Presidential

जोसँग पेन्टिङ टाँग्ने भित्तासमेत छैन

जोसँग पेन्टिङ टाँग्ने भित्तासमेत छैन

मिथिला क्षेत्रको मिथिला कलामै मन अड्याएकी छिन्, मिथिलादेवी यादवले । मिथिला क्षेत्रको समृद्ध संस्कृति, जनजीवन, रहनसहन, पर्व र समथर फाँटका श्रमले भिजेका दैनिकीमा उनले रङ भर्न थालेको तीन दशक भइसक्यो । मैथिली कलालाई राष्ट्रिय÷अन्तर्राष्ट्रिय पहिचान दिलाउन र आर्थिक–स्रोतलाई निरन्तरता दिइराख्न काठमाडौं, डल्लुको एउटा अँध्यारो कोठामा बसेर मिथिला आर्टलाई जीवन सुम्पिएको पनि दुई दशक भइसकेको छ । तर, ५४ वर्षिया मिथिलादेवी, हरेक समस्या झेल्दै आफ्नै नामसँग मिल्दोजुल्दो मिथिला क्षेत्रको ‘प्राण’ मिथिला कलामा नै समर्पित छन् ।

मिथिलाको यदाकदा भेट हुन्छ, किरण मानन्धरसँग । भेट्दा नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानका पूर्वकुलपति मानन्धर उनलाई सुझाव दिन थालिहाल्छन्–‘सस्तोमा चित्र नबेच्नुस् है ।’ हुन पनि किरणको आफ्नै स्टाइल छ । आधा घन्टामा एउटा चित्र बनाइसक्छन्, किरण र त्यस चित्रको मूल्य लाखभन्दा माथि नै राख्छन् । तर, मिथिलालाई भने एउटा चित्र बनाउन ७÷८ दिन नै लाग्छ र उनले आफ्ना चित्रहरु ७÷८ हजारभन्दा माथि अहिलेसम्म बेचेका छैनन् । भन्छिन्–‘मलाई अरु कलाकारहरुले तपाईका चित्र १ लाखभन्दा माथिमै बिक्छ भन्छन् । तर, आर्थिक समस्या टार्न सस्तो दाममा नै बेचिरहेकी छु ।’

मिथिला चित्र बनाएर र त्यसलाई बेचेर आर्थिक गर्जो टार्न ०५२ सालदेखि नै काठमाडौंमा बस्न थालेकी मिथिलालाई अहिलेसम्म अर्थाभावले नै पछ्याइरहेको हुन्छ । तर, मिथिलाको जनजीवन झल्किने पेन्टिङ र क्राप्ट बेचेर नै उनको जीवन चलिरहेको छ । आफ्नो पदचाप छोराले समेत पछ्याएकोमा उनलाई धेरै सहज भएको छ अचेल ।

१३ वर्षमै बिहे

एक दिन, महोत्तरी जिल्लाको वसन्तपुरबाट केही मानिसहरु उनको घरमा आए । ती मानिसहरु किन आए ? उनले कुनै भेउ पाइनन् । तर, जनकपुर नगरपालिकाको देवीस्थान टोलमा रहेको घरमा उनलाई मैथिली परम्परा र संस्कारअनुरुप सिंगारपटार गरियो । केही मानिसहरुको पछि लागेर उनी एउटा बिरानो गाउँमा पुगिन् । पछि मात्र उनले थाहा पाइन्, उनको बिहे भएको रहेछ ।

बिहे हुँदा उनी १३ वर्षकी थिइन् र पढ्थिन् ७ कक्षामा । लोग्ने भने पूरै निरक्षर परे । भन्छिन्–‘मलाई अझै पढ्ने मन थियो । तर, सानैमा बिहे गरेपछि पढ्न सकिनँ ।’ मधेसको ठाउँ, रुढिग्रस्त मानसिकता व्याप्त थियो । बिहेपछि सासुको शासन सुरु भयो । सासु भन्थिन्, ‘घुम्टो छोपेर बस ।’ उनलाई घुम्टोको अर्थ थाहा थिएन । भन्थिन् पनि, ‘घुम्टो छोप्दा म लडिहाल्छु नि ।’

