Presidential

नयाँ ट्रम्प मोडल

नयाँ ट्रम्प मोडल

बर्लिनको पर्खाल ढलेको २७ औं वार्षिकोत्सवमा संयुक्त राज्य अमेरिकाले त्योभन्दा पनि ठूलो पर्खाल मेक्सिकोसितको सीमामा निर्माण गर्ने योजना बनाउने राष्ट्रपति नियुक्त गरेको छ । अब, राष्ट्रपतिमा निर्वाचित भएका डोनाल्ड ट्रम्पले आफ्नो विभाजनकारी एजेण्डालाई नै अघि बढाउने वा अमेरिकाको सर्वोत्तम हितलाई बढावा दिने भन्ने कुराको निर्णय गर्नुपर्ने छ ।

ट्रम्पको विजय र गत जुन महिनामा संयुक्त अधिराज्यको युरोपियन युनियन छोड्ने जनमतबीच धेरै समानताहरू रहेका छन् । निर्वाचनको परिणामपछि अन्तर्वार्ता लिइएका रिपब्लिकनहरू त्यति नै स्तब्ध थिए, जति बेलायतको ‘छोडौं’ अभियानका प्रर्वतकहरू जनमत संग्रहपछिको बिहानमा थिए । तर, हार्ने पक्षभन्दा बढी अवाक् बनेका भने कोही थिएनन्, किनभने दुवै अवस्था उनीहरूले नै जित्ने सर्वत्र अपेक्षा गरिएको थियो ।

बे्रक्जिट जनमतको एउटा प्रभाव अमेरिकामा देखिइसकेको छ । साथै, घृणा अपराधमा पनि बढोत्तरी हुन गएको छ, जसमा विद्यालय तथा कलेज क्याम्पसहरूमा त्यस्ता घटनाहरू डरलाग्दो दरमा भइरहेको समाचारहरू समावेश छन् । ट्रम्पको विजयपछि सामाजिक सञ्चारमाध्यममा छद्म नाममा लक्ष्यहरूलाई दुव्र्यवहार गर्ने उनका समर्थकहरू उनीहरूलाई खुला रुपमा सडकमै हैरान पार्न थालेका छन् । यो आश्चर्यजनक भने होइनः ट्रम्पको चुनावी अभियान झण्डै १८ महिना लामो विद्वेषपूर्ण अभिव्यक्तिले व्याप्त थियो, जुन उनका सर्मथकहरूका विरुद्ध मात्र नभई अमेरिकी सरकारी निकाय, सञ्चार जगत, अमेरिकी जनसंख्याका धेरै पक्ष विशेषगरी आप्रवासी, शरणार्थी, ब्ल्याक लाइभ्ज म्याटर आन्दोलनका समर्थक र मुस्लिमहरूविरुद्ध लक्षित थियो । उनको गतिविधिले कु क्लू क्यानलाई बल पुग्यो र उनी आफ्नो चुनावी अभियानमा कथित उग्रदक्षिणपन्थी भनिने गोरा राष्ट्रवादीहरूले घेरिएका हुन्थे ।

वास्तवमा ट्रम्पले आफ्ना समर्थकहरूलाई निर्वाचन अभियानका क्रममा गरेका धेरै बाचाहरू विभाजनकारी र डरलाग्दा पनि थिए, र त्यसको कार्यान्वयन गरिएमा सर्वसाधारण अमेरिकीहरूको जीवनमा गम्भीर प्रभाव पार्दै नागरिक विद्रोह निम्त्याउन सक्छ । साथसाथै, उनले वाचा गरेका नीतिहरूलाई त्याग्दा पनि त्यसले उनका सर्मथहरूबीच विरोध र सम्भवतः हिंसात्मक प्रतिरोधलाई जन्म दिनसक्छ ।

यद्यपि, ह्वाइट हाउसतर्फको संक्रमणको योजना बुन्न (मन्त्रिपरिषद् छनौट गर्ने र आफ्ना धेरै बाचाहरूलाई प्राथमिकता प्रदान गर्ने)मा ट्रम्प जति नै व्यस्त भए तापनि यो जोखिमलाई उनले उपेक्षा गर्नुहुँदैन । जिम्मेवार नेताको अलिकति पनि नजिक बन्नपुग्ने उनले आशा गरेका भए, उनले निर्वाचन प्रचारप्रसारका क्रममा निकै उत्साहका साथ बिजारोपण गरेको विभाजनको गहिरो खाडललाई सम्बोधन गर्न तत्कालै कदम चाल्नुपर्छ । यसको अर्थ अमेरिकी संविधान र विधिको शासनलाई स्थापित गर्ने कार्यलाई बढी जोड दिने शान्त र तर्कसङ्गत अवधारणाको पैरवी गरेर अझ बढी राष्ट्रपतीय बन्नु हो । उनले यस कार्यको थालनी हिंसाका विरुद्ध कडा अभिव्यक्ति दिँदै र उनका समर्थकहरूबाट आक्रमण हुने भयमा रहेका आप्रवासी र अल्पसख्यकहरूको संरक्षण गर्न अग्रसक्रिय कदमहरू चालेर गर्नुपर्छ ।

अझ विस्तृत रुपमा भन्नुपर्दा ट्रम्पले विजयको उन्मादबाट टाढा रहँदै असामान्य विनम्रताका साथ अबका दिनमा रहेको चुनौतीको विशालतालाई स्वीकार्नु पर्दछ । र, अमेरिकी राजनीतिमा हालैका वर्षहरू र विशेषगरी हालै सम्पन्न चुनावी अभियानमा प्रभुत्व जमाउँदै आएको दलगत विद्वेषलाई नकार्दै सहमतिजन्य अवधारणाका बारेमा उनले भरपर्दो सन्देश प्रवाह गर्न आवश्यक छ ।

