Presidential

शीला


शीला

‘त्यस दिनको तिनको हेराइमा मेरो कोट नै प्रमुख महत्वको थियो ।’ मैले मनमनै सम्झेँ ।

त्यो हप्ता म करिबकरिब अफिसमा अनुपस्थित भएँ । निकै चर्चापरिचर्चाहरू चलेछन् मेराबारे । अफिसमा बितेको हप्ता खास काम केही थिएनन् ।

मैले आफूलाई राजधानीको धपेडीयुक्त जीवनबाट केही दिन भए पनि ‘रिल्याक्स’ गर्न यसपटक नुवाकोटको ककनीलाई रोजेको थिएँ ।

म सात दिनको क्यावि लिएर सरासरी बालाजुको माछापोखरी नेरको नुवाकोट बस काउन्टरमा गएँ ।
बस लागिरहेको रहेछ ।

मैले टिकट काटेँ । मेरो सिट क्याबिनमा परेछ । म आफ्नो मेरो टिकटमा लेखेको नम्बर खोज्दै बसमाथि उक्लिएँ । गएर सिट हेरेँ । सँगैको सिटमा एउटी युवती बसेकी रहिछन् । मैले मेरो झोला उनीलाई हेरिदिन भन्दै म पानपराग किन्न ओर्लिएँ ।

म बसमा चढ्दा बस लगभग हिँड्न लागिरहेको थियो । ड्राइभर आफ्नो सिटमा बसेर हर्न लगाइरहेको रहेछ –प्वाँप्वाँ …..प्वाँप्वाँ….. ।

बस हिँड्यो । हामी दुवै हल्का परिचयमा आयौँ ।

मैले मेरो परिचय यसरी दिएँ –‘मेरो नाम नृपेश ढकाल । घर चितवन । म हिजोआज ‘शान्तिपुर’मा पत्रकारिता गर्छु । बसाइँ त्यहीँ बालकुमारीनेर । समाजशास्त्रको स्नातकोत्तर ।’

उनले जवाफमा चुइगम तेस्र्याउँदैँ भनिन्– ‘दाइ म शीला पाण्डे । ताहाचलमा बीएड्, तृतीय वर्षकी विद्यार्थी । मेजर विषय मेरो जनसंख्या हो । म परीक्षा सकेर घर हिँडेकी । पहाडमा मेरा बाआमा, दाजुभाइ, दिदीबहिनीहरू छन् । म घरकी माहिली छोरी । दिदी बिहे गरेर आफ्नो घर गइसक्नु भयो । घर बट्टार नगरपालिका चारमा पर्छ ।’

ओखरपौवा कटिसक्दा हामीले अर्कोपटक एकएकवटा चुइगम खायौँ । मैले मेरो झोलाबाट दुई पोका वाइवाइ झिकेँ । एउटाको मुख च्यातेर उनीपट्टि सोझ्याएँ ।

‘बैनी लिऊँ न ।’ मैले भन्न नपाई उनले भनिन्– ‘दाइ म यात्रामा केही पनि लिन्नँ ।’ मैले निकै जिद्दी गरेपछि उनले अलिकति आफैँले खन्याएर लिइन् ।

अर्को पोका खोलेँ तर त्यसको अहिले आवश्यकता परेन । मैले त्यो मेरो झोलाको चेन खोलेर भित्रै राखेँ । उनले उनका हातको पोको मेरो हातमा थमाइन् । मैले भने– ‘धन्यवाद ।’

यति भनिसक्दा बस चियाखाजा खाने जिरो किलो भन्ने स्थानमा रोकिएको थियो ।

भर्खर असार लागे पनि त्यो ठाउँमा मनग्गे कुहिरो लागेको थियो । ठाउँको नामचाहिँ के थियो मैले बिर्सिएँ । हुन् त उनले दुईतीन चोटी त्यसको नाम भनेकी थिइन् तर मलाई हेक्का भएन ।

म मेरो दिमागमा धेरै दिनदेखिको मेरो उपन्यासको प्लटका लागि पात्र खोजिरहेको थिएँ । ममा नेपाली उपन्यासमा हङ्गामा खडा गर्ने खालको उपन्यास लेख्ने भित्रैदेखिको जोश दुईतीन महिनादेखि मडारिइरहेको थियो ।

