Presidential

‘म मैन हुँ, आगोको छेउमा पग्लिन पनि सक्छु’


‘म मैन हुँ, आगोको छेउमा पग्लिन पनि सक्छु’

कुनै समय, नेपाली संगीताकाशमा धेरै नै चम्किएको थियो, ‘राल्फा’ । तर त्यसको कुनै अर्थ भेटिँदैन । त्यस्तै अर्थ भेटिँदैन, ‘मोमिला’ को पनि । कुनै शब्दकोषहरुमा पनि छैन, यो सुन्दर नाम । लाग्छ, शब्दहरुसँग खेल्ने÷रमाउने कवयित्री मोमिला शब्दकोषभन्दा बाहिरै छिन् । तर, शब्दकोषमा नभएर÷नअटाएर के भो र ? धनकुटेली चेली मोमिलाले नेपाली साहित्य मैदानमा क्रमशः आफ्नै पृथक स्थान बनाउँदै गइरहेकी छिन् । र, नौ वर्ष छँदा नै लेखनमा होमिएकी उनी अहिलेसम्म पनि क्रियाशील नै भेटिन्छिन् ।

उदात्त सोच, चिन्तन र शैली पछ्याउँदै आएकी मोमिला आफ्नो नामको अर्थ नखुले पनि आफ्नै हिसाबले परिभाषित गर्न भने चुक्दिनन् । भन्छिन्, ‘म हुँ एक मोम,
जसको पछि ‘इला’ प्रत्ययको योग छ
जो तापमा केही क्षणमै पग्लन पनि सक्छ
बिना ताप कठोर भएर जमिरहन पनि सक्छ ।’

हो, मैनजस्तै छिन् मोमिला । कुनै तापमा पग्लिन उनलाई रत्तिभर संकोच लाग्दैन । र, ताप नहुँदा कठोर भएर जमिरहन पनि उनलाई कसैले रोक्न र छेक्न सक्दैन । करिब आधा शताब्दी टेक्नै लागेकी मोमिलाले जीवनमा धेरै उतारचढाव बेहोरेकी छिन्, दुई–दुई पटकसम्म वैवाहिक जीवन ध्वस्त भए पनि अविचलित, दृढ र संकल्पबोधले खारिँदै आफ्नो कर्ममा डटिरहेकी छिन् । यस्तो लाग्छ, जीवनमा आइपरेका हरेक बाधा, व्यवधानहरुलाई पन्छाउन सक्षम मोमिला, आफ्नै ‘बोल्डनेस’ का कारण टिकिरहेकी छिन्÷बाँचिरहेकी छिन् ।

सफल जीवन, असफल बिहे

२०४५ सालमा उनी काठमाडौंमा नै थिइन् । काठमाडौंमा रहँदा एउटा उम्मेद्वार उनको जीवन–सम्पर्कमा आए । त्यतिखेर भर्खर २१ वर्षकी न थिइन् उनी । ती उम्मेद्वारको प्रभावमा परिन् र बिहे गरिन् । जन्मियो, एउटा छोरा पनि । चल्दै थियो जीवन । तर, सात वर्ष नकट्दै उनीहरुको वैवाहिक सम्बन्धमा अग्ला पर्खालहरु उभिए ।

छोडपत्र गर्नुको विकल्प थिएन । नाबालक छोरालाई आफूसँगै राखेर उनले पारपाचुके दिइन् । किन टुंगियो त पहिलो प्रेम–विवाह ? अलिक दार्शनिक ढंगले मोमिला प्रस्तुत हुन्छिन्, ‘आकर्षित हुँदा विपरीत चरित्रप्रति आकर्षित हुने र सँगै भएपछि आफ्नै चरित्रमा ढाल्न खोज्ने प्रवृत्ति मानिसहरुमा हुँदोरहेछ । हाम्रो वैवाहिक जीवन दुर्घटनामा पर्नु पनि त्यही कारण हाबी रह्यो ।’

