Presidential

नेपालप्रति भारतीय दृष्टिकोणको ऐना


नेपालप्रति भारतीय दृष्टिकोणको ऐना

‘नेपालका बारेमा भारतमा मैले प्राप्त गरेका ब्रिफिङ र निर्देशनहरू उत्साहजनकभन्दा पर थिए । सरकारमा रहेका सबैसँग कुरा गर्दा नेपालको शासक वर्ग र स्वयम् राजा वीरेन्द्रको मुठभेडको नीतिबारेमा कुरा गरेँ । प्रधानमन्त्री इन्दिरा गान्धीले मलाई दिएका निर्देशनहरू सङ्क्षित र स्पष्ट थिए । ‘नेपालका शासकहरू विश्वास गर्नयोग्य छैनन्,’ उनले भनिन्– ‘तिनीहरू एकथोक भन्छन् र त्यसका विपरीत गर्छन् । म त्यो मन पराउन्नँ । तिनीहरू हाम्रा मित्र होइनन् । मैले तिमीलाई त्यहाँ पठाइरहेकी छु । किनभने, तिमी तिनीहरूलाई जान्दछौ । हेर, विषयवस्तुलाई ठीकठाक पार्न जे सक्छौ गर । तर, तिनीहरूसँग व्यवहार गर्दा कडा रूपमा प्रस्तुत होऊ ।’

भारतका विदेशमन्त्री भइसकेका के नटवर सिंहले ‘इन्डिया टुडे’मा टिप्पणी लेख्दै यस पुस्तकलाई ‘कूटनीतिक क्षेत्रमा सम्भवत: यस शताब्दीकै उत्कृष्ट पुस्तक’ भनेका छन् भने पूर्वप्रधानमन्त्री डा. मनमोहन सिंहले रसगोत्राको प्रशंसामा ‘उनी एकजना सबभन्दा अनुभवी कूटनीतिज्ञ हुन्’ भनेर गरेको टिप्पणी पुस्तकको आमुखमै छ ।

माथिको अनुच्छेद नेपालका लागि पूर्वभारतीय राजदूत तथा भारतका पूर्वविदेश सचिव महाराजाकृष्ण रसगोत्राको हालै प्रकाशित पुस्तक ‘अ लाइन इन डिप्लोम्यासी’को २० औँ च्याप्टरको सुरुमै छ । पुस्तक भारतीय कूटनीतिका विविध आयाम, चरण र प्रवृत्तिहरूमा केन्द्रित छ । भारतका विदेशमन्त्री भइसकेका के नटवर सिंहले ‘इन्डिया टुडे’मा टिप्पणी लेख्दै यस पुस्तकलाई ‘कूटनीतिक क्षेत्रमा सम्भवत: यस शताब्दीकै उत्कृष्ट पुस्तक’ भनेका छन् भने पूर्वप्रधानमन्त्री डा. मनमोहन सिंहले रसगोत्राको प्रशंसामा ‘उनी एकजना सबभन्दा अनुभवी कूटनीतिज्ञ हुन्’ भनेर गरेको टिप्पणी पुस्तकको आमुखमै छ । यसमा शङ्का छैन, कूटनीतिक क्षेत्रमा महाराजकृष्ण रसगोत्रा एक नामी व्यक्तित्व हुन् र उनलाई भाारतीय कूटनीतिमा उच्च स्थान प्राप्त छ । सन् १९४७ पछि बेलायती उपनिवेशबाट बाहिर निस्केको भारतलाई विश्व मानचित्रमा उभ्याउन सक्नुमा पण्डित जवाहरलाल नेहरूको नेतृत्वमा सर गिरिजाशङ्कर बाजपेयी, कृष्ण मेनन, विजयालक्ष्मी पण्डित, जगत् एस. मेहता, महाराजकृष्ण रसगोत्राजस्ता कूटनीतिज्ञहरूले नै भूमिका निर्वाह गरेका थिए । रसगोत्राका अरू अनुभवहरू भारतीय कूटनीतिबारे जानकारीमूलक र शिक्षाप्रद छन् । तर, उनले नेपालबारे जेजसरी उल्लेख गरेका छन्, त्यसमा उनलाई व्यक्तिगत रूपमा दोष दिनुभन्दा पनि धन्यवाद दिनुपर्छ, किनभने भारतले नेपाललाई जसरी हेर्छ भन्ने धारणा नेपालीहरूमा छ, त्यसलाई पुष्टि गर्ने गरी उनले खुलेर उल्लेख गरेका छन् ।

