Presidential

अझै भन्छन् जे. पापीः ‘माछी मार्न जाउन दाजै कालापानीमा…’


अझै भन्छन् जे. पापीः ‘माछी मार्न जाउन दाजै कालापानीमा…’

केही शताब्दीपूर्व शेक्सपियरले भनेका थिए, ‘नाममा त्यस्तो के छ ?’ । थाहा छैन, नाममा त्यस्तो के हुन्छ ? तर, हामीकहाँ केही व्यक्तिहरुका नाम त्यस्तो छ, जसले बेग्लै परिचय मात्र बोक्दैन, अरु व्यक्तिहरु उनीहरुका नाम सुन्दा भरपूर मनोरञ्जन लिन्छन् । युनिसेफमा काम गर्ने एक जना व्यक्तिको नाम छ, नमस्तेलाल श्रेष्ठ । त्यस्तै, अरु केही चर्चित नामहरु पनि छन्– जलकृष्ण श्रेष्ठ, पानीराज बम्जन, जुनारबाबु बस्नेत, गण्डकी पुत्र, चाउएनलाई श्रेष्ठ, कान्छाबहादुर महर्जन । त्यस्तै अर्को नाम पनि छ, झन्डाशेखर दाहाल ।

तर, झन्डाशेखरले भने आफ्नो नामलाई उहिल्यै नै अंग्रेजीकरण गरिसकेका छन् र अचेल उनी गायक जे. पापीका नामले चिनिन्छन्, सबैसामु । खासगरी, जागरणमुखी र विद्रोही चेतले भरिएका गीत गाउने पापी (५३) लाई आफ्नो ढल्कँदो उमेरतिर खासै चासो छैन । उमेरका सिँढीहरुले माथिल्लै तह छिचोले पनि, अहिले पनि उनी जागरण र देशभक्तिका गीत गाउन दौडिरहेका हुन्छन् । लामो कपाल, झुस्स दाह्री, चिटिक्क परेको चस्मा भिरेर एउटा ‘कामरेडी’ झोला बोक्दै उनी कालापानीदेखि देश लुट्ने नेतासम्मका गीत गाउन चोक–चोक, डबली र सडकका किनारहरुमा कुदिरहेका हुन्छन् । र, गाउँछन् लय हालेर–‘माछी मार्न जाउन दाजै कालापानीमा…।’

कसरी जन्मियो माछी मार्ने गीत ?

२०५० सालमा महाकाली सन्धि भएपश्चात् त्यसले राष्ट्रिय राजनीतिमा ठूलै तरंग ल्यायो । केही राजनीतिक दललाई त महाकालीको छालले लछ्रप्पै भिजाएन मात्र, त्यही मुद्दामा विभाजनको पीडासमेत भोग्नुप¥यो । महाकाली सन्धिको धङ्धङी बाँकी नै रहेको बेला धरानमा विजय श्रेष्ठले लेखेको गीत ‘माछी मार्न जाउन दाजै कालापानीमा…’ मा पापी, विधान श्रेष्ठ र रीता उपाध्यायले स्वर दिए ।

सुरुमा त्यो गीत पिता विजयले छोरा विधानलाई गाउन आग्रह गरेका थिए । तर, विधानले ‘कति यस्ता गीत गाउनु’ भनेर सुरुमा गाउन रुचाएनन् । त्यसपछि विजयले पापीलाई प्रस्ताव राखे । तर, पापीले गाउन लागेकै बेला विधानले पनि गाउन रुचि देखाए । भन्छन्, ‘मैले त्यतिबेला ‘जात्रा हाँडीगाउँमा’ गीत रेकर्ड गर्न लागेको थिएँ । त्यो गीत सुनेपछि विधानले गाउन दिन आग्रह गरे । मैले त्यो गीत विधानलाई दिएँ र मैले कालापानी गाउन मञ्जुर गरेँ ।’

