Presidential

ट्रम्पको विजयले अमेरिकी प्रभुत्वमा सङ्कट

ट्रम्पको  विजयले अमेरिकी प्रभुत्वमा सङ्कट

अमेरिकी राष्ट्रपतीय निर्वाचनमा डोनाल्ड ट्रम्पको विजयले विश्वभर फैलिएको अमेरिकी दोस्रो वा नरम शक्तिमा ठूलै सङ्कट उत्पन्न हुँदैछ । सङ्कोच बिना भन्न सकिन्छ, यसलाई उल्टाउन ट्रम्प सायदै सक्षम हुनेछन् ।

परम्परागत रुपमा, मुलुकहरुको विश्व राजनीतिक शक्तिलाई सैनिक शक्तिका आधारमा मूल्यांकन गरिन्थ्यो, अर्थात जोसँग शक्तिशाली सैन्यबल छ, उही सर्वाधिक शक्तिसम्पन्न हो । तर त्यो तर्क यथार्थमा सदैव प्रतिविम्बित हुन सकेन । अमेरिकाले भियतनाम युद्धमा हार बेहोर्यो, सोभियत युनियन अफगानिस्तानमा पराजित भयो । इराकमा सुरुवाती केही वर्षबाहेक फ्रेञ्च कुटनीतिज्ञ ट्यालीर्यान्डको भनाइझैं अमेरिकाले इराकमा शासन गर्न सकेन, फर्कन बाध्य भयो ।

अब नरम शक्तिका बारेमा विचार गरौं । यो विचारधारा अमेरिकी हार्भर्ड विश्वविद्यालयका प्राध्यापक जोसेफ एस. नाईले सन् १९९० मा चर्चामा ल्याएका थिए, खासगरी अमेरिकी सैन्य शक्तिको प्रयोगको विकल्पमा । नाईले भनेझैं, कुनै मुलुकको सामथ्र्य ‘आफूले चाहेजसरी अन्य मुलुक वा व्यक्तिको व्यवहारमा परिवर्तन गर्ने’ क्षमतामा निर्भर हुन्छ, र यहाँ जबर्जस्ती नियन्त्रण (लाठी), पैसा लगानी (गाजर), वा आकर्षण (नरम शक्ति) को प्रयोग हुन्छ । ‘यदि तपाईं अरुलाई आकर्षित गर्न सक्षम हुनुभयो भने तपाईंले लाठी र गाजर दुवैमा गर्ने लगानीमा बचत वा किफायत गर्न सक्नुहुन्छ,’ उनी भन्छन् ।

नाईको तर्क छ, कुनै मुलुकको नरम शक्ति ‘त्यस मुलुकको संस्कृति (अन्यलाई आकर्षक भएमा), राजनीतिक मूल्यमान्यता, परराष्ट्र नीति’ बाट निःसृत हुन्छ । तर, मेरो विचारमा कुनै मुलुकप्रतिको विश्वधारणा पनि नियाल्नु पर्दछ, र यहाँ कुनै मुलुकको नामसँगै जोडिएको सम्बन्ध र प्रवृत्तिलाई केलाउनु पर्दछ । कठोर शक्ति सैन्य आडमा अभ्यास गरिन्छ, नरम शक्ति मनमस्तिष्कमा जागृत गराइन्छ ।

संयुक्त राज्य अमेरिका विश्वकै सर्वाधिक ठूलो अर्थतन्त्र र सदियौं पुरानो लोकतन्त्र भएको, आप्रवासीका लागि स्वर्गभूमि र अमेरिकी सपनाको भूमि हो, अर्थात कसैले मिहिनेत गरे जोकोही जेसुकै बन्न सक्दछ । यो बोइङ र इन्टेल, गूगल र एप्पल, माइक्रोसफ्ट र एमटीभी, हलिउड र डिस्नेल्यान्ड, म्याक्डोनाल्ड र स्टारबक्सको मुलुक हो, अर्थात विश्वका केही सर्वाधिक मान्यताप्राप्त र प्रभावशाली ब्रान्डको देश हो ।

