Presidential

जनताका सेवक रामहरि

जनताका सेवक रामहरि

ram-hari-240x300

संविधानसभाको दोस्रो निर्वाचनका लागि नेकपा (एमाले)ले देशैभरि उम्मेदवारी चयन गर्दै थियो । सहज मानिएको तथा विपक्षीका कमजोर उम्मेदवार तय भएको क्षेत्रमा नाम चलेका नेतादेखि अरू आकांक्षीहरू पनि टिकटका लागि नेताहरूका घरदैलो धाइरहेका थिए । केही असहज क्षेत्रमा भने ठूला नेताहरूले आँखा लगाएनन् ।

काभ्रेपलाञ्चोक जिल्लाको क्षेत्र नं २ का रामहरि सुवेदीलाई पनि त्यस्तै भयो । ०५६ सालमा सोही क्षेत्रबाट जितेका नेपाली कांग्रेसका सांसद शिव हुमागाईं उठ्ने निश्चित भएपछि सो क्षेत्रबाट उठ्न अरूले खासै रुचि देखाएनन् । जिल्ला कमिटीको उपाध्यक्ष रहेकाले अरूले रहर नगर्दा टिकट उनकै भागमा आउने निश्चित थियो । सादा जीवन बाँच्ने सामान्य आर्थिक हैसियतका उनी निर्वाचन खर्चिलो हुँदै गएकोमा बेखबर थिएनन् । ठेक्कापट्टा, व्यवसाय वा अन्य क्षेत्रबाट यथेष्ट कमाएकाहरू पैसाको जोडमा टिकट फुत्काइरहेका बेला सुवेदीले भने सहज रूपमा टिकट पाए । निरन्तर जनतासँग भिजेका उनी पारदर्शी जीवनशैली र सहज स्वभावका कारण सबैका लोकप्रिय थिए । सोही कारण उनको विजयलाई कसैले रोक्न सकेन ।

०४९ सालमा काभ्रेको मल्पी गाविसको अध्यक्ष भएका उनी ०५४ सालमा भने जिल्ला विकास समितिको सदस्य भए । समग्र इलाका र सिंगो जिल्लाभरिको समस्यामा ध्यान दिँदै जिल्ला विकासमा पाँच वर्ष काम गरेपछि पनि जनतासँगको उनको सम्बन्ध टुटेन । कहिले सामाजिक कार्यकर्ता, कहिले शान्ति समितिको संयोजक र कहिले राजनीतिक कार्यकर्ताका रूपमा उनी जनताबीच पुगिरहे । फलस्वरूप काभ्रे–२ का जनताले उनलाई १३ हजार ५ सय १० मत दिए । उनी निर्वाचित २ नम्बर क्षेत्र काभ्रेका चार क्षेत्रमध्ये ठूलोमा पर्छ । यो क्षेत्रमा २० गाविस र पनौती नगरपालिका पर्दछ ।

यो क्षेत्रको तालढुंगा, डाँडागाउँ, फलामेटार, मिल्चे र सालधारा गरी डाँडापारीका पाँच गाविसमा मोटरबाटो पुगेको छैन । ती स्थानमा आफू सभासद् भएकै बेला सदरमुकाम धुलिखेलबाट मोटरबाटो जोड्ने उनको धोको छ । त्यस्तै, खोपासी जलविद्युत् केन्द्र चौबीसै घन्टा चलाएर आसपासका क्षेत्रलाई लोडसेडिङमुक्त क्षेत्र बनाउने, पनौती–नमोबुद्ध–काभ्रेभन्ज्याङ–दाप्चा मोटरबाटो पिच गर्नका लागि पहल गर्ने, रोसी खोला–फलामे साँघु पक्की पुल बनाउन पहल गर्ने, दाप्चा–फूलबारी क्षेत्रमा खानेपानीका लागि पहल गर्ने, शारदा–संखु–बतासेमा सिँचाइको पहल गर्ने, शिक्षकको दरबन्दी नभएका ग्रामीण क्षेत्रका विद्यालयहरूमा दरबन्दी थपका लागि पहल गर्ने, पनौतीमा क्षेत्रीय रंगशाला निर्माण गर्नका लागि पहल गर्ने र एकीकृत खानेपानी आयोजना सम्पन्न गर्न पहल गर्ने योजना उनले बनाएका छन् ।
०२१ कात्तिक १७ गते पनौती नगरपालिका–५, मल्पीमा जन्मिएका सुवेदीले इन्द्रेश्वर माविबाट ०३९ सालमा एसएलसी पास गरेका हुन् । उनी स्कुले जीवनदेखि नै राजनीतिमा सक्रिय थिए । अनेरास्ववियुको प्रारम्भिक कमिटी सदस्य हुँदै अध्यक्ष भएका उनले स्ववियुको उपसभापतिसमेत विद्यालय जीवनमै भए । ०३५र३६ सालको शिक्षक आन्दोलनको प्रभाव देशभरि नै भयो । विद्यार्थीहरू पनि तत्कालीन पञ्चायती व्यवस्थाविरुद्ध लागे । सहदेव थापा, केशव थापालगायतका अग्रज साथीहरूको लहलहैमा उनी अनेरास्ववियुसँग जोडिए । उनलाई राजनीतिमा लाग्न हौस्याउनेहरूमा माधवप्रसाद अधिकारी, शिवबहादुर देउजा, तुइकाजी ताम्राकार र केशब बडाललगायतका व्यक्ति थिए । रामप्रसाद अधिकारीलाई त उनी आफ्नो राजनीतिक गुरु नै मान्छन् ।

