Presidential

स्वागत र बिदाइमा राष्ट्रपति भण्डारी विमानस्थल जाने, दुई ठाउँमा नागरिक अभिनन्दन

स्वागत र बिदाइमा राष्ट्रपति भण्डारी विमानस्थल जाने, दुई ठाउँमा नागरिक अभिनन्दन

१२ कात्तिक । भारतीय राष्ट्रपति प्रणव मुखर्जीलाई हालसम्मै उच्च सम्मान दिइने भएको छ । आफ्नो निम्तामा आउन लागेका पहिलो विदेशी पाहुनालाई स्वागत सत्कार गर्नमा कुनै कमी नरहोस् भनेर राष्ट्रपति विद्यादेवी भण्डारी स्वयमले चासो राखेकी छन् ।

स्रोतका अनुसार, गणतन्त्र स्थापनापछि राजकीय भ्रमणमा आउन लागेका पहिलो विदेशी राष्ट्राध्यक्ष मुखर्जीलाई स्वागत गर्न राष्ट्रपति भण्डारी स्वयम् त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल जानेछन् । स्रोतले भन्यो, ‘१७ गते भारतीय राष्ट्रपति आउँदा र १९ गते जाँदा दुवै पटक हाम्रा राष्ट्रपति विमानस्थल पुग्नुहुनेछ ।’

सरकारले भारतीय राष्ट्रपति मुखर्जीको नेपाल भ्रमणका अवसरमा १७ गते सार्वजनिक बिदा दिने निर्णय बिहीबार नै गरिसकेको छ ।

भारतीय राष्ट्रपति मुखर्जीलाई विमानस्थलमा स्वागत गरेपछि राष्ट्पति भण्डारीले आफ्नै गाडीमा राखेर शीतल निवास लैजाने कार्यक्रम छ । त्यहाँ उनीहरुबीच दुईपक्षीय भेटवार्ता हुनेछ । सोही साँझ राष्ट्रपति भण्डारीले भारतीय राष्ट्रपति मुखर्जीको सम्मानमा सोल्टी होटलमा स्टेट ब्यांक्वेटको आयोजना गरेकी छन् । ब्यांकेटमा दुवैतर्फका पाहुनाका साथै उच्च अधिकारीहरु गरी १ सय ५० जनाको नाम तय भएको छ ।

भारतीय राष्ट्रपति मुखर्जीको भ्रमण तालिका सार्वजनिक नभए पनि स्रोतका अनुसार, शीतल निवासपछि उनी भारतीय दुतावासमा आयोजित स्वागत समारोहमा सहभागी हुनेछन् । त्यसपछि मात्रै आफू बस्ने ह्यात होटलमा आरामका लागि जाने कार्यक्रम छ । सम्भवतः सोही साँझ प्रधानमन्त्री पुष्पकमल दाहालले उनी बसेको होटलमा पुगेर शिष्टाचार भेट गर्नेछन् ।

प्रमुख दलका नेताहरुसँग छुट्टै भेट्ने

भारतीय राष्ट्रपति मुखर्जीले १८ गते प्रमुख दलका नेताहरुसँग भेट्ने कार्यक्रम छ । नेपाली कांग्रेस, नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र) र मधेसी दलका नेताहरुसँग उनले छुट्टाछुट्टै भेट गर्नेछन् ।

दुई ठाउँमा नागरिक अभिनन्दन

भारतीय राष्ट्रपति मुखर्जीलाई काठमाडौँ र जनकपुरमा नागरिक अभिनन्दन गरिने भएको छ । काठमाडौँको सभागृहमा आयोजित कार्यक्रममा काठमाडौँ महानगरपालिकाका तर्फबाट नागरिक अभिनन्दन गरिनुका साथै काठमाडौँ महानगरको साँचो हस्तान्तरण गर्ने कार्यक्रम छ ।

यसैगरी, जनकपुरमा पनि उनको अभिनन्दन हुनेछ । त्यसका लागि गृहमन्त्री विमलेन्द्र निधीले विशेष अग्रसरता लिइरहेका छन् ।

काठमाडौँमा ब्रेक फास्ट, जनकपुरमा पूजा, पोखरामा लन्च

१९ गते विहान काठमाडौँमा ब्रेकफास्ट गरेर जानकी मन्दिरमा पूजा गर्नका लागि राष्ट्रपति मुखर्जी बुद्ध एअरको चार्टर्ड विमानबाट बिहान साढे नौ बजे जनकपुर प्रस्थान गर्नेछन् । बिहान ढिलो उठ्ने भएका कारण उनको अरु कार्यक्रम राखिएको छैन । जनकपुरमा उनले ४५ मिनेट जति मात्रै समय बिताएर पोखरा जाने कार्यक्रम छ ।

पोखरामा रहेको भारतीय सैनिकहरुको पेन्सन क्याम्पमा आयोजित कार्यक्रममा भाग लिएर उनले दिउँसोको खाना त्यहीँ खानेछन् । सोही दिन साँझ काठमाडौँ फर्केर उनी विमानस्थलबाट होटल नफर्की स्वदेशतिर लाग्नेछन् । उनी विमानस्थलमा आइपुग्नुभन्दा पहिल्यै राष्ट्रपति भण्डारी त्यहाँ पुगिसकेकी हुनेछन् ।

पशुपति र जानकी मन्दिरलाई सहयोग गर्ने सम्भावना

आफ्ना राष्ट्रपतिको भ्रमणको मौका पारेर भारतले पशुपतिनाथ मन्दिर परिसर र वरपरको निर्माणमा सहयोग गर्ने इच्छा राखेको छ । त्यसैगरी, जनकपुरको जानकी मन्दिरमा पनि भारतीय पक्षबाट केही सहयोग गर्ने सम्झौतामा हस्ताक्षर हुन सक्ने बताइएको छ ।

विद्यावारिधी र गोष्ठीमा भाषण

भारतीय राष्ट्रपति मुखर्जीलाई काठमाडौँ विश्वविद्यालयले मानार्थ विद्यावारिधी उपाधि प्रदान गर्ने कार्यक्रम छ । काठमाडौँमै आयोजित कार्यक्रममा उक्त उपाधि प्रदान गरिनेछ ।

यसैगरी, भारतका लागि पूर्वराजदूत लोकराज बरालले भारतीय जनता पार्टीका महासचिव राम माधवको संस्थासँग मिलेर काठमाडौँमा गर्ने गोष्ठीमा पनि राष्ट्रपति मुखर्जी सहभागी हुने कार्यक्रम छ ।

उताबाट एमजे, यताबाट जीवन

६० भन्दा बढी सदस्य सहभागी रहने भारतीय राष्ट्रपति मुखर्जीको भ्रमण टोलीमा भारतीय सरकारका तर्फबाट विदेश राज्यमन्त्री एमजे अकबर सहभागी हुनेछन् । टोलीमा केही सांसद, पत्रकार र व्यापारी पनि रहने बताइएको छ । तीमध्ये ३५ जनाको खर्च नेपाल सरकारले बेहार्नेछ । गत भदौको अन्तिम साता प्रधामन्त्री दाहाल भारत जाँदा सयजनाभन्दा बढी सदस्य गए पनि भारते ३५ जनाको मात्रै खर्च बेहोरेको थियो ।

नेपालका तर्फबाट राष्ट्रपति मुखर्जीको सवारीमन्त्रीका रुपमा पर्यटनमन्त्री जीवनबहादुर शाहीले भूमिका निर्वाह गर्नेछन् ।

6 पटक पढिएको

    
        Loading...     
    

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

        
            Loading...     
        

    अन्तरवार्ता

    समाचार