त्यसो त, विजयका निकटस्थ साथी सुवर्ण लिम्बुसँग पापीको पहिलेदेखि नै राम्रो दोस्ती थियो । त्यही संगतले डोहो¥याउँदै विजयसामु पुगेका पापीले कालापानीको गीत हात पारेका थिए । ओमविक्रम विष्टलगायत चर्चित गायकहरुलाई ‘माथि उठाउने’ लिम्बुसँग अहिले पनि पापीको राम्रै मित्रता छ । त्यसो त, नेपालगञ्जमा रहँदा सम्बन्ध गाँसिएका प्रेमप्रकाश मल्लले पनि उनको सांगीतिक यात्रालाई अग्रगति दिन सघाएका थिए ।

अनौपचारिक प्रतिबन्ध

२०५३ सालमा ‘माछी मार्न जाउन दाजै कालापानीमा…’ रेकर्ड भएपछि त्यसले देशव्यापी चर्चा पायो । प्रखर राष्ट्रवादी भावनाले उमडिएको उक्त गीतको प्रशारणपछि राष्ट्रप्रेमि व्यक्ति र शक्तिहरु उत्साहित भए भने छिमेकी राष्ट्रले भने भित्रभित्रै चित्त दुखायो । कालापानी, जंगे पिलरजस्ता शब्दहरु छिमेकीका निम्ति काउछो सावित हुनु स्वाभाविकै थियो ।

कालापानीको गीत जताततै बज्न थालेपछि भने छिमेकीको कान चनाखो मात्र भएन, अनौपचारिक रुपमा प्रतिबन्ध लगाउनै खोजियो । त्यतिबेला सीमित टेलिभिजन च्यानलहरु र सीमित नै थिए, रेडियोहरु पनि । कतिपय प्रशारण संस्थाहरुमा त्यो गीत नबजाउन दबाब नै गयो । तर, केही राष्ट्रिय प्रशारणहरुले भने बजाउन छाडेनन् र सर्वप्रिय हुन पुग्यो ।

सुरुदेखि नै विद्रोही स्वभाव

५३ वर्षअघि सिन्धुलीको डाडीगुराँसेमा जन्मिएका पापी सानैदेखि सुरा थिए र उत्तिकै विद्रोही पनि । मरिन खोला किनारको माझी बस्तीमा जन्मिएर हुर्किएका उनको संगत अल्पसंख्यक माझीका बच्चाहरुसँग भयो । भन्छन्, ‘म माझीहरुसँगै माछा मार्न जान्थेँ र उनीहरुले भन्दा धेरै माछा मार्थें । खोला बाढी आउँदा पनि नडराई तर्थेँ । घोडा चढ्ने र रुख चढ्ने काम त त्यतिबेला धेरै नै गरेँ ।’

तर, ०२७ सालमा मरिन खोलामा ठूला बाढी आयो । बाढीले उनको खेत पूरै बगायो । बाढीले खेत बगाएपछि विरक्तिएका उनका बुबाले बसाइँ सर्ने निधो गरे र लागे सर्लाहीको हरिवनतिर । त्यसो त, हरिवनमा पहिलेदेखि नै घर भएको हुँदा बसाइँ सर्न सहज पनि भयो । पहाडमा छँदा गोठालाहरुले गाउने गीतमा लत लागेका उनमा मधेसमा झरेपछि भने त्यहीको प्रभावले गाँज्दै लग्यो । भन्छन्, ‘तराईमा झरेपछि ममा हिन्दी गीतहरुको प्रभाव पर्न थाल्यो र हिन्दी गीतहरु पनि गाउन थालेँ ।’

तर, घरका सदस्यहरुले भने गीत गाउने उनको सोखलाई कहिल्यै प्रोत्साहन गरेनन् । परिवारका सदस्यहरुले सोच्थे, यो गीत गाएरै बिग्रिने भयो । तर, विद्रोही भावनाले सम्पन्न पापीले आफ्नो इच्छाको क्षेत्र अर्थात् गीत÷संगीतलाई छाडेनन् र गाइरहे निरन्तर गीतहरु ।

