Presidential

१ सय ३५ चराको स्वर निकाल्ने धनकुटे कान्छा भन्छन्–‘चराहरुबाट मान्छेले केही सिकेनन्’


१ सय ३५ चराको स्वर निकाल्ने धनकुटे कान्छा भन्छन्–‘चराहरुबाट मान्छेले केही सिकेनन्’

कवि धनकुटे कान्छा १ सय ३५ प्रजातिका चराका स्वर निकाल्छन् । सानादेखि ठूला सबै खालका चराका स्वर निकाल्न माहिर धनकुटे कुनै साहित्यिक कार्यक्रममा कविता सुनाउन उत्साहित भएर पुग्दा उनलाई चराकै आवाज निकाल्न अनुरोध गरिन्छ । तर, त्यस्ता कार्यक्रममा विभिन्न चराका स्वर निकालेर मनोरञ्जन प्रदान गर्नुका साथै आफूले चराकै विषयमा लेखेका एउटा कविता भने उनी सुनाउन भुल्दैनन्–
‘मन त चराहरुको हुन्छ
मान्छेहरुको भन्दा पनि नरम
र, चराहरु मान्छे हुन सक्दैनन्
बरु
थुनिएरै भए पनि गाइदिन्छन्
पिँजडाबाट मनका मीठा गीतहरु
र, फूलजस्तै मनलाई हजार थुँगा बनाउँछन् ।’

उनी अचेल दमकमा बस्छन् । साहित्य लेखनमा सक्रिय भएपछि शंकर चापागाईसँग सम्बन्ध त्यागेका उनका कवितामा मानवीय सम्वेदनाका अंशहरु पर्याप्त हुन्छन् । ‘इतिहास निफनेर’ कविताकृतिका स्रष्टा धनकुटेले सोखका रुपमा चराको स्वर निकाल्न थाले पनि अहिले उनको परिचय ‘चरा–कवि’ का रुपमा स्थापित छ । नेपालका ४÷५ जनाले मात्रै चराको स्वर निकाल्ने गरेकामा कवि धनकुटे र विवश वस्तीबीच भएको चरा–सम्वादः

–तपाईँले १ सय ३५ प्रजातिका चराको स्वर निकाल्नु हुँदोरहेछ । कुन कुन चराहरुको स्वर निकाल्नु हुन्छ ?

म ठूलादेखि साना सबै खाले चराहरुको स्वर निकाल्छु । सानामा फिस्टो, भँगेरा, चिभे चरा प्रजातिका चराको स्वर निकाल्छु । सुगा, रुपी, मैनाको आवाज पनि निकाल्छु । तर, ठूला खालका चराहरुको आवाज नाइटो भित्रैबाट निकाल्नु पर्छ । ढुकुर, परेवा र कागहरुको आवाजचाहिँ भित्रैबाट निकाल्नुपर्ने हुन्छ ।

–अहिले पनि १ सय ३५ वटै चराको स्वर निकाल्न सक्नु हुन्छ ?

कुनै कार्यक्रममा जाँदा २०÷२५ वटा चराको आवाज निकाल्दा नै समय जान्छ । पछिल्लो समयमा सबै चराहरुको स्वरको अभ्यास गरिरहेको छुइनँ । पहिला निकै अभ्यास गर्थेँ तर द्वन्द्वकालीन समयदेखि अभ्यास गर्ने क्रम टुट्यो । चराको आवाज रेकर्ड गर्न जंगल जानुपथ्र्यो । तर, त्यतिबेला जंगलमा जाँदा प्रहरीले माओवादीका मान्छे ठान्ने र माओवादीले प्रहरीको मान्छे ठान्ने अवस्था थियो । त्यही कारणले गर्दा चराको स्वर रेकर्ड गर्न जंगलतिर जाने क्रम भंग भयो ।

तर, म साहित्य लेखनमा पनि सक्रिय रहेको हुँदा चराहरुको आवाज निकाल्न दगुर्दा मात्रै साहित्य लेखन ओझेलमा पर्ने हो कि भन्ने लाग्यो । र, साहित्य लेखनमा ध्यान दिँदा केही समय चराहरुको स्वर निकाल्ने काममा कमी आयो ।

–चराको स्वर रेकर्ड गर्न कुन कुन जंगल धाउनुभयो ?

म इलाम र धनकुटाका जंगलहरुमा गएँ । चराकै स्वर रेकर्ड गर्न पाँचथर पनि पुगेको छु । यी सबै काम आफ्नै खर्चमा गर्नुपर्ने भएको हुँदा आफूलाई अनुकूल हुने ठाउँहरुमा चराको स्वर रेकर्ड गर्न जाने गरेको छु ।

–तपाईले जति चराको स्वर निकाल्नु हुन्थ्यो, ती सबै चराको नाम थाहा थियो त ?

