Presidential

नारायणकाजी श्रेष्ठले विदेशीलाई यसरी पढाएछन् कुटनीतिक पाठ


नारायणकाजी श्रेष्ठले विदेशीलाई यसरी पढाएछन् कुटनीतिक पाठ

चीन, भारत, अमेरिका र इयुसँगका पाँच रोचक प्रसंग

१५ असोज । बाबुराम भट्टराई प्रधानमन्त्री हुँदाका परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले कुटनीतिक आचारसंहिता निर्माण गरी विदेशीसँगको भेटघाटलाई व्यवस्थित बनाउने कोसिस गरेका थिए । यसक्रममा आफूले भोगेका रोचक अनुभव उनले शुक्रबार साँझ त्रिभुवन विश्वविद्यालयमा अन्तर्राष्ट्रिय सम्बन्ध र कटनीति विषयमा स्नातकोत्तर गरिरहेका विद्यार्थीसँग बाँडे । विद्यार्थीहरुले उत्सुकतापूर्वक उनका कुरा सुन्नुका साथै जिज्ञासा राखेका थिए । श्रेष्ठले आफू मन्त्री हुने बेला भोगका केही रहस्यहरु विद्यार्थीहरुसामु यसरी खोलेः

मैले परराष्ट्रमन्त्री हुँदा कुटनीतिक आचारसंहिता बनाउन खुबै कोसिस गरेँ । झट्ट हेर्दा भेटघाट व्यवस्थित गर्नका लागि मात्र जस्तो देखिए पनि कुटनीतिक आचारसंहिताले हाम्रो देशका आन्तरिक मामिलामा विदेशीको प्रभाव र चासोलाई रोक्छ । कुन तहसम्मकाले कसलाई भेट्ने, कसले बोलाउँदा जाने, कसले बोलाउँदा नजाने जस्ता कुरा महत्वपूर्ण हुन्छन् ।

अडान राखेपछि भारत झुक्न बाध्य भयो

प्रधानमन्त्री बाबुराम भट्टराईको भारत भ्रमणका बेला संयुक्त वक्तव्य निकाल्नेबारेमा समस्या पर्यो । भारतीयहरुले जेजे चाहन्छन्, त्यही मात्रै राखेर वक्तव्य निकाल्ने कुरा मैले मानिनँ । त्यतिबेलाका मुख्यसचिव माधव घिमिरेलाई बोलाएर भनेँ, ‘परराष्ट्रमन्त्री म हुँ, मैले नभनेसम्म कुनै पनि वक्तव्य तयार हुँदैन । मलाई नसोधी केही पनि नगर्नुहोला ।’ उहाँले ‘हवस हजुर’ भन्नुभयो । हाम्रा १३ जना सचिव त्यहाँ गएका थिए ।

वार्ताकारहरु वार्तामा सक्रिय थिए । त्यहाँ तीनवटा मुख्य कुरामा गाँठो परिरहेको थियोः

पहिलो, भारतले सन् १९५० को सन्धिका बारेमा वक्तव्यमा केही कुरा राख्नै मानिरहेको थिएन । जबकि, हामीले पहिलादेखि नै उक्त कुरा राख्नै आएका थियौँ र यसपटक पनि राख्नुपर्छ भन्ने हाम्रो अडान थियो ।

दोस्रो, भारतले नेपालगन्जमा कन्सुलेट अफिस खोल्ने माग राख्यो, हामीले तत्कालै हुँदैन भनेर अस्वीकार गर्यौँ । तर, भारतले ‘इन्डियन साइड रिक्वेस्टेड टु ओपन कन्सुलेट अफिस एट नेपालगन्ज’ भनेर त राखिदिनूस् भन्यो । हामीले जब अस्वीकार गरिसक्यौँ भने किन त्यो कुरा वक्तव्यमा राख्ने भनेर मानेनौँ ।

तेस्रो, कोशी बाँधका कारण पीडितहरुलाई तत्काल राहत उपलब्ध गराउने हाम्रो अडान थियो । भारतले मानिरहेको थिएन ।