वीरगञ्जका दिनहरु

२०३७ सालमा उनी वीरगञ्ज गए र ठाकुरराम बहुमुखी क्याम्पसमा अध्ययन गर्न थाले । वीरगञ्जमा रहन थालेपछि उनमा गीत÷संगीतप्रतिको लगाव झनै बढ्न थाल्यो । भन्छन्, ‘हरेक शुक्रबार क्याम्पसको होस्टेलमा कार्यक्रम हुन्थ्यो, म त्यहाँ गाउँथेँ । त्यतिखेर मैले ओमविक्रम विष्टका गीतहरु खुबै गाएँ ।’ पछि भने उनले विष्टसँग दुई÷तीन वटा कार्यक्रममा सँगै गाउने मौका पाए ।

वीरगञ्जमै छँदा उनले बसमा टिकट काट्ने र बसको चेकिङमा जाने काम पनि भ्याए । आर्थिक दबाब कम गर्नका लागि यी काम गरेका थिए उनले । भन्छन्, ‘बसमा काम गर्दा पनि मैले गीत गाउन छाडिनँ र स्थानीय रुपमा हुने हरेकजसो कार्यक्रमहरुमा गाउन जान्थेँ ।’

क्याम्पसमा पढ्दापढ्दै तत्कालीन राजनीतिक उथलपुथलले गर्दा उनको अध्ययनमा बाधा प¥यो । अरु साथीहरु सीमापारी गएर अध्ययन गर्न राजी भए तर उनी भने त्यही बेला कलकत्तातिर हान्निए । कलकत्तामा पनि उनले सडकहरुमा नेपाली र हिन्दी गीत गाउन छाडेनन् ।

चुरोट कारखानामा आबद्ध

कहिले कता, कहिले कता बराल्लिँदै हिँड्नु नै उनको जिन्दगीको अभीष्ट बनिरहेको थियो । २०४४ सालमा जनकपुर चुरोट कारखानामा खरिदारको जागिर खुुलेको रहेछ । उनले परीक्षा दिए र उत्तीर्ण पनि भए । त्यसपछि उनको जागिरे जीवन सुरु भयो ।

चुरोट कारखानाले उनलाई बुटबलमा पठायो । त्यसपछि सुदूरपश्चिमका जिल्लाहरुमा उनको जागिरे–यात्रा चल्यो । जागिरे जीवनकै क्रममा उनले देशका ६० जति जिल्लामा घुम्ने औसर पाए । भन्छन्– ‘मलाई घुम्न औधी रहर लाग्छ । संसारमा सबभन्दा ठूलो ज्ञान नै घुमघामबाट बटुलिन्छ र संसार नै सबभन्दा ठूलो विश्वविद्यालय हो भन्ने लाग्छ । यसरी घुम्ने क्रममा जनताका दुःख, पीडा देखेपछि त्यस्तै गीत लेख्ने र गाउने रहर जाग्यो । र, अहिलेसम्म पनि म तिनै जनताका पीडा छाम्ने गीतहरु गाइरहेको छु ।’

शुभेच्छुकहरुले गरिदिए बिहे

२०४८ सालमा उनी दार्चुलामा कार्यरत थिए, चुरोट कारखानाको कर्मचारीका रुपमा । त्यही बेला, दार्चुलाको जिल्ला प्रहरी कार्यालयका प्रमुख थिए, अर्जुनजंग शाही । नेपाली चलचित्र ‘चेलीबेटी’ का यी हिरोले एक दिन पापीसँग २५ सय रुपियाँ मागे । पापीले सोधे, ‘किन चाहियो, दाइ ?’

शाहीले भने, ‘पछि भनुँला, पहिला देऊ न ।’

उनले २५ सय रुपियाँ दिए । शाहीलगायत अरु शुभेच्छुकहरुले उनका लागि ‘बेहुली’ को बस्दोवस्त गरिसकेका रहेछन् । शाहीले त्यो रकम उनकै बिहेका लागि खसी किन्न मागेका रहेछन् । शु्भेच्छुकहरुको आग्रहलाई टार्न नसकेर उनले दार्चुलाकी सुमित्रा कुँवरसित बिहे गरे ।

यसरी छाडे चुरोट

उनी गाँजा, भाङ, धतुरो, चुरोट, खैनी सबै खान्थे । सर्वभोगी नै थिए । तर, एक पटक, अर्जुनजंग शाहीहरुसँगै उनी कैलास मानसरोवरको यात्रामा निस्किएका थिए । धूमपानप्रति पापी कति मोहित छन् भन्ने कुरा शाहीलाई राम्ररी नै थाहा थियो । त्यही भएर, शाहीले उनलाई सोधे, ‘पापी, यहाँ आएपछि कुनै न कुनै लत छाड्नुपर्ने हुन्छ, तिमी के त्याग्छौ ?’

