Presidential

दिल्ली विमानस्थलमा किन पड्किए प्रचण्ड ?

दिल्ली विमानस्थलमा किन पड्किए प्रचण्ड ?

२ कात्तिक । सोमबार अपरान्ह दिल्लीको इन्दिरा गान्धी अन्तर्राष्टिय विमानस्थलको भीभीआइपी कक्षमा एकाएक तनाव देखियो । गोवामा आयोजित ब्रिक्स सम्मेलनमा भाग लिएर स्वदेश फर्किन लागेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड यसरी पड्किए, अलि पर बसेका नेपाली प्रतिनिधिमण्डलका सदस्यहरुले काठमाडौँमा उत्रिँदासम्म त्यहाँ के भएको रहेछ भनेर सोधीखोजी गरिरहेका थिए ।

‘तँ किन यस्तो गर्छस् ? तँलाई त्यो फोटो खिच कसले भन्यो ? किन पठाइस् त्यो फोटो ?’ प्रधानमन्त्री दाहालले नजिकै पल्लो कुनातिर बसेर चुइँगम चपाइरहेका छोरा प्रकाशलाई बोलाएर सोध्दा उनी तर्किए, ‘मैले होइन खिचेको, मनहरि (तिमिल्सेना) ले हो ।’

दाहाललाई त्यतिमै चित्त बुझेन । उनले सोधे, ‘त्यसमा त तेरो नाम छ रे त ?’

छोराले जवाफ फर्काए, ‘मनहरिले यत्तिकै मेरो नाम हालिदिनुभएको हो, फोटो मैले खिचेको होइन, मैले फेसबुकबाट पनि हटाइँसकेँ ।’

दिल्ली विमानस्थलमा आइ नपुग्दासम्म प्रधानमन्त्री दाहाललाई नेपालमा पत्रपत्रिकाहरुले के लेखेका छन् भन्ने थाहै रहेनछ । परराष्ट्रसचिव शंकरदास बैरागीलाई उनले सोधे, ‘के छ नेपालमा खबर ? पत्रपत्रिकाले के लेखेका छन् ?’ सचिव बैरागीभन्दा जवाफ दिन अघि सरे दिल्ली दूताबासमा कार्यरत उपसचिव हरि ओडारी, ‘अरु त ठीक थियो हजुर । दुईवटा कुराले हजुरलाई ‘ड्यामेज’ गरेको छ ।’

‘ड्यामेज’ भन्ने शब्द सुन्नासाथ सशंकित भएका दाहालले तत्कालै सोधिहाले, ‘केले ड्यामेज गर्यो ?’

त्यही प्रसंगमा ओडारीले चिनियाँ राष्ट्रपति सी जिङपिङ र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेट हुनु राम्रो भए पनि त्यसमा सीता दाहालसमेत बसेको फोटो सार्वजनिक गर्नु र अझ त्यसलाई त्रिपक्षीय बैठक भन्नुले ड्यामेज गरेको बेलिविस्तार लगाए । ओडारीले भने, ‘दोस्रो चाहिँ हजुरले चिनियाँ राष्टपतिलाई पाँच मिनेट कुराएको भनेर कान्तिपुरले लेखिदिएकाले नराम्रो कमेन्ट भएको छ ।’

दाहाललाई त्यो फोटो सार्वजनिक भएको थाहै रहेनछ । उनले परराष्ट्र सचिव वैरागीलाई सोधे, ‘आखिर यत्रो कुरा रहेछ, मलाई त भन्दै भन्नुभएन त ?’ सचिव बैरगामीले ‘हजुर व्यस्त हुनुहुन्थ्यो’ भन्दै कुरा मिलाए ।

दाहालले ‘कसले सार्वजनिक गर्यो त त्यो फोटो ?’ भनेर सोध्दा ओडारीले छेउतिर बसेका छोरा प्रकाशित औँलाले देखाए ।

त्यसपछि उनले प्रकाशलाई बोलाएर यसरी पड्किए, अरु सबैले चुपचाप सुनिरहे । मैले होइन भन्ने जवाफ दिएर प्रकाश फेरि छेउ लागेपछि पनि त्यहाँ त्यही विषयमा छलफल चाहिँ चलिरह्यो ।

कान्तिपुरमा प्रकाशित समाचारका बारेमा प्रधानमन्त्री दाहालले जिज्ञासा राखेपछि ओडारीले नै समाचार लेख्ने सम्वाददाता कमलदेव भट्टराईको नाम नलिएरै उल्लेख गरे, ‘हामीले दिल्लीबाट हामै्र प्लेनमा चढाएर लग्यौँ, हामीसँगै बसेको थियो । तर, त्यस्तो समाचार लेखिदिएछ हजुर ।’

चिनियाँ राष्टपति, भारतीय प्रधानमन्त्रीलगायतसँग भेटेर राम्रो भयो भन्ने ठानिरहेका प्रधानमन्त्री दाहाल दिल्ली विमानस्थलमा ४० मिनेट बस्दा मात्र तनावमा देखिएनन्, काठमाडौँ उत्रिँदासम्म उनी बीचमा खासै कसैसँग बोलेनन् ।

3 पटक पढिएको

    
        Loading...     
    

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

        
            Loading...     
        

    अन्तरवार्ता

    समाचार