Presidential

पुँजी वृद्धिले रन्थनिए बैंक तथा वित्तीय संस्थाहरू


पुँजी वृद्धिले रन्थनिए बैंक तथा वित्तीय संस्थाहरू

Nepal-Rastra-Bankकाठमाडौं । वाणिज्य, विकास बैंक र फाइनान्स कम्पनीहरूलाई आगामी दुई वर्षभित्र चार गुणा पुँजी वृद्धि गर्ने निर्देशन नेपाल राष्ट्र बैंकले दिएपछि अहिले बैंक तथा वित्तीय संस्थाहरू पुँजी वृद्धि गर्ने आधार खोज्दैछन् ।

पुँजी वृद्धिको आधार फेला पार्न नसकेका बैंक तथा वित्तीय संस्थाहरू भने मर्जरका लागि सम्भावित बाटाहरू पहिल्याउँदै छन् ।

राष्ट्र बैंकले चालु भदौ महिनाभित्र सम्पूर्ण बैंक तथा वित्तीय संस्थाहरूलाई पुँजी वृद्धि गर्ने वा मर्जरमा जाने भन्ने विषयमा कार्ययोजना पेस गर्न निर्देशन दिएपछि अहिले त्यसकै तयारीमा जुटिरहेका छन्, बैंक तथा वित्तीय संस्थाहरू ।

त्यसो त, नेपाल राष्ट्र बैंकले मौद्रिक नीति ल्याउँदा पुँजी वृद्धिको प्रावधान राखेपछि अधिकांश बैंक तथा वित्तीय संस्थाका सञ्चालकहरूले त्यसलाई बाध्यकारी ठान्दै पूरै असन्तुष्ट देखिएका थिए । कतिपय बैंकर्सहरूले त सेयर बजारका सीमित खेलाडीहरूलाई अनावश्यक चलखेल गर्न दिनका निम्ति पुँजी वृद्धिको प्रावधान ल्याएको टिप्पणी पनि गरे । छ महिनाअघि गभर्नर नियुक्त भएका डा।चिरञ्जीवी नेपालको सेयर बजारका दलालहरूसँग बाक्लो उठबस हुने गरेको र गभर्नरस्वयम् विगतमा नेपाल स्टक एक्स्चेन्जको कार्यकारी–निर्देशक भइसकेको हुँदा पुँजी वृद्धिको प्रावधान ल्याइएको टिप्पणी गर्ने गरिएको थियो ।

र, त्यस्तो टिप्पणीमा आंशिक सत्यता पनि रह्यो । अधिकांश वाणिज्य, विकास बैंक र फाइनान्स कम्पनीसम्बद्ध संस्थाका प्रतिनिधिहरूले गभर्नर डा।नेपाललाई भेटेर पुँजी वृद्धिको समयावधि कम भएकोमा त्यसलाई सच्याएर पाँच वर्ष पुर्‍याउनुपर्ने माग पनि राखेका थिए । तर, तत्काल आफ्नो नीति सच्चाउने पक्षमा राष्ट्र बैंक नरहेको हुँदा उसले दिएको निर्देशन अनुरूप अहिले बैंक तथा वित्तीय संस्थाहरू कार्ययोजना बनाउन आन्तरिक अभ्यासमा जुटिरहेका छन् ।

विकास बैंक एसोसिएसनका अध्यक्ष कृष्णचन्द्र लामिछानेले नेपाल राष्ट्र बैंकले दुई वर्षभित्र चार गुणा पुँजी वृद्धि गर्नुपर्ने प्रावधानप्रति आफूहरूले समयावधि कम भएकोमा स्पष्ट रूपले कुरा राखिसकेको बताए । उनले भने–‘हामीले पुँजी वृद्धिका लागि समयावधि कम भएको भनिसकेका छौं । तर, राष्ट्र बैंकले पनि महिना दिनअघि मात्रै त्यस्तो नीति ल्याएको हुँदा तत्काल समय थपिहाल्ने संकेत दिएको छैन । समयावधि बढाए पनि आर्थिक वर्षको अन्त्यतिर बढाउला ।’

केही दिनअघि मात्रै आफूहरू राष्ट्र बैंकको नेतृत्व तहसँग छलफल गर्न जाँदाको प्रसंग उप्काउँदै अध्यक्ष लामिछानेले भने– ‘राष्ट्र बैंकले कि त पुँजी थप्नुस्, कि त मर्जरमा जानुस् भन्यो । समय थप्नेतिर सकारात्मक देखिएन । बरु मर्जरमा जाँदा आफूहरूले केही सहुलियत दिन सक्ने कुरा राष्ट्र बैंक उच्च अधिकारीहरूले भने ।’ अहिले देशभरि ७६ वटा विकास बैंकहरू सञ्चालित छन् ।