उनको मुखबाट फुत्किहाल्यो, ‘धुवाँ ।’ हो, उनले धेरै नै चुरोट पिउँथे, त्यतिबेला । मानसरोवरमा पुगेर धुवाँ त्याग्ने संकल्प गरेयता उनले चुरोट पिएका छैनन् । ०४९ सालदेखि नै छाडेका हुन् उनले चुरोट ।

वृक्षारोपण–मोह

काठमाडौं होस् वा अरु ठाउँ । उनलाई खाली जग्गा देख्दा वृक्षारोपण गर्न मन लागिहाल्छ । भन्छन्, ‘२०३६ सालको आन्दोलनले अध्ययनमा बाधा पु¥याएपछि म इलाहावादतिर गएँ । त्यहाँ गएपछि एउटा विश्वविद्यालयको प्रांगणमा वृक्षारोपण गर्न थालेँ । अहिलेसम्म त्यो क्रम जारी छ ।’

उनले नेपालका पनि थुप्रै ठाउँमा वृक्षारोपण गरिसकेका छन् । दार्चुलामा बस्दा होस् वा नेपालगञ्जमा बस्दा, उनले खाली ठाउँमा वृक्षारोपण गर्न रुचि देखाइ रहे । नेपालगञ्जमा त एउटा तीतो अनुभव पनि बटुल्नुप¥यो । उनी भन्छन्, ‘नेपालगञ्जमा एउटा जमिन थियो, त्यहाँ गाई चराइन्थ्यो । मैले त्यहाँ वृक्षारोपण गरेँ । तर, बिरुवा लगाएपछि आफूहरुले गाई चराउन नपाएको गुनासो गर्दै मानिसहरुले विरोध गरे । तर, मैले त्यहाँ केही बिरुवाहरु हुर्काएरै छाडेँ ।’

उनले पशुपतिनाथ क्षेत्रमा पनि वृक्षारोपण गरे तर बाँदरहरुका कारण त्यहाँ बिरुवा हुर्काउन सकेनन् । तर, काठमाडौंको टुँडिखेल वरिपरि, सिंहदरबार वरिपरि र कालिकास्थानमा भने उनले आँपका कोयाहरु लगेर रोपेका छन् र तीमध्ये केही हुर्की पनि सकेका छन् । भन्छन्– ‘हामीलाई तोरण बनाउन आँपको पात चाहिन्छ । तर, काठमाडौंमा आँपका बोटहरु नहुने भएको हुँदा मैले आँप रोप्न चाहेको हुँ ।’ यी ठाउँबाहेक उनले साँखुमा पनि वृक्षारोपण गरेका छन् ।

गीत गाउँदा–गाउँदै रुँदा

एकाध वर्षअघि उनी एकजना साथीसँगै इलामतिर घुम्न गएका थिए । ती साथीले एउटा क्यामरा पनि बोकेका थिए । जब, निजगढ र पथलैयाको बीचतिर पर्ने मडाहा खोलाको पुलमा पुगेपछि उनीहरु हिँड्न थाले र त्यही पुल तर्ने क्रममा उनले गाउन थाले–‘यो देशको काट्टो खानेहरुले…’ ।

पुलमा हिँड्दै–हिँड्दै उनी गाउँदै थिए । साथीले खिच्दै थियो । त्यो गीत गाउँदा उनी यति भावुक भए कि, धरधरी रुन थाले । भन्छन्, ‘गीत गाउँदा–गाउँदै म धेरै नै भावुक भएछु र साँच्ची नै रोएछु ।’ पापीले साँच्ची नै रोएको त्यो गीतको भिडियो यूट्युवमा हेर्न सकिनेछ ।

