Presidential

घनश्याम भुसाल र शंकर पोखरेल : भावी नेतृत्वका लागि निरन्तर टक्कर


घनश्याम भुसाल र शंकर पोखरेल : भावी नेतृत्वका लागि निरन्तर टक्कर

जति वैचारिक क्षमता छ, ठीकविपरीत सांगठनिक क्षमता कमजोर रहेका कारण दुवैले भावी दिनमा मूल नेतृत्व सम्हाल्ने आधार कमजोर छ ।

उपमहासचिव घनश्याम भुसाल र स्थायी समिति सदस्य शंकर पोखरेल एमालेका स्थापित वैचारिक नेता हुन् । एमालेका नेता–कार्यकर्ता मात्रै होइन, अरु दलमा समेत दुवैको वैचारिक क्षमताको प्रशंसक छन् । अध्ययन, विश्लेषण, लेखन र वाककलाबाहेक दुवैले ‘वैचारिक मास लिडर’को छवि बनाएका छन् । पार्टीभित्र हुने अन्तरसंघर्ष होस् या महाधिवेशन, तीन दशकदेखि कहिल्यै एउटै समूह(गुट)मा नरहेका यी दुईबीच एमालेको भावी नेतृत्वका लागिसमेत प्रतिस्पर्धा रहेको चर्चा छ । यद्यपि, जति वैचारिक क्षमता छ, ठीक विपरित सांगठनिक क्षमता कमजोर रहेका कारण दुवैले भावी दिनमा मूल नेतृत्व सम्हाल्ने आधार कमजोर रहेको एमाले वृत्तमा टिप्पणी हुने गर्छ ।

प्रस्तुत छ, दुईबीचको सम्बन्ध

विद्यार्थी आन्दोलनमा भेट

उपमहासचिव भुसाल र स्थायी समिति सदस्य पोखरेल दुवै विद्यार्थी आन्दोलनबाट राजनीतिमा उदाएका चर्चित नेताहरु हुन् । भुसाल २०३६ सालबाटै विद्यार्थी संगठनमा जोडिए भने पोखरेल पनि त्यही हाराहारीमै भारत प्रवासबाट विद्यार्थी राजनीतिको नेतृत्व गर्दै अघि बढेका हुन् । अखिल भारत नेपाली स्वतन्त्र विद्यार्थी युनियनका तत्कालीन अध्यक्ष पोखरेललाई २०४३ सालमा पार्टीले काठमाडौंमा बोलाएर अखिलको वागमती अञ्चल कमिटीमा राखेको थियो । पोखरेल त्रिभुवन विश्वविद्यालय केन्द्रीय क्याम्पस किर्तिपुरको स्ववियु सभापतिमा निर्वाचित भएपछि एकाएक विद्यार्थीमाझ चर्चित भए । पोखरेल भारत प्रवासबाट फर्किएपछि विद्यार्थी राजनीतिको दौरानमै दुईबीच भेट भएको उनीहरुका समकालीन एमाले नेता योगेश भट्टराई बताउँछन् ।

भुसाल २०३६ सालमा स्कुले जीवनमै सम्पन्न अखिलको पाँचौं राष्ट्रिय सम्मेलनबाट केन्द्रिय कमिटी सदस्य भएका थिए । छैटौं सम्मेलनबाट टंक कार्की नेतृत्वको कार्यसमितिमा सदस्यमै दोहोरिए । सातौं सम्मेलनमा भुसालको समूहले सम्मेलन बहिष्कार ग¥यो भने आठौंमा उनी तेस्रो पटक केन्द्रीय सदस्य चुनिए । कमिटीगत रुपमा भुसाल र पोखरेलको भेट त्यहीँ भएको हो, जहाँबाट पोखरेल पनि केन्द्रीय सदस्य बने । नवौं सम्मेलनबाट तुलबहादुर गुरुङ नेतृत्वको कार्यकालमा भुसाल महासचिव र पोखरेल कोषाध्यक्षमा निर्वाचित भए । त्यसयता दुई नेताबीच निरन्तर दुई ध्रुवीय टक्करको सम्बन्ध रहेको एमाले वृत्तमा चर्चा हुने गर्छ ।

