Presidential

‘अम्बर गुरुङले त वास्तै गर्नु भएन’


‘अम्बर गुरुङले त वास्तै गर्नु भएन’

त्यतिबेला खुबै जमेको थियो, शंकर–जयकिशनको जोडी । शंकर र जयकिशन मात्र होइन, लक्ष्मीकान्त र प्यारेलालको जोडीले पनि हिन्दी चलचित्र जगत्मा उद्युम नै मच्चाएको बेला पनि थियो, त्यो । भर्खर गीत÷संगीतको क्षेत्रमा पाइला बिसाउँदै गरेका आभास, ५४, मा पनि एक दिन शंकर–जयकिशनको जस्तै सांगीतिक जोडी बन्ने भूत सवार भयो र उनले समाते, लँगौटिया मित्र कुमार खड्कालाई । कुमार पनि गीत लेख्न माहिर नै थिए ।

आलोकाँचा उमेरका नै थिए, ती दुवै जना । उनीहरुमा परिपक्व बुद्धि टुसाइसकेको थिएन । नेपाली संगीत क्षेत्रमा शंकर–जयकिशनको जोडी बनेर ख्याती कमाउने लोभले दुवै जना बिहानै खाना खाएर पशुपति, वनकालीको जंगलमा निस्किन्थे । र, लेख्न थाल्थे दुवै जना गीतहरु । आभास सम्झिन्छन्, ‘वनकालीको जंगलमा बसेर हामी दिनभरि गीत लेख्थ्यौं । गीत लेख्न प्रतिस्पर्धा नै चल्थ्यो हामीबीच । दिनभरिमा हामीले १०÷१२ वटा गीत लेख्थ्यौं ।’

त्यतिबेला रेडियो नेपालबाहेक अरु प्रशारण संस्थाहरु थिएन । अहिलेजस्तो जंगलमा च्याउ फैलिएसरी रेडियो स्टेशनहरु नभएका हुँदा आफूले लेखेका गीतहरु लिएर उनीहरु सिधै रेडियो नेपाल जान्थे । कुमारको आफन्त रेडियो नेपालमा कार्यरत रहेका हुँदा उनीहरुलाई आफूले लेखेका गीतहरु दर्ता गराउन कुनै समस्या थिएन । आभास भन्छन्, ‘हामीले केही गीतहरु रेडियोमा दर्ता गराएका थियौं । केही गीतहरु त पास पनि भएका थिए ।’ त्यतिखेर चलनै के थियो भने, रेडियोमा गीत रेकर्ड गराउनुअघि गीत दर्ता गराएर पास गराउनुपथ्र्यो ।

तर, लामो समयसम्म जमेन, यो जोडी । कुमारले अर्कै पेशा अँगाले भने आभासले भने गीत÷संगीतलाई नै सिंगो जीवन सुम्पने निधो गरे र अहिलेसम्म पनि संगीतकै मैदानमा परेड खेलिरहेका छन् उनी ।

अच्युत फुयालमा ‘टिपेक्स’

२०४३÷०४४ सालतिरको कुरा हो । उनी संगीतमा उच्च अध्ययन गर्न नयाँ दिल्ली गए र भर्ना भए, गन्धर्व संगीत महाविद्यालयमा । तर, संगीत विद्यालयमा अध्ययन गर्ने सहपाठीहरुले भने उनको नामलाई अलि अनौठो मान्न थाले । उनलाई आफ्नो नामप्रति साथीहरुले दर्साएको प्रतिक्रियाले केही खिन्न तुल्यायो ।
सोही बेला, दिल्लीकै जवाहरलाल नेहरु विश्वविद्यालयमा बुद्धिजीवि तथा गीतकार प्रमोद हमाल पनि अध्ययन गर्थे । हमाल र उनीबीच काठमाडौंमै छँदा घनिष्ठता थियो, दिल्लीमा त घनिष्ठ नहुने कुरै भएन । सम्झन्छन्, ‘कहिले म उनी बसेको ठाउँमा जान्थेँ, कहिले उनी मकहाँ आउँथे । हामीबीच बाक्लो आवतजावत थियो ।’ मोटो चस्मा लगाउने हमालले एक दिन जेएनयूको परिसरमा एउटा गीत गाए, ‘बिहानीको आभासमा…।’