केही वर्षअघि, उनलाई काठमाडौंको एउटा संस्थाले ‘मैथिली कट्टर समाजमा जन्मी घुम्टो र पर्दा प्रथाको समाजबाट माथि उठी मिथिला कलालाई’ सर्वत्र चिनाएको सम्मान गरिएको थियो । हुन पनि, महोत्तरीको देहातमा घुम्टो र पर्दा प्रथाले महिलालाई माथि उठ्न नदिएको बेला उनले निकै कष्ट बेहोर्नुप¥यो ।

त्यतिबेला, देहातमा नेपाली भाषा बोल्नु ठूलै कुरा मानिन्थ्यो । उनकी सासु आमा र देहातभरिकी महिलाहरु मैथिली भाषामा नै कुराकानी गर्थे । तर, उनलाई भने नेपाली बोल्न आउँथ्यो राम्ररी नै । भन्छिन्, ‘घरमा आमा र मलाई नेपाली बोल्न आउँथ्यो । घरायसी अवस्था नाजुक भएको हुँदा आमा तुलसी गिरीको घरमा बच्चा हेर्ने काम गर्नुहुन्थ्यो, आमाले त्यहीँबाट नेपाली भाषा सिक्नुभएको हो ।’

१४ वर्षमै आमा

बिहे गरेर नौलो घरमा पुग्दा उनको मन भक्कानिएको थियो, असाध्यै । भन्छिन्–‘मलाई किन यस्तो बिरानो ठाउँमा आमाले पठाउनुभयो भनेर म रुन्थेँ, बिलौना गर्थेँ ।’ बिहे गरेको वर्ष दिनमै उनले छोरा जन्माइन् । पहिलो सन्तान जन्माउँदा असाध्यै कष्ट झेल्नुप¥यो । सहज रुपमा प्रशूति नहुने भएपछि भारत लैजाने कुरा पनि उठ्यो । तर, देहातकै एउटी नर्सले बच्चा जन्माउन सहयोग गरेपछि भारत जानु परेन ।
घरतर्फ जग्गाजमिन थिएन । सुत्केरीको बेला खानेकुराकै अभाव थियो । त्यसपछि उनी जनकपुरस्थित माइत घरमै आएर बसिन् । तर, अत्यन्तै दुःख, कष्ट गरेर हुर्काएको उनको जेठा छोरा २१ वर्षको हुँदा बिते । अहिले उनका एक छोरा र एउटी छोरी छिन् ।

अनायासै पेन्टिङतिर

०३८ सालताका जनकपुर चुरोट कारखाना देशकै सबभन्दा धेरै राजश्व तिर्ने कम्पनीमा दरिन्थ्यो । उनले त्यहीँ कारखानामा काम पाइन् । एक दिन, कारखानामै काम गर्ने अनिता कर्णले उनलाई सोधिन्,‘भोलि पेन्टिङ गर्न जाने हो ?’ अन्कनाइन् उनी । किनभने, जिन्दगीको कुनै पनि पलमा उनले ब्रस समातेकै थिइनन्, कसरी गर्ने पेन्टिङ ? सिधै भनिन्–‘मैले अहिलेसम्म ब्रस नै समातेकी छैन ।’ तर, जबरजस्ती जानैपर्ने भयो ।

मिथिला आर्टबारे बुझ्न त्यतिबेला काठमाडौंबाट गएकी थिइन्, कोहीनूर श्रेष्ठ । उनको हातमा थम्याइयो, एउटा कापी र कलम । धेरै बेरसम्म खाली कागज र कलम समातेपछि उनले एउटा रुख बनाइन् र त्यही रुखमा एउटा चरा बसिरहेको पनि बनाइन् । त्यसपछि, उनलाई चित्र देखाउन आग्रह गरियो । तर, देखाउनुको साटो लुकाइन् उनले । जब, कोहीनूरले चित्र हेरिन्, धेरै नै प्रशंसा गरिन् ।