‘नेइबरहुड डिप्लोम्यासी : नेपाल दरबार्स डुरान्ड सिन्ड्रोम’ शीर्षकमा रसगोत्राले सन् १९७३ पछि तीन वर्ष राजदूतका रूपमा नेपाल बस्दाका आफ्ना अनुभव, दृष्टिकोण र गतिधिहरूलाई समेटेका छन् । रसगोत्रा भारतका एक प्रख्यात कूटनीतिज्ञ त हुँदै हुन्, त्यसबाहेक दुईपटक (सन् १९५४ मा द्वितीय सचिव र सन् १९७३ मा राजदूत) नेपाल बसिसकेका कारण नेपालका मामिलामा उनको भनाइलाई धेरै आधिकारिक र समग्र भारतीय दृष्टिकोणको प्रतिबिम्बन मान्न सकिन्छ । नेपालबारे भारतीय नीति मूलत: कर्मचारीतन्त्रको विश्लेषण र सिफारिसका आधारमा बन्दछ । इन्दिरा गान्धीजस्ती शक्तिशाली शासक पनि यस्तै कर्मचारीतन्त्रमा निर्भर थिइन् र त्यस आधारमा तय भएको नीतिकै आधारमा नयाँ राजदूतलाई निर्देशन दिएकी थिइन् भन्ने माथि उल्लेख गरिएको प्रसङ्गले स्पष्ट पार्दछ । नेपालका अतिरिक्त मोरक्को, ट्युनिसिया, हल्यान्ड र फ्रान्सका राजदूत र बेलायतका लागि हाई कमिस्नर (कमन वेल्थका मुलुकहरूमा राजदूत नभनेर हाई कमिस्नर भनिन्छ) भएका रसगोत्राले केही सोचविचार नगरी यत्तिकै पुस्तकमा नेपालबारे उल्लेख गरेका होइनन् होला । फेरि उनको पुस्तक यस्तो बेला प्रकाशित भयो, जुन बेला नेपाल–भारत सम्बन्ध तिक्त अवस्थामा पुगेको थियो । त्यही भएर आफूलाई भएको मान, सत्कार आदिजस्ता कुरामा उत्साहपूर्ण वर्णन भए पनि खास मुद्दाहरूमा चाहिँ पुस्तकभरि रसगोत्रा नेपालप्रति कठोर देखिन्छन् ।

हरेक नागरिकलाई आफ्नो देशप्रति माया हुन्छ, गर्व हुन्छ । नेपाल सानो छ, गरिब छ, पछौटे छ । यस्तो अवस्थामा छिमेकमा रहेको भारतले अलिकति केही काम गर्‍यो भने पनि उसको संवेदनशीलतामा छुन्छ र नेपालीहरू ‘त्यस्तो होइन’ भन्दै जुर्मुराउँछन् । भारतीय दृष्टिकोणमा त्यही नै ‘भारतको विरोध’ हुन्छ । वास्तवमा त्यो भारतको विरोध नभएर आफ्नो देशप्रतिको माया हो । रसगोत्रा नेपालमा राजदूत भएर रहँदा पनि उनको अधिकांश समय ‘भारतविरोधी’ क्रियाकलाप निस्तेज पार्न, त्यसविरुद्ध उच्च अधिकारीहरूसँग बाझ्न र आफ्नो देशमा प्रतिवेदन लेख्नमै बितेको पुस्तक पढ्दा थाहा हुन्छ ।