थोरै भए पनि अर्थपूर्ण

अहिलेसम्म पापीले ५५÷६० भन्दा बढी गीत गाएका छैनन् । तर जति गाएका छन्, सबै जागरणले भरिपूर्ण गीतहरु नै छन् । उनको ‘माछी मार्न जाउन दाजै कालापानीमा…’ त खुबै चल्यो । त्यसबाहेक यो देशको काट्टो खानेहरुले, ड्राइभर दाइजस्ता गीत पनि खुबै चल्यो । भन्छन्, ‘मैले देश हाँक्ने ड्राइभरहरुप्रति लक्षित गरेर त्यो गीत गाएको थिएँ । उनीहरुलाई छिटो हिँड्न त्यो गीतमार्फत् अनुरोध गरेको छु ।’

जलवायु परिवर्तनको असर विश्वव्यापी रुपमै देख्न थालेको छ । हिमालमा हिँउ पग्लिने र समुन्द्रको सतह माथि उठ्ने क्रम जारी छ । जलवायु परिवर्तनको नकारात्मक असरले सिंगो पृथ्वी, प्राणी जगत र वनस्पतिहरुमाथि दीर्घकालीन असर पर्ने पक्षलाई उनले यस्तो जागरणमुखी गीतमार्फत् सम्बोधन गर्न चाहेका छन्–
‘कण कण अन्न, थोपाथोपा पानी
ढिलो भो जोगाउन बिग्रियो हाम्रो बानी
खाने भए संसारीले बारुद्ध तेस्रो विश्व युद्धको…’

नेपाल–भारतको खुला सीमाले निम्त्याएको समस्याप्रति पनि उनी उत्तिकै सजग छन् । खुला सीमाले धेरै विकृति भित्रिएको उनको तर्क छ । त्यही देखेर उनले लेखे र गाए,
‘रामलखन खै तेरो घरको ढोका ?
जो पसे नि हुने, जे गरे नि हुने, चाल्दै कोठा र चोटा…।’

यति धेरै गीत गाए पनि उनले तीन वटा मात्र एलबम निकाल्न भ्याएका छन्, अहिलेसम्म । भन्छन्, ‘चौथो एलबम निकाल्ने सोच बनाउँदै थिएँ, एलबमको जमाना नै गयो ।’

पापीको उमेर ढल्किँदो छ । अब केही महिनापछि नै ५४ वर्षमा टेक्दैछन् । तर, सडकहरुमा गीत गाउन उनलाई कसैले प्रतिबन्ध लगाउन सकेका छैनन् । भन्छन्, ‘ममा उत्साह र जाँगर घटेको छैन, बरु बढेको छ ।’ उनले भने, ‘अब यो तिहारपछि पूर्वतिर सांगीतिक कार्यक्रम लिएर जाने तयारीमा जुटेको छु ।’

    
        Loading...

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

  • सहरमा बाँच्न मर्न जान्नुपर्छ

    सहरमा बाँच्न मर्न जान्नुपर्छ

    हो, सहरले उसलाई पटकपटक ठगेको छ । यो सहरका मान्छेहरू मतलबी र स्वार्थी छन् । यो कुरा उसले साँचै भनेको हो । उसले ..

  • ‘तपाईँहरूले मैले गर्न नसक्ने कुरा माग्नुहुन्छ कि भन्ने डर लागेको थियो । यो समस्या त मेरा लागि केही होइन, बायाँ..

  • यस्तो हुनुहुन्थ्यो राजेश्वर देवकोटा

    यस्तो हुनुहुन्थ्यो राजेश्वर देवकोटा

    बागबजारको सडकमा बराबर एक जोर मान्छे हिंडेका देखिन्थे । एक जना निकै अग्ला, डम्म जिउडाल भएका र अर्का चाहिँ निकै ..

  • अमर शाहका दुई कविता

    अमर शाहका दुई कविता

    यसरी फर्कदा जन्म गाउँमा लामो अन्तरालपछि खाटा बस्दै गरेको घाउ कन्याएझैं गरिरहेछु अनुभव लगातार पीडा र आनन्दको..

    
        Loading...     
    

अन्तरवार्ता

समाचार