प्रेम–विवाहले असफलताको गोरेटो चहारेपछि उनी लामो समय चुपचाप बसिन् । समयान्तरमा फेरि उनको आँखा–जुधाइ भयो, अर्कै पुरुषसँग । एक्लो जीवन काट्न नसकिने कुरा प्रष्टै बुझेकी मोमिलाले ती पुरुषसँग बिहे गर्न चाहिन् र भयो पनि अन्ततः । तर, पहिलो बिहे सात वर्ष टिक्यो भने दोस्रो बिहे त सात दिन पनि टिकेन । दोस्रो बिहेको असफलताबारे कोट्याउँदा उनी भन्छिन्, ‘मेरो होइन, उनकै कारणले दोस्रो बिहे असफलतामा टुंगियो । मलाई उनले असाध्यै दुःख पनि दियो ।’

तेस्रो बिहेको तयारी ?

रामकृष्ण ढकालले गाएका थिए, कुनै बेला, ‘यात्रा रहेछ जिन्दगी, एक्लै म हिँडिदिन्छु…।’ तर, गीत÷संगीतमा उल्लेख भएजस्तो नहुँदो रहेछ जीवन । मोमिलाले पनि अहिले एक्लो जीवन बिताइरहेकी छिन् । तर, एक्लो जीवन बिताउन सकुँलाजस्तो उनलाई लागिरहेको छैन । भन्छिन्, ‘मैले तत्कालै बिहे गर्ने सोच त बनाएकी छुइनँ तर मन मिल्यो र मौका मिल्यो भने सोच्न पनि सकिन्छ ।’

कुनै पात्र हेरिसक्नुभयो कि ? हाँस्दै भन्छिन् उनी, ‘अहिले नखुलाउ होला ।’

तर, एक मात्र छोरा बेलायतमा अध्ययन र जागिरको सिलसिलामा उतै बस्न थालेपछि भने उनलाई एक्लो महसुस भइरहेको छ अहिले । र, जीवनमा कुनै टिकाउयोग्य पात्रसँग बिहे गर्न भने उनलाई इच्छा छ अझै । भन्छिन्, ‘एक्लै बस्दा अत्यास नै लाग्दोरहेछ । भूकम्प आएको बेला त म धेरै नै आत्तिएकी थिएँ ।’

डान्स, चित्रकला र गायन

मोमिलामा दर्ज हुनुअघि उनी ‘प्रेक्षिला’ थिइन् । तर, २०३३ सालतिर बुबाले मोमिला नाम राखिदिनुभएपछि उनी त्यही नाम चम्काउन लागी परिन् । हुन पनि, पृथ्वीनारायण शाहले उपत्यका विजय गरेपछि धनकुटा हान्निएका जोशी परिवार धनकुटा बजार क्षेत्रमा जमेर नै बसे । साहित्य, कला, संगीततिर मोमिलाको परिवारको राम्रो पकड छ । भन्छिन्, ‘मेरो जीनमा नै साहित्य, कला जोडिएर आएको छ ।’

हुन पनि, वरिष्ठ कवि तुलसी दिवस उनका जेठो बुबाको छोरा हुन् । सदाबहार पूर्वेली लोकगीतहरु ‘रिटिङ–रिटिङ नबजाऊ बिनायो’, ‘उकाली ज्यानको चिप्लेटी ढुंगा, कान्छी मट्याङ–ट्याङ’ गाउने एलपी जोशी उनका ठूल्कान्छा काका हुन् भने मिस नेपाल मलिना जोशी चाहिँ ठाइँलो बुबाकी छोरी । गीत÷संगीत क्षेत्रका चर्चित हस्तीहरुको परिवारमा जन्मिएकी÷हुर्किएकी उनमा सानैदेखि त्यही प्रभावले छोप्यो । भन्छिन्, ‘म सानैदेखि गीत÷संगीत, चित्रकला, नृत्यमा सहभागी हुन्थेँ र पुरस्कारहरु जित्थेँ ।’

