Presidential

राप्ती नदीमा डुंगा चलाउने शिशिरको पेनड्राइभ क्रान्ति

राप्ती नदीमा डुंगा चलाउने शिशिरको पेनड्राइभ क्रान्ति

नयाँ प्रविधिलाई नपछ्याउनेहरु पाखा लाग्छन् । यो यथार्थलाई युवा–गायक शिशिर योगीले राम्ररी नै बुझेका छन् । हुन पनि, केही वर्षयता गीति–एलबमहरु निकाल्ने क्रम ठप्पै भएको छ । आठ÷दस वटा गीत राखेर एलबम निकाल्ने कुरा अब अतीतको विषय बनिसक्यो । नयाँ–नयाँ प्रविधिको विकास र स्वीकार्यतासँगै गीत÷संगीत क्षेत्रले यति फड्को मारिसक्यो कि, संगीतका पाखरीहरुले अब क्यासेट÷सिडी पसलहरुमा गइरहनु पर्दैन ।

प्रविधिलाई पछ्याउने क्रममा शिशिर केही चलाख नै निस्किए । अब एलबममा होइन, पेनड्राइभमा गीत बेच्नुपर्छ भन्ने कुरा उनले समयमै बुझे । त्यही भएर नै, केही दिनअघि मात्रै आफूले गाएका १ सय १ वटा गीतलाई पेनड्राइभमा राखेर उनले नेपाली संगीत क्षेत्रमा ‘पेनड्राइभ–क्रान्ति’ गरेका छन् । भन्छन्, ‘मलाई साथीभाइले भन्न थाले कि, तपाईका सबै गीतहरु सुन्नै पाइएन । केही गीत यूट्युवमा सुन्न पाए पनि अचेल एलबम निस्किन छाडेको हुँदा तपाईका अरु गीतहरु सुन्न पाइएन । केही उपाय निकाल्नुप¥यो । त्यही कारण नै मैले पेनड्राइभमा गीत राख्ने सोच बनाएको हुँ ।’

करिब अढाई दशक लामो आफ्नो संगीत–यात्रामा स्वर भरेका ४ सय ५० वटाजति गीतमध्ये राष्ट्रियता, मानवीय भावना, देशप्रेम र प्रेम–प्रसंगका १ सय १ वटा गीतलाई उनले पेनड्राइभमा अटाएका छन् । भन्छन्, ‘ममा यस्तो सोच डेढ वर्षपहिले नै आएको थियो । किनकि, गाडीमा पेनड्राइभबाटै संगीत सुन्ने जमाना आयो । त्यही कारण पेनड्राइभमा गीत राखेर मार्केटिङ गर्ने सोच ममा पलायो र मैले आफ्ना लोकप्रिय गीतहरु राखेर निकालेँ ।’ तर, उनले पेनड्राइभका गीतहरु बिक्रीका लागि बजारमा पठाउने योजना भने बनाएका छैनन्, हातहातमै बेच्ने योजना छ उनको । आफ्ना साथीभाइ, शुभचिन्तक र संगीतप्रेमीहरुलाई हातैमा बेच्ने क्रममा छन् उनी । र, उनले एउटा पेनड्राइभलाई २ हजार ५ सयमा बेच्नेछन् र पेनड्राइभसँगै ती गीतहरुका पुस्तिका पनि प्राप्त हुनेछ । भन्छन्, ‘एउटा एलबमलाई २ सय रुपियाँपर्दथ्यो, मेरा गीतहरुको पेनड्राइभको मूल्य १० वटा एलबम बराबर हो ।’

ब्रस बोकेर काठमाडौं–यात्रा

पूर्व–पश्चिम राजमार्गको लमही बजार, जो दाङ जिल्लामा पर्दछ । त्यही बजारबाट ३ किलोमिटर हिँडेपछि पुगिन्छ, बलरामपुर । राप्ती नदीको किनारमा उभिएको बलरामपुरमा ४५ वर्षअघि जन्मिएका शिशिरले २०४८ सालमा एसएलसी उत्तीर्ण गरेपछि काठमाडौं जाने र संगीत सिक्ने सपना देख्न थाले । तिनै सपनालाई मूर्त रुप दिन उनले ०४८ सालको एकदिन लमही बजारबाट चढे, रात्री–बस । भन्छन्, ‘काठमाडौं आउँदा एउटा जिनको ब्याग बोेकेको थिएँ, त्यो ब्यागभित्र पेन्टिङ गर्ने ब्रस र केही लुगाफाटाहरु थिए ।’

