Presidential

बेखबर

बेखबर

—नारायण तिवारी

खरीखोला !
काठमाडौँ उपत्यकाको “ओहो ! त्यो ठाउँ त खुबै राम्रो आवासक्षेत्र पो हो त, के तपाईंंले पनि त्यतैतिर घर बनाउनुभयो ?” भन्दै केही खुसी, केही ईष्र्याले इष्टमित्रले भनिहाल्ने उत्कृष्ट ठाउँ !

नाम खरीखोला भए पनि खोला नभएको ठाउँ ! भद्रभलादमीजनहरूद्वारा आच्छादित आवासक्षेत्र ! तर याँ बडेमानका महलजस्ता शालीन भवनहरू के खाएर बनाए हुन् त्यस क्षेत्रमा बसोबास गर्ने भद्रभलादमीजनहरूले ? अनि भद्रभलादमीजनहरूका कुलीन ठाँटबाँट, तिनका मोटरको सभ्य टिँ…टिँ… कसो गरी जगेर्ना गर्न सकेका हुन्… ?

खरीखोलामा घडेरी किन्न हामी जग्गा हेर्न जाने भयौँ— यी सबै गाथाबाट बिलकुल बेखबर !

कृष्णजी पुरानो मित्र हुनुहुन्थ्यो तर कसरी थाहा पाउनुभएन कुन्नि हाम्रो हैसियत ?

उहाँले यति मात्र भन्नुभएको थियो— “साह्रै राम्रो ठाउँ छ । नयाँ आवासक्षेत्र हो । प्रायः सबै जागिरे छन् र प्रायः सबै सभ्य छन्… ।”

मानौँ उहाँ भन्दै हुनुहुन्थ्यो जागिरे र सभ्यता अन्योन्याश्रित हुन् ! जागिरे र भद्रभलादमी एकअर्काका पर्याय हुन् !

म पनि जागिरे ! ठीकै छ— जागिरेले जागिरेको सुखदुःख बुझ्न सक्छ । एउटै वर्ग, एउटै जात— जागिरे ! जाऊँ न त जाऊँ… ! यसो भन्दै हामी जग्गा हेर्न जाने भयौँ ।

कृष्णजीलाई मैले धेरै पहिलेदेखि विराटनगरबाट खबर पठाउँदै आएको थिएँ— “पछि म पनि काठमाण्डू सर्छु । लौन मलाई पनि ठाउँ हेर्दिंदै गर्नुस् है… !”

उहाँले पनि प्रत्युत्तर पठाउँदै आउनुभएको थियो— “तपाईंं भन्नुस् न कहिले किन्ने ? जग्गा त जति भन्नुहुन्छ पाइहालिन्छ नि… !”

“म भन्छु नि त्यस बेला है !” काठमाडौँ बस्ने रहर, केटाकेटीलाई काठमाडौँमा पढाउने रहर, काठमाडौँ सर्ने रहर, केटाकेटीलाई ठूला मान्छे बनाउने रहर— यी सबै रहर बेलाकुबेला कृष्णजीसित व्यक्त गरिदिने गर्दथेँ । भनौँ न हैसियतले सक्षम नभए पनि ‘रहर’ ले काठमाडौँको सपना ओढेको थिएँ ।

गाउँमा घर थियो तर विराटनगर यति धेरै बसियो मानौँ मेरो स्थायी ठेगाना विराटनगर नै हो । चिन्नेहरूले विराटनगरको मान्छे भनेर चिन्न थालिसकेका थिए । बिर्सनेहरूले, हाम्रो गाउँको होइन ऊ त विराटनगरको मान्छे भनेर बिर्सन थालिसकेका थिए । बा हुनुहुन्नथ्यो, आमा हुनुहुन्नथ्यो— बाआमाले छोडेर जानुभएको एउटा फुसको घर, जागिरको प्रारम्भ र विराटनगरको बसाइदेखि नै क्रमशः भत्किन थालिसकेको थियो । जाबो अंसको दस कट्ठा जग्गा रुङिदिने गाउँमा आफ्ना काका हुँदैहुनुहुन्थ्यो । अलिकति चामल, अलिकति दाल, अलिकति आलु, अलिकति गहुँ काकाबाट पाउँदै जीवन गुजार्दै थिएँ । बाआमाको स्वर्गवासपछि काकाकै सहयोगमा उहाँका छोरा— दाइहरूसित सहर बसेर पढेँ । काकाकै स्नेहको मलजल पाएर पढाइमा उन्नति गर्दै गएँ । जागिर खाएँ । बिहे गरेँ ।