२०२९ सालमा उनी पाँच वर्षकी मात्रै थिइन् । धनकुटामा गायन प्रतियोगिता भयो, त्यही वर्ष । गीत गाएर उनले प्रथम पुरस्कार नै पाइन् । पुरस्कारबापत उनले पाँच वटा किताब पाएकी थिइन् । भन्छिन्, ‘मैले त्यतिबेला दोषी चस्मा, नासो र एकेडेमीले निकाल्ने कविताको पहिलो अंक पुरस्कारस्वरुप पाएकी थिएँ ।’ त्यस्तै, ०३३ सालमा भने उनले ‘एक दुःखी’ शीर्षकको कविता लेखेर पहिलो पुरस्कार पाइन् । त्यो प्रतियोगिताको संयोजन भने साहित्यकार दयाराम श्रेष्ठ ‘सम्भव’ ले गर्नुभएको थियो ।

प्रारम्भिक दिनहरुमा चित्रकलाप्रति पनि उनको रुचि रह्यो । भन्छिन्, ‘चित्रकलामा त मैले तीन पटक प्रथम पुरस्कार पाएकी थिएँ ।’ बाबु–आमाका सात सन्तानमध्ये कान्छी मोमिलाले पारिवारिक स्नेह, वातावरणकै कारण सिर्जनाका प्रत्येक क्षेत्रमा चम्किने औसर पाएकी थिइन् ।

राजा–रानीसामु नाँच्दा पैसा

मोमिला नाच्न पनि सिपालु थिइन् । ०२९ सालमा राजा वीरेन्द्र र रानी धनकुटाको भ्रमणमा आएका थिए । राजा–रानीको अगाडि उनी छमछमी नाचिन् । एउटी सानो फुच्चीको नृत्यकला देखेपछि राजाले उनलाई केही पैसा दिइन्, बक्सिसस्वरुप । भन्छिन्, ‘पैसा पुरस्कार पाए पनि कति पाएँ भन्ने चाहिँ अहिले याद छैन ।’ 

तर, राम्रो नृत्यांगना हुन नपाए पनि अहिले भने उनी नेपाली साहित्यमा राम्रो कलम चलाउने ‘नृत्यांगना’ की रुपमा स्थापित छिन् । अचेल उनी संगीतको तालमा होइन, शब्दको ताल र लयमा नाच्छिन्, रमाउँछिन् । ०४४ सालमा साहित्यिक पत्रिका ‘रुपरेखा’ मा कविता छापिएपछि साहित्यतिर डोरिएका उनका पाइला अहिले पनि तीव्र गतिमै छन् ।

नौ वर्षमै काठमाडौं–यात्रा

२०४९ सालदेखि काठमाडौंलाई नै कर्मथलो बनाउने ध्येयले काठमाडौं–बसाइँ रोजेकी मोमिलाले यो चारभञ्ज्याङभित्र पाइला टेकेकी भने पाँच वर्षकी हुँदा नै हो । दिदीसँगै २०२९ सालमा पहिलो पटक काठमाडौं आएकी उनमा त्यतिबेलाको काठमाडौंको धमिलो याद मात्रै छ । भन्छिन्, ‘मलाई दिदीहरुले काठमाडौंका केही ठाउँहरुमा डुलाउनुभएको धमिलो याद मात्रै छ ।’

तर, ०३३ सालमा दोस्रो पटक काठमाडौं आउँदाका स्मृति भने उनले बिर्सेकी छैनन् । दोस्रो पटक काठमाडौं आउँदा खुबै घुमिन्– दक्षिणकाली, गोदावरी, बुढानिलकण्ठ, स्वयम्भू, पशुपतिनाथ, भक्तपुर । भन्छिन्, ‘भक्तपुर घुम्न जाँदा भने बाटामा गोबरहरु थिए र असाध्यै गन्हाएको थियो ।’

फिल्मप्रति हल्का मोह

दोस्रो पटकको काठमाडौं–यात्रामा अधिकांश धार्मिक र रमणीय स्थलहरु त घुमिन् नै उनी । त्यही बेला, चार वटा फिल्म पनि हेरिन् । उनको स्मृतिअनुसार, काठमाडौंको जयनेपाल र भक्तपुरको एउटा सिनेमाघरमा गएर उनले दिदीसँगै हिन्दी फिल्महरु हेरेकी थिइन् । ती फिल्महरु थिए– मेहबुबा, मेरी अदालत र आपकी कसम । एउटा फिल्मको नाम भने उनको यादको परिधिभित्र छैन अहिले । भन्छिन्, ‘मेहबुबामा त हेमा मालिनी हिरोइन थिइन् । तर, फिल्ममा संवाद आउँदा म निदाउँथेँ र गीत आउँदा भने ब्युँझिन्थेँ ।’

