Presidential

कसले गर्‍यो यति गम्भीर लापरवाही ?

कसले गर्‍यो यति गम्भीर लापरवाही ?

टर्कीको व्यस्त स्तानबुल विमानस्थलको बिजनेस कक्षमा बस्दासम्म गायत्री आचार्य (नेपाल) लाई बाहिर आफ्नो खोजी भइरहेको छ भन्ने थाहै थिएन । जब उहाँ आफ्ना श्रीमान् माधवकुमार नेपालसँगै अमेरिकातर्फ जाने टर्किस एअरको जहाज चढ्न निस्किनुभयो, त्यतिबेला त ‘मिसेस आचार्य, मिसेस आचार्य’ भन्दै माइकमा नाम बोलाइरहेको रहेछ ।

के रहेछ भनेर बुझ्दै जाँदा उहाँलाई सोधियो– ‘तपाईंको राहदानी हराएको वा चोरिएको थियो ?’

त्यो दुबै भएको थिएन । तर, उहाँलाई त्यहाँका सुरक्षाकर्मीले भने, ‘यो राहदानीको इन्टरपोलले खोजी गरिरहेको छ ।’

साथमा रहेका सबै छक्क परे । गायत्री नेपालसँग सामान्य होइन, कुटनीतिक राहदानी थियो र त्यसको अवधि एक वर्ष थियो । कहिल्यै हराउने वा कसैले चोर्ने त प्रश्नै थिएन ।

तर टर्किस अधिकारीहरुले मानेनन् । उनीहरुले आफूहरुलाई प्राप्त निर्देशन मात्र सुनाइरहे ।

अध्यागमनको सबै प्रक्रिया सकिइसकेको थियो र बाँकी मानिसहरु अघि नै विमानमा चढिुसकेका थिए । नौ जनाको नेपाली टोली मात्रै बिजनेस लाउन्जबाट निस्किएको थियो ।

उता जहाज उड्नै लागेको सूचना आइरहेको थियो । अब उहाँहरुका अगाडि प्रश्न सोधियो– ‘क्लियरेन्स नभएसम्म उहाँ जान सक्नुहुन्न, अरु जाने कि यहीँ बस्ने छिटो निर्णय दिनूस्, जहाजले कुर्दैन ।’

गायत्री नेपालको यो पहिलो अमेरिका भ्रमण थिएन, तेस्रो थियो । रोचक कुरा त यसअघि दुई पटक अमेरिका जाँदा प्रयोग भएका कुटनीतिक राहदानीको म्याद सकिए पनि उहाँले साथैमा बोक्नुभएको थियो, जुन सामान्यतः अरुले बोक्दैनन् । ती राहदानी र भिसा देखाउँदा पनि अधिकारीहरुले मानेनन् ।

त्यतिबेला त्यहाँबाट कतै सम्पर्क गर्ने स्थिति पनि थिएन । बाशिंगटनमा भोलिपल्ट पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले विश्व शान्ति सम्मेलनमा बोल्ने कार्यक्रम थियो । त्यसैका लागि टोली अमेरिका जान लागिरहेको थियो ।

माधव नेपाल अमेरिका उड्नुभयो भने गायत्री नेपाल त्यहीँ बस्नुभयो ।

एकछिनपछि बल्ल नेपालमा सम्पर्क भयो र प्रहरी प्रधान कार्यालय र परराष्ट्र मन्त्रालयमा खबर हुँदा हल्लीखल्ली मच्चियो । दुबै निकाय तत्कालै जुटे र तीन घन्टामा इन्टरपोलबाट क्लियरेन्स आयो ।

राती बस्नका लागि बाहिर निस्किन अर्को समस्या भयो– टर्कीको भिसा सिंगल इन्ट्री मात्रै थियो । तत्कालै भिसा आवदेन भर्दा थप समस्या– कागजको नोट चल्दैन, कार्ड छैन ।

अमेरिकी दूताबासले कुटनीतिक राहदानीमा लगाएको पाँच वर्षे भिसामाथि पनि शंका गरिएपछि राती नै वाशिंगटन र नेपाल दुबैतिरबाट लिखित र मौखिक रुपमा स्पष्ट पार्ने काम भएको थियो ।

राहदानी विभागका अधिकारीहरुले बताए अनुसार, सन् २०१४ मा हराएको कुनै व्यक्तिका राहदानीको नम्बरसँग गायत्री नेपालको नम्बर मिलेका कारण यस्तो दुर्घटना हुन पुगेको हो । तर, यो तर्कमा दम नहुनुका केही कारण छन्ः

१. त्यसरी कुनै राहदानी हराएको निवेदन कसैले दिएमा उसको राहदानी नम्बर मात्र होइन, नाम पनि साथमै पठाइन्छ । फलानो नम्बर र नामको राहदानी नभनी नम्बरको मात्र उल्लेख गरिँदैन । यसमा त्यस्तो भयो भनेर कसरी पत्याउने ?

२. कुटनीतिक राहदानी दिँदा त्यो नम्बर प्रयोग गर्नका लागि पहिला कतै प्रयोग भएको छ कि छैन भनेर जाँच नगरिनुको कारण के होला ? यस्तो लापरवाही अरुको हकमा पनि भएको छैन भनेर कसरी विश्वास गर्ने ?

३. इन्टरपोलको शाखा टर्कीमा मात्र छैन, नेपालमा पनि छ । कसैको हराएको भनिएको नबमरको जानकारी त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पनि होला । तर, त्यहाँ किन जाँच गरिएन ?

४. गायत्री नेपाल टर्कीमा ओलिएको २–३ घन्टापछि मात्र यो घटना भएको छ । जबकि, कुनै कैफियत देखिएको थियो भने टर्कीमा इन्ट्री गर्ने बेलामै थाहा हुनुपर्ने होइन र ?

५. अमेरिकी दूताबासले कुटनीतिक राहदानीबाहकलाई आफैँ भिसा दिनुको साटो वाशिंगटनबाट क्लियरेन्स लिएर मात्रै भिसा दिन्छ । माधव नेपाल र गायत्री नेपालका हकमा पनि ८–१० लिन लगाएर, वाशिंगटनमा सोधेर बल्ल भिसा दिएको थियो । केही कैफियत भएको भए त्यतिबेला पत्ता लाग्ने थिएन होला र ?

६. अरु सबै प्रक्रिया पार हुँदासम्म कहीँ कतै केही पनि नभनी टर्कीबाट जहाज चढ्ने अन्तिम बेला मात्र किन कुरा उठाइयो होला ? यसका पछाडि सामान्य संयोग मात्र होला वा अरु केही कारणले काम गरेको होला ?

७. सबभन्दा अहम् प्रश्न– गायत्री नेपाल त कुटनीतिक राहदानीबाहक हुनुहुन्थ्यो, छिटै सबैतिर कुराकानी भयो र समस्या समाधान भयो । तर, त्यस ठाउँमा साधारण राहादनीबाहक अरु कोही नेपाली भएको भए यसको अवस्था के हुन्थ्यो र त्यसको जिम्मेवार को हुन्थ्यो ?

८. बिनाकारण र बिनागल्ती गायत्री नेपालले भोगेको पीडाको क्षतिपूर्ति कसले कसरी गर्दछ ?

5 पटक पढिएको

    
        Loading...     
    

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

        
            Loading...     
        

    अन्तरवार्ता

    समाचार