काठमाडौं आउनुअघि उनी तुलसीपुरमा साइनबोर्ड बनाउने, ब्यानर लेख्ने र केही सामान्य खालका चित्र बनाउने काम पनि गर्थे । काठमाडौंमा बेरोजगार बस्नुपरेको खण्डमा ब्यानर लेखेरै भए पनि पेट पाल्ने उद्देश्यस्वरुप उनले झोलामा ब्रस हालेका थिए । तर, काठमाडौं आउनुको मुख्य उद्देश्य त संगीत सिक्नु नै थियो । काठमाडौंमा संगीत सिक्न आए पनि उनलाई संगीतको ‘स’ पनि थाहा थिएन । भन्छन्, ‘लय निकाल्नेलाई संगीतकार र शब्द लेख्नेलाई गीतकार भनिँदो रहेछ भन्ने कुरा मैले काठमाडौं आएपछि मात्रै थाहा पाएँ । अझ, संगीत पनि शास्त्रीय, लोक, आधुनिक थुप्रै थरिका हुँदा रहेछन् । यी सबै मैलेकाठमाडौंमा आएर नै थाहा पाएँ ।’

लमहीबाट साझा बस चढेर काठमाडौं आउँदा उनलाई काठमाडौंमा कहाँ बस्ने, के खाने भन्ने कुनै टुंगो थिएन । तर, बसबाट त्रिपुरेश्वरमा उत्रिएपछि अल्मलिइरहेकै बेला त्यही बस चढेर आएका भेषराज पाण्डेले उनलाई प्रस्ताव राख्दै भने, ‘आज मेरो डेरामा हिँड्नुस् ।’ अमृत साइन्स क्याम्पसमा अध्ययनरत पाण्डेले उनलाई सोही क्याम्पस नजिकै रहेको आफ्नो डेरा लिएर गए । भन्छन्, ‘काठमाडौंमा कुनै काम नपाउन्जेलसम्म मेरै डेरामा बस्नुस् भने उनले । म उनीसँग तीन वर्ष सँगै डेरामा बसेँ ।’

सफल डुंगा चालक

गीत÷संगीतप्रति आकर्षित हुनुअघि उनले गाउँमा डुंगा चलाउनुपथ्र्यो । नेपालबाट सीमावर्ति बजार कोइलाबास हुँदै भारततिर जानेहरुलाई राप्ती नदीमा तार्नु उनको काम हुन्थ्यो । भन्छन्, ‘मैले ६ देखि १० कक्षासम्म पढुन्जेल राप्ती नदीमा डुंगा चलाएँ ।’ उनले डुंगा चलाउन थाल्दा प्रतिव्यक्ति १ मोहर लिने गरिन्थ्यो भने उनले चलाउन छाड्ने बेला भने महँगिएर २ रुपियाँसम्म पुगेको थियो ।

डुंगा चलाउँदाका दिनहरु सम्झिँदै उनी भन्छन्, ‘डुंगा चलाउँदा आएको रकम हामीले गाउँमै प्रौढ शिक्षा सञ्चालनमा खर्च गथ्र्यौँ । थोरै रकम मात्र हामीले पाउँथ्यौँ ।’ तर, यस पटक दसैँमा गाउँ जाँदा उनको मन खिन्न भयो । दशकअघि आफूले चलाएको डुंगा राप्ती नदीको किनारमा बेबारिसे अवस्थामा पल्टिरहेको थियो । राप्ती नदीमा पुल बनेपछि डुंगाबाट नदी तर्ने कुरा इतिहास बन्यो । उनी भन्छन्, ‘म त्यो बेवारिसे डुंगामा गएर एकछिन बसेँ र भावविभोर बनेर फर्किएँ ।’ उनलाई आफ्नो स्मृतिका रेखाहरु कोरिएको त्यही पुरानो डुंगामाथि गीत लेख्न र गाउन मन लागेको छ अहिले ।