पञ्चायतकालमा नेपालमा राष्ट्रियताका पक्षमा भएका प्रदर्शनहरूलाई तत्कालीन राजदूत रसगोत्राले ‘सरकारद्वारा प्रोत्साहित’ भनेका छन् । नेपालमा जारी भारतीय परियोजनाहरू समयमै सम्पन्न नभएको र गुणस्तर पनि कायम नभएको भन्दै उठेका आवाजहरूबारे आफैंले स्थलगत अध्यनन गर्न लगाएर तत्कालीन प्रधानमन्त्री नगेन्द्रप्रसाद रिजालसँग प्रतिवाद गरेपछि त्यस्तो प्रचार बन्द भएको भन्दै उनले त्यसरी प्रचार हुनुमा चिनियाँ पक्षको हात रहेको आरोप लगाएका छन् । त्यतिबेलाका परराष्ट्रमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीलाई ‘उग्रवाम धारणा राख्ने’ र ‘नेपालको विदेश नीतिमा चिनियाँ पात्र’ भनेर टिप्पणी गरेका छन् भने परराष्ट्र सचिव जनरल पदमबहादुर खत्री र उनीपछिका सचिव उद्धवदेव भट्टलाई चाहिँ बौद्धिक, सहयोगी र भद्र मानिसका रूपमा चित्रण गरेका छन् ।

त्यहीबेला परराष्ट्रमन्त्री कार्कीले रुस जाने बाटो पारेर दिल्ली विमानस्थलमा भारतीय विदेशमन्त्री सरदार स्वर्ण सिंहसँग भेटेर राजदूत रसगोत्राका कारण दुई देशबीचको सम्बन्ध बिग्रिएको टिप्पणी गरेछन् । त्यसपछि भारतीय पक्षबाट सायद सिधै राजासँग कुरा भएछ र उनी रुसबाट फर्किंदा उनको साटो नेपालमा कृष्णप्रसाद अर्याल परराष्ट्रमन्त्री भइसकेछन् ।

सन् १९७५ मा सिक्किम भारतमा गाभिएपछि नेपालमा भएको प्रदर्शनलाई रसगोत्राले ‘सरकारद्वारा प्रायोजित’, ‘उपत्यका प्रहरी कार्यालयमा बसेर मानिस परिचालन गरिएको’, ‘प्रदर्शनकारीलाई नि:शुल्क खाना खुवाइएको’जस्ता टिप्पणी गरेका छन् । यसै प्रसङ्गमा तत्कालीन परराष्ट्रमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीको आफूले जागिर खाइदिएको कुरा पनि रसगोत्राले पुस्तकमा (सगर्व †) उल्लेख गरेका छन् । भएछ के भने भारतमा सिक्किम विलयविरुद्धको प्रदर्शनबारे गुनासो गर्न पुगेका राजदूत रसगोत्रालाई मन्त्री कार्कीले ‘त्यो प्रदर्शन सामान्य र स्वत:स्फूर्त हो’ भनेछन्, जुन कुरा उनलाई सह्य भएन । दुई देशबीच सम्बन्ध तिक्त अवस्थामा पुगेको थियो र नेपाल सरकारसमक्ष तीनबुँदे माग पेस गरेर ती पूरा नभएसम्म नफर्किने भनेर राजदूत दिल्ली गइसकेका थिए । त्यहीबेला परराष्ट्रमन्त्री कार्कीले रुस जाने बाटो पारेर दिल्ली विमानस्थलमा भारतीय विदेशमन्त्री सरदार स्वर्ण सिंहसँग भेटेर राजदूत रसगोत्राका कारण दुई देशबीचको सम्बन्ध बिग्रिएको टिप्पणी गरेछन् । त्यसपछि भारतीय पक्षबाट सायद सिधै राजासँग कुरा भएछ र उनी रुसबाट फर्किंदा उनको साटो नेपालमा कृष्णप्रसाद अर्याल परराष्ट्रमन्त्री भइसकेछन् । सिक्किम प्रकरणमा नेपालमा ‘भारतविरोधी प्रदर्शन’ हुनुमा चीन र पाकिस्तानको आर्थिक सहयोग रहेको निष्कर्ष निकालेका रसगोत्राले नेपालमा त्यसप्रकारको ‘भारतविरोधी प्रदर्शन अरू समयमा नभएको’ उल्लेख गरेका छन् ।

