Presidential

नेपाल–भारत सम्बन्धः इतिहासदेखि वर्तमानसम्मका कोलाज

नेपाल–भारत सम्बन्धः इतिहासदेखि वर्तमानसम्मका कोलाज

–विवश वस्ती
नेपाल–भारत सम्बन्धका बहुआयामिक पक्ष छन् । सामाजिक, साँस्कृतिक, आर्थिक तहमा मात्र होइन, राजनीतिक तहमा पनि यी दुई छिमेकी देशबीच सम्बन्धको सुदीर्घ परम्परा कायम रहँदै आएको छ । खुला सीमा, भाषिक सहजता, सहज आवागमनजस्ता पक्षहरुले जनस्तरमा कोरिएको प्रगाढ सम्बन्ध धेरै नै मजबुत छ भने राजनीतिको उपल्लो तहमा समेत एकअर्का देश सदैव सहयोगी र प्रतिबद्ध रहँदै आएको यथार्थ सर्वत्र छ । चाहे भारतको स्वतन्त्रता संग्राममा नेपालीहरुले पु¥याएको योगदान होस् वा नेपालका विभिन्न राजनीतिक परिघटनाहरुमा भारतका राजनीतिक शक्तिहरुले खेलेको भूमिका होस्, यसले यी दुई देशबीच राजनीतिक स्तरमा घनिष्ठ, शक्तिशाली र आत्मीय सम्बन्ध रहेको सहजै पुष्टि हुन्छ । यद्यपि, सम्बन्धका अनेक सुमधुर आयाम भए पनि यी दुई देशबीच राजनीतिक तहमा स्वार्थहरु बाझिँदा बेलाबखत कटुता, तनाव र असमञ्जस्यता उत्पन्न हुँदै आएका छन् ।

सदीयौं पुरानो नेपाल–भारतबीचको सम्बन्धलाई गहिराइमै पुगेर खोतल्ने प्रयत्नस्वरुप एउटा गहकिलो पुस्तक अहिले नेपाली बजारमा आएको छ । डा. विजयकुमार पौडेलद्वारा सम्पादित ‘नेपाल–भारत सम्बन्ध ः विगत, वर्तमान र भविष्य’ ले यी दुई देशबीचको सम्बन्धका अनेक पाटो उघिन्ने सार्थक प्रयत्न गरेको छ । नेपाली राजनीतिमा क्रियाशील पहिलो पुस्ताका नेता, सत्ता सञ्चालनको अनुभव बटुलेका नेताहरु, युवा राजनीतिज्ञ, नेपाल–भारत सम्बन्धबारे अध्ययन÷विश्लेषण गर्दै आइरहेका विश्लेषकहरु र भारतीय पत्रकारका समेत विचार र विश्लेषण समेटिएको उक्त पुस्तक यी दुई देशबीचको सम्बन्ध पर्गेल्न चाहने हरेक क्षेत्र, तह र तप्काका व्यक्तिहरुका निम्ति एउटा बौद्धिक खुराकको रुपमा आएको मान्न सकिन्छ ।

त्रिभूवन पाल्पा गएका भए…

पहिलो पुस्ताका नेता एवं नेपाल कम्युनिष्ट पार्टीका संस्थापक महासचिव पुष्पलालले नेपाल–भारतबीच भारत स्वतन्त्र हुनुअघि सुमधुर सम्बन्ध रहे पनि स्वतन्त्रता प्राप्तिपछि सम्बन्धमा जटिलताहरु थपिएको विश्लेषण गरेका थिए । नेपाली कांग्रेसका नेता बीपी कोइरालाको विश्लेषणमा भने राजा त्रिभूवन भागेर इन्डिया गएपछि नेपालमाथि भारतीय प्रभाव हाबी रह्यो । उनले लेखेका छन्, ‘सबै ठाउँमा हामी लडाइँ जित्दै थियौँ । यता श्री ५ भगाइए वा भागे । आखिर जे नहुनु थियो, त्यही भयो । राजा दिल्ली गए । हामीले राजालाई पाल्पा लैजाने सोच गरेका थियौँ । दिल्ली गएपछि राजामाथि र हामीमाथि अरु नै हाबी भए । हामीले भनेअनुसार किन हुन्थ्यो ? हाम्रो योजना मुताविक राजालाई पाल्पा लैजान सकेको भए भारतीय प्रभाव यस तरहको कहिल्यै हुने थिएन, जुन आज पनि हामी सबैले भोग्नु परेको छ ।’