१० वर्षको हुँदा पिता सुन्दरप्रसादको निधन भएकाले छोराहरूको पालनपोषण र हुकाइबढाइको जिम्मा आमा विष्णुकुमारीको जिम्मामा आइपर्‍यो । दुस्ख गरे खान पुग्ने, कृषिमा आश्रित, ऋण पनि र धन पनि नभएको परिवारमा उनको जन्म भएको थियो । तथापि, ०४० सालमा शिक्षण पेसामा लागे उनी । प्रधानाध्यापक भएका उनी ०४९ सालसम्म सोही पेसामा रहे । तर, शिक्षकको आवरणमा उनले पार्टीको काम भने जारी नै राखे । घरको आर्थिक अवस्था, पार्टी संगठनको कार्यबोझ र अन्य सामाजिक संलग्नताले उनको पढाइ ओझेल पर्दै गयो । काभ्रे बहुमुखी क्याम्पसबाट आईकम पास गरेका उनको बीए पास गरेपछि पढाइ स्थगित भयो ।

०४२ सालमा शिक्षकहरूले गरेको ‘काठमाडौं जाऔं’ आन्दोलनमा उनी २२ दिन हिरासतमा परे । ०४६ सालको जनआन्दोलनमा ६३ दिन थुनिए भने अन्य एक दुई दिन गरी थुप्रै पटक हिरासतमा बसेका छन् । ०४७ सालबाट जिल्ला कमिटी सदस्यका रूपमा लगातार पार्टी काममा लागेका उनी दुइ कार्यकालकै लागि सर्वसम्मत रूपमै उपाध्यक्ष छानिएका थिए । ०४७ सालमा तत्कालीन प्रजातान्त्रिक राष्ट्रिय युवा संघ गठन हुँदा उनी जिल्ला सहसंयोजक भए । शिक्षक, युवा र विद्यार्थी गरी उनले तीनवटै जनसंगठनको अनुभव सँगाल्ने मौका पाए । जिन्दगी नै जनताको काममा समर्पित गरेर हिँडेका सुवेदीको छोराछोरीको लेखाइ, पढाइ र घर व्यवहार श्रीमती ललिताले चलाइदिनाले उनलाई ढुक्क छ ।

पार्टीको काममा हिँड्दा उनी धेरै दिन भोकभोकै पनि हिँडे । ‘कार्यक्रम सकेर साथीहरूको घरमा अबेला पुग्दा सबैले खाना खाइसकेका हुन्थे । खानाका लागि सोध्दा दुस्ख दिन नचाहेर ‘खाएर आएको’ भन्थेँ । रातभरि पेटमा मुसा कुदेर हैरान हुन्थ्यो’– उनले ०३७ सालतिरका दिनहरू सम्झे– ‘कहिले त केशव थापा, सहदेव थापालगायतका साथीहरूसित दाल, चामल, तरकारी एकै ठाँउमा हालेर पकाएर पनि खाएका छौं । दिनभरि संगठन गर्न गाउँ–गाउँ डुल्यो, राति थकाइले लखतरान हुन्थ्यौं ।’ प्रहरी आएको भन्ठानेर धेरैचोटी तयार भएको खाना पनि नखाई भोकै हिँडनुपरेको समेत उनले सुनाए ।

सुरुदेखि नै राम्रो भाषण कला भएका उनी अहिले सदनमा तर्कशील ढंगले रोचक कुरा राख्न सक्ने सभासद्का रूपमा चिनिन्छन् । उनी संविधानसभामा नागरिक सम्बन्ध तथा व्यवस्थापिकामा समाज कल्याण समितिको सदस्य छन् । पछिल्ला दिनमा सहज ढंगले राजनीति अघि बढे पनि द्वन्द्वकालमा भने उनले जोखिम र चुनौतीका बीच अघि बढ्नुपर्‍यो । रयाले गाविसका अध्यक्ष कृष्णप्रसाद सापकोटालाई माओवादीहरूले ०५९ सालमा हत्या गरे । एमालेका लोकप्रिय र जनतासित भिजेका नेता–कार्यकर्तालाई छानी–छानी नगिँडेसम्म आफ्नो संगठन बलियो हुँदैन भन्ने माओवादीको मान्यता थियो । तर, उनीहरूले आफ्ना सहकर्मीलाई जघन्य ढंगले प्राण लिँदा सहन सकेनन् र दसौं हजारको प्रतिरोध जुलुस निकाले । माओवादीको आततायी क्रियाकलापविरुद्ध जेहाद छेडियो । कैयौं धम्की आए पनि विचलित नभई लागिरहे । फलतस् त्यही प्रतिरोध आन्दोलन लम्बिँदै गएर अन्तर्राष्ट्रियकरण समेत भयो र उनीहरू शान्ति प्रक्रियामा आउन बाध्य भए । अन्ततस् झूटको राजनीति असफल भयो । जनताको राजनीति सफल भयो । सुवेदीलाई त्यही जनताले जिताए पनि । अब उनको प्रतिज्ञा छ–‘बाँचुञ्जेल जनताकै सेवक हुन पाऊँ ।’

6 पटक पढिएको

    
        Loading...     
    

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

        
            Loading...     
        

    अन्तरवार्ता

    समाचार