Presidential

किन कर तिर्न चाहँदैनन् होटल याक एन्ड यतीका सञ्चालकहरु ?

किन कर तिर्न चाहँदैनन् होटल याक एन्ड यतीका सञ्चालकहरु ?

२९ मंसिर । होटल याक एन्ड यतीले कर तिर्न अटेर गरेपछि काठमाडौँ महानगरपालिकाले कारबाहीको प्रक्रिया अघि बढाउने भएको छ । अन्य तारे होटल करको दायरामा आइसक्दा पनि याक एन्ड यतीले भने अहिलेसम्म सबै शीर्षकमा कर तिर्न आलटाल गरेपछि कारबाहीको प्रक्रिया सुरु गर्न लागेको कामपाले जनाएको हो ।

स्थानीय स्वायत्त शासन ऐन, २०५५ को दफा १६५ (२) बमोजिम पहिलो चरणमा कामपाबाट उक्त होटललाई दिने सबै सेवा रोक्का गर्ने, दोस्रो चरणमा होटलको प्रशासन र लेखामा तालाबन्दी गर्दा पनि कर नतिरे तेस्रो चरणमा विद्युत् र खानेपानी सेवासमेत ठप्प पारी दिने महानगरपालिकाका राजस्व महाशाखा प्रमुख धु्रव काफ्लेले बताए । उक्त होटलले करको विवरण बुझाइसकेको भए पनि उक्त विवरणसमेत गलत रहेको कामपाको ठहर छ ।

याक एन्ड यतीले कर तिर्नुपर्ने समय २० वर्ष पुगिसकेको भए पनि दुई वर्षअघि १० लाख मात्र दिएको थियो । होटलबाट वार्षिक करिब १० लाखदेखि १२ लाखसम्म कर उठ्ने महानगरले जानकारी दिएको छ । महानगरका अनुसार याक एन्ड यतीले संयुक्त राष्ट्र्रसंघीय एजेन्सीलाई भवन भाडामा दिएकाले त्यसको बहाल कर र केही जग्गासमेत भाडामा लिएकाले सोको पनि घरजग्गा कर तिर्नुपर्ने हुन्छ ।

महानगरले ती सबै कर तिर्न निर्देशन दिए पनि अटेरी गर्दै आएको छ । अन्य तारे होटल भने महानगरपालिकाले घरजग्गा, सवारी तथा बहाल करमा कडाइ गरेसँगै करको दायरामा आएका छन् । काफ्लेका अनुसार आर्थिक वर्ष २०७२÷७३ मा होटलले करिव रु सात करोड बराबरको कर तिरेका छन् ।

काठमाडौँमा हाल १३ ओटा तारे होटल सञ्चालनमा छन् । अन्नपूर्ण, सोल्टी, द्वारिकाज होटल, ¥याडिसनलगायतका अन्य होटलले भने कर तिरिसकेका छन् ।

1 पटक पढिएको

    
        Loading...     
    

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

        
            Loading...     
        

    अन्तरवार्ता

    समाचार