पुस्तकमा बीपी कोइरालालाई नेपाल फर्काउन आफूले भूमिका निर्वाह गरेको प्रसङ्ग रसगोत्राले उल्लेख गरेका छन् । बीपी कोइरालाकी कान्छी बहिनी विजयालक्ष्मीको रूपप्रति पहिलोपटक नेपाल आउँदा नै आफू मोहित भएको र उनको पाकिस्तानी कूटनीतिज्ञसँग ‘अफेयर’ चलेकै कारण दुई देशबीच थप कटुता होला भनेर मात्र हच्किएको उल्लेख गर्दै रसगोत्राले तिनैमार्फत बीपीलाई नेपाल फर्काएर शान्तिपूर्ण राजनीतिमा सक्रिय रहन प्रेरित गरेको पुस्तकमा उल्लेख गरेका छन् । त्यसका लागि राजा वीरेन्द्रसँग पनि कुराकानी भएको विवरण उनले खुलाएका छन् । रसगोत्रा लेख्छन्– ‘१९७६ अप्रिल वा मेको एक साँझ मेरो निवासमा भएको डिनरमा राजाले उल्लेख गरे कि बीपी कोइरालाले आफू नेपाल फर्किन पाऊँ भनेर लेखेका दुईटा पत्र उनले पाएका छन् र त्यसो किन गरे भनेर उनले अचम्म मानेका छन् । मैले भनेँ कि बीपीले यो महसुस गरेका हुन सक्छन्, सत्तामा रहून् वा एकजना साधारण नागरिकका रूपमा सत्ताबाहिर रहून्, उनका लागि आफ्नै देशमा स्थान छ । बीपी बिरामी छन् र उनका साथीभाइ तथा आफन्तको सहानुभूति तथा हेरचाह पाउँछन् र नेपालमा उनले सरकारलाई कुनै चुनौती दिन सक्दैनन् । नेपालमा शान्तिपूर्ण रूपमा जीवन बिताउन फिर्ता आउन दिए सरकारको निगाह प्रदर्शन हुनेछ ।’ बीपीमाथि लागेका मुद्दा के गर्ने र कसरी अघि बढ्ने भन्नेबारे पनि राजा वीरेन्द्रसँग कुराकानी भएको विवरण रसगोत्राले पुस्तकमा उल्लेख गरेका छन् । राजासँग भएका सबै कुरा विजयालक्ष्मीमार्फत बीपीकहाँ पुगेको र यी सबै तारतम्यका कारण २०३३ सालमा ‘राष्ट्रिय मेलमिलापको नीति’ बोकेर बीपी कोइराला स्वदेश फर्किएको पुस्तकमा उल्लेख छ ।

२०३१ सालमा राज्याभिषेकको अवसर पारेर राजा वीरेन्द्रले अघि सारेको ‘नेपाललाई शान्ति क्षेत्र घोषित गरियोस्’ भन्ने प्रस्तावका पक्षमा विश्वभरबाट समर्थन प्राप्त भए पनि भारतले मौनता साँध्यो । यसलाई भारतले नेपालका राजाका तर्फबाट आफ्नाविरुद्ध प्रयोग गरिएको अमोघस्त्रका रूपमा लिएको रहेछ भन्ने रसगोत्राको पुस्तकमा उल्लेख छ । उक्त प्रस्तावप्रति न समर्थन न विरोधको नीति लिने, कुराकानी गर्दा के आधारमा र किन त्यस्तो प्रस्ताव ल्याइएको हो भनेर अल्मल्याउने र उक्त प्रस्तावलाई तुहाउने सुझाव रसगोत्राले नै दिएका रहेछन् । शान्ति क्षेत्रको प्रस्ताव ल्याएर नेपालले तटस्थ बस्न खोजेकोबारे रसगोत्राको टिप्पणी छ– ‘तटस्थ बस्न नेपालले भारतसँगको यसको राजनीतिक, आर्थिक र खुला सीमा सम्बन्ध सम्पूर्ण रूपमा परिवर्तन गर्नुपथ्र्यो । तर, भारतसँग सल्लाह भएको थिएन । चीन र पाकिस्तानले तत्कालै प्रस्तावको समर्थन गरे । यसले तिनीहरूसँग पहिल्यै सल्लाह भएको रहेछ भन्ने देखाउँछ ।’