आभासलाई त्यो गीत मन मात्र परेन, अन्तरहृदयले नै नाम फेर्न हुट्हुटी लगाइरहेको हुँदा उनले त्यही गीतमा उल्लेख भएको शब्द ‘आभास’ लाई टपक्क टिपे र ‘अच्युत फुयाल’मा टिपेक्स लगाए । लेख्न थाले, त्यही दिनबाट– आभास ।
तर, अच्युतलाई आभासमा बदल्न भूमिका खेल्ने गीतकार प्रमोद भने अहिले यो संसारमा छैनन् । केही वर्षअघि नै उनी अस्ताइसके । तर, आभासलाई प्रमोदको मोटो चस्माको याद भने अहिले पनि आइरहन्छ, बारम्बार ।

संगीतप्रति आकर्षण

काठमाडौंको पूर्वी भेग, आलापोट । शतप्रतिशत काँठ । त्यही गाउँमा जन्मिएका उनको संगीतप्रतिको आकर्षण भने बाल्यकालदेखि नै बढ्यो । भन्छन्, ‘गाउँमा छँदा म गोठाला जान्थेँ । त्यतिबेलै बुबाले मलाई ट्रान्जिस्टर दिनुभएको थियो । त्यसले मलाई संगीतप्रति आकर्षित तुल्यायो । त्यस्तै, हरेक वर्षको भदौमा कागेश्वरीमा मेला लाग्थ्यो । त्यो मेलामा मुरली र बाँसुरी बेच्नेहरु आउँथे, मैले तिनीहरुबाट मुरली किनेर बजाउन सिकेको थिएँ ।’

तर, २०३६ सालको राजनीतिक उभारले भने उनलाई गीत÷संगीतको दुनियाँमा पूरै धकेलिदियो । त्यही बेलादेखि एउटा सचेत र जनताको दुःख, पीडा समेटिएका गीत लेख्ने र गाउने साधकका रुपमा उनी परिचित हुन थाले ।

रामेश÷मञ्जुलसँग पहिलो भेट

२०३६ सालताका उनी नरदेवीमा बस्थे । नरदेवीमा उनी वापमन्थी नेता सीपी मैनालीकी पत्नी निलम केसीसँगै बस्थे । राजनीतिक र साँस्कृतिक जागरण फैलाउने व्यक्तिहरुको बाक्लो आउजाऊ हुन्थ्यो, त्यहाँ ।

एक दिन, उनको कोठामा रामेश र मञ्जुल आए । त्यतिबेला उनी तबला र हारमोनियम राम्ररी नै बजाउँथे र कोठामा ती दुवै वाद्यवादन सामग्री थिए । उनी सम्झिन्छन्, ‘रामेश र मञ्जुल दाइलाई पहिलो पटक भेट्दा मलाई असाध्यै खुसी लाग्यो । किनभने, उहाँहरुका गीत मैले भेट्नुअघि नै सुनिसकेको थिएँ ।’

रामेश र मञ्जुलले उनलाई तबला बजाउन लगाए । उनले राम्ररी बजाए, तबला । दुवै प्रशन्न भए । रामेशले मुख खोल्दै भने, ‘हामीलाई तपाईँजस्तो मानिस चाहिन्छ ।’ त्यसो त, यी दुई राल्फालीहरुका बारेमा उनले गाउँले दाइ सूर्य फुयालबाट पनि पहिल्यै केही कुरा थाहा पाइसकेका थिए । ती दाइले उनलाई यी जनगायकहरुका गीत सुन्न उत्प्रेरित गरिरहन्थे ।