अग्रज कम्युनिष्ट नेता मोहनविक्रम सिंहले भने भारतीय शासक वर्गमा अझै बेलायती मानसिकता हाबी रहेको विचार व्यक्त गरेका छन् । पछिल्लो पटक २०७२ असोज ३ गते नेपालमा संविधान जारी भएपछि भारतले नेपालमाथि लगाएको नाकाबन्दी र त्यसले यी दुई देशबीच उत्पन्न तनावको पृष्ठभूमि र घटनाक्रमबारे सिंहले विश्लेषण गरेका छन् । सिंहले विगत ६ दशकदेखि भारतले नेपालप्रति एउटै रणनीति अपनाएको र कुनै निहुँ झिकेर नेपाललाई हडप्न चाहेको उल्लेख गरेका छन् । वरिष्ठ साहित्यकार एवं वामपन्थी नेता मोदनाथ प्रश्रितले भने यी दुई देशका साँस्कृतिक सम्बन्धका आधारहरु केलाउन चाहेका छन् । उनी लेख्छन्, ‘देशले राजनीतिक स्वाभिमान जोगाउन नसक्ने हो भने साँस्कृतिक सम्बन्ध पनि कमजोर हुँदै समाप्त हुनेछ । नयाँ आधा, देशका प्रत्येक कच्चा पदार्थको प्रशोधन, विविध औद्योगिक व्यावसायिक क्षमताको विकास र आत्मनिर्भर भई शिर ठाडो पारेर नयाँ नयाँ अभियानमा संलग्न हुन पाउने अधिकार नै वर्तमान नेपाल–भारत साँस्कृतिक सम्बन्धका आधार हुनुपर्दछ ।’

भारतीय चेकपोष्टको लफडा

पूर्वप्रधानमन्त्री कीर्तिनिधि विष्टले आफ्नो कार्यकालमा नेपाल–चीनको सीमामा रहेको भारतीय सेनाको चेकपोष्ट हटाए । त्यसयता उनलाई चीनपरस्तको आरोप लाग्दै आएको छ । उनले भारतीय चेकपोष्ट हटाउँदाका सन्दर्भ र जटिलताहरु राखेका छन् र भारतसँग पौठेजोरी खेल्न नसके पनि आफ्नो अडानमा रहे उसको हेपाहा प्रवृत्ति अन्त्य हुने आशा राखेका छन् । विष्टका साथै पूर्वप्रधानमन्त्रीहरु लोकेन्द्रबहादुर चन्द, पुष्पकमल दाहाल, माधवकुमार नेपाल, झलनाथ खनाल, डा. बाबुराम भट्टराई, केपी शर्मा ओली र नेताहरु वामदेव गौतम र कृष्णप्रसाद सिटौलाका विचारहरु पनि सो पुस्तकको शोभा बनेका छन् । एमालेका वरिष्ठ नेता नेपालले छिमेकीहरु मिलेर बस्नुको विकल्प नरहेको उल्लेख गर्दै लेखेका छन्, ‘नेपालप्रति भारत बढी आशंकित हुनुपर्ने कुनै कारण छैन । हामीलाई भारतका प्रत्येक संवेदनशीलता थाहा छन् र हामीले तिनको सक्दो सम्बोधन गरेका छौं । हामी चाहन्छौं, हाम्रो हकमा भारतले पनि त्यही काम गरोस् । भूपरिवेष्ठित मुलुक भएका कारण हाम्रा अपेक्षा र अधिकारलाई भारतले नजरअन्दाज गर्न मिल्दैन र सक्दैन ।’