रसगोत्रा लेख्छन्, ‘जब म मेरो कार्यकालको अन्तिमतिर पुगें, डुरान्डको अध्ययनले मलाई पनि छोयो । नेपालको दरबारले नेपालमा भारतीय स्वार्थलाई यदि निर्मूल पार्न नसके उसको भूमिका र प्रभाव घटाउन यो सबै गरिरहेको थियो ।’ राजा महेन्द्र र वीरेन्द्र दुवैसँग व्यक्तिगत सम्बन्ध राम्रो रहेको र दुवै राजाका पालामा एकअर्काको घरमा खाना खान पुगेका दृष्टान्तहरू रसगोत्राले उल्लेख गरेका छन् ।

नेपालले भारतसँगको सम्बन्धमा दोहोरो भूमिका खेल्छ भन्ने उनीहरूको आरोप नयाँ रहेनछ । त्यतिबेला दरबारको भूमिकाबारे आलोचना गर्न रसगोत्राले भारत स्वतन्त्र नहुँदै (सन् १८९०) काठमाडौँस्थित बेलायती रेजिडेन्ट मेजर ईएल डुरान्डले आफ्ना विदेश सचिव एचएम डुरान्डलाई लेखेको पत्रलाई आधार बनाएका छन् । पत्रमा डुरान्डले नेपालमा बेलायती प्रभाव रोक्न नेपालको दरबारले चीनलाई आफ्ना विरुद्ध कार्डका रूपमा प्रयोग गरिरहेको उल्लेख गरेका छन् । रसगोत्रा लेख्छन्, ‘जब म मेरो कार्यकालको अन्तिमतिर पुगें, डुरान्डको अध्ययनले मलाई पनि छोयो । नेपालको दरबारले नेपालमा भारतीय स्वार्थलाई यदि निर्मूल पार्न नसके उसको भूमिका र प्रभाव घटाउन यो सबै गरिरहेको थियो ।’ राजा महेन्द्र र वीरेन्द्र दुवैसँग व्यक्तिगत सम्बन्ध राम्रो रहेको र दुवै राजाका पालामा एकअर्काको घरमा खाना खान पुगेका दृष्टान्तहरू रसगोत्राले उल्लेख गरेका छन् ।

भारतीय विदेश नीति कस्तो हुनुपर्छ भनेर सुझाव दिने क्रममा पूर्वविदेश सचिव रसगोत्राले नेपालबारे तथ्यभन्दा परका बजारिया हल्लाहरूलाई आधार बनाएर उल्लेख गरेका छन् । नेपाली जनताले आफ्नो संविधान आफैं बनाएपछि त्यसले तराईका जनतालाई विभेद गरेको छ भन्ने बनावटी प्रचारबाट यी विद्वान् पनि मुक्त छैनन् । नयाँ संविधानले नेपालको आधा जनसङ्ख्यालाई नागरिकतबाट वञ्चित गरेको र नागरिक अधिकार कटौती गरेको गम्भीर त्रुटिपूर्ण धारणा उनले पुस्तक (पृष्ठ ३७७) मा व्यक्त गरेका छन् । उनी लेख्छन्– ‘हालै संविधान जारी गर्ने काठमाडौँको शासक वर्गको चमकदमकपूर्ण व्यवहारले तराईका जनता, मुलुकको कुल जनसङ्ख्याको झन्डै आधा, नागरिकता पाउने अधिकारबाट विभेदमा परेका छन् । …काठमाडौथिँको शासक वर्गले तराईलाई सधैँ उपनिवेशका रूपमा शासन गर्‍यो । …तराईमा आन्दोलन भयो । …समस्या समाधान गर्नुको साटो भारतले नाकाबन्दी लगाएको प्रचार गरियो र भारतको विकल्पका रूपमा चीनलाई प्रचार गरियो । नेपालमा भारतको भार चीनले पनि ‘सेयर’ गर्दा भारतमा चिन्ता लिनुपर्दैन । किनभने, नेपाल भारतबाट मात्र होइन, चीनबाट पनि भूपरिवेष्टित छ ।’