अम्बर गुरुङसँग नजिक

काठमाडौंमा टिक्न मुस्किल थियो, त्यतिबेला । उनले सोचे, कुनै जागिर खानुप¥यो । ०४८ सालको आमनिर्वाचन जितेका थिए, दंगाली खुमबहादुर खड्काले र उनी यातायात मन्त्रीसमेत भएका थिए । भन्छन्, ‘काठमाडौंमा मैले अरुलाई चिनेको थिइनँ । एक दिन खुमबहादुरकहाँ जागिरको कुरा लिएर गएँ । उनले सडक विभागको सुपरभाइजरमा लगाइदिए ।’ जागिरबाट आउने ९ सय रुपियाँले उनलाई कोठभाडा तिर्न र छाक टार्न धेरै सघाउ पु¥यायो । तर, त्यो जागिर उनले १ वर्षभन्दा बढी खाएनन् ।

उनी बिहान रत्नराज्य क्याम्पसका अध्ययन गर्थे भने दिउँसो जागिर । सोही क्याम्पसमा उनका मिल्ने साथी थिए, निरज श्रेष्ठ । क्याम्पस नजिकै निरजको साइकल मर्मत गर्ने वक्र्ससप थियो । एकदिन शिशिरले थाहा पाए, निरजले अम्बर गुरुङसित संगीत सिकिरहेका रहेछन् । त्यसपछि निरजलाई उनले भने, ‘म पनि अम्बर सरसँग संगीत सिक्न चाहन्छु । मलाई लगेर भेट्टाइदेऊ न ।’ भोलिपल्टै निरजले साइकलमा राखेर उनलाई नेपाल प्रज्ञा–प्रतिष्ठानमा लिएर गएर गेटमा लगेर छाडिदिए ।

शिशिरले अम्बर गुरुङलाई आफ्नै कार्यकक्षमा भेटे । त्यतिबेलाको क्षण सम्झिन्छन्, उनी, ‘पहिलो पटक भेट्दा मलाई तलदेखि माथिसम्मै पटक–पटक हेर्नुभयो । मैले म त सरसँग संगीत सिक्न दाङदेखि आएको हुँ, अहिले एक जना साथीको डेरामा बसिरहेको छु भनेँ । मैले निकै नै डराएर बोलेको थिएँ त्यतिबेला ।’

गुरुङ आफ्नो कार्यकक्षबाट निस्केर एकेडेमीको भ¥याङ उक्लिन थाले । उनले पछ्याइरहे । भ¥याङ उक्लिदै गर्दा गुरुङले भने, ‘संगीत सिक्न सजिलो छैन । फलामको च्युरा चपाउनुजस्तै हो, संगीत सिक्नु भनेको ।’ उनी अहिले सम्झिन्छन्, ‘उहाँले त्यसो भन्नुको कारण मेरो परीक्षा लिनका लागि रहेछ ।’ त्यसपछि, गुरुङले उनलाई भोलिपल्टबाटै संगीत सिक्न आमन्त्रण गरे ।

रेडियो नेपालको ढोकाहरु चहार्दै

गीत÷संगीतमा लाग्नेहरुले त्यतिबेला रेडियो नेपाल नधाई सुखै पाउदैनथे । किनकि, अरु प्रशारण माध्यमहरु नभएको हुँदा रेडियो नेपालको विकल्प नै थिएन । काठमाडौं आएपछि उनले गीत गाउने अभिलाषा सँगालेर रेडियो नेपालको ढोका–ढोका चहार्न थाले । रेडियो नेपालमा पुगेपछि थाहा पाए, ६÷६ महिनामा स्वर परीक्षण हुँदो रहेछ र स्वर परीक्षामा उत्तीर्ण भएपछि मात्रै गीत गाउन पाइँदो रहेछ ।

एक दिन उनले स्वर परीक्षामा भाग लिए । ९ सय ५८ जनाले दिएका थिए, स्वर परीक्षा । तर, उत्तीर्ण भए १२ जना मात्रै । सौभाग्य, त्यसमा शिशिर पनि परे । त्यतिबेला उनले लोकराज गिरीको शब्दमा ‘दिलको प्यास म कहाँ गई मेटाऊ ?’ बोलको गीत गाएका थिए ।

उनले स्वर परीक्षामा उत्तीण भएको गीतको संगीत–संयोजन भने संगीतकार शिलाबहादुर मोक्तानले गरेका थिए । मोक्तानसँग राम्रो सम्बन्ध भएपछि उनले आफ्नो चर्चित गीत ‘सारंगी त रेटे पनि बोल्छ मीठै ध्वनि…’ को संगीत–संयोजन पनि मोक्तानलाई गर्न दिएका थिए ।