पक्कै पनि ट्रम्प यसमा एक्लै छैनन् र एउटा नेता उनको टोलीबराबर मात्र राम्रो हुनसक्छन् । आफ्नो प्रशासनको निर्माण उनले कसरी गर्छन् भन्नेबारेमा ट्रम्प पारदर्शी हुँदै त्यसमा आफूमा अभाव रहेको ज्ञान र अनुभव समावेश गरिएको सुनिश्चित गर्नुपर्छ । यस अर्थमा उनीसँगको स्रोत त्यति धेरै छैन तर उनले त्यसलाई व्यवहारमा सफल बनाउने कुनै माध्यम पहिल्याउनु पर्छ, र उनलाई बुद्धिमानी ढंगबाट सल्लाह दिने समूह तयार गर्नुपर्छ ।

यी कदमहरू ट्रम्पले तत्कालै अघि बढाउनु महत्वपूर्ण हुन्छ, जसले गर्दा उनको प्रशासनले काम गर्न सुरु गरिहाल्न सकोस् । त्यसो भएमा मात्र उनले कार्यकालको पहिलो १०० दिनका लागि अभिव्यक्त प्रतिबद्धताहरूलाई पूरा गर्न सक्नेछन् र अझ महत्वपूर्ण रुपमा आफ्नो चुनावी अभियानले निम्त्याएको भय र रोषलाई निस्तेज बनाउन सुरु गर्नसक्नेछन् ।
हाल विद्यमान तनाव कम गर्न, सहकार्यमा सुधार ल्याउन र अमेरिकी राजनीतिक व्यवस्थाको नियन्त्रण र सन्तुलनलाई संरक्षण गर्न विधायकहरू चाहे ट्रम्प पक्षधर हुन् वा विरोधी, रिपब्लिकन हुन् वा डेमोक्र्याट, सबै पूर्ण रुपमा संलग्न हुनुपर्छ । आजको अमेरिका विस्फोटक अवस्थामा रहेको उनीहरूले स्वीकार्नुपर्छ । आगोसँग खेल्ने समय अब समाप्त भइसक्यो । ठन्डा दिमागले सोच्नुपर्ने बेला छ ।

सबै व्यवसाय, संस्कृति, गैरनाफामूलक क्षेत्रका साथै सञ्चार माध्यम र ज्ञाताहरू पनि अतिशयोक्ति र डर फैलाउने कुटनीतिबाट टाढा रहँदै शान्त हुनुपर्छ र साझा भविष्यतर्फ लाग्नुपर्छ । अझ महत्वपूर्ण रुपमा, समुदायका अग्रणी व्यक्तित्वहरूले आफ्ना समुदायका सदस्यहरूलाई गलत ढंगले प्रयोग हुनबाट र गम्भीर प्रभाव निम्त्याउने व्यवहारमा फस्नबाट रोक्नुपर्छ ।

सार्वजनिक व्यक्तित्वका रुपमा ट्रम्पको लामो इतिहासलाई नियाल्दा अमेरिकामा हाल विद्यमान विभाजनलाई कम गर्न उनले सघाउ पु¥याउने विचार उपहासपूर्ण लाग्न सक्छ । उनको विजयी भाषणमा ‘सबै अमेरिकीहरूको राष्ट्रपति’ बन्ने परम्परागत बाचा समावेश थियो । अमेरिकी जनताले उनलाई त्यो भावनासँगै बाँधेर राख्नुपर्छ । केही र वास्तवमा धेरैले उनलाई कदापि समर्थन गर्ने छैनन् तर राष्ट्रपतिका रुपमा सबै समक्ष पुग्नु र देशको साझा मूल्यमान्यताको आह्वान गर्नु उनको जिम्मेवारी हो ।

राष्ट्रपति हुन र राष्ट्रपतिको उम्मेद्वारमा प्रतिस्पर्धा गर्नका लागि ज्यादै फरक सीपहरू आवश्यक हुन्छन् । राष्ट्रपतिमा नवनिर्वाचित ट्रम्पले आफ्नो पहिलो १०० दिन नियुक्ति गर्ने र कानुनहरूलाई प्राथमिकता प्रदान गर्ने काम मात्र नगरी आफ्नो प्रशासनका लागि पुनःआश्वस्त पार्ने कार्यमा पनि उपयोग गर्नुपर्छ । स्थिरता र विश्वास दिनको सबैभन्दा महत्वपूर्ण पक्ष बन्नुपर्छ ।

अति विभाजन र गृह युद्धको समयपछि दोस्रो पटक पदस्थापन गर्ने क्रममा दिएको भाषणमा अब्राहम लिङ्कनले यस्तो घोषणा गरे, ‘सङ्घर्ष गर्दै अघि बढौं’ र ‘राष्ट्रको पीडालाई बाधौं ।’ ट्रम्प लिङ्कन होइनन् तर उनले आफ्नो विजयी भाषणमा त्यही भावनालाई उजागर गरे । आशा छ उनको त्यो भावना साँचो थियो ।

(मार्कस परामर्श कम्पनीकी संस्थापक श्री मार्कस स्पेनस्थित आई विजनेस स्कुलमा नेतृत्व र शासन विषयकी प्राध्यापक हुन्) प्रोजेक्ट सिन्डिकेट÷रासस, अनुवाद ः मनोज कार्की

    
        Loading...     
    

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

        
            Loading...     
        

    अन्तरवार्ता

    समाचार