Presidential

वरिष्ठ पत्रकार विरहीसामु राजा वीरेन्द्रले भने, ‘नेताहरु अध्ययन नै गर्दैनन्’

वरिष्ठ पत्रकार विरहीसामु राजा वीरेन्द्रले भने, ‘नेताहरु अध्ययन नै गर्दैनन्’

१२ असोज । पहिला राजनीति, त्यसपछि पत्रकारिता । वरिष्ठ पत्रकार हरिहर विरहीले जीवनमा यिनै दुई बाटो रोजे । उनले रोजेको राजनीतिको बाटो काँडैकाँडाले भरिएको, जोखिमयुक्त र अप्ठेरो थियो भने पत्रकारिताको धेरै नै सहज र सुगम । पछिल्लो पुस्तामाझ पत्रकारको छवि बनाएका विरही कुनै बेला राजनीतिमा प्रतिबद्ध रुपले समर्पित थिए र जेल, नेल र निर्वासनसमेत भोगेका थिए भन्ने धेरैलाई थाहा नहुन सक्छ ।

पञ्चायती व्यवस्था र जनकपुरबीच कहिल्यै तालमेल मिलेन । पञ्चायती व्यवस्थाविरुद्ध जनकपुरले सुरुदेखि नै असहमति मात्र जनाउँदै आएन, ठूला–ठूला घटनाहरु पनि भए र धेरैले सहादत पनि प्राप्त गरे । जनकपुरमै जन्मिएका र त्यही बसेर अध्ययन गरेका विरहीलाई जनकपुरमा व्याप्त पञ्चायत विरोधी लहर र परिवेशले तान्यो । र, उनी बीसको मध्य दशकदेखि नै राजनीतिमा होमिए ।

पाँच वर्ष जेल र तीन वर्ष निर्वासनमा बिताएका विरही बीपी कोइरालाले राष्ट्रिय मेलमिलापको नीति लिएर नेपाल फर्किएका बेला उनीसँगै फर्किएका थिए । केही दिनअघि बजारमा आएको आफ्नो संस्मरणात्मक कृति ‘आगो निभेको छैन’ मा विरहीले राजनीतिक जीवनमा भोगेका उतारचढावलाई पस्किन उचित ठानेका छन्, पत्रकारिताको पाटोलाई कतैकतै मात्र छोएका छन् । फाइनप्रिन्टले प्रकाशन गरेको सोही पुस्तकको केही रोचक अंशहरुः

इन्दिराको असहयोग

निर्वासनमै रहेका बेला बिपी र भारतका तत्कालीन प्रधानमन्त्री इन्दिरा गान्धीबीचको सम्बन्धबारे विरही लेख्छन्, ‘लन्डनबाट फर्किएपछि बिपीले इन्दिरालाई दुई पटक भेटेरै कुरा गर्नुभयो । उहाँले भनेका कुरासँग उनी सहमत भइन् र मागेको कुरा दिने बचन दिइन् । तर आश्वासन पूरा गरिनन् । यो तथ्य बिपीले बडो दुःख र ग्लानीका साथ ठाउँठाउँमा उजागर गर्नुभएको छ ।

इन्दिरा गान्धी र आफूबीच कुराकानी भएको बताउँदै बिपी भन्नुहुन्थ्यो, ‘ती कस्ती छिन् भने मेरो कुरा ध्यानपूर्वक सुन्छिन्, सहमति जनाउँछिन्, तपाईको सबै माग पूरा गर्छु भन्छिन् । अनि भन्छिन्, यो कुरा बाहिर नजाओस् है ? मेरै सहयोगीहरुलाई पनि नभन्नू भन्छिन् । तर उनैले आफ्ना सहयोगीहरुलाई भनिसकेकी हुन्छिन् । काम पनि गर्दिनन् ।’