अखिलको नेतृत्वका लागि टक्कर

२०४६ को संयुक्त जनआन्दोलनताका भुसाल महासचिवको हैसियतमा विद्यार्थी फाँटको नेतृत्वमा थिए भने पोखरेल त्रिविविको स्ववियु सभापति । भुसालले संगठन र पोखरेलले स्ववियु काउन्सिल संयोजकको हैसियतमा अखिलका तर्फबाट पञ्चायतविरुद्ध नेविसंघसहित ९ विद्यार्थी संगठन सहभागी संयुक्त विद्यार्थी आन्दोलनको अग्रमोर्चामा रहेर नेतृत्व गरे । आन्दोलनमा उस्तै सशक्त भूमिकाका कारण यी दुई पुल्चोकमा सम्पन्न दशौं सम्मेलनमा अध्यक्षका प्रतिस्पर्धीका रुपमा खडा भए । कसलाई अध्यक्ष बनाउने भन्नेमा पार्टीमा पनि ठूलै लफडा प¥यो । पार्टीले कोषाध्यक्ष पोखरेललाई बनाउन चाहेको थियो भने भुसाल विद्यार्थीमाझ उत्तिकै लोकप्रिय थिए । तर अन्तिममा पार्टीले तुलबहादुरलाई दोह¥याएर पोखरेललाई उपाध्यक्ष बनायो भने भुसाल पनि महासचिवमै दोहरिए । ०४७ सालमा तत्कालीन माले र माक्र्सवादीबीच एकीकरणपछि दुबैका विद्यार्थी संगठनबीचको एकतासँगै गुरुङ र भुसाललाई विदा गरेर पार्टीले पोखरेललाई अध्यक्ष बनायो । एघारौं सम्मेलनबाट पोखरेल अध्यक्षमा निर्वाचित भए । भुसाल चाहिँ विद्यार्थी राजनीति छाडेर गृह जिल्ला रुपन्देही फर्किए र जिल्ला सचिव बनेर पार्टी राजनीति सुरु गरे ।

पोखरेलको उदय, भुसाल छायाँमा

खासमा पार्टीभित्र २०४६ सालपछिको अन्तरसंघर्षमा पोखरेल तत्कालीन पार्टी महासचिव मदन भण्डारीले धेरै मन पराउनेमा पर्दथे भने भुसाल चाँही महासचिवबाट हटाइएका सिपी मैनालीको अल्पमत समूहका थिए । पार्टी नेतृत्वले मन पराएकै कारण पोखरेलले दुई पटक अखिल अध्यक्ष बन्ने मौका पाए भने भुसाल चाँही दुई पटक महासचिव बनेर पनि अध्यक्ष हुन नपाई विदा हुन बाध्य भए । भण्डारीले मन पराएकै कारण उनको निधनपछि समकालीन नेता योगेश भट्टराईलगायतले पोखरेललाई उदयीमान नेताका रुपमा प्रस्तुत गर्ने गर्थे ।

पार्टीले पोखरेललाई रुचाए पनि तिनताका विद्यार्थीहरुबीच भुसाल पनि लोकप्रिय थिए । ०४६ मा विद्यार्थी संगठनसँग एकता गरेर आन्दोलनमा नजाने हो भने उपलब्धि हासिल नहुने भन्दै पार्टी नेतृत्वलाई दबाब दिने काम भुसालकै अगुवाईमा भएको बताईन्छ । ‘‘आजको आवश्यकता संयुक्त संघर्ष, प्रजातन्त्रको निम्ति पञ्चायतको अन्त्य’’ भन्ने त्यसबेलाको नाराको मस्यौदाकार भुसाल नै थिए । तर, भण्डारीसहित पार्टी नेताहरुबाट मन पराइएका पोखरेलले उचाई लिँदै गए भने भुसाल छायाँमा परे ।