यी सम्पत्तिको आकर्षण र अमेरिकी जीवनशैलीले अमेरिकाले अन्य मुलुकका नागरिकको मनमस्तिष्कमा प्रभाव सिर्जना गरेको छ, र यहाँ कसैलाई आफ्ना विचारधारा वा एजेन्डामा सहमत गराउन बाध्य बनाएको देखिन्न । यस अर्थमा, नरम शक्तिले वैकल्पिक र कठोर शक्ति दुवैको पुरकको रुपमा कार्य गरेको छ ।

तर कुनै पनि मुलुकमा नरम शक्तिमा पनि सीमितता हुन्छ र त्यसमा अमेरिका पनि पर्दछ । अमेरिकामा सेप्टेम्बर ११, २००१ मा आतंकवादी आक्रमण भएपश्चात् अमेरिकाप्रति सहानुभूतिस्वरुप विश्वव्यापी रुपमा समर्थन ओइरिएको थियो । त्यसपछि अमेरिकाले आतंकवादविरुद्ध युद्धको घोषणा गर्यो र त्यसबखत अमेरिका कठोर शक्तिमाथि ज्यादै निर्भर थियो । त्यस बखत अमेरिकाले प्रयोगमा ल्याएका साधनहरु जबर्जस्त थिए– जस्तै, इराकमाथि हमला, शत्रु लडाकाहरु र अन्य शंकास्पद व्यक्तिहरुलाई ग्वान्तानामो बेमा अनिश्चितकालिन नजरबन्दी, अबु घारेब कान्ड, सीआईएका गोप्य स्थानहरुको खुलासा, अमेरिकी भाडाका सुरक्षाकर्मीद्वारा इराकी सर्वसाधारणको हत्या । यी दुःखान्त अमेरिकी कारबाहीका घटनाहरुप्रति विश्वले नै आँखा चिम्लिदिएको थियो ।

अमेरिकाको कठोर शक्तिको प्रयोगबाट सिर्जित कमिकमजोरीको क्षतिपूर्ति गर्न नरम शक्ति अपर्याप्त थियो । अमेरिकी संस्कृतिका अन्धभक्तहरु ग्वान्तानामोमा भएका ज्यादतिहरुलाई ध्यान दिन तयार नै थिएनन् । माइक्रोसफ्ट विन्डोज धेरैको लागि हितकारी भए पनि त्यसैको उत्पादनकर्ता मुलुक अमेरिकाले गरेका ज्यादति स्वीकार्य कसरी हुन सक्दछ ? अमेरिकाको नरम शक्ति तिब्र गतिमा ओरालो लाग्यो र कठोर शक्तिको प्रयोग र नरम शक्तिको प्रयोगबीचको भिन्नता अनुभव हुन थाल्यो ।

अमेरिकी प्रभावको विदेश नीतिमा असफलता देखा पर्न थाले र यसमा आजको विश्वको अभूतपूर्व सञ्जालले विशेष महत्व राखेको छ । आमसञ्चार माध्यमको बढ्दो प्रभावसँगै विश्वभर अनलाइन समाचार, स्मार्टफोनका भिडियो, ट्वीटर कुराकानीले विश्वमा तरङ्ग ल्याएको छ । यस्तो सूचना युगमा, नाई लेख्छन्, तीन किसिमका मुलुकहरुले नरम शक्ति आर्जन गर्न सक्दछन्ः ‘मुलुकहरु जसको संस्कृति र विचारधारा विश्वमा हाल प्रचलित मूल्यमान्यतासँग एकाकार भएको हुन्छ (जस्तै उदारवाद, बहुलवाद, स्वायत्तता), मुलुकहरु जसको सञ्चार माध्यमका विविध च्यानलसँग सर्वाधिक पहुँच स्थापित हुन्छ, र मुलुकहरु जसको विश्वसनीयता मुलुकभित्रै र अन्तर्राष्ट्रिय उपस्थितिबाट व्यापक बनेको हुन्छ ।’ अमेरिकाले माथिका तीनै मोर्चामा आफूलाई सफल सिद्ध बनाएको छ ।