युवा पुस्ताका राजनीतिज्ञहरु बैजनाथ चौधरी, लालबाबु यादव, रामचन्द्र पोखरेल र योगेन्द्र शाहीका विचारहरुसमेत समेटिएको उक्त पुस्तकमा नेपाल–भारतबीचको सम्बन्धबारे वर्षौंदेखि छिद्र–छिद्र केलाउँदै आएका विश्लेषक–विशेषज्ञहरुका विचार पनि आबद्ध छन् । सीमाविद् बुद्धिनारायण श्रेष्ठले आन्तरिक समझदारी र राष्ट्रिय एकता सुदृढ हुँदा छिमेकीको हस्तक्षेप रोक्न सकिने तर्क राख्दै विभिन्न समयमा भारतले नेपालमाथि गरेको सीमा तथा आर्थिक नाकाबन्दीको इतिहास केलाउन चाहेका छन् भने सेनाका अवकासप्राप्त सहायक रथी केशरबहादुर भण्डारीले नेपालले आफू, चीन र भारतलाई समेट्ने गरी साझा सुरक्षा चासोमाथि सम्बोधन गर्ने हेतुले त्रिपक्षीय सुरक्षा सहयोगको अवधारणा विकास गर्न पहल गर्न सक्नेतिर औंल्याएका छन् । उनी लेख्छन्, ‘नेपालका लागि सुरक्षा साझेदारीको उद्देश्य भनेको सुरक्षा क्षेत्रको आधारभूत कुरामा आत्मनिर्भर भई क्षमता अभिवृद्धिका साथै विश्वसनीय सुरक्षा प्रणालीको विकास गर्नु हो । ताकि नेपाल दुवै छिमेकी राष्ट्रको एक भरपर्दो र विश्वसनीय सुरक्षा साझेदार बन्न सकोस् ।’

इखालु भारतीय शासक वर्ग

जलस्रोतविज्ञ सूर्यनाथ उपाध्यायले दक्षिण एसियामा भारतको जलस्रोत रणनीतिबारे सल्यक्रिया गर्न चाहेका छन् भने डा. गोविन्दबहादुर थापाले नाकाबन्दी र त्यसको अर्थ–राजनीतिबारे खुलासा गरेका छन् । डा. युवराज संग्रौला र टीकाराम भट्टराईले संविधान, नाकाबन्दी र यी दुई देशका सम्बन्धबारे कानुनी नजरले हेर्न रुचाएका छन् भने धु्रवकुमार गौतम, हिरण्यलाल श्रेष्ठ, डा. रमेश पौडेल, डा. सुरेन्द्र केसी र डा. विजयकुमार पौडेलले यी दुई देशका सम्बन्धका विविध आयामबारे आ–आफ्नो विचार–विश्लेषण पस्किएका छन् । त्यस्तै, नेपालको मामिलाबारे बारम्बार कलम चलाउँदै आएका भारतका वरिष्ठ वामपन्थी पत्रकार–बुद्धिजीवि आनन्दस्वरुप वर्माले भने भारतीय शासक वर्गको मनोवृत्ति उजागर गर्न चाहेका छन् । उनी लेख्छन्, ‘ठूला राष्ट्रहरुका ठूलै स्वार्थ हुन्छन् भन्ने कुरा स्वाभाविक मान्न सकिन्छ । तर, भारतीय शासक वर्गको चरित्र अलि विशेष किसिमको छ । आफ्नो देशको हितसँग प्रत्यक्ष असर नपर्ने विषयमा अरुले मतदान गरिहाले पनि विकसित पुँजीवादी देशहरु त्यति साह्रो इख लिँदैनन् । तर, भारतीय शासक वर्गले त्यति पनि सहनशीलता देखाउन नसकेका प्रशस्त उदाहरणहरु छन् ।’

माक्र्सवादी अर्थशास्त्रका ज्ञाता डा. पौडेलद्वारा सम्पादित नेपाल–भारत सम्बन्धबारे विभिन्न क्षेत्रका व्यक्तिद्वारा लिखित यो पुस्तक यस्तो समय प्रकाशनमा आएको छ, जतिबेला नेपालको राजनीतिक, सामाजिक, आर्थिक मुद्दाहरुमा भारतको चासो, स्वार्थ र तत्परता झनै सघन र घनिभूत बन्दै गएका छन् । संविधान जारी हुनुपूर्वदेखि नै नेपालको सार्वभौम सत्ता, राष्ट्रिय स्वाधिनता र अखण्डताप्रति बाधा पु¥याउने हेतुले पन्पिँदै आएको भारतीय स्वार्थ अहिले संविधान संशोधन गर्ने÷गराउने तहसम्मै तन्किएको छ । यो पुस्तक सान्दर्भिक समयमा नै बजारमा आएको हुँदा नेपाल–भारतबीचको सम्बन्धका अनेक आयाम बुझ्न चाहनेहरुका निम्ति एउटा भरपर्दो र पठनीय पुस्तकसमेत बन्न पुगेकोमा कुनै दुईमत देखिँदैन । समग्रमा, यो पुस्तक नेपाल–भारत सम्बन्धको इतिहासदेखि वर्तमानसम्मलाई समेटिएको एउटा सुन्दर कोलाज बन्न पुगेको छ ।

    
        Loading...     
    

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

        
            Loading...     
        

    अन्तरवार्ता

    समाचार