सीपीका पक्षमा लाग्दा भुसाललाई घाटा

पाचौं महाधिवेशनताका एमालेमा मदन भण्डारी, माधव नेपाल, जीवराज आश्रित, केपी ओली, वामदेव गौतमलगायतका नेताहरु एकातिर र सिपी मैनाली, झलनाथ खनाललगायतका नेताहरु अर्कातिर उभिँदा पोखरेल पहिलो र भुसाल दोस्रो कित्तामा उभिए । पार्टीको ठूलो पंक्ति भण्डारीले अघि सारेको जनताको बहुदलीय जनवादका पछि लाग्यो । तर, भुसाल त्यसमा सहमत भएनन् । सोभियत संघको विघटनपछि भुसालले लेखेको ‘अदालतमा उभिएको समाजवाद’ शीर्षक’ लेखलाई मदनले पनि खुबै प्रशंसा गरेका थिए । २०४७ मा दृष्टि पत्रिकामा छापिएको त्यो लेखमा उनले कम्युनिष्ट पार्टीले समाजवादी धार नै पक्रेर अगाडि बढ्नुपर्छ भन्ने निष्कर्ष निकालेका थिए । वैचारिक क्षमतामा प्रखर भुसालले मैनालीलाई वैचारिक साथ नदिए पनि किनारामा पर्दा छायाँमा परे । तर भुसाल कहिले पनि आफू जवजको बिरोधी नरहेको र समय परिस्थितिले आफूलाई त्यतिबेला बिरोधी कित्तामा उभ्याएको प्रष्टिकरण दिने गर्छन् । यद्यपि, उनी नौलो जनवादको वकालत गर्ने मैनाली र बहुदलीय जनवादलाई दक्ष प्रजापतिको टाउको भन्दै आलोचना गर्ने खनालसँग व्यक्तिगत रुपमा बढी निकट थिए ।

उता, अखिल अध्यक्ष छ“दै पोखरेलले जनताको बहुदलीय जनवादको कार्यक्रमलाई ‘‘कार्यक्रम मात्रै होइन, सिद्दान्त बनाउनुपर्छ’’ भनेर वकालत गर्न थालेपछि उनको लोकप्रियता चुलिदैं गयो । उनले त्यतिबेलै ‘हरेक कार्यक्रमले स“गै सिद्दान्त लिएर आएको हुन्छ’ भनेर कार्यपत्र नै प्रस्तुत गरेका थिए । नभन्दै एमालेले छैटौं महाधिवेशनपछि जवजलाई सिद्दान्तका रुपमा ग्रहण गरेका कारण पोखरेललाई दूरदृष्टि भएको नेताका रुपमा उनका समर्थकहरुले प्रचार गरे, व्यक्तित्वले उचाई लियो ।

पार्टी विभाजन हुँदा दुई किनारा

छैटौं महाधिवेशनमा जनताको बहुदलीय जनवादका विषयमा विमति नभए पनि महाकाली सन्धी, भारत र अमेरिकालाई हेर्ने दृष्टिकोणलगायत विषयलाई हेर्ने कार्यनीतिका प्रश्नमा देखिएको भिन्नताले २०५४ मा एमाले विभाजन भयो । त्यसबेला पोखरेल मूल पार्टीमै रहे भने भुसाल मालेतिर लागे । भुसाल चार वर्षपछि एमालेमा फर्किंदासम्म पोखरेललेले पार्टीमा सैद्दान्तिक, वैचारिक नेताका रुपमा बेग्लै पहिचान र स्थान बनाइसकेका थिए । सातौं महाधिवेशनको ठीक एक वर्षअघि अर्थात ०५८ सालमा पार्टी एकता भएको र विचारमा पनि खास भिन्नता नभएकाले यी दुईबीच टक्कर चाँही परेन । यद्यपि, त्यो महाधिवेशनमा एमालेका प्रतिनिधिहरु माधवकुमार नेपाल र केपी शर्मा ओलीका पक्षमा विभाजित थिए । छैटौँ महाधिवेशबाटै केन्द्रीय कमिटीमा निर्वाचित पोखरेल सातौँबाट केन्द्रीय कमिटीमा पुनःनिर्वाचित भए । उता भुसाल भने सूचीमा नपर्दा केन्द्रीय सदस्यमा थोरै मतान्तरले पराजित भए ।