त्यतिबेला राल्फाली समूह छिन्नभिन्न भइसकेको थियो । र, राल्फाली समूह दुई चिरामा विभक्त भएर संकल्प र वेदनामा बदलिइसकेको थियो । तत्कालीन प्रतिबन्धित नेकपा (माले) को राजनीतिक लाइन समात्दै संकल्प परिवार अगाडि बढिरहेको थियो भने नेकपा (चौम) को लाइनलाई समातेको थियो, वेदना परिवारले । तथापि, राल्फालीका दुई हस्तीसँगको भेटले उनलाई जागरणमुखी गीत÷संगीतको क्षितिजमा फैलिन निकै नै सघाउ पु¥यायो ।

आस्था परिवारको उद्भव

०४२ सालमा अर्कै संगीत समूह गठन भयो, आस्था परिवार । रामेश, मञ्जुल, रामकृष्ण दुवाल ओम श्रेष्ठ,सौरभ, भरत नेपाली, गोविन्द थापा र उनी थिए, आस्थाका हर्ताकर्ताहरु । पछि, अविरल राई र भीव नेपालीहरु पनि थपिए ।

आस्था परिवार निर्माणमा रामेश र मञ्जुलहरुको मुख्य भूमिका रहे पनि राल्फाकालीन ह्याङओभरहरु उनीहरुमा मौजूद नै थियो । समयान्तरमा रामेश र मञ्जुलबीच मनमुटावका शृंखलाहरु तन्किए पनि त्यतिबेला भने यी दुईबीच अत्यन्तै हार्दिक सम्बन्ध थियो । आभास सम्झिन्छन्, ‘मञ्जुल विरुद्ध कसैले एक शब्द बोल्यो भने रामेश दाइ प्रतिवाद गर्न उत्रिनु हुन्थ्यो । उहाँहरुबीच यस्तो सम्बन्ध थियो ।’

तर, बहुदलीय व्यवस्था स्थापना भएको दुई÷तीन वर्षसम्म घिड्घिडो तरिकाले आस्था परिवार चले पनि त्यसपछि भने पूरै निस्क्रिय भयो । उनी सम्झिन्छन्, ‘बहुदल आएपछि संगीतलाई नै मुख्य पेशा बनाएर लाग्नेहरुमा रामेश दाइ र ममात्र भयौं । अरु साथीहरुले अन्य पेशा रोज्नुभयो र संगीत साधनाको दुनियाँबाट टाढा रहनुभयो ।’

अम्बर गुरुङसँग दशक संगत

वरिष्ठ संगीत–साधक अम्बर गुरुङको ख्याति निकै चलेको समय थियो, त्यो । राजा महेन्द्रले दार्जीलिङबाट बोलाएर नेपाल आएका गुरुङले नेपाली संगीतलाई नौलो आयाम दिन कुनै कसर बाँकी राखेका थिएनन्, त्यतिबेला । एक दिन उनलाई के लाग्यो भने, यस्ता साधकसँग संगीत सिक्न पाए त…।

नेपाल प्रज्ञा–प्रतिष्ठानमा कार्यरत गुरुङलाई भेट्न गए उनी । यो ०४५ सालको कुरा थियो । तर, कति उत्साह र उमंग सँगालेर गुरुङलाई भेट्न गएका थिए, उनी । कुनै वास्ता–पास्ता नै गर्दैनन् । उदेक लाग्यो उनलाई, गुरुङको बानी–बेहोरा । भन्छन्, ‘एकेडेमीमा थुप्रै मानिसहरु भेट्न आउने भएको हुँदा मलाई पनि त्यतिबेला वास्ता नगरेका हुन सक्छन् ।’