सिनेमाघरमा गएर फिल्म हेर्ने बानी छैन उनको । ०४९ सालमा काठमाडौं छिरेयता हलहरुमा गएर जम्माजम्मी तीन वटा फिल्ममात्रै हेरेकी छिन् उनले । पछिल्लो पटक धेरै नै चर्चा भएपछि ‘छक्का–पञ्जा’ हलमै पुगेर हेरिन् । यसबाहेक बलिदान र क्याराभान हेरिन् । तर, एक पटक बनेपा पुग्दा हिन्दी फिल्म धड्कन पनि उनले हलमा गएर हेर्ने फिल्मको सूचिमा आबद्ध भएको छ । भन्छिन्, ‘कुनै फिल्म चर्चित भयो भने हेर्छु, तर म अत्यन्तै क्रेजी भएर भने फिल्म हेर्दिनँ ।’

काठमाडौंका दिनहरु

करिब अढाई दशकअघि काठमाडौं छिरेपछि उनले शिक्षण पेशा अँगालिन् । सुरुमा लिटिल एन्जेल्समा पढाउन थालेकी उनले केही वर्ष काठमाडौं विश्वविद्यालयमा पनि पढाइन् । तर, अहिले भने गोल्डेनगेट कलेजमा पढाउछिन् र बाँकी समय साहित्य लेखन, कार्यक्रमहरुमा अर्पण गरिरहेकी छिन् ।

IMAG0107

साहित्यिक गतिविधि त्याग्न नसकेकी उनले नेपाली कला–साहित्य डटकम प्रतिष्ठानमार्फत् साहित्य सेवा गरिरहेकी छिन् । भन्छिन्, ‘पुस्तक प्रकाशन गर्ने, वेभ पत्रिका चलाउने, पुरस्कार र सम्मानहरु अर्पण गर्ने काम गरिरहेकी छु । साथै, कला–साहित्य सिर्जना यात्रा र सिर्जना उत्सव पनि गर्दै आइरहेकी छु ।’ यसबाहेक उनले वार्षिक रुपमा ‘कलाश्री’ पनि निकाल्दै आइरहेकी छिन् ।

लेखन, अध्यापन, साहित्यिक गतिविधि । कसरी संयोजन गरिरहेकी छिन् त उनले ? ओंठमा हल्का मुस्कान उमार्दै उनले भनिन्, ‘जिन्दगीले सिकाएर नै यी सबै कामहरुको संयोजन गरिरहेकी छु । यी तीन वटै कामहरु समानान्तर रुपमा गरिरहेकी छु ।’

हुन पनि, अहिलेसम्म उनको पैयुँ फुल्न थालेपछि, नीलो नीला आकाश र दुई थोपा आँसु, जुनकिरीहरु ओर्लिरहेछन्, दुर्गम उचाइँमा फूलको आँधी र भीमसेन थापाको सुसाइट नोट गरी चार कविता संग्रह र ईश्वरको अदालतमा आउटसाइडरको बयान गरी एक निबन्धकृति प्रकाशित छन् ।

लेखनमा पनि उत्तिकै सक्रिय छिन्, मोमिला । केही समयअघि उनले एउटा निबन्ध लेखेर भ्याइन् । झर्दै गरिरहेको एउटा पातलाई विम्ब बनाएर लेखेको निबन्धबारे उनी खुल्छिन्, ‘एउटा पात हाँगाबाट झर्नुअघि मानिसले त्यो दृश्यलाई देखेर जेजस्तो सोच्छन्, मैले त्यसैलाई विम्ब बनाएर लेखेकी हुँ ।’