त्यसपछि भुसालले खासै जिम्मेवारी पाउन सकेनन् र केन्द्रीय प्रचार विभाग सदस्यको सामान्य जिम्मेवारीमा रहे । पार्टी कामको खास महत्वपूर्ण जिम्मेवारी नहुँदा भुसाल अध्ययन–अनुसन्धान र किताव प्रकाशनका काममा बढी सकृय बन्दै गए । त्यही अध्ययन, अनुसन्धान र चिन्तनबाट नै उनले पार्टीभित्र क्रमशः गुमेको पहिचान पुनस्र्थापित गर्दै राजनीतिक–वैचारिक क्षेत्रमा उपस्थिति मजबुद बनाउँदै गए । पोखरेलले भने २०५९ सालमा सम्पन्न सातौं महाधिवेशनमै उग्रवामपन्थी आन्दोलनको अवतरण र मुलुकको निकासका लागि पार्टी संविधानसभाको एजेण्डामा जानुपर्ने प्रस्ताव गरेर पार्टी पंक्तिका साथै राष्ट्रिय राजनीतिलाई तरंगित पारे । परिस्थितिले एमालेलाई त्यही ठाउँमा पु¥याएपछि पोखरेललाई त्यसबाट अतिरिक्त लाभ मिल्यो, ‘भिजनरी’नेताका रुपमा स्थापित भए ।

दुई खेमाका वैचारिक नेता

सातौं महाधिवेशनमा पराजयपछि अध्ययन, अनुसन्धान र विश्लेषणको क्षेत्रमा गहिरिएर लागेका भुसालले नेपाली समाजको चरित्र र पार्टीको कार्यदिशालाई चुनौति दिनेगरी आठौँ महाधिवेशनमा पूरक प्रस्ताव ल्याए, योगेश भट्टराईलगायत १८ जना उदीययमान युवा नेताहरुले साथ दिए । तत्कालीन महासचिव झलनाथ खनालको राजनीतिक प्रतिवेदनलाई चुनौती दिनेगरी पुरक प्रतिवेदन अघि सारेका भुसालले नेपाली समाजको सामन्तवादी चरित्र बदलिएर दलाल पुँजीवादमा रुपान्तरण भएको र २०६२–६३ को जनक्रान्तिसँगै पुँजीवादी जनवादी क्रान्ति सम्पन्न भइसकेको विश्लेषण गरेका थिए । भुसालको प्रस्तावले विचार निर्माणमा भूमिका खेले पनि नेपाली समाजको चरित्र पुरै बदलिसकेको कुरालाई महाधिवेशनले स्वीकार गरेन । तर, त्यसले उनको उचाइँ मात्रै बढाएन, पहिलो पटक केन्द्रीय कमिटीमा पु¥याउन पनि मद्दत ग¥यो ।

भुसालको तुलनामा त्यसबेला लोकप्रिय रहेका पोखरेलले भने जवजको अर्को पाटो पार्टीको आन्तरिक सांगठनिक जीवनको लोकतान्त्रीकणको कुरा उठाउँदै आएका थिए । आठौं महाधिवेशनमा केपी ओलीले बोकेको उक्त प्रस्तावले चर्चा मात्र पाएन, पारित भएर एमाले महासचिवीय प्रणालीबाट अध्यक्षसहितको बहुपदीय संरचनामा गयो । प्रस्तावको पक्षमा रहेका पोखरेल सचिवमा निर्वाचित भए । त्यो महाधिवेशनमा भुसालले खनाल र पोखरेलले ओलीको वैचारिक ‘खम्बा’का रुपमा आफूलाई प्रस्तुत गरेका थिए ।