तर, गुरुङको शिष्य बन्ने उत्कट चाहनालाई भने उनले मेट्न चाहेनन् । अर्को दिन रामेशलाई लिएर एकेडेमी होइन, अम्बरकै घरमा पुगे उनी । गुरुङ त्यतिबेला ज्ञानेश्वरमा बस्थे । तर, रामेशले सिफारिस गरेपछि नहुने के थियो र ? भोलिपल्टबाटै आफ्नै घरमा संगीत सिक्न आउने निम्तो दिए, गुरुङले उनलाई । भन्छन्, ‘अम्बर दाइसँग मेरो १०÷१२ वर्षसम्म संगीत सिकाइ र राम्रै संगत भयो । उहाँका निजी जीवनका कुराहरुसम्म शेयर हुने गरी संगत भयो ।’

‘गुरुङ एकजना पूर्ण संगीतकार हुनुहुन्थ्यो’ एक शब्दमा अम्बर गुरुङको मूल्यांकन यसरी गर्छन्, आभास । थप्छन्, ‘आफ्नो काममा रुचिपूर्वक लाग्ने उहाँको स्वभाव थियो । संगीतकै वरिपरि घुम्ने र अरु कुरामा त्यति चासो नदिने स्वभाव पनि थियो उहाँको ।’

तपाईको संगीतमा पनि अम्बर गुरुङको प्रभाव छ नि, टन्नै ? आंशिक रुपमा स्वीकार्दै उनी भन्छन्, ‘स्कुलिङले गर्दा केही प्रभाव प¥यो होला ।’ आफ्ना पछिल्ला संगीतहरुमा गुरुङको केही प्रभाव रहेको उनले स्वीकारे ।

संगीतअघि कविता–संसारमा

गीत÷संगीतको संसारमा छाउनुअघि उनको परिचय एक कविको रुपमा थियो । ०४५ सालतिरै उनले अच्युत फुयालको नाममा एउटा कविताकृति निकालेका थिए, ‘भूगोलमाथि उभिएको जैतुन ।’ छरितो विम्ब समातेर कविता लेख्ने उनमा स्कुल पढ्दादेखि नै गीत र कविता लेखनमा मोह पसारिएको थियो । भन्छन्, ‘सुरुका दिनहरुमा म थुप्रै गीत र कविताहरु लेख्थेँ । तर, कसैलाई पनि देखाउँदैनथेँ, लेख्थेँ र च्यातेर फ्याँक्थेँ ।’

त्यसो त, कविता लेखनतिर आफू डोरिनुको कारण भने उनी ०३६ सालको राजनीतिक उभारलाई नै मान्छन् । तर, पछिल्लो समय भने संगीत साधनामा नै व्यस्त भएपछि उनको कविता लेखनमा कमी आएको छ । भन्छन्, ‘मैले पहिलेको जस्तो गतिमा अहिले कविता लेखेको त छैन । तर, फाट्टफुट्ट भने लेखिरहेको छु अहिले पनि । र, कविता लेख्छु भनेर लेखिने चिज पनि होइन रहेछ ।’

निकट समयपछि नै उनको ‘नीर चरीको कोरस’ नाम गीति–काव्य भने आउँदैछ । अहिले उनी त्यसकै तयारीमा जुटेका छन् । साथै, एउटा निबन्धकृतिको पनि तयारी गरिरहेका छन् उनले ।

दुई वर्ष संगीत÷नाट्य एकेडेमीमा

२०६७ सालमा सरकारले बेग्लै संगीत÷नाट्य एकेडेमी गठन गरेपछि त्यसको सदस्य–सचिव भए, तीर्थ श्रेष्ठ । तर, स्वास्थ्यको कारणले श्रेष्ठले बीचैमा राजीनामा दिए। त्यतिबेला, संस्कृति मन्त्रालय सीपी मैनालीको भागमा परेको थियो ।

सीपी र उनीबीच पञ्चायतकालीन समयदेखि नै घनिष्ठ सम्बन्ध थियो । भन्छन्, ‘सीपी मैनालीले मलाई बोलाउनुभयो र सदस्य–सचिव बन्न आग्रह गर्नुभयो । उहाँसँगको सम्बन्धले गर्दा मैले त्यो पद स्वीकार गरेँ ।’