त्यसो त, उनलाई रेडियो नेपालका कर्मचारीहरुको व्यवहार भने पच्दैनथ्यो । भन्छन्, ‘त्यतिबेला नयाँलाई निरुत्साहित गर्ने चलन थियो । हामीलाई देखेपछि रेडियो नेपालका कर्मचारीहरु गलल्ल हाँस्थे । तर, उनीहरुका व्यवहारले मभित्र इँख पलाउँथ्यो र म कडा मिहिनेत गर्दथेँ ।’

गहकिल शब्द खोज्दै

शिशिरको विशेषता के हो भने, उनी गहन शब्दमा मात्रै स्वर दिन चाहन्छन् । त्यही भएर, उनले लक्ष्मीप्रसाद देवकोटा, हरिभक्त कटुवाल, माधवप्रसाद घिमिरे, ईश्वरवल्लभ, रत्नशमशेर थापा, दुर्गालाल श्रेष्ठदेखि घमराज लुइँटेल र राजु उप्रेतीसम्मका शब्दमा स्वर भरेका छन् । भन्छन्, ‘गीतको पहिलो कुरा नै शब्द हो । शब्दमा नै गीतले भन्न खोजेको कुरा भएन भने गीत बन्दैन ।’

एक पटक, समाजसेवी बद्रीविक्रम थापाको स्मृति कार्यक्रम थियो । त्यो कार्यक्रममा उनले गोपाल योञ्जनका दुइटा गीत गाए– समर खेल्न शत्रु छैन र मेरो टोपी कैलासको शिरजस्तो । गीत गाउने बित्तिकै मञ्चमा आसिन राष्ट्रकवि माधवप्रसाद घिमिरेले उनलाई अँगालो हाले र भने, ‘मलाई भेट्न घरमै आउनू ।’
अर्को दिन उनी राष्ट्रकविको घरमा गए । हारमोनियममा औंलाहरु चलाउँदै उनले ‘मालती–मंगले’ का केही गीतहरु गाएर सुनाए । घिमिरे उनीसँग अत्यन्तै प्रभावित भए र भने, ‘ल, मेरा गीतहरु कुन मन पर्छ, छानेर गाउनू ।’ उनले भोटाहिटी आएर ‘किन्नर–किन्नरी’ किने । त्यही गीति–संग्रहबाट छाने उनले, ‘सारंगी त रेटे पनि बोल्छ मीठै ध्वनि…।’

प्रेममयी तरङ्ग निम्त्याउने केही शब्दमा गला तिखारे पनि उनले राष्ट्रिय एवम् सामाजिक भावना र जिम्मेवारीपन झल्काउने अधिकांश शब्दहरुमा नै आफूलाई फैलाएका छन् । कुनै बेला, देशका सम्पूर्ण अवयवहरु द्वन्द्वको चपरीमुनि पुरिएका बेला उनले ‘शान्ति’लाई प्राथमिकताको पहिलो विन्दुमा राखेका थिए । र, गाएका थिए शान्तिगामी गीतहरु । उनलाई लागेको थियो त्यतिबेला–‘शान्तिले नै सबै कुराको सिर्जना गर्छ । शान्ति भयो भने नै देशको विकास हुन्छ । समाचार सुन्दा रक्तपातका कुराहरुमात्रै सुनिन्छन् । शान्तिसम्बन्धी गीत गाउनु एउटा कलाकारको दायित्व हो ।’ देशमा शान्त र भयमुक्त परिस्थिति उत्पन्न नहोउन्जेलसम्म शान्तिका गीतहरु गाइरहने घोषणा पनि गरेका थिए उनले । उनले त्यतिबेला गाए पनि–‘तल रुन्छ गाउ“बेसी, माथि भीर पाखा÷कहिले पनि ओभाएनन् नेपालीका आ“खा…।’

साँच्चै, शिशिर देशको गीत गाउँछन्, गरिबी, भोक, अभाव र असमानतामा बाँच्नु परिरहेका नेपालीहरुको गीत गाउँछन् । उनका गीतहरुको फलक यति व्यापक छ कि, काठमाडौंमा डेरा सर्दै गरेका युवाको कथादेखि कर्णालीको भोकमरीसम्म उनका गीतका विषय हुन् । र त उनी गाउँछन्,
‘डोल्पाले चामल पाछैन, मुगुमा नुन आछैन
के खाई बाँच्छ कर्णाली, अघाएको राजधानीलाई थाहा छैन ।’

21 पटक पढिएको

    
        Loading...     
    

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

        
            Loading...     
        

    अन्तरवार्ता

    समाचार