Presidential

हानको स्वर्ण महोत्सवः अध्यक्षमा शाक्य सर्वसम्मत हुने सम्भावना

हानको स्वर्ण महोत्सवः अध्यक्षमा शाक्य सर्वसम्मत हुने सम्भावना

१६ असोज । आधा शताब्दी पूरा गरेको होटल एसोसियसन अफ नेपाल (हान) ले स्वर्ण महोत्सवसँगै आज नयाँ नेतृत्वसमेत पाउने भएको छ । नेपालका साना–ठूला तारे होटलहरुको छाता संगठनको रुपमा रहेको हानको स्वर्ण महोत्सवको गत शुक्रबार राष्ट्रपति विद्यादेवी भण्डारीले उद्घाटन गर्नुभएको थियो । स्वर्ण महोत्सव तीन दिनसम्म चलेर नयाँ नेतृत्व चयन हुने बताइएको छ ।

आइतबार बेलुकीसम्म हानमा नयाँ नेतृत्व आउने बताइन्छ । अध्यक्ष बिकेमान श्रेष्ठले यस पटक बिदा लिने भएको हुँदा अध्यक्षका लागि अमरमान शाक्यको नाममा सहमति बनेको छ । उनी समर होटलका सञ्चालक हुन् । त्यस्तै, महासचिवमा भने अहिलेकै महासचिव विनायक शाह दोहोरिने सम्भावना रहेको छ । उनी होटल एयरपोर्टका सञ्चालक हुन् । जम्मा २१ सदस्यीय समिति सहमतिकै आधारबाट बन्ने कोषाध्यक्ष घनेन्द्र श्रेष्ठले बताए ।

देशभरिका २ सयजति तारे होटल र रिसोर्टहरुका प्रतिनिधिले नयाँ नेतृत्व चयन गर्नेछन् । ५० वर्षमा टेकेको हानमा अहिलेसम्म १२ सयजति सदस्य रहेका छन् ।

पछिल्लो समय महाभूकम्पका कारण पर्यटकहरुको आगमन पातलिएर होटल क्षेत्र संकटमा परे पनि अहिले भने स्थिति सहज हुँदै गइरहेको बताइन्छ । अहिले पर्यटकहरुको चाप विस्तारै बढ्दै जान थालेको हुँदा होटल क्षेत्रले महाभूकम्पपछि झेलेको समस्याबाट मुक्ति पाउँदै गएको व्यवसायीहरु बताउँछन् ।

भूकम्प आउनुअघि होटल क्षेत्रमा विदेशी लगानी भित्रिने वातावरण बने पनि भूकम्पपछि भने त्यसमा शिथिलता आएको व्यवसायीहरुको भनाइ छ । तर, अन्तर्राष्ट्रिय चेन होटलहरु शेराटनलगायतले भने होटल सञ्चालनका लागि धमाधम निर्माण कार्य गरिरहेको छ ।

8 पटक पढिएको

    
        Loading...     
    

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

        
            Loading...     
        

    अन्तरवार्ता

    समाचार