नवौं महाधिवेशनमा वैचारिक टक्कर

०७१ असारमा सम्पन्न एमालेको नवौं महाधिवेशनअघि नै यी दुई नेताबीच रोचक टक्कर सुरु भएको थियो । एमाले पंक्तिमा युवा र प्रभावशाली नेतादेखि विद्यार्थी र जनवर्गीय संगठनका पदाधिकारी र केन्द्रीय सदस्यहरु दुईबीचको टक्करमा धुरी समाएर विभाजित भए । दुईबीच आरोप–प्रत्यारोपसमेत चल्यो तर सकरात्मक पक्ष व्यक्तिगत आक्षेप यिनले कहिल्यै लगाएनन् । जवज सिद्दान्त भएकाले सबै विषयलाई मार्गदर्शन गरिरहेको भन्दै परिमार्जन गर्न नहुने लाइनमा पोखरेल अडिग थिए भने भुसालले नेपाली समाजको चरित्र बदलिएको र पुँजीवादी क्रान्ति सम्पन्न भइसकेकाले अबको कार्यदिशा समाजवाद हुनुपर्ने भन्दै जवजलाई अझ समृद्ध बनाउनुपर्ने विचारको अगुवाइ गरे । महाधिवेशनको संघारमा राजनीतिक प्रतिवेदन लेखन मस्यौदा समितिमा यी दुईबीच निक्कै चर्को बहस भएको थियो । मदन भण्डारी फाउन्डेशनका नाममा राष्ट्रिय सभागृहमा कार्यक्रम आयोजना गरेर पोखरेलले पुँजीवादी क्रान्ति सम्पन्न नभइसकेको, सामन्तवादको अवशेष बाँकी नै रहेकाले अन्तरबिरोध अझै कायम रहेको भन्दै छुट्टै कार्यपत्र प्रस्तुत गरेर भुसालभन्दा फरक धार देखाए । तर, महाधिवेशनमा केपी ओलीका पक्षमा रहेका वामदेव गौतमले सोही मञ्चबाट पोखरेलको कुराको खण्डन गर्दै भुसालदकै जस्तो धारणा अघि सारेपछि उनलाई नचिढाउनका लागि त्यसपछि पोखरेलले बहस अघि बढाएनन् । महाधिवेशनका लागि प्रस्तुत गरिने दस्तावेजमा भुसालले लिएको अडान अनुसार नै नेपाली समाजको चरित्र बदलिएको, पुँजीवादी क्रान्ति सम्पन्न भएको विचारमा सर्बसम्मत्ति देखा परेपछि पोखरेलले फरक मत राखेनन् । अन्तत ः महाधिवेशनले मूलतः भुसालकै ‘लाइन’ पारित ग¥यो । यसको फाइदा भुसालले निर्वाचनमा उठाए ।

उपमहासचिवमा रोचक भिडन्त

नवौं महाधिवेशनमा अध्यक्षमा एउटा धुरीको नेतृत्व ओली र अर्कोको नेतृत्व माधवकुमार नेपालले गरेका थिए भने तत्कालीन अध्यक्ष झलनाथ खनाल महाधिवेशन अवधिभर मौन रहे । वर्चश्वका लडाइँमा रहेका यी दुई नेताहरुले निकै अघिदेखि नै आफूलाई भिन्न कित्तामा उभ्याइसकेका थिए । पोखरेलले ओली र भुसालले नेपाललाई साथ मात्र दिएनन्, संयोगवश एउटै पद (उपमहासचिव) मा उम्मेद्वारी समेत दिए । यी दुईबीचको भीडन्तले महाधिवेशन आगामी नेतृत्वको सन्दर्भलाई समेत विश्लेषण गरेर बढी चर्चा पायो । दुई उपमहासचिवमध्ये भुसाल पहिलो मत (१ हजार ८४) पाएर विजय भए भने दोस्रो मत (१ हजार ८३) पाएर विष्णु पौडेल विजयी भए । चार उम्मेदवारमध्ये १ हजार ४६ मत पाएर पाखेरेलले तेस्रा मत ल्याए ।