पछि, कोहीनूरले उनको दरिद्र आर्थिक स्थिति देखेर एउटा प्रस्ताव राखिन्–‘तिमी दिनहुँ पेन्टिङ गर, म दैनिक ५ सय रुपियाँ दिन्छु ।’ त्यो उनका निम्ति ठूलो सहयोग थियो । उनले करिब डेढ महिनाजति पेन्टिङ बनाइन् र दैनिक ५ सय पनि पाइन् । भन्छिन्, ‘चित्र बनाउँदा पैसा आउँदो रहेछ भन्ने कुरा मैले त्यही बेलादेखि थाहा पाएँ ।’

पतिसँग विद्रोह

०४८ सालमा उनलाई एउटा राम्रो ‘अफर’ आएको थियो । जापानमा गएर मिथिला आर्ट बनाउने । तर, आफ्नै पति त्यो अवसरको बाटोमा रोडा भएर तेर्सिन पुगे । भन्छिन्, ‘तराईका महिलालाई घुम्टो बाहिर आउन दिइँदैनथ्यो । मलाई पनि आफ्नै श्रीमान्ले रोक्नुभयो ।’
तर, उनलाई पतिविरुद्ध विद्रोह गर्नैपर्ने परिस्थिति सिर्जना भयो । विद्रोह गर्नुअघि पतिलाई धेरै सम्झाइन् पनि । तर, रत्तिभर नगलेपछि उनले एकदिन पतिलाई भनिन्–‘हाम्रो खेतबारी छैन । आम्दानीको कुनै भरपर्दो स्रोत छैन । यस्तो राम्रो अवसर आएको छ । मैले चित्र बनाइनँ भने छोराछोरीलाई कसरी पाल्न सकिन्छ, कसरी पढाउन सकिन्छ ?’

उनले विद्रोह गरेपछि पछि श्रीमान् पनि गले । ‘पछि उहाँ पनि ठीक ठाउँमा आउनुभयो ।’ मिथिला भन्छिन् ।

पेन्टिङको कमाइबाटै छोरीको बिहे

१४ वर्षअघि उनको छोरीको बिहे भयो । मधेसमा छोराको बिहे गर्नु जति सजिलो छ, छोरीको त्यत्तिकै तनावयुक्त । किनभने, बिना दाइजो मधेसमा छोरी बिकाउन गाह्रो हुन्छ । छोरीको बिहे गर्दा उनले ७ लाख रुपियाँ खर्च गरिन् र दाइजोस्वरुप ५१ हजार नगदै बुझाइन्, ज्वाइँलाई । भन्छिन्–‘तर, त्यो त्यति ठूलो रकम होइन । अरुले त लाखौंलाख माग्छन् । तर, मेरा छोरीको घरपरिवारमा मानिसहरु बुझ्ने भएका हुँदा धेरै दाइजो मागेनन् ।’

छोरीको बिहे गर्दा लागेको खर्च उनको पेन्टिङकै कमाइ थियो । त्यस्तै, पेन्टिङ र क्राप्टहरु बेचेर नै उनले जनकपुरको देवीस्थानमा घर बनाएकी छिन् । जनकपुरमा तीन वटा कोठा भएको एकतले घर र छोराको बिहेसमेत पेन्टिङकै कमाइको प्रतिफल थियो ।

प्रतिष्ठान बहिस्कारसम्म

०६७ सालतिर मधेस आन्दोलनको राप सेलाइसकेको थिएन । त्यही बेला, नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठान स्थापना भयो । तर, मिथिला क्षेत्रका कलाकारहरुले प्रतिष्ठान समावेशी नभएको भनी बहिस्कार गरे । मिथिलादेवीले पनि बहिस्कार गर्न नै उचित ठानिन् ।