भारतले आफूलाई सहयोग नगर्ने लक्षण देखेपछि बिपी आफ्नो निजी सम्बन्ध, स्रोत, सम्पर्क, सूचनाहरु उपयोग गरी हतियार संकलनमा लाग्नुभयो । त्यसपछि १९ सेप्टेम्बर १९७१ (२०२८ असोज ३ गतें इन्डियन एक्सप्रेसका तत्कालीन सम्पादक कुलदीप नैयरलाई अन्तर्वार्ता दिँदै प्रजातन्त्र पुनस्र्थापना नगरिए सशस्त्र संघर्ष गर्ने घोषणा गर्नुभयो । नैयरका प्रश्नहरुको जवाफ दिँदै उहाँले भन्नुभयो–‘म संवैधानिक परिवर्तनको पक्षमा छु । तर यदि राजाले जनताको माग स्वीकार गरेर सत्ता जनतामा सुम्पेनन् भने सशस्त्र संघर्ष गर्नुको विकल्प छैन । राजाले प्रजातान्त्रिक पद्धतिलाई स्वाभाविक तवरबाट विकसित हुँदै जाने मौका दिनुभयो भने सशस्त्र संघर्षबाट जोगिन सकिन्छ । व्यक्तिगत रुपमा म त्यस्तो संघर्षको विरोधी छु ।’

जता हेयो, उतै ‘रअ’ को मान्छे

भारतमा सिक्किमको विलय भएपछिको घटनाक्रमबारे विरहीले लेखेका छन्, ‘विलयलगत्तै भारत सरकारले सिक्किम विधानसभाका अधिकांश सदस्यलाई भारतले गरेको प्रगतिको अनुभूति गराउन विभिन्न क्षेत्र भ्रमण गरायो । यस क्रममा उनीहरुको इच्छाअनुसार बनारस, सारनाथ भ्रमणको कार्यक्रम पनि थियो । त्यो टोलीमा आएका सदस्यमध्ये नरबहादुर खतिवडा पनि थिए । राजाविरोधी आन्दोलनमा अग्रणी भूमिका निर्वाह गरेृका उनी त्यसबेला जल्दोबल्दो युवा नेता थिए । उनी बिपी कोइरालाबाट निकै प्रभावित रहेछन् । एकपल्ट बिपीलाई भेटिसकेका पनि रहेछन् ।

बनारसको कार्यक्रम बनाउँदा उनले भ्रमण दलको संयोजक भारतीय अधिकारीलाई आफ्नो टोलीको भेट बिपीसँग गराउन आग्रह गरेछन् । ती अधिकृतले ‘कोइराला सारनाथमै बस्नुहुन्छ, घुमिसकेपछि समय उब्रिएछ र उहाँले समय दिनुभएछ भने कोसिस गरौंला’ भनेछन् । तर सारनाथका लागि छुट्याइएको समय त्यहाँको बौद्धविहार घुमाउनमै समाप्त पार्न लागिएको र बिपीसँग सम्पर्क पनि नगरिएको संकेत पाएपछि खतिवडा ‘म ट्वाइलेट गएर पाँच मिनेटमा आउँछु’ भनी सुटुक्क कोइरालाको निवासस्थान पुगेछन् । खतिवडाले आफूलाई भनेको कुरा उद्धृत गर्दै बिपीले भोलिपल्ट बिहान हामीलाई भन्नुभयो, ‘हेर्नुस्, भारतीय अधिकारीहरु हामीलाई माननीय सदस्यज्यू भन्छन्, बोलीमा सम्मान गर्छन्, तर व्यवहार कैदीको जस्तो गरेका छन् । हामी उनीहरुकै खटनमा हिँड्नुपर्छ । हाम्रो सबै स्वतन्त्रता खोसेका छन् । देशै खोसे, अरु स्वतन्त्रताको के कुरा गर्नु ?’