प्रायः मलाई थाहा थियो । तर, लैनसिंह बाङ्देल र रोबर्ट फ्लेमिङको संयुक्त लेखनको ‘नेपाल र नेपालका चराहरु’ नामक किताबले मलाई ठूलो सहयोग ग¥यो । त्यो किताब पढेपछि मलाई चराको प्रकृति, स्वभाव, त्यसले निकाल्ने आवाजका सन्दर्भमा बुझ्न सघाउ पु¥यायो । त्यो किताबले मलाई चराहरुको बारेमा थप अध्ययन गर्न सघायो ।

अहिले भने त्यो किताब हरायो । म दमकस्थित एक एफएम रेडियोको व्यवस्थापक थिएँ । त्यो किताब रेडियोकै कार्यालयबाट गायब भयो । तर, त्यो किताबले मलाई धेरै नै सहयोग भने पु¥यायो ।

–के चराहरुले बाह्रै महिना एउटै स्वर निकाल्छ ?

होइन । एउटै चराले भिन्नभिन्न प्रकृतिका आवाज निकाल्छ । संयोग र मिलनका बेला एक किसिमको आवाज निकाल्छ भने विछोडका बेला अर्कै किसिमको आवाज निकाल्छ । शत्रुहरु आउँदा फेरि अर्कै प्रकारको आवाज निकाल्छ । चराहरुले मौसमअनुरुप फरक आवाज दिन्छ ।

–त्यसो भए, चराहरुको पनि आफ्नै भाषा हुन्छ ?

मानिसमा जति सम्वेदना छ, चराहरुमा त्योभन्दा कैयौं गुणा बढी सम्वेदना देखिन्छ । कागहरु किन भेला हुन्छन् ? आफ्ना सन्तानप्रति सम्वेदनाका कारण कागहरु भेला हुन्छन् । बिजुलीमा करेन्ट लागेर कुनै काग मर्दा त्यसलाई समात्न गइयो भने अरु कागले सात दिनसम्म पछ्याएर ठुङ्छन् । जब हामीले कागको बच्चाको आवाज निकाल्छौं, एउटा कागले सुनेपछि त्यसले अर्को कागलाई सन्देश दिन्छ । त्यसरी त्यो सन्देश एउटाले अर्को र अर्कोले अर्कोलाई दिँदै सबै कागहरु एकै ठाउँमा भेला हुन्छन् ।

–तपाईँले कागहरुको भेलाचाहिँ कत्तिको गर्नुभयो ?

म कागहरुलाई बोलाउँछु, उनीहरु भेला हुन्छन् । मैले थुप्रै ठाउँमा कागहरुलाई बोलाएर भेला गरेको छु । कागहरुलाई भेला गर्न धेरै सजिलो छ ।

–कुन चराको आवाज निकाल्न सजिलो लाग्छ ?

चराहरुको आवाज निकाल्ने कुरा श्वास–प्रश्वाससित सम्बन्धित कुरा हो, ध्वनिसँग सम्बन्धित कुरा हो । तर, एक पटक ताप्लेजुङ जाँदा मेरो घाँटीमा समस्या आयो । विभिन्न आवाज निकाल्दा त्यस्तो समस्या आएको रहेछ । जस्तो, नाइटोबाट निकाल्नुपर्ने आवाजमा धेरै नै स्वराघात हुन्छ, बल प्रयोग गरेर निकाल्नुपर्ने हुन्छ । साना चराहरुको आवाज चाहिँ जिब्रो, ओंठ र ध्वनिको संयोजनबाट निस्किने भएको हुँदा त्यो चाहिँ सजिलो हुन्छ । तर, भित्रैबाट निकाल्नुपर्ने आवाजमा चाहिँ धेरै नै बल पर्छ ।

–चराहरुमध्ये कसको स्वर धेरै मीठासयुक्त हुन्छ ?

सम्वेदना र मिथकीयताको आधारबाट हेर्दा ढुकुर र चखेवा–चखेवीको आवाज मीठासयुक्त लाग्छ मलाई । ढुकुर धेरै सम्वेदनशील चरा हो । ढुकुरको प्रेम यति संवेदनशील हुन्छ कि, कुनै सिकारीले भाले वा पोथीलाई मारिदियो भने उसले अर्कोसित प्रेम गर्दैन, बिहे गर्दैन । उसले आफ्नो प्रेमि वा प्रेमिकाको सम्झनामा विरहका स्वर गाउँदागाउँदै सिंगो जीवन नै समर्पण गर्दछ । बूढापाकाहरुले ‘तिमीहरुको जोडी ढुकुर एवं चखेवा र चखेवीको जस्तो होस्’ भनेर त्यसै भनेका होइन रहेछन् ।

dhukur

भँगेराले भने आफ्नी प्रेमिका नहुँदा छिट्टै अर्की भँगेरी ल्याइहाल्छ । परेवा पनि एक्लै बस्न सक्दैन, कसो–कसो गरेर जोडी खोजिहाल्छ । तर, ढुकुरमा भने प्रेममा धेरै नै समर्पणभाव हुन्छ ।

–बिहान कराउने चराहरुको स्वभाव चाहिँ कस्तो हुन्छ ?