पहिलोपटक युवा उमेरमा सन् १९५४ मा नेपाल आउँदा र पछिल्लोपटक सन् १९७३ मा राजदूतका रूपमा नेपाल आउँदाको अवस्थालाई रसगोत्राले तुलनात्मक चित्रण गरेका छन् । पहिलोपटक उनी नेपाल आउँदा नेपालमा भारतको एकछत्रजस्तै अवस्था थियो । सातौँ च्याप्टरमा ‘नेइबरहुड डिप्लोम्यासी : नेपाल’ शीर्षकमा रसगोत्राले भर्खर राणाहरूको चङ्गुलबाट फुत्किएको नेपालबारे उल्लेख गरेका छन् । उनी विभिन्न क्षेत्रका भ्रमण, खासगरी पश्चिम नेपालको स्याङ्जा जाँदा भएको स्वागत–सत्कारलाई बडो आत्मीय रूपमा सम्झेका छन् ।

‘नोभेम्बर १९५० मा राजा त्रिभुवन र उनको परिवारलाई भारतीय दूतावासमा शरण दिएर र राणा प्रधानमन्त्री मोहन शमशेरको विरोध र चेतावनीका बाबजुद तिनीहरूलाई भारत उड्ने व्यवस्था मिलाएर नेपालका लागि भारतीय राजदूत सीपीएन सिंहले नेपालको इतिहास बदले ।’

नेपालको राजनीतिमा भारतको प्रभाव कहिलेदेखि कसरी भित्रियो भन्नेबारे कुनै द्विविधा नभए पनि उनले आफ्नो पुस्तकमा नेपालबारे लेख्दा सुरुआत नै यसरी गरेका छन्, ‘नोभेम्बर १९५० मा राजा त्रिभुवन र उनको परिवारलाई भारतीय दूतावासमा शरण दिएर र राणा प्रधानमन्त्री मोहन शमशेरको विरोध र चेतावनीका बाबजुद तिनीहरूलाई भारत उड्ने व्यवस्था मिलाएर नेपालका लागि भारतीय राजदूत सीपीएन सिंहले नेपालको इतिहास बदले ।’ (पृष्ठ ९४) ।

नेपाल फर्केपछि राजा त्रिभुवनले मन्त्रिपरिषद् बनाउँदा र नयाँ प्रशासनिक संरचना गर्दा राजदूत सिंहमै निर्भर रहेको रसगोत्राले उल्लेख गरेका छन् । भारतले नै सहयोग गरेर प्रधानमन्त्री बनाइएका मातृकाप्रसाद कोइरालाले पछि नेपालमा ‘भारतविरोधी क्रियाकलाप’लाई बढावा दिएको गुनासो पनि रसगोत्राले पुस्तकमा गरेका छन् । कूटनीतिमा चासो राख्ने र नेपालबारे भारतीय आधिकारिक धारणाको विकासक्रमबारे बुझ्नेहरूका लागि ‘अ लाइफ इन डिप्लोम्यासी’ उपयोगी पुस्तक छ ।

    
        Loading...

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

    
        Loading...     
    

अन्तरवार्ता

समाचार