त्यसमा केही जिल्लामा मात्र कारोबार गर्ने हेतुले २ करोडको लगानीमा पनि विकास बैंकहरू खोलिएका छन् । त्यस्ता बैंकहरूलाई पनि ५० करोड पुँजी वृद्धि गर्नुपर्ने निर्देशन राष्ट्र बैंकको नीतिमा उल्लेख छ । लामिछानेले बताए– ‘दुई करोड पुँजीमा खुलेका विकास बैंकहरूले पुँजी वृद्धि गर्न सक्ने स्थिति देखिँदैन । त्यस्ता बैंकहरू लघुवित्त बैंकमा झर्ने सम्भावना बढी देखिन्छ । यसमा राष्ट्र बैंक पनि सकारात्मक रहेको मैले पाएको छु ।’ त्यस्तै, अधिकांश विकास बैंकहरूले पनि पुँजी वृद्धि गर्नसक्ने स्थिति नरहेको हुँदा मर्जरमा जानुको विकल्प नभएको अध्यक्ष लामिछानेले बताए–‘सबै विकास बैंकहरूले आफैंले पुँजी वृद्धि गर्न सक्दैनन् । प्रायस् सबै बैंकहरू मर्जरमा नै जानुपर्ने देखिन्छ । हामीले पनि अहिले कसरी मर्ज गर्दा उपयुक्त हुन्छ, त्यही बाटो खोजिरहेका छौं ।’

अर्कोतिर, सीमित जिल्लाहरूमा मात्र कारोबार गर्ने गरी लाइसेन्स लिएर खोलिएका र दुई करोड पुँजी भएका अधिकांश विकास बैंकहरू भने लघुवित्तीय बैंकमा झर्ने सम्भावना पनि उत्तिकै देखिएको छ । यसले विकास बैंकहरूको संख्या स्वात्तै घट्ने र ग्रामीण तहमा केन्द्रित हुनेगरी लघुवित्तीय संस्थाहरूको वृद्धि हुने सम्भावना पनि राष्ट्र बैंकको नीतिले बढाएको छ ।

त्यसो त, मर्जमा जाँदा पनि समस्या नआउने भने होइन । वाणिज्य र अरू वित्तीय संस्थाहरूको व्यवस्थापन शैली फरक–फरक हुने भएको हुँदा मर्ज गर्दा तालमेल मिल्न नसक्ने स्थिति पनि रहने देखिन्छ । मेगा बैंकका सञ्चालक गोपाल खनाल भन्छन्–‘एउटै प्रकृतिको बैंकहरू मर्जर हुँदा फरक नपर्ला । तर, फरक प्रकृतिका बैंक तथा वित्तीय संस्थाहरूबीच मर्जर हुँदा भने समस्या आउने देखिन्छ । किनकि, ठूला बैंकहरू र अरू वित्तीय संस्थाहरूबीचको व्यवस्थापन फरक–फरक हुन सक्छ । त्यस्तो अवस्थामा मर्ज हुँदा समस्या उत्पन्न हुने देखिन्छ ।’

त्यसो त, ठूला बैंक तथा वित्तीय संस्थाहरूले पुँजी वृद्धिका लागि हकप्रद सेयर निस्काशन गर्ने र मर्जमा जाने हेतुले अहिले राष्ट्र बैंकसामु पेस गर्ने कार्ययोजना तयार पारिरहेका छन् । खनाल भन्छन्– ‘अहिले बैंकहरूले आफ्नो अस्तित्व कायम राख्दै हकप्रद सेयर जारी गरेर र केही बैंकहरूसँग मर्जर गरेर अगाडि बढ्दा नै उपयुक्त हुने देखिन्छ । हामीले पनि यही दिशामा नै अघि बढ्ने योजना बनाएका छौं ।’

त्यसो त, राष्ट्र बैंकले पुँजी वृद्धिका लागि बैंक तथा वित्तीय संस्थाहरूलाई निर्देशन दिए पनि ग्रामीण अर्थतन्त्रको विकासमा टेवा पुर्‍याइरहेको लघुवित्तीय संस्थाहरूलाई भने त्यस्तो निर्देशन दिएको छैन । साना किसान विकास बैंकका प्रमुख कार्यकारी–निर्देशक जलनकुमार शर्मा भन्छन्– ‘हामीलाई पुँजी वृद्धि गर्नुपर्ने निर्देशन त दिएको छैन । तर, राष्ट्र बैंकले पुँजी वृद्धि गर्नका लागि प्रोत्साहित भने गरिरहेको छ । यति नै पुँजी वृद्धि गर्न नभने पनि राष्ट्र बैंकले हामीलाई पनि पुँजी वृद्धि गराउने तयारी गरिरहेको मैले बुझेको छु ।’

    
        Loading...

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

    
        Loading...     
    

अन्तरवार्ता

समाचार