वार्ता सकियो, कुरा मिलेन । संयुक्त वक्तव्य ननिस्किने भयो भने त्यहाँ साथीहरु आत्तिनुभयो ।

प्रधानमन्त्रीले पनि ‘वक्तव्य ननिकाल्ने त’ भनेर सोध्नुभयो । मैले भनेँ, ‘उनीहरुले भनेका कुरा मात्रै राखेर वक्तव्य निकाल्नुभन्दा त ननिकाल्नु ठीक हुन्छ वक्तव्य दुई देशका लागि हो कि एउटा देशका लागि मात्रै ? हाम्रा कुरा केही नराखेर उनीहरुका कुरा मात्रै राखेर कसरी वक्तव्य निकाल्न सकिन्छ ? ननिकाले पनि फरक पर्दैन ।’

नेपालमा अध्यक्ष प्रचण्डलाई फोन गरेर पनि जानकारी गराएँ । उहाँले ‘मिलाएर गर्नुस् न’ भन्नुभयो । प्रधानमन्त्रीले अप्ठेरो मानिरहनुभएको थियो ।

वक्तव्य निस्किने भएन । हामी होटलबाट हिँड्यौँ । विमानस्थल पुग्यौँ । अरु साथीहरु जहाज चढिरहेका थिए ।

हामीलाई त्यहाँका चिफ अफ प्रोटोकलले जहाजतर्फ लैजान लागेकै बेला भारतीय राजदूत आए भने, ‘एक्लेन्सी, डन । तपाईंले भने अनुसार नै वक्तव्य जारी गरौँ ।’
पछि वक्तव्य जारी भयो । अडान लिँदा काम गर्न सकिन्छ, अरुका कुरामा सुरुमै सही ठोकिदिने हाम्रो हीन ग्रन्थीले काम गरेको छ ।

चिनियाँ राजदूतले लीलामणिलाई फोन गरेछन्

म गृहमन्त्री भएको बेला चिनियाँ दूताबासबाट शुभकामना तथा बधाई दिनका लागि राजदूतले भेट माग्नुभएको छ भनेर मेरो सचिवालमा खबर आएछ । मैले ‘हुन्छ तर परराष्ट्र मन्त्रालयसँग समन्वय गरेर ऊमार्फत आउन भन्नू’ भनेँ । त्यसैगरी खबर गरेछ ।

त्यतिबेला लीलामणि पौडेल गृहसचिव हुनुहुन्थ्यो । एकछिनमै चिनियाँ राजदूतले उहाँलाई फोन गर्नुभएछ । उहाँ मकहाँ आउनुभयो । उहाँले भन्नुभयो, ‘सर चिनियाँ राजदूतले फोन गरेका थिए । उनलाई हजुरको सचिवालयले परराष्ट्रमार्फत आउनू भनेछ । अहिलेसम्म त्यसरी आउने गरेकै थिएनन् ।’

त्यतिबेला लीलामणि पौडेल गृहसचिव हुनुहुन्थ्यो । एकछिनमै चिनियाँ राजदूतले उहाँलाई फोन गर्नुभएछ । उहाँ मकहाँ आउनुभयो । उहाँले भन्नुभयो, ‘सर चिनियाँ राजदूतले फोन गरेका थिए । उनलाई हजुरको सचिवालयले परराष्ट्रमार्फत आउनू भनेछ । अहिलेसम्म त्यसरी आउने गरेकै थिएनन् ।’

मैले भनेँ, ‘अहिलेसम्म थिएन भने पनि अब हुनुपर्छ । मैले परराष्ट्रमन्त्री हुँदा यस्तो चलन बसाल्न खोजेको थिएँ । आफैँले उल्लंघन गर्न मिल्दैन ।’

पछि उनी परराष्ट्रमार्फत आए र मलाई बधाई तथा शुभकामना दिएर गए ।

अमेरिकी राजदूतलाई भनेँ, ‘प्लिज नेक्स्ट टाइम’