त्यतिबेला, काठमाडौं र मधेसबीच पानी बाराबारजस्तै थियो । काठमाडौंले मधेसको कला, संस्कृतिलाई उपेक्षा गरेको बुझाइका कारण बहिस्कारको अभियान नै चलाइएको थियो ।

तर, एकदिन भने वरिष्ठ कलाकार शारदा चित्रकारले उनको कान फुकिन्, ‘बहिस्कार नगर्नुस्, मिलेर काम गर्नुपर्छ ।’ चित्रकारको कुरामा उनी सहमत भइन् र ०६८ सालमा आयोजित राष्ट्रिय कला प्रदर्शनीमा भाग लिइन् र जितिन्– ललितकला विशेष पुरस्कार । पछि त उनलाई दोस्रो पटक गठन भएको ललितकला प्रज्ञा–प्रतिष्ठानमा पुग्ने ढोका उघ्रियो । अहिले उनी प्रतिष्ठानको प्राज्ञ सभाको सदस्य छिन् ।

प्राकृतिक रङबाट माथि उठ्दा

पेन्टिङको संसारमा रमाउन चाहनेहरुलाई रङको कुनै अभाव छैन अहिले । अहिले बजारमा ‘रेडिमेड’ रङ प्रशस्तै पाइन्छन् । तर, मिथिलाले भने पेन्टिङमा कदम राख्दा प्राकृतिक रङहरुकै साथ लिइन् । भन्छिन्, ‘सिमीको पातलाई निचोरर रङ निकाल्थेँ म र त्यहीबाटै चित्र बनाउँथेँ ।’

सिमीको पात मात्र होइन, उनले हरसिंगारको फूलबाट सुन्तला रङ, सस्र्यूंलाई पिसेर त्यसबाट पनि रङ र प्रकृतिका अरु रङ्गीन वनस्पति र ढुंगामाटोबाट रङ निकालेर उनले पेन्टिङको संसारलाई फराकिलो तुल्याइन् । तर, अहिले भने रेडिमेड रङहरुकै प्रयोग गर्छिन् उनी ।

जताततै मिथिला–विम्ब

अहिले सबैतिर दसैंको माहोल भित्रिएको छ । तर, मिथिला क्षेत्रका महिलाहरुले भने दसैंलाई आफ्नै शैलीमा मनाउँदै आइरहेका छन् । झिझिया नृत्य एउटा त्यस्तो नृत्य हो, मिथिला क्षेत्रका महिलाहरु घटस्थापनाको दिनदेखि टीकाको दिनको रातिसम्म यो नृत्यमा मग्न हुने गर्दछन् ।

झिझिया नृत्य, राति मात्रै नाच्ने गरिन्छ । जुन नृत्यमा महिलाहरुले टाउकोमा गाग्री राख्छन् र गीत गाउँदै नाच्ने गर्दछन् । दुई दशकअघिकै मिथिलाको देहात क्षेत्रलाई सम्झिँदै मिथिलादेवीले भनिन्–‘अहिले मिथिला क्षेत्रका नारीहरु झिझिया नृत्य नाचिरहेकी होलिन् ।’ हो, झिझिया नृत्यलाई उनले आफ्नो कला–सिर्जनाको विषय बनाएकी छिन् ।

झिझिया मात्र होइन, मिथिला प्रदेशका हरेक चाडपर्व, साँस्कृतिक माहोल, रीतिरिवाज, धार्मिक पक्षहरुका साथै खेतखलिहानहरुमा पसिना चुहाउँदै काम गर्ने महिला र मजदुरहरुका विम्ब उनका पेन्टिङमा टड्कारो रुपमा अंकित हुन्छन् ।