मैले जबजब नयाँ कृतिहरू लेख्ने गरेको थिएँ । त्यसबेलामा म राजधानीबाट छोटो छुट्टी लिएर केही दिन भए पनि हराउने गर्थेँ । आज त्यसैगरी हराएको थिएँ । कथाको खोजीमा । कथा भनेको उपन्यासको कथाको खोजीमा ।

आजकाल कथा खोज्न आख्यानकारहरू लेखन कुटीमा जान्छन् । दमडी हुनेहरू नगरकोट र धुलिखेल जान्छन् । मसँग दमडी थिएन । त्यसैले मैले नुवाकोटलाई रोजेको थिएँ ।

अँ ! हामीले त्यो सानो बजारमा चियाखाजा खायौँ ।

मैले पैसा तिरेँ । बर्खाको समय भए पनि उचाइमा रहेका कारणले त्यो ठाउँको हावापानी जाडोजाडो थियो । मैले त्यसदिन मेरो मन पर्ने र मैले बिहेमा सिलाएको उही धर्के पुरानो कोट लगाएको थिएँ । त्यसैले मलाई जाडो छलेको थियो । मलाई पैसा नतिर्न तिनले निकै अनुरोध गरिन् तर मैले मानिनँ ।

मैले भनेँ– ‘म जागिरे, तिमी एउटी शिक्षार्थी ।’ उनले अफ्ठ्यारो मानिन् । मैले त्यसलाई सहज रूपमा लिएँ । अक्सर गरी म यात्रामा केही न केही कच्याक्कुचुक् खाइरहन्छु । हुन् त मेरो चुरोटको अम्मल छ । हिजोआज बस यात्रामा यात्रुहरूलाई बसभित्र चुरोट पिउन दिँदैनन् । फेरि हामीजस्ता बुझेकाहरूले जिद्दी गरेर खानु पनि त भएन । त्यसैले म आफ्नो तलतल मेटाउन चुइगम र पानपरागजस्ता केही न केही मुखमा हालेर चपाइरहन्छु ।

अलिपर पुगेपछि ससाना केटाहरू स्ट्रबेरी बोकेर बसमा चढे । तिनले केही रूपैयाँको स्ट्रबेरी किनिन् । मैले एउटासँग काँक्रो किनेँ । उनले मलाई अलिकति स्ट्रबेरी दिइन् । मैले उनलाई एक चिरो काँक्रो दिएँ । गाडी उबड्खाबड् बाटामा कहिले डिस्को त कहिले भाङ्डा नाँच्दै अगाडि बढ्दै गयो ।

गफिँदै हिँडेका हामीलाई कतिखेर ककनी पुगियो ? कतिखेर तादीको पुल तरेर नुवाकोट पुगियो ? पत्तै भएन ।

हामी विदुर पुग्दा दिनको एक बजेको थियो ।

गाडी माथि त्रिशूली बजारसम्म पुग्ने रहेछ । मेरो त्यति धेरै लगेज पनि थिएन । त्यसैले म पनि उनीसँगै त्रिशूली बजारसम्म जाने भएँ । हुन् त मेरो यात्रा र टिकट पनि विदुरसम्म मात्रै थियो । फाँटिलो परेको विदुरलाई स्थानीय मानिसहरू बट्टार पनि भन्दा रहेछन् ।

अति गर्मी थियो– त्यसबेला बट्टारमा ।

हामी रहलपहल गफ बिट मार्दै त्रिशूली पुग्यौँ ।

उनी अब आफ्नो बसयात्रा सकेर हिँड्ने तर्खर गर्न थालिन् ।

मैले खाजाको अफर गरेँ । तिनले पहिले त मानेकी थिइनन् तर मैले धेरै कर गरेपछि स्वीकृतिको सूचक टाउको हल्लाएर चिनेको एउटा स्थानीय होटलमा अघि लागिन् । म तिनको पछिपछि लागेँ त्यसरी, जसरी लैनो गाईको पछाडि उसको काखको बाच्छो पछिपछि लाग्छ । केही उत्सुकता र केही रोमाञ्चकताले मलाई भित्रभित्र काउकुती लगाएको थियो ।

मेरो मनमा अनेक कुराहरू खेल्न थाले ।

मैले त्यहाँ चाउचाउ र दुईवटा फेन्टा मगाएँ । म भित्रको लेखकले तिनलाई पात्र बनाउन अह्राउँदै थियो । तर, त्यो समय लेख्नका लागि सोच्ने समय थिएन । हामी खाजा खान थाल्यौँ । खाजा खाइसकेपछि उनी मसँग बिदा हुन चाहिन् । मैले आफ्नो भिजिटिङ् कार्ड दिएँ । उनले आफ्नो मोबाइलको नम्बर दिइन् । मैले उनको नम्बर मेरो मोबाइलमा सेभ गरेँ ।