फुर्सद हुँदा

कहिलेकाही मात्रै फुर्सद हुन्छ, मोमिलालाई । तर, फुर्सद हुँदा घुमघाममा बिताउन मन लाग्छ उनलाई । भन्छिन्, ‘मलाई हरिया डाँडाकाँडा भएका ठाउँहरुमा जान मन लाग्छ ।’ र, उनी प्रायः स्वयम्भूमा पुगिरहेकी हुन्छिन् । तर, सहरका घुमफिर गर्ने ठाउँहरु प्रदुषणमुक्त नहुँदा उत्तिकै चिन्तित पनि छन् ।

त्यसो त, खानपिन खासै सोख छैन उनलाई । पहिला–पहिला सामान्य रुपमा मद्यपान गर्थिन् । तर, अचेल चटक्कै छाडेकी छिन् । भन्छिन्, ‘मेरो स्वास्थ्यले मदिरालाई स्वीकारेन ।’ तर, गाउँको बाक्लो भैंसीको दूध र भात मुछेर खान भने उनलाई असाध्यै मन पर्छ । अहिले पनि भैंसीको दूध र भातको सम्झना आउने बित्तिकै उनको मुखै रसाउने गर्छ ।

केही कुराको सोख र केहीमा अरुचि भए पनि लेखन कर्ममा निरन्तर लागिरहेकी मोमिलाले लेखनलाई भने रातिको समय छुट्याउने गरेकी छिन् । दिउँसो अरु कामहरुमा नै व्यस्त रहनुपर्ने भएको हुँदा राति लेख्न उनलाई उपयुक्त लाग्छ । भन्छिन्, ‘रातको निरवतामा नै लेख्छु म । रातको समय नै उपयुक्त लाग्छ मलाई ।’

जीवनः वीणाको झन्कारजस्तै

वैवाहिक जीवनको असफलता, लेखन कर्ममा निरन्तरता, साहित्यिक गतिविधिहरुमा सक्रियताजस्ता जीवनका विभिन्न पाटाहरुसँग परिचित मोमिलाले जीवनलाई आफ्नै तरिकाले बुझेकी छिन् । जैविक परिभाषाअनुसार, जीवन जन्म र मृत्युबीचको दूरी स्वीकार्ने उनले जीवनलाई वीणाको झन्कारसँग तुलना गर्न चाहन्छिन् । भन्छिन्, ‘जीवन त वीणाजस्तै हो, जसले बजाउन जान्दछ, उसले मीठो र सुमधुर संगीत निकाल्छ, जसले बजाउन जान्दैन, त्यो केवल खोक्रो वीणा मात्रै हुन्छ ।’

के तपाईले जीवनरुपि त्यो वीणालाई बजाउन जान्नुभयो त ? फेरि मुसुक्क हाँस्दै मोमिलाले भनिन्, ‘त्यो वीणालाई बजाउन मैले अथक प्रयत्न गरिरहेकी छु ।’

    
        Loading...

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

  • सहरमा बाँच्न मर्न जान्नुपर्छ

    सहरमा बाँच्न मर्न जान्नुपर्छ

    हो, सहरले उसलाई पटकपटक ठगेको छ । यो सहरका मान्छेहरू मतलबी र स्वार्थी छन् । यो कुरा उसले साँचै भनेको हो । उसले ..

  • ‘तपाईँहरूले मैले गर्न नसक्ने कुरा माग्नुहुन्छ कि भन्ने डर लागेको थियो । यो समस्या त मेरा लागि केही होइन, बायाँ..

  • यस्तो हुनुहुन्थ्यो राजेश्वर देवकोटा

    यस्तो हुनुहुन्थ्यो राजेश्वर देवकोटा

    बागबजारको सडकमा बराबर एक जोर मान्छे हिंडेका देखिन्थे । एक जना निकै अग्ला, डम्म जिउडाल भएका र अर्का चाहिँ निकै ..

  • अमर शाहका दुई कविता

    अमर शाहका दुई कविता

    यसरी फर्कदा जन्म गाउँमा लामो अन्तरालपछि खाटा बस्दै गरेको घाउ कन्याएझैं गरिरहेछु अनुभव लगातार पीडा र आनन्दको..

    
        Loading...     
    

अन्तरवार्ता

समाचार