प्रायः बिहान साना चराहरु कराउँछन् । सूर्योदय हुनुअगावै एउटा चरा कराउँछ । जब घामको रङ बदलिँदै जान्छ, त्यो चराले पनि आफ्नो आवाज घामको रङसँगै बदल्दै जान्छ ।

–चराहरुको स्वर निकाल्ने क्रममा तपाईँले हरेकजसो चराको स्वभाव पत्ता लगाइसक्नुभएको छ, चराहरुमध्ये चलाख चाहिँ कुन हो जस्तो लाग्छ ?

काग जति चलाख छ, त्योभन्दा धेरै नै कोइली चलाख छ । कोइलीको आवाजको सुन्दरता पनि त्यत्ति नै छ । त्यसो त, मौसम परिवर्तनको संकेत चराहरुले दिँदै आइरहेका छन् ।

–कोइलीको स्वर चाहिँ एउटा मौसममा मात्रै सुनिन्छ, किन होला ?

कोइलीको भाले र पोथीले दिने आवाज अलगअलग हुन्छन् । तर, हामीले कोइलीको एउटा आवाजलाई मात्रै सुनिरहेका र मानिरहेका हुन्छौं । हामी ‘कोहो–कोहो’ लाई कोइलीको आवाज भन्छौं । तर, कोइलीले मौसम अनुरुप आफ्नो आवाज निकाल्छ ।

–कति ठाउँमा चराको स्वर निकालेर स्रोताहरुलाई मुग्ध तुल्याइसक्नुभयो ?

पूर्वाञ्चलमा हुने अधिकांश महोत्सवहरुमा मैले चराको स्वर सुनाइसकेको छु । विदेशमा भने दुबईमा गएर मैले चराहरुको आवाजको प्रस्तुति गरेँ । त्यसो त, कतिपय साहित्यिक कार्यक्रममा म कविता सुनाउन अत्यन्त भावुक भएर गएको हुन्छु, मानिसहरुले ‘चरा कराइदिनुस्’ भनेर आग्रह गर्छन् । तर, मलाई लाग्छ, चराका आवाज कविताजस्तै हुन्, चराहरुका भाका कविताजस्तै हुन् । त्यस्ता कार्यक्रमहरुमा मैले भन्ने गरेको पनि छु, ‘चराहरुको भाका एउटा कविता हो, त्यसमा तपाईले आफ्नै हिसाबले शब्दहरु भर्न सक्नु हुन्छ ।’

–के तपाईँलाई यस्तो लाग्छ, चराहरुले मानिसको जीवनलाई धेरै सन्देश दिएका छन् ?

हो, चराहरुले हाम्रो जीवनलाई धेरै सन्देश र शिक्षा दिएका छन् । तर, चराहरुबाट हामीले शिक्षा लिन सकिरहेका छैनौं । चराले प्रकृति र मौसममा आउने परिवर्तनका सन्देश दिइरहेका छन् । चराहरुले आँधीहुरी आउने, भूकम्प आउने जानकारी दिन्छन् तर हामी भने सुनेको नसुन्यै, जानेको नजान्यै गर्छौं । चराहरुको जीवनपद्धतिबाट पनि हामीले धेरै कुरा सिक्न सक्छौं । तर, विडम्बना के छ भने हामीले चराहरुबाट केही सिकिरहेका छैनौं ।

–कविता लेख्न सजिलो कि चराहरुको स्वर निकाल्न ?

सजिलो दुइटै छैनन् । तर, समर्पित हुँदा दुवै विधा गाह्रो पनि छैन । निरन्तरता भने दुइटैका लागि आवश्यक छ ।

    
        Loading...

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

  • सहरमा बाँच्न मर्न जान्नुपर्छ

    सहरमा बाँच्न मर्न जान्नुपर्छ

    हो, सहरले उसलाई पटकपटक ठगेको छ । यो सहरका मान्छेहरू मतलबी र स्वार्थी छन् । यो कुरा उसले साँचै भनेको हो । उसले ..

  • ‘तपाईँहरूले मैले गर्न नसक्ने कुरा माग्नुहुन्छ कि भन्ने डर लागेको थियो । यो समस्या त मेरा लागि केही होइन, बायाँ..

  • यस्तो हुनुहुन्थ्यो राजेश्वर देवकोटा

    यस्तो हुनुहुन्थ्यो राजेश्वर देवकोटा

    बागबजारको सडकमा बराबर एक जोर मान्छे हिंडेका देखिन्थे । एक जना निकै अग्ला, डम्म जिउडाल भएका र अर्का चाहिँ निकै ..

  • अमर शाहका दुई कविता

    अमर शाहका दुई कविता

    यसरी फर्कदा जन्म गाउँमा लामो अन्तरालपछि खाटा बस्दै गरेको घाउ कन्याएझैं गरिरहेछु अनुभव लगातार पीडा र आनन्दको..

    
        Loading...     
    

अन्तरवार्ता

समाचार