जाने बेलामा मैले उनीसँग हात मिलाउन खोजेँ । उनले नमस्ते गरिन् । मलाई आजै उनीसँग भएको सामान्य परिचय र गाढा मित्रताका कारण उनीसँग छुट्टिन मनले मानिरहेको थिएन । तर उनी गइन् । मैले

कस्तोकस्तो खल्लो महसुस गरेँ ।

ं ं ं

म आफ्नो हप्ता दिनको क्यावि सकेर राजधानी फर्किएँ । मैले त्यहाँ नुवाकोट भ्रमणमा आफ्नो एकजना त्यहीँका स्थानीय शिक्षक साथीसँग उनैको मोटरसाइकलमा नुवाकोटको साततले दरबार, त्रिशूली जलविद्युत् केन्द्र र देवीघाट अवलोकन गरेँ । मेरा ती साथीको नाम हरि पाण्डे हो । उनी चुहाडे मावि भन्ने बट्टारकै एक स्थानीय स्कुलमा विज्ञान विषय पढाउँछन् । तिनी मैले सङ्गत गरेका असाध्यै थोरै र मिल्ने साथीहरूमध्ये पर्दछन् ।

शीलासँगको विदाइपश्चात् मैले नै हरिजीलाई मोबाइलमा सम्पर्क गरेँ । मैले भनेको ठाउँमा उनी एक मिनेटको पनि फरक नपारी मलाई लिन आए । मैले उनका घरमा लैजानका लागि केही फलफूल किनेको थिएँ । हामी उनैको मोटरबाइकमा उनको घर गयौँ । तीन दिनको आतिथ्यमा मैले उनको घरलाई मन्दिरका रूपमा पाएँ । तिनी संगीतमा असाध्यै दिलचस्पी दिने स्वभावका रहेछन् । बाबु सामान्य जजमान गर्दा रहेछन् । पण्डितजी भनेपछि सारा विदुरले उनका पिताजीलाई चिन्दो रहेछ ।

हरिले शीलालाई पनि चिन्दा रहेछन् । पछि उनीसँग कुराकानी गर्दा के थाहा भयो भने शीला त उनकै गाउँकी बहिनी नाता पर्ने रहिछन् । त्यो कुरा थाहा पाएपछि ममा शीलाप्रति अझ् माया बढेर गयो । साथीले शीलाका बारेमा निकै कुरा भनेका पनि थिए । शिलाको जीवनप्रतिको दृष्टिकोण र संघर्षशील व्यक्तित्वको जानकारी पाएर मैले शीलालाई अब आफ्नै मनमा कसोकसो सजाउन पो थालेछु ।

त्यसपछिका केही दिन म मेरो अखबारीय काममा यति बेफुर्सदिलो भएँ कि मैले मेरो नुवाकोट भ्रमण, शिलासँगको परिचय र अनन्य मित्र हरिजीको घरमा मलाई प्राप्त भएको आतिथ्यता आदि सबै भुलिसकेको थिएँ ।

राजधानीको बेफुर्सदी जीवनका घडीपलाहरूमा फन्फनी म घुम्दै गएँ ।

एकदिन म मेरो पत्रिकाको कार्यालयमा बसेर सम्पादकीयलाई कम्प्युटरमा लेखी फाइनल प्रुफ हेर्दै थिएँ । अचानक मेरो मोबाइलमा एउटा म्यासेज आयो । मैले त्यसलाई हेरेँ । त्यसमा लेखिएको थियो –‘प्लिज कन्ट्याक्ट मि सुन ।’

मैले मोबाइलमा तिनको नम्बर सर्च गरेँ । फोन लाग्यो । उठ्यो । तिनी बोलिन् । तिनको बोलीमा शालिनता थियो । निकैबेरको कुराकानीपछि तिनले मलाई फेरि समय मिलेमा नुवाकोट भ्रमणको निम्तो दिइन् । मैले ‘ओके’ भन्दिएँ । त्यसपछि म फेरि आफ्नै सम्पादन कार्यमा तन्मय भएँ । पछि निकै हप्तासम्म तिनको न मलाई म्यासेज नै आयो, न मैले तिनलाई फोन गर्न नै भ्याएँ ।

म आफ्नो घर, जागिर र लेखनमा दौडिरहेको थिएँ । एकदिन काम विशेषले एउटा प्रकाशककहाँ जान भनेर पुतलीसडकबाट शंकरदेवतिर लाग्दै थिएँ । कुमारी बैङ्कअगाडि एउटी नारी आवाजले बिस्तारी बोलायो– ‘ढकाल सर ! हेलो ढकाल सर !’