वैचारिक र अध्ययनशील नेताको पहिचान

भुसाल र पोखरेलबीच वैचारिक क्षमता, अध्ययन–विश्लेषण क्षमतामा धेरै समानता छ । यी दुई नेतालाई एमालेका कार्यकर्ताहरु सम्भावना बोकेका ‘थिङ्क ट्याङ्क’का रुपमा आदर र सम्मान गर्छन् । इतिहास, दर्शन, साहित्य, राजनीति, अर्थशास्त्र, समाजशास्त्रलगायत अधिकांश विषयका जानकार यी दुईले पार्टीभित्र अध्ययन प्रशिक्षण चलाउने पार्टी स्कुल विभागको नेतृत्व गरेका छन् । आठौं महाधिवेशनपछि भुसाल सो विभागका उपप्रमुख थिए भने नवौँ महाधिवेशनपछि पोखरेल उपप्रमुख छन् । नवौं महाधिवेशनपछि भुसालले आफ्नै ‘लाइन’ पारित भएकाले स्कुल विभाग प्रमुख बन्ने चाहना राखे पनि अध्यक्ष ओलीले पोखरेललाई अघि बढाउन चाहे । ‘अध्यक्ष आफैंले स्कुल विभाग राखेर पोखरेललाई उपप्रमुख बनाउनुको अर्थ विश्वाससँगै उत्तराधिकारीको संकेत गर्नु हो’, एमालेकै एक नेताले टिप्पणी गरे, ‘खासमा सीधै पोखरेललाई प्रमुख बनाउँदा विवाद आउने भएकैले अध्यक्ष आफैंले विभाग राखेर घनश्यामलाई रोकिएको हो ।’ उपप्रमुखको हैसियतमा अहिले पोखरेलले विभागमा नियमित कक्षा संचालन गरिरहेका छन् । तर, भुसाललाई प्रशिक्षणका लागि आमन्त्रण नगरिएकोमा उनी पक्षधरहरु भित्रैदेखि असन्तुष्ट रहे पनि दुईबीचको ‘स्कुल इगो’ सार्बजनिक असन्तुष्टिका रुपमा पोखिएको भने छैन ।

पोखरेलले ‘माओवादी उग्रवामपन्थ र प्रजातान्त्रिक निकास’, ‘संविधानसभा र राज्यको पुनर्संरचना’ जस्ता पुस्तक प्रकाशन गरेका छन् भने भुसालले ‘आजको माक्र्सवाद र नेपाली क्रान्ति’, ‘नेपालको अर्थ राजनीतिः संकटको पुनर्उत्पादन र रुपान्तरणको दिशा’, ‘द लेफ्ट डिबेट इन नेपाल’ नामक पुस्तक प्रकाशन गरेका छन् । दुवै नेता नियमित अध्ययन मात्रै गर्दैनन्, बारम्बार विभिन्न पत्रपत्रिका, अनलाइनका साथै पार्टीका मुखपत्रहरुमा कलम चलाउँछन् । अध्ययन र विश्लेषणमा दुवै उस्तै–उस्तै देखिन्छन् । तर राजनीतिक विश्लेषक झलक सुबेदी भने पोखरेलको तुलनामा भुसालको अध्ययनको दायरा केही फराकिलो रहेको बताउँछन् । ‘दुवैजना उस्तै–उस्तै हुन् । तर, घनश्यामको दायारा अलि फराकिलो होला कि भन्ने मलाई लाग्छ’, सुबेदी भन्छन्, ‘जेलभित्र बस्दा साहित्य पढेका कारण मलाई त्यस्तो लागेको हो । तर वैचारिक हिसाबले पार्टीलाई चाहिने विचारका कुरामा दुवै एउटै स्कुलिङका हुन्, त्यसैले अध्ययन, विश्लेषण र लेखनमा दुवै उत्तिक्कै पोख्त छन् ।’