‘स्वतन्त्रता र अधिकारका लागि चोग्यालसँग लडाइँ गर्दा हामीले आखिर देशै गुमाउनुप¥यो । भारतले ठूलो धोका दियो । हाम्रो देशै खाइदेला भन्ने लागेको भए हामी हरदयाल, बिएस दास र लालहरु –भारतद्वारा सिक्किममा नियुक्त प्रशासक) लाई लखेटेर पठाइदिने थियौं । समयमै भारतको चाल बुझ्न सकिएन, हामीलाई ठूलो पछुतो छ । इतिहासले पनि हामीलाई जरुर माफ गर्दैन । मलाई आत्मग्लानी भइरहेको छ । मनको कुरा भन्ने मान्छे पनि कोही छैन । म त जता हे¥यो, उतै ‘रअ’ को मान्छे मात्र देख्छु । जो देखे पनि ‘रअ’ कै मान्छे होला जस्तो लाग्छ । विश्वास गर्ने कोही छैन । त्यसैले मनको पीडा भन्न, उकुसमुकुस पोख्न भागेर हजुरकहाँ आएको हुँ । म यहाँ आएर हजुरलाई भेटेको कुरा म गोप्य राख्छु, उनीहरुलाई भन्दिनँ । हजुरले पनि गोप्य राख्नु होला ।’

जेलमा सूर्यबहादुरसँगै

२०२९ सालमा विरही सेन्ट्रल जेलमा रहँदा पञ्चायती नेता सूर्यबहादुर थापा पनि जेल परेका थिए । सो प्रसंगबारे उनले लेखेका छन् ‘बेलाबेला हामी सूर्यबहादुरको गफ सुन्न उनको कोठामा जान्थ्यौं । आफ्नो कोठामा आउने सबैलाई उनी सम्मानपूर्ण व्यवहार गर्थे । भेट्न आउनेले ल्याइदिएका खानेकुरा उनी आफूसँग कुरा गर्न आउनेलाई सम्मानपूर्वक बाँड्थे । एकपल्ट रामहरि जोशी र म सँगै उनको कोठामा गएका बेला घरबाट आएको टिफिन बक्स खोलेर मकैको खिर र ढुकुरको मासु ख्वाएका थिए । पञ्चायत, दरबार, राजपरिवार, प्रशासन सञ्चालन, मन्त्रिपरिषद् गठन–विघटन, शक्तिको होडबाजी, कमिसन र भ्रष्टाचार आदि बारे उनलाई मानिसहरुले प्रश्न सोधिरहन्थे । कुनैकुनै प्रसंगमा उनी यति जोडले हाँस्थे कि पूरै जेल थर्किन्थ्यो ।

एकपल्ट मैले सोधेँे, ‘बिपी कोइरालालाई रिहा गर्न तपाईले सहयोग गर्नुभएको थियो । तर तपाईले गर्दा नै उहाँ भारत गएर बस्न बाध्य हुनुभएको हो रे । साँचो कुरा के हो ?’

थापाले त्यसको लामो जवाफ दिँदै भने, ‘तपाईलाई भनिएका यी दुवै कुरा सत्य होइन, तर असत्य पनि होइन । अर्धसत्य हुन् ।’

मनमोहन र भट्टराईबीच भावुक सम्वाद

०४८ सालको आमनिर्वाचनमा तत्कालीन प्रधानमन्त्री कृष्णप्रसाद भट्टराईले काठमाडौं–१ बाट एमालेका महासचिव मदन भण्डारीसित चुनाव हारे । त्यस सन्दर्भमा विरही लेख्छन्, ‘चुनावको भोलिपल्ट बिहानै मेरो पत्रिकामा स्तम्भ लेख्ने रघु पन्त (एमाले नेता) ले फोन गर्नुभयो । भन्नुभयो, ‘मनमोहनजी किसुनजीले हारेकोमा निकै चिन्तित हुनुहुन्छ, उहाँ किसुनजीलाई भेटेरै कुरा गर्न चाहनु हुन्छ । आफै फोन गर्न अप्ठ्यारो मानिरहनुभएको छ । तपाईले समय मिलाएर खबर गरिदिनुस् न । दुवै बूढाहरुलाई भेटाइदिऊँ ।’