हेरेँ । उनी शिला रहिछन् । छक्क परेँ । कुराकानी भयो । तिनी हिजो नै काठमाडाँै आएकी रहिछन् ।

यसपटक तिनी निकै उदास थिइन् । कारण सोधेँ । उनले बताइन्– ‘टेन्सन छ सर, मलाई सारै टेन्सन छ ।’
म सुन्दै गएँ । तिनी भन्दै गइन्– ‘मेरो परिवारमा उथलपुथल भयो । यसैपाला बिहे गरेको मेरो दाइको घर नबन्दै बिग्रियो । मैले दाइलाई कति सल्लाह दिएँ । तर वहाँले मान्नु भएन् । दाइ आफैँमा पढेलेखेको मानिस हो । अंग्रेजीमा एम्ए । भाउजू पनि इपिएम्मा एम्एड् । मैले वहाँहरूलाई केकसरी काउन्सिलिङ गर्ने मेलोमेसो पाइनँ । म त भर्खर ब्याचलर सकेकी वहाँहरूकी फुच्ची बहिनी । मेरो भन्नु एकमात्र दाजु हुनुहुन्थ्यो । वहाँको जीवन त्यसरी बिहेपछि बिग्रन्छ भन्ने मलाई थाहा भएको भए म ती भाउजू भएर आउने केटीसँग बिहे गर्ने सल्लाह दिने थिइनँ ।’ त्यसपछि शीलाले धेरै कुरा भनिन् । मैले आज म बिजी भएकाले उनलाई मेरो गर्नुपर्ने काम बताएँ ।

हामी छुट्टियौं । त्यसपटक उनैले मलाई नजिकैको कफी सपमा कफीको रिक्वेस्ट गरिन् । हतारहतारमा हामी कफी लिएर फोन गर्ने सल्लाहका साथ छुट्टियौँ ।

भएछ के भने ? तिनको दाजुको त्यही असारमा एउटी तनहुँ तिरकी केटीसँग अपर्झट बिहेको कुरा छिनिएछ । तिनी आफ्नो विद्यार्थी जीवनमा निकै मेधावी रहिछन् । आफ्नो साथी सर्कलमा तिनीले पढाइलेखाइमा निकै तहल्का मच्चाएकी रहिछन् । पछि आफ्ना साथीहरूको कसैको धनी बेपारीसँग, कसैको ठूल्ठूला पदका कर्मचारीसँग बिहे भएकाले तिनी सारै निराश भएकी रहिछन् । तिनको एउटै मात्र धोको भनेको लोग्ने सक्षम र कुस्त पैसा कमाउने हुनु पथ्र्यो भन्ने रहेछ । उनका दाजु लोते खालका डिग्री होल्डर भएकाले तिनले सुरूसुरूमै आफूलाई खरो रूपमा प्रस्तुत गर्न थालिछन् ।

दाइ पनि कोचिल्गाँडे स्वभावका रहेछन् । बिहेको कुरा छिनेको दिनमै केटीसँग एक्लै कुरा गरेर ‘तेरो कसैसँग लभसभ केही छ कि छैन ?’ भनेर सोधेका रे ! ‘यस्तो पनि कहीँ सोध्नु हुन्छ त ?’ शीलाले मसँग भन्थी– ‘पछि पो हामीले थाहा पायौँ । दाजुको पनि आफ्नै गाउँकै एउटी केटीसँग र भाउजूको पनि वहाँकै एकजना केटासँग लभ रहेछ ।’

दुईजना दुईतिरबाट इन्गेज भएपछि विवाहको पहिलो रात नै दुवैले दुवैलाई शङ्का गर्न थालेछन् । भाउजूले फेरि दाजुको अस्थायी मास्टरको जागिरलाई ‘जागिर नै होइन’ भन्ने सम्मका कुरा कड्केर भनेपछि दाजु एक्कासी राँक्किएछन् । महिना दिनमै तिनीहरू डिभोर्स गर्नेसम्म निर्णयमा पुगी सकेछन् ।