दुवै ‘मास लिडर’ तर संगठनमा कमजोर

भुसाल र पोखरेल एमाले वृत्तमा मात्रै होइन, राष्ट्रिय राजनीतिमै बहस र छलफल, अन्तरक्रिया र सभाहरुमा राम्रो वाककला भएका दक्ष नेताका रुपमा परिचित छन् । छोटो या लामो जतिसुकै समयमा पनि राम्रो शैली र हाउभाउमा ‘मास’लाई प्रभाव पार्न सक्ने क्षमता रहेकाले दुवैलाई मास लिडर मानिन्छ । भुसालको प्रस्तुतिसँगै हाउभाउ बढी देखिँदा यदाकदा पत्याउन गाह्रो जस्तो देखिए पनि सैद्दान्तिक जग अर्थात चुरोसम्म पुगेर कुरा राख्छन् । पोखरेलले सैद्धान्तिकसँगै बढी राजनीतिक ढंगले तथ्य र तर्क प्रस्तुत गर्ने गर्छन् । अर्को पाटो, ‘मास लिडर’ हुँदाहुँदै यी दुवै संगठक भने होइनन् । ‘त्यसैले बाहिर देखिने व्यक्तित्वलाई नै दुवैले नेतृत्वमा पुग्ने शक्ति आर्जनका लागि भरपुर प्रयास गरेजस्तो देखिन्छ’, एमालेलाई बुझेका धेरै राजनीतिक विश्लेषक यस्तै टिप्पणी गर्छन् । आफैँले संगठन व्यवस्थापन र परिचालन गर्ने, कार्यकर्ताहरुसँग नियमित सम्पर्क र घुलमिल गर्ने क्षमतामा दुवै कमजोर रहेकाले वैचारिक, राजनीतिक क्षमता प्रचुर हुँदाहुँदै आफैंले नेतृत्व गरेर नेता बन्ने र शक्ति आर्जन गर्ने सम्भावना दुवैमा कमजोर रहेको एमालेपंक्तिमा टिप्पणी हुने गर्छ ।

अन्तरमुखी र बर्हिमूखी स्वभाव

यी दुईको व्यक्तिगत स्वभाव नितान्त भिन्न छ । पोखरेल अन्तरमूखी स्वभावका छन् र जोकोहीसँग हत्तपत्त घुलमिल भइहाल्दैनन् । समय, परिस्थिति, सन्दर्भ र धेरै प्रभावपछि मात्रै समूह या भेटघाटमा खुल्दै जान्छन् । यस्तो सुस्त अन्तरमुखी शैलीलाई आलोचकहरुले उनमा विलकुलै सांगठनिक क्षमता नभएको भन्दै आलोचना गर्छन् । भुसालको स्वभाव भने ठीक विपरित छ । उनी तत्कालै प्रतिक्रिया जनाइहाल्ने मात्रै होइन, व्यक्ति या समूहमा खुलेर कुराकानी गरिहाल्छन् । तर, आलोचकहरु उनलाई साँघुरो घेराभन्दा माथि उठ्न नसक्ने, आमजनतामा घुलमिल हुन नसक्ने र संसदीय राजनीतिको चरित्र नै नबोकेको भन्दै आलोचना गर्छन् ।