किसुनजी बालुवाटारबाट सरिसक्नुभएको थिएन । मैले प्रधानमन्त्री निवासमा फोन गरेर मनमोहनजीको चाहना सुनाइदिएँ । किसुनजीले ‘मनमोहनजीलाई तपाईले नै लिएर आउनुस्, तुरुन्तै’ भन्नुभयो । मैले तुरुन्तै रघुजीलाई फोन गरेँ र बालुवाटारमा भेट्ने कुरा गरेँ ।
प्रधानमन्त्री तथा पार्टी सभापति पराजित भएको त्यो संवेदनशील अवस्थामा प्रधानमन्त्री निवासमा उहाँका दुईतीन जना सहयोगीबाहेक कुनै कार्यकर्ता थिएनन् । सुनसान वातावरण । बेहुली अन्माएको जग्गे जस्तो ।

दुवै शिखर व्यक्तित्वले दिल खोलेर कुरा गरे । मन माझामाझ गरे । किसुनजीले द्रवित भएर आक्रोश र गुनासो प्रकट गर्दै भन्नुभयो, ‘मैले एमालेको के कुभलो गरेको थिएँ र मलाई हराउनुप¥यो । मलाई हराएर तपाईहरुलाई के फाइदा हुन्छ, हेरौंला । के फाइदा हुन्छ, बताउनुस् ? मेरो विरुद्ध यत्रो षड्यन्त्र ? मलाई हराउन दरबारसँग साँठगाँठ गर्ने ? दरबार पनि मेरो विरुद्ध, भारत पनि मेरो विरुद्ध, एमाले पनि मेरो विरुद्ध । त्यसमाथि यत्रो षड्यन्त्र, धाँधली । हाम्रो कैयौं कार्यकर्ताले भोट हाल्न जानै पाएनन् । टेरर खडा गरेर मलाई हराइयो । भन्नुस्, यसबाट तपाईहरुलाई के फाइदा हुन्छ ?’

किसुनजीको आँखा पहिले नै गिलो थियो । मनमोहनजीको आँखा पनि टिलपिल भयो । रघुजी र म छेउमा बसेर दुई महारथीको अन्तरंग वार्ता चुपचाप सुनिरह्यौं ।’

प्रदीपको जाहेरी गिरिजाविरुद्ध

बनारसमा निर्वासनमा रहँदा कांग्रेस नेताहरुबीच भएको झगडालाई उनले यसरी उतारेका छन्, ‘बिपी र प्रदीप गिरिको सम्बन्ध अरु साथीहरुको भन्दा अलि भिन्न प्रकारको थियो । बिपीको प्रदीपप्रति स्नेह देखिन्थ्यो । उहाँ उनको बौद्धिकता, तीक्ष्णता तथा प्रभावोत्पादक खुबीको धीमा स्वरले चर्चा गर्नुहुन्थ्यो । मायामिश्रित स्वरले गुनासो पोख्नुहुन्थ्यो । तर दुवै जना जति नजिक थिए त्यति नै टाढा पनि थिए । यो टाढापन र तिक्तताको पछाडि राजनीतिकभन्दा अराजनीतिक पक्ष कारक रहेको अनुमान गर्न सकिन्छ ।

बिपीको छत्रछायामा बस्ने केहीले, कुन्नी के कारण हो, गिरिविरुद्ध लाञ्छना लगाउँदा र आक्रमण गर्दा उहाँ तटस्थ बस्नुहुन्थ्यो । एकपल्ट त झन्डै ज्यानै जानेगरी हमला भयो । त्यसमा बिपीबाट न्याय नपाएपछि उनले गिरिजाप्रसाद कोइराला, खुमबहादुर खड्का आदिको नामै किटेर भारतीय थानामा जाहेरी दिए । त्यस सन्दर्भमा खुमबहादुर खड्का गिरफ्तार गरिए । गिरि बिपीका प्रति श्रद्धा र सम्मान राख्थे तर अरुजस्तो अन्धभक्त थिएनन् । बनारसमा कांग्रृेसभित्रको अस्वस्थ वातावरणबाट विरक्तिएर बेलाबेलामा अन्यत्र गइरहन्थे ।’