‘त्यो थाहा पाएर मलाई निकै तनाव भयो । आफूले जीवनको गति सुरू गरेकै छैन । भएका एकजना अभिभावकजस्ता दाजुको दाम्पत्यमा त्यसरी धमिरा लागिसकेपछि मलाई हुन सम्मको पिर भैरहेछ ।’ शीलाले फेरि एकदिन मलाई एस्एम्एस् गरेर लेखेपछि मलाई पनि ननिको लाग्यो ।

मैले त्यसपछि शीलाका बारे सोच्नै छाडिदिएँ । किनकि उनका दाजु भाउजूको खट्पट दाम्पत्यको औषधि मसँग थिएन । मलाई पनि शीलाका दाजु भाउजूको जीवनशैली सम्झ्यो कि दिग्मिग्दिग्मिग् लागेर आउन थाल्यो ।

ं ं ं

मैले लेख्न थालेको ‘खोज’ नारीप्रधान उपन्यासमा निकै दिनदेखि कथाको प्रसङ्ग अगाडि बढिरहेको थिएन । कथामा या उपन्यासमा त्यहाँ भित्रको कथा क्लाइमेक्समा पुग्न लागेपछि हामी लेखकलाई एक किसिमको औडाहा हुँदो रहेछ । जब मैले नुवाकोट भ्रमणमा शीला र उनको कथाव्यथा नजिकैबाट नियाल्ने अवसर पाएँ । त्यसदिनदेखि म प्रायः दिनहूँ दैनिकी लेख्न थालेको थिएँ ।

मैले निकै महिना दैनिकी लेखेँ ।

आख्यान लेख्ने मानिसका लागि दैनिकीले लेखन विषयवस्तुहरू लेख्न मद्दत गर्छन् भन्ने सुनेको थिएँ । एकपटक जब कथा टक्क अडियो । मैले मेरो ल्यापटप खोलेँ, जहाँ मेरा दैनिकीहरू निकै महिनादेखि लिपिबद्ध गरेर राखिएको थियो । मैले मेरो उपन्यासकी नायिकाका रूपमा किनकिन शीलालाई नै रोजेँ । मेरो ‘खोज’ शीर्षकीय उपन्यासको कथालाई अघि बढाउन मैले शीलासँग भेट भए पछिका दैनिकीहरू ‘दैनिकी–२०७३’ फोल्डरबाट ‘कपी’ गरेर ‘खोज’ उपन्यासमा पेस्ट गरिदिएँ र इडिटिङ् गर्न लागेँ …..।

मेरो उपन्यास अझै तयार भएको छैन । प्रकाशक मोरो दिनरात मलाई मोबाइलमा झक्झक्याइरहन्छ । म अपूरो उपन्यास अलिकति ल्यापटपमा र अलिकति दिमागमा राखेर धपेडीको जीवनमा पसिनाले नुहाइरहेको छु ।

शीलालाई सम्झँदै । लेखन यात्राकी सहयात्री शीलालाई सम्झँदै । ……।

    
        Loading...

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

  • सहरमा बाँच्न मर्न जान्नुपर्छ

    सहरमा बाँच्न मर्न जान्नुपर्छ

    हो, सहरले उसलाई पटकपटक ठगेको छ । यो सहरका मान्छेहरू मतलबी र स्वार्थी छन् । यो कुरा उसले साँचै भनेको हो । उसले ..

  • ‘तपाईँहरूले मैले गर्न नसक्ने कुरा माग्नुहुन्छ कि भन्ने डर लागेको थियो । यो समस्या त मेरा लागि केही होइन, बायाँ..

  • यस्तो हुनुहुन्थ्यो राजेश्वर देवकोटा

    यस्तो हुनुहुन्थ्यो राजेश्वर देवकोटा

    बागबजारको सडकमा बराबर एक जोर मान्छे हिंडेका देखिन्थे । एक जना निकै अग्ला, डम्म जिउडाल भएका र अर्का चाहिँ निकै ..

  • अमर शाहका दुई कविता

    अमर शाहका दुई कविता

    यसरी फर्कदा जन्म गाउँमा लामो अन्तरालपछि खाटा बस्दै गरेको घाउ कन्याएझैं गरिरहेछु अनुभव लगातार पीडा र आनन्दको..

    
        Loading...     
    

अन्तरवार्ता

समाचार