त्यसो त, एकेडेमीका तत्कालीन कुलपति अम्बर गुरुङले पनि उनीलाई सदस्य–सचिव बनाउन जोड गरेका थिए । गुरुङले ‘मलाई अरुको भरोसा छैन, आभासलाई नै ल्याउनुपर्छ’ भनी अप्रत्यक्ष रुपबाट बताएपछि उनले पहिलो एकेडेमीको दोस्रो सदस्य–सचिव बन्ने औसर पाए ।

तर, उनले सदस्य–सचिव सम्हालेपछि सर्वोच्च अदालतमा मुद्दा प¥यो । उनको नियुक्ति ऐन विपरीत भएको भन्दै मुद्दा दायर भए पनि फैसला भने उनकै पक्षमा आयो । र, उनले दुई वर्ष सदस्य–सचिव भएर काम गरे ।

उनको कार्यकालमा अनुसन्धानमूलक कामहरुको सुरुवात भने भयो । भन्छन्, ‘तलब, कार्यालय र गाडीमै धेरै खर्च हुन्थ्यो । बजेटको कमीको कारणले गर्दा उल्लेख्य काम गर्न सकिएन ।’ कुनै पनि निकायमा नौरंगी मानिसहरु भए भने काम हुन नसक्ने पनि उनको अनुभव छ ।

कस्तो छ अहिले रामेश÷मञ्जुलसँगको सम्बन्ध ?

पहिलेभन्दा धेरै नै व्यस्त छन्, आभास । संगीत साधना त छँदैछ । केही वर्षदेखि नेपालयको प्रकाशनहरु छनोट गर्ने र सम्पादन गर्ने कार्यमा पनि उनको सम्बद्धता रहँदै आएको छ । घरपरिवार, संगीत सिर्जना, प्रकाशन संस्थासितको आबद्धताले व्यस्तता बढेको हुँदा उनको रामेश, मञ्जुललगायत साधकहरुसँगको भेटघाट भने धेरै नै पातलिएको छ ।

‘अहिले रामेश दाइसँग कमै भेट हुन्छ’ भन्छन् आभास । कुनै समय स्वर्णीम हाइस्कुलमा उनले रामेशसँगै काम गरेका थिए । तर, मञ्जुलकहाँ भने ३÷४ महिनामा पुगिरहन्छन् उनी । त्यसो त, मञ्जुलको चर्चित कृति ‘सम्झनाका पाइलाहरु’ को पुनः प्रकाशन गर्ने इच्छा पनि छ उनको । भन्छन्, ‘मञ्जुल दाइकहाँ उहाँको स्वास्थ्य अवस्था बुझ्न पनि गइरहन्छु ।’

बालबालिकाहरुप्रति सचेत

आभासले करिब डेढ वर्ष लगाएर बालबालिकाहरुका निम्ति गीत र संगीत तयार पारे, हालसालै । भन्छन्, ‘हामीकहाँ बालगीतहरु खासै रहेनछन् । मलाई त्यो अभाव खड्कियो र मैले त्यसका निम्ति लामो समय लगाएँ ।’

नेपालयले निकाल्न लागेको बालगीतहरुको सिडीमा ६ र ७ कक्षामा पढ्ने विद्यार्थीहरुका लागि ११ वटा र प्लेगु्रपका लागि ३० वटा गीत रहेका छन् । तर, उनलाई बालगीतहरु सिर्जना गर्न र त्यसमा संगीत भर्न उकास्ने भने पत्रकार तथा आख्यानकार नारायण वाग्ले थिए । भन्छन्, ‘दुई महिना लगाएर गीत लेखेँ र त्यसलाई संगीतले सिंगार्न थालेपछि अहिले बल्ल तयार भएको छ ।’