मिथिला क्षेत्रका किसानहरुले हलो जोतेको, महिलाहरुले धान रोपेको, ढिकीमा धान कुटेको र नाङ्लोमा निफनेकोजस्ता मैथिली समाजका दैनिक क्रियाकलापहरु पनि उनका पेन्टिङका विषय हुन् । मधुश्रावणी, वरपीपलको रुखमा गरिने पूजाआजा र अरु साँस्कृतिक पर्वका विशिष्ट पक्षलाई पनि उनी पेन्टिङमा स्थान दिन रुचाउँछिन् । 

अँध्यारो कोठा, खाटमुनि पेन्टिङ

अझै पनि, बोल्नेकै पीठो बिक्ने समय छ । तर, मिथिलादेवीका पेन्टिङहरु चामलै सही, तर बिक्नमा अझै पनि समस्या छ । किनकि, उनको पेन्टिङ किन्न हैसियत राख्ने काठमाडौंका सम्भ्रान्त वर्गहरुसित उठबस छैन । डल्लु, चागलको दुइटा अँध्यारो कोठामै रहेर सिर्जना गर्ने उनले त्योभन्दा पर अर्को संसार देखेकी पनि छैनन् ।

scan-2

कोठामा उनी र छोराका छोरा अर्थात् नाति मात्रै बस्छन् । दस कक्षामा अध्ययनरत छन्, नाति । उनले सिर्जना गरेका पेन्टिङहरु टाँग्नका लागि न त आकर्षक भित्ताहरु छन्, न त पर्याप्त स्पेस नै । तसर्थ, उनी साँघुरो कोठाको खाटमुनि आफ्ना सिर्जनाहरु पट्याएर थन्काउन बाध्य छिन् । चीसो कोठाको खाटमुनि बिटा बनाएर पेन्टिङहरु राख्नुपर्ने बाध्यताका बीच उनी भन्छिन्, ‘मेरा हरेक कलामा मिथिला नै आउँछ, मिथिलाकै संस्कृति आउँछ ।’

एकल प्रदर्शनीको तयारी

समाजसेवी तुलसीमेहरको नाममा स्थापित गुठीले उनका पेन्टिङहरु खरिद गरेर विदेशतिर फैलाउन थालेको पनि दसक बितिसकेको छ । त्यही क्रममा उनका पेन्टिङहरुले जापान, अमेरिका, क्यानडा, जर्मनी, अष्टे«लियाजस्ता मुलुकका कला–संग्रहालयहरुमा सजिने अवसर पाइसकेका छन् ।

तर, अब भने उनलाई एकल कला प्रदर्शनी गर्ने रहर छ । एकलकै लागि भनेर दस थान चित्र बनाइसकेकी छिन् । अब दस वटा बनाउने उद्देश्य छ । भन्छिन्, ‘नयाँ र पुराना चित्रहरु राखेर प्रदर्शनी गर्ने तयारी गरेकी छु ।’ तर, उनले जुनसुकै ‘थिम’ मा पेन्टिङ बनाए पनि मैथिली समाज र संस्कार भने छुट्न खोज्दैनन् । बुद्धको पेन्टिङ बनाउँदा पनि मैथिली समाज आउँछ, गणेशको चित्र बनाउँदा पनि मैथिली समाज र संस्कृति नै हाबी हुन्छ । अरु त अरु, आधुनिक कलामा रङ छर्किँदा पनि मैथिली समाजकै प्रतिविम्बले छापा मार्छ, मिथिलाकै दबिएका, थिचिएका महिला एवं सीमान्तकृत जनताको अनुहार झल्किन्छ ।

आखिर, मिथिला क्षेत्रकी मिथिलादेवी न परिन् । आफ्नो समाज, कला, संस्कृति, संस्कार र रीतिरिवाजलाई कुन चाहिँ व्यक्तिले आफूद्वारा सिर्जित सिर्जनाको क्षितिजमा भव्य रुपले टाँग्न र रङ्ग्याउन नखोज्लान् ?

7 पटक पढिएको

    
        Loading...     
    

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

        
            Loading...     
        

    अन्तरवार्ता

    समाचार