म गृहमन्त्री भएकै बेला अमेरिकी राजदूत स्कट एच डेलिसीले भेट्न चाहेका छन् भन्ने खबर आयो । मैले ‘के विषयमा हो, बुझेर परराष्ट्रमार्फत आउन भन्नू’ भनेँ । शुभकामना र बधाई दिन हो भनियो ।

डेलिसी आए । उनले बधाई तथा शुभकामना दिए । तर, उनी त्यतिका लागि आएका रहेनछन् । उनीसँग त एजेन्डाका भारी रहेछन् । उनले कुरा निकाल्न के सुरु गरेका थिए, मैले भनेँ, ‘आज तपाईंले बधाई तथा शुभकामना दिनका लागि शिष्टाचार भेट माग्नुभएको थियो । त्यसैले म अरु कुनै विषयमा कुरा गर्न चाहन्न । प्लिज नेक्स्ट टाइम ।’

उनी अप्ठेरो मान्दै उठेर हिँडे ।

न्युयोर्कमै अमेरिकी राज्यमन्त्रीले भने, ‘सरी’

म परराष्ट्रमन्त्री भएको बेला अमेरिकी राजदूतले ‘स्वतन्त्र तिब्बत’का पक्षमा लागेका एकजना मान्छेलाई भेटेछन् । साथै, बिना जानकारी हाम्रो प्रधानसेनापतिलाई पनि भेटेछन् । यी दुई कुराप्रति आपत्ति प्रकट गरेर मैले मन्त्रालयमा बोलाउन लगाएँ र स्पष्टीकरण लिएँ ।

उनले आफ्नो अपमान ठानेछन् र आफ्नो देशमा त्यही लेखेर पठाएछन् ।

उनीहरुले ‘तपाईंले हाम्रो देशको राजदूतलाई यस्तो गर्नुभएछ, अपमान भयो’ भने । मैले सोधेँ, ‘महामहिम, तपाईंको देशमा कसैले यस्तै गरेमा तपाईं के गर्नुहुन्थ्यो ?’ त्यसपछि उनी ‘सरी’ भनेर फर्किए ।

पछि म संयुक्त राष्ट्संघको महासभामा भाग लिन अमेरिका गएको बेला अमेरिकी विदेश राज्यमन्त्री र सहायकमन्त्री मलाई भेट्न आए । उनीहरुले ‘तपाईंले हाम्रो देशको राजदूतलाई यस्तो गर्नुभएछ, अपमान भयो’ भने । मैले सोधेँ, ‘महामहिम, तपाईंको देशमा कसैले यस्तै गरेमा तपाईं के गर्नुहुन्थ्यो ?’ त्यसपछि उनी ‘सरी’ भनेर फर्किए ।

युरोपेली संघका राजदूतको दादागिरी

एक दिन म परराष्ट्रमा बसिरहेको बेला युरोपेली संघका राजदूतहरुले राष्ट्रपति डा. रामवरण यादवलाई भेट्न खोजेका छन् भन्ने खबर आयो । किन रहेछ भनेको त राजनीतिक विषयमा उनीहरुले संयुक्त कुराकानी गर्न चाहेका रहेछन् । म छक्क परेँ । आलंकारिक राष्ट्रपतिसँग विदेशी राजदूतले हुल बाँधेर गएर राजनीतिक कुराकानी गर्ने ? मैले हुँदैन भनेँ ।

उनीहरु मसँग आपत्ति प्रकट गर्न आए । मैले भनेँ, ‘संविधानले नै आलंकारिक भनेर परिभाषित गरेर राष्ट्रपतिसँग तिमीहरुले राजनीतिक विषयमा कुराकानी गर्न मिल्छ ? यसो भेटेको बेला राजनीतिक कुराकानी पनि गर्नु त एउटा कुरा हो । तर, विषय खुलाएरै छलफल गर्ने हैसियत र कारण के ? अनि तिमीहरुको देशमा चाहिँ हाम्रो राजदूतले राष्ट्रपतिलाई कतिपटक भेट्छ ?’

त्यसपछि उनीहरु चुप लागेर फर्किए ।

    
        Loading...

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

    
        Loading...     
    

अन्तरवार्ता

समाचार