हो, अमेरिकी संस्कृति र विचारधारा अन्य मुलुकका लागि पनि अनुकरणीय छ, र यसको अन्तर्राष्ट्रिय विश्वसनीयता मुलुकभित्रैको व्यवस्थापनमा पनि निर्भर छ । शताब्दीयौंदेखिको दासता र जातिवादको विरासतलाई तोड्दै सन् २००८ र २०१२ मा अमेरिकाले काला जातिलाई राष्ट्रपति चुन्यो र यसबाट अमेरिकी समाजमा पुनर्ताजगी गर्ने क्षमता छ भन्ने पुष्टी गरेको थियो ।

ट्रम्पको विजयले अहिले त्यो प्रतिष्ठा चकनाचुर भएको छ । अमेरिकासँग कहिल्यै तादाम्त्य नराखेका विषयहरुले अहिले टाउको उठाएका छन्ः आप्रवासीमाथि त्रास, महिलामाथि द्वेषभाव, नैराश्य र स्वार्थप्रेरित कार्यहरु । कुनै पनि नागरिकलाई आफ्ना आकांक्षाको परिपूर्तिमा समान अवसर उपलब्ध गराउने विगतको अमेरिकी प्रतिबद्धतालाई यसपटक जिम्मेवार नेतृत्वबाटै भत्र्सना र आरोपित गरिएको छ । अन्य मुलुकमाथि लोकतान्त्रिक अभ्यासका बारेमा दृढतापूर्वक परामर्श गरिरहेको अमेरिकाले चुनावी नतिजा आफ्नो पक्षमा नआए त्यसलाई अस्वीकृत गर्ने धम्की दिने नेतालाई राष्ट्रपतिमा विजयी गराएका छन् ।

नाईले तर्क गरेका छन्, आजको सूचनाको युगमा नरम शक्तिले मुलुकका सफलताका राम्रा कथाहरु जम्मा गर्दै जान्छ । अमेरिका ‘राम्रो कथा सँगालेको भूमि’ हो । यहाँ स्वतन्त्र प्रेस र खुला समाज छ, आप्रवासी र शरणार्थीहरुलाई स्वागत गरिन्छ र नयाँनयाँ विचार र नवीन खोजीको भोको छ । यी सबैले अमेरिकालाई विशिष्ट कथाहरु भन्ने क्षमता प्रदान गरेको छ जुन प्रतिस्पर्धीहरुको तुलनामा निकै बढी प्रेरणादायी र आकर्षक छन् ।

तर यस निर्वाचनमा अमेरिकी कथाले अमेरिकाले सिर्जना गरेको नरम शक्तिलाई ज्यादै सङ्कुचित बनाएको छ । त्रासका कारण भरोसा तुषारापात भएको छ । अमेरिकी सपना विश्वमै दुःस्वप्न भएको छ । साथै, सन् २०१६ मा खोलिएको पान्डोराको बाकसबाट निस्केको दानवले मुलुकको स्व–दृष्टिकोणमा स्वतन्त्र रुपमा निरन्तर विचरण गर्नेछ, र त्यसले हरेक व्यक्तिको दृष्टिकोणलाई दूषित गर्नेछ । हाम्रो दृष्टिमा, अमेरिका अब कहिल्यै विगतको झैं रहने छैन, किनकी ट्रम्पको कार्यकाल त अझै सुरु पनि भएको छैन ।
(प्रोजेक्ट सिन्डीकेट÷रासस । अनुवादः सोमनाथ लामिछाने)

सुप्रसिद्ध लेखक थरुर भारतका पूर्वविदेश राज्यमन्त्री र हाल भारतीय संसदका सदस्य हुन् । उनी संयुक्त राष्ट्रसंघका पूर्व उपमहासचिव पनि हुन् ।

3 पटक पढिएको

    
        Loading...     
    

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

        
            Loading...     
        

    अन्तरवार्ता

    समाचार