Presidential

‘२० नम्बर बुँदामा गल्ती भयो, सच्याउन पहल गर्छु’

‘२० नम्बर बुँदामा  गल्ती भयो, सच्याउन पहल गर्छु’

१५ असोज । ‘खासमा त्यसमा मेरो ध्यान पुगेन, त्यस्तो होला भन्ने लागेन । पहिला भएका सम्झौता कार्यान्वयनको कुरा आउँदा त्यो बुँदा परेको हो । वास्तवमा गल्ती भएछ ।’

नेकपा (माओवादी केन्द्र) को बैठकमा नारायणकाजी श्रेष्ठले कुरा उठाएपछि कन्भिन्स नभएको प्रधानमन्त्री तथा उक्त पार्टीका अध्यक्ष पुष्पकमल दाहाल तब उक्त कुरा भन्न बाध्य भए, जब अर्का नेता रामबहादुर थापा (बादल) ले पनि श्रेष्ठकै कुरामा सही थपे । भारतबाट मात्रै तेल आयात गर्ने गरी सन् २०१५ मा तयार भएको दुई देशबीचको पेट्रोलियम आयातसम्बन्धी सम्झौता कार्यान्वयनका लागि दुई देशका अधिकारीलाई निर्देशन दिने उक्त बुँदाले प्रधानमन्त्री दाहाल तनावमा परेका छन् । त्यसपछि भारतले नाकाबन्दी लगायो र तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले गत चैतमा चीन गएर नेपाललाई आवश्यक पर्नेमध्ये ३० प्रतिशत तेल चीनबाट ल्याउने सम्झौता गरेर फर्किसकेका छन् ।

तर रक्सौल अमलेखगञ्ज पाइपलाइन बिछ्याउनका लागि सन् २०१५ को अगस्तमा दुई देशबीच भएको सम्झौतामा चाहिँ १५ वर्षसम्म नेपालले सम्पूर्ण पेट्रोलियम पदार्थ भारतीय आयल कर्पोरेसनसँग मात्रै किन्ने उल्लेख छ । बीचमा चीनसँग सम्झौता नभएको भए त उक्त बुँदाले केही फरक पार्दैनथ्यो होला । तर, यसै त चीनसँगको सम्झौता कार्यान्वयन हुँदैनन् भन्ने आशंका बढिरहेको बेला पुरानै सम्झौतालाई स्वागत गर्ने र तदारुकताका साथ काम अघि बढाउने दुई प्रधानमन्त्रीको निर्देशनले चीनसँगको सम्झौता स्वतः निस्क्रिय भएको छ ।

माओवादीको बैठकमा नेताहरुले यही कुरा उठाएपछि अप्ठेरोमा परेका दाहालले भने, ‘पहिल्यै भएको सम्झौता रहेछ । पुराना सम्झौता कार्यान्वयन गर्ने भन्ने सन्दर्भमा त्यस्तो वाक्य पर्न गएको हो । नियतबश होइन । तर, त्यहाँ गल्ती भयो । म त्यसलाई सच्याउनका लागि पहल गर्छ ।’ बैठकमा भएको छलफलका बारेमा माओवादीका एक नेताले भने, ‘सच्याउँछु भन्नुभएको छ, आशा गरौँ, सच्चिएला ।’

    
        Loading...     
    

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

        
            Loading...     
        

    अन्तरवार्ता

    समाचार