गाउँ भए पनि सहरमै बसाइँ

आलापोटलाई अब त काँठ भन्न पनि नसुहाउने भइसकेको छ । सहरीकरणको हावाले पूरै छोइसकेको छ । तर, काठमाडौं सहरसितै जोडिन–जोडिन लागे पनि आभास भने पुरानो बानेश्वरमा डेरा–जिन्दगी बिताइरहेका छन् । भन्छन्, ‘पन्ध्र वर्षदेखि म पुरानो बानेश्वरमै बसिरहेको छु । मेरा आफन्तहरु भने गाउँबाटै सहर धाइरहेका छन् तर मेरो भने स्टुडियोहरुमा गीत रेकर्ड गराउन राति पनि समय दिनुपर्ने भएको हुँदा गाउँ र सहर ओहोरदोहोर गर्ने सम्भावना रहेन ।’

उनको अहिलेसम्म ‘ती फूलहरू’ (बालगीत) एकल एलबम ‘पलापला’ र ‘ल्याम्पपोष्ट’ वाद्यवादन ‘अ ल्याण्ड अफ इण्टोनेसन’, ‘अ ल्याण्ड अफ रेजोनेन्स’ र गायक फत्तेमानको स्वरमा ‘फत्तेमान ७०मा’ नामक सांगीतिक कृतिहरू निस्केका छन् भने करिब ५० वटा गीत संगीत भएर रेकर्ड नभएर बसिरहेको स्थिति छ । तर, कुनै बेला ‘गाउँ गाउँबाट उठ्…’ भन्ने गीतमा अग्रजहरु रामेश, मञ्जुलसँग काँध जोडेर गाउने उनी अचेल भने प्रेम, प्रणय र जीवनका गीतहरु पनि गाउनुपर्ने कुरा उत्तिकै जोड दिन्छन् । भन्छन्, ‘सामाजिक सरोकारका विषयहरुका गीत÷संगीत सिर्जना हुनुपर्छ, समाजलाई वास्ता गर्नुपर्छ भन्ने कुरामा म अझ सचेत र प्रतिबद्ध छु ।’

त्यसो त, आलापोटमा रहेको खेतीपाति पनि हेर्न भ्याइरहेका छन् उनले । यस पटकको दसैँ–तिहार पनि उनले आलापोटमै मनाए । पुरानो बानेश्वरमा भने उनी श्रीमती र छोरी सँगै बस्छन् । पहिलो बिहे महिना दिनमै टुंगिए पनि १७ वर्षसम्म सम्बन्धविच्छेद नभएका कारण उनले अर्को घरजम गरेनन् । तर, पहिली पत्नीसित सम्बन्धविच्छेद भएपछि भने ६ वर्षअघि उनले अर्को बिहे गरे ।

 
    
        Loading...

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

  • सहरमा बाँच्न मर्न जान्नुपर्छ

    सहरमा बाँच्न मर्न जान्नुपर्छ

    हो, सहरले उसलाई पटकपटक ठगेको छ । यो सहरका मान्छेहरू मतलबी र स्वार्थी छन् । यो कुरा उसले साँचै भनेको हो । उसले ..

  • ‘तपाईँहरूले मैले गर्न नसक्ने कुरा माग्नुहुन्छ कि भन्ने डर लागेको थियो । यो समस्या त मेरा लागि केही होइन, बायाँ..

  • यस्तो हुनुहुन्थ्यो राजेश्वर देवकोटा

    यस्तो हुनुहुन्थ्यो राजेश्वर देवकोटा

    बागबजारको सडकमा बराबर एक जोर मान्छे हिंडेका देखिन्थे । एक जना निकै अग्ला, डम्म जिउडाल भएका र अर्का चाहिँ निकै ..

  • अमर शाहका दुई कविता

    अमर शाहका दुई कविता

    यसरी फर्कदा जन्म गाउँमा लामो अन्तरालपछि खाटा बस्दै गरेको घाउ कन्याएझैं गरिरहेछु अनुभव लगातार पीडा र आनन्दको..

    
        Loading...     
    

अन्तरवार्ता

समाचार