व्यक्तिगत सम्बन्ध राम्रो, आक्षेप छैन

२०४६ सालअघि दुवै नेता एकै ठाउँ बस्थे । पोखरेल अर्का नेता योगेश भट्टराईसँग त्रिभुवन विश्वविद्यालय कीर्तिपुर होस्टेलमा बस्थे भने भुसाल विश्वविद्यायलको मूल गेट नजिकै डेरामा बस्थे । तिनताका उनीहरुबीच बिहान नियमित जस्तै भेटघाट हुन्थ्यो । भुसाल सानो रेडियोमा बीबीसी सुन्दै बिहानै पोखरेल बस्ने होस्टल पुग्थे । त्यसपछि तिनै नेता विक्री भण्डारमा रहेको चिया पसलमा नियमित चिया पिउँथे । दुई नेताबीच त्यतिबेला कैयौँ पटक रातभर राजनीतिक–सैद्दान्तिक बहस हुन्थ्यो । अध्ययनशील पोखरेल र भुसालले पार्टीले लिएको नीति, अखिलको संगठन निर्माणलगायतका विषयमा थुप्रै बहस गर्थे । ‘उहाँहरुबीचको झण्डै तीन दशकदेखिको व्यक्तिगत सम्बन्धमा कुनै फरक आएको छैन जस्तो लाग्छ’, समकालीन नेता भट्टराई भन्छन् । ‘अखिलमा हुँदा धेरै नजिक थियौं । तर, पछि कामको क्षेत्रै अलग रह्यो । पार्टी नेतृत्वले समग्रतामा मप्रति विभेदपूर्ण दृष्टिकोण राख्यो तर शंकरजीमाथि त्यस्तो भएन । त्यसले एक प्रकारको मनोवैज्ञानिक ग्याप भयो’, भुसाल भन्छन्, ‘तथापि, पछि कतिपय मुद्दामा आवश्यक पर्दा छलफल हुन्थ्यो । २०६२–६३ पछि परिस्थितिले एकै ठाउँ काम गर्ने स्थिति निर्माण हुँदा सम्बन्ध राम्रै छ । हामी जुनसुकै बेला अनौपचारिक रुपमा प्रस्तुत हुन्छौं ।’ दुवैले भित्रभित्रै कुरा काट्ने भए पनि सार्बजनिक कार्यक्रममा कहिल्यै पनि नाम किटेर आलोचना गर्ने र आक्षेप लगाउने गर्दैनन् ।

शंकरबारे घनश्याम

पहिलो, उहाँ राष्ट्रिय हितका मुद्दामा निरन्तर प्रतिबद्ध हुनुहुन्छ । दोस्रो, समसामायिक राजनीतिक घटनाक्रमहरुलाई तात्कालिक सूचनाका आधारमा विश्लेषण गर्ने र निष्कर्षका आधारमा मात्रै धारणा बनाउने व्यक्तिका रुपमा उहाँलाई हेर्छु । तेस्रो, राजनीतिक मूल्य–आदर्शप्रतिको उहाँको निरन्तरतालाई सम्मान गर्छु ।

घनश्यामबारे शंकर

पहिलो, घनश्याम भुषालमा आन्दोलनप्रतिको निरन्तरता र निष्ठाको पक्ष छ । अर्को, वैचारिक, राजनीतिक कुराहरु गर्दा उहाँको माक्र्सवादी ज्ञान र सिद्दान्तका बारेमा राम्रो अध्ययन छ । म व्यक्तिगत रुपमा उहाँलाई यसरी नै हेर्ने गर्छु ।

अखिलदेखि अहिलेसम्म दूरी देखिन्छ  : झलक सुबेदी, विश्लेषक

अखिलमा पहिला घनश्यामजी महासचिव र शंकरजी कोषाध्यक्ष भएर काम गर्नुभयो । दोस्रो पटक शंकर उपाध्यक्ष, घनश्याम महासचिव हुनुभयो । तिनताका घनश्याम तत्कालीन मालेको अल्पमत समूहमा हुनुहुन्थ्यो तर शंकरजी जहिले पनि मूल धारको राजनीति गर्दै अघि बढ्नुभयो । त्यसले गर्दा उहाँहरुबीचको सम्बन्धमा निरन्तर दूरी देखियो । अन्ततः त्यतिबेला (२०५० सालअघि) देखिको बहुमत र अल्पमत समूहमा रहँदाको दूरी स्थायी हुँदै गयो । अध्ययन, अनुसन्धान, लेखनलगायत सबै हिसाबले दुवैमा राम्रो क्षमता छ । तर, पहिलेको दूरी २०५८ सालमा पार्टी एकतापछि व्यक्तिगत रुपमा को माथि पुग्ने भन्ने टक्करमा परिणत भयो । दुवैले आफूलाई भावी नेताका रुपमा उभ्याउन खोजे र दुईबीचको टक्कर जारी रह्यो ।

शुरोजंग पाण्डे/नयाँ पत्रिका

    
        Loading...

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

    
        Loading...     
    

अन्तरवार्ता

समाचार