार गरी भूकम्प प्रतिरोधी बनाएर मात्र सञ्चालनमा ल्याएको हो । कम्पनीमा वरिष्ठ प्रोजेक्ट मेनेजर रवीन्द्रकुमार महासेठले अन्य मलमा जस्तो स्टिलको पाता फिटिङ नगरिएकाले केही बढी क्षति भएको जस्तो सिटिसी मलमा देखिएको बताए । तर, यसको प्राविधिक पाटोमा केही असर नपुगेकाले सामान्य मर्मत मात्र गरी ढुक्क भएर सञ्चालन गर्न सकिने अवस्था आएको उनले बताए ।

काठमाडौंको मुटु सुन्धारामा रहेको मलमा विभिन्न व्यवसायीले ब्रान्डेड सामानको उत्पादन बिक्री गर्दै आइरहेका छन् । यसको भुइँतलादेखि दोस्रो तलासम्म अन्तर्राष्ट्रिय कम्पनीका ब्रान्डेड सामान रहनेछन् भने तेस्रो र चौथोमा मुलुककै सबभन्दा ठुलो मोबाइल बजार रहने व्यवस्था गरिएको छ । त्यसो त भुइँचालोअघि पनि त्यहाँ यस्तै मोबाइल बजार चर्चित थियो ।

त्यस्तै, पाँचौं तलामा मुलुककै सबभन्दा ठुलो मोबाइल बजार स्थापना भई सञ्चालनमा समेत आइसकेको छ भने मलमा सबैखाले ग्राहकका निम्ति आवश्यक पर्ने सिनेमा, स्पा, फुडकोट, टेलरिङ तथा बैंक तथा वित्तीय संस्थाका कार्यालयहरू स्थापना भएका छन् । यसको माथिल्लो तलामा हेलिप्याड समेतको व्यवस्था गरिएको छ भने सातौं तलाभन्दा माथि कर्पोरेट अफिसहरू स्थापना हुने क्रम तीव्र छ । आठौं तलामा अन्तर्राष्ट्रिय स्तरको सेमिनार हल निर्माण कार्य चालू छ । सो स्थानमा विभिन्न भाषामा अनुवाद हुन सक्ने प्राविधिक व्यवस्था पनि गरिएको छ ।

२०५७ सालमा सिभिल सेभिङ एन्ड क्रेडिट को–अपरेटिभ संस्थाका रूपमा औपचारिक कारोबार सुरु गरेको सिभिल ग्रुप अफ कम्पनीसँग अहिले विभिन्न विधाका गरी १२ कम्पनी छन् । सिभिलले संगठित रूपमा हाउजिङ क्षेत्रमा काम गर्न थालेको १६ वर्ष हुँदै छ । वरिष्ठ इन्जिनियर इच्छाराज तामाङले नेतृत्व गरेको यस संस्था अहिले सुन्दर र व्यवस्थित घर निर्माणको पर्यायका रूपमा उभिएको छ । संस्थाले १५ वर्षमा सिभिल होम्समार्फत ११ ओटा परियोजनामा हात हालेको छ । यसले सातौं चरणसम्म आइपुग्दा राम्रा र ग्राहकको रोजाइ अनुसारको घर निर्माण गरेर बिक्री गर्दै आएको छ ।

संस्थाले भैंसेपाटी, कलंकी तिनथाना, धापाखेल, खुमलटार, सीतापाइला र सुन्धारमामा हेल्थ क्लब, कम्युनिटी हाउस, स्विमिङ पुल, स्कुल एरिया, हरियाली क्षेत्र र पार्किङ क्षेत्रसहितका सुविधा सम्पन्न निजी बंगला, अपार्टमेन्ट र मल गरी ११ परियोजना सञ्चालनमा ल्याएको छ ।
सिटिसी मलले रेन्टल ग्यारेन्टी फिर्ता गर्ने र सञ्चालन नहुँदाको भाडा छुट दिने पनि घोषणा गरेको छह् । मलले रेन्टल ग्यारेन्टी ९निश्चित भाडाको ग्यारेन्टी० बापतको सबै रकम फिर्ता गर्ने भएको छ ।

रेन्टल ग्यारेन्टीमा बिक्री गरिएका सबै सटर तथा पसलहरूका मालिकहरूलाई कबुल गरेअनुसारको रेन्टल ग्यारेन्टी रकम फिर्ता गर्ने सिभिल ग्रुप अफ कम्पनीका वरिष्ठ परियोजना प्रबन्धक अरविन्द्रकुमार महासेठले बताए । भूकम्पले सिभिल होम्समा पारेको प्रभाव व्यवस्थापन र प्रतिबद्धता विषयक पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै महासेठले रेन्टल ग्यारेन्टीबापतको सबै पैसा फिर्ता गर्ने आफ्नो पुरानो प्रतिबद्धताबाट कम्पनी पछि नहटेको बताए ।

तर, हाल विभिन्न कारणले रेन्टल ग्यारेन्टी फिर्ता गर्न नसकिएको भने स्वीकार गरे । उनले भने, ‘किस्ताबन्दीमा रेन्टल ग्यारेन्टीको पैसा फिर्ता गर्दै छौं, ढिलोचाँडो हुन सक्छ तर रकम पुरै फिर्ता गर्छौं ।’ भाडामा बसेका व्यवसायीहरूलाई कम्पनीले सञ्चालन नभएसम्मको अवधिको भाडा छुट दिएको, सञ्चालनमा आएपछि तीन महिनाको भाडा छुट दिएको र त्यसपछिको तीन महिनाका लागि आधा भाडा छुट दिएको बताइएको छ । सिटिसी मलको रेक्टिफिकेसन कार्य सम्पन्न भई सञ्चालनमा आएको पत्रकार सम्मेलनमा जानकारी दिइयो ।

सिभिल ग्रुपअन्तर्गत सात वटै परियोजनाका भवनहरू सुरक्षित रहेको जनाइएको छ । सिभिल होम्सले हालसम्म भैंसेपाटी, कलंकी, सुनाकोठी, धापाखेल, खुमलटारलगायत स्थानमा परियोजना निर्माण तथा हस्तान्तरण गरिसकेको छ भने सीतापाइलमा धमाधम काम अघि बढाइरहेको छ । दुई हजार घर बनाएर बेचिसकेको दाबी गर्ने कम्पनीले आफ्ना कुनै पनि घरमा भूकम्पले क्षति नपुर्‍याएको दाबी गरेको हो । देशमा ठुलो धनजनको क्षति हुँदा हाउजिङ क्षेत्रमै बढी असर पुगेको छ । तर, तुलनात्मक रूपमा सिभिल ग्रुपले बनाएका घरहरूमा नगण्य मात्र क्षति भएको छ ।

विज्ञप्तिमा भनिएको छ, ‘यस कम्पनीले निर्माण गरेको धापाखेलको अपार्टमेन्ट अनि सिटिसी मलको बाहिरी भागमा सामान्य क्षति पुगेको बाहेक परियोजना भित्रका घर तथा पर्खालका संरचना कुनै क्षति नभएको समेत निवेदन गर्न चाहन्छौं ।’ कम्पनीले सिटिसी मलमा भूकम्पले बाहिरी भागमा पुर्‍याएको क्षतिको मर्मत सम्भार पनि सम्पन्न भएको जनाएको छ ।

    
        Loading...     
    

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

        
            Loading...     
        

    अन्तरवार्ता

    समाचार