बिपी र पुष्पलाल एउटै मञ्चमा

बनारसमै रहँदा बिपी कोइराला र पुष्पलालले एउटै मञ्चमा बोलेका प्रसंगबारे उनले लेखेका छन्, ‘मैले भेटेका ठूला वामपन्थी नेतामध्ये मनमोहन दोस्रो हुनुहुन्थ्यो । त्यसअघि बनारसमा पुष्पलाललाई भेट्ने मौका पाएको थिएँ । पुष्पलाल र हाम्रो बसाइ नजिकनजिकै एउटै गल्लभित्र थियो । उहाँसँग बेलाबेला भेट हुन्थ्यो । संक्षिप्त कुराकानी हुन्थ्यो । एकपल्ट उहाँको डेराभित्र पसेको थिएँ कुरा गर्न तर उहाँ व्यस्त हुनुभएकोले खासै राजनीतिक कुरा भएन । मोदनाथ प्रश्रित, गोविन्द ज्ञवाली र कवि युद्धप्रसाद मिश्रसँग त्यहीँ परिचय भएको थियो । २०३२ फागुन ७ गते बनारसको सभागृहमा भएको कार्यक्रममा उहाँलाई सुन्ने मौका पाएँ ।

बिपी कोइराला प्रमुख अतिथि र पुष्पलाल विशिष्ट अतिथि हुनुहुन्थ्यो । मैले बिपीको भाषण पनि पहिलोपल्ट सुनेको त्यहीँ हो । नेपाली राजनीतिको दुई शिखर पुरुषले एउटै मञ्चबाट भाषण गरेको दुर्लभ अवसर थियो त्यो । संयोगले बिपीलाई भेट्न आएका भारतीय समाजवादी नेता जर्ज फर्नान्डिजलाई पनि विशिष्ट अतिथि बनाइएको थियो । फर्नान्डिज प्रतिपक्षको चर्चित युवा नेता थिए ।’

राजा वीरेन्द्र र अन्तर्वार्ताको प्रसंग

०४६ सालमा बहुदल आएपछि राजा वीरेन्द्रलाई भेटेको प्रसंग यसरी उतारेका छन्, ‘मैले प्रसंग झिकेँ, अन्तर्वार्ताको । मैले सचिवलाई भनेको कुरा दोहो¥याउँदै भनेँ, ‘सरकारले अन्तर्वार्ता बक्सिए मेरो शृंखलाले पूर्णता पाउँछ र सरकारको विचार ममा मात्र सीमित नरहेर जनताबीच पुग्दछ । त्यसैले मैले अन्तर्वार्ताको लागि टेप रेकर्डर पनि लिएर आएको छु । गेटमा मोटरसाइकलमा राखेको छु । सारेर छाप्नुअघि देखाउँला, कुनै काट्न–थप्न मन लागे त्यसबेला मिलाइबक्से पनि हुन्छ ।’

राजा हाँसे । मैले सोचेँ, उनले सायद मलाई मूर्ख ठाने । भने, ‘अन्तर्वार्ता दिन मिल्छ ? संवैधानिक राजाले अन्तर्वार्ता दिन मिल्छ ? नेताहरु त्यसै त राजा सक्रिय हुन थाल्यो, प्रजातन्त्र खोस्न लाग्यो भन्छन् । झन् अखबारमा अन्तर्वार्ता दिएँ भने के भन्लान् ? तपाईले अन्तर्वार्ता मागेको कुरा सचिवले भनेका थिए । न्युजविक, टाइम र अरु विदेशी पत्रिकाले पनि मागेका छन् । त्यसैले अध्ययन गर्दैछु कि संवैधानिक राजाले अन्तर्वार्ता दिनु हुन्छ कि हुँदैन । कतिसम्म बोल्नु हुन्छ ? के के बोल्नु हुँदैन ? संवैधानिक राजतन्त्र हाम्रो लागि नयाँ हो नि । यसको अनुभव मेरो पनि छैन, नेताहरुको पनि छैन । नेताहरु त झन् केही पनि अध्ययन नै गर्दैनन् । त्यसैले अन्तर्वार्ताबारे अलि पछि, अर्को भेटमा कुरा गरौंला । हुन्न ?’

12 पटक पढिएको

    
        Loading...     
    

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

        
            Loading...     
        

    अन्तरवार्ता

    समाचार