केटाकेटी भए । मानौँ शून्यबाट उठेँ र धेरै प्रगति गरेँ । अधिकृत भएँ र धेरै प्रगति गरेँ । मेरा बा फाटेको गन्जी लगाउनुहुन्थ्यो, आमा फाटेको चोलोले आङ ढाक्नुहुन्थ्यो— उहाँहरू हुनुहुन्न, म उहाँहरूको आङ कसरी ढाकूँ ? शून्यबाट उठेर म कसका निम्ति केही गर्न जुटूँ… !

बाआमाको स्मृतिले गला भारी हुँदा आँखा रसिला भइरहँदा अनायासै एक दिन भनिरहेभैmँ लाग्यो उहाँहरूले— “तँ छोराछोरीलाई पढा । ठूला मान्छे बना । हामी टाढा क्षितिजमा हुन्छौँ र हेरिरहनेछौँ तँलाई, दुलहीलाई, आफ्ना नातिनातिनालाई… !”

त्यसैले रहर पालेँ— छोराछोरीलाई पढाउने, ठूलो मान्छे बनाउने… !

तर के काठमाडौँमा नपढाई कोही ठूला मान्छे बन्दैनन् ? सायद बन्छन्, सायद बन्दैनन्– त्यता सोचिनँ ।

एकोहोरो लागेँ— काठमाडौँ… काठमाडौँ… ! एस्.एल्.सी. दिइसकेको छोरो छ— अब उच्चशिक्षाका लागि काठमाडौँ ! छोरी आठमा छे— उसका लागि पनि अब काठमाडौँ !

कामले रिझाएका हाल विभागमै हुनुभएका हाकिमसित आफ्ना इच्छा–आकाङ्क्षा खुलस्त राखिदिएपछि उहाँले सरुवा गरिदिइहाल्नुभयो । तर एकपल्ट सोध्नुभएको थियो— “तपाईंंजस्तो इमानदार मान्छे, कसरी सक्नुहुन्छ काठमाडौँमा जमिन किन्न ? घर बनाउन ?”

“भइहाल्छ होला नि सर ! सञ्चयकोषले अहिले ल्याएको नयाँ कर्जा दिने स्किमबाट त… ।”

“खोइ कुन्नि… !” अति मन पराउने हाकिमले पनि संशय गर्दै ओठ लेप्य्राउनुभएको थियो ।

अनि मैले कृष्णजीलाई खोज्न थालेको थिएँ— खोइ कृष्णजी ! मलाई घडेरी किनाइदिने कृष्णजी… ! कृष्णजीलाई हामी दुई जोईपोइ भएर तीनकुनेमा पर्खिबस्यौँ । शनिबारको दिन । हामी सखारै आठै बजे भात खाईवरी नौ बजेभित्र तीनकुने पुगिसकेका थियौँ । तर कृष्णजी… ! एघार बजेसम्म उहाँको कुनै ठेगान थिएन । बल्ल हस्याङफस्याङ गर्दै एउटा बसबाट उत्रिनुभयो कृष्णजी !

“कृष्णजी क्या कृष्णजी !” मैले आफ्नी श्रीमतीलाई कृष्णजी नजिकै आइसकेपछि औँल्याइदिएँ । श्रीमतीजी वाल्ल परिन् । मानौँ भन्दै हुन्— ‘होइन, तपाईंं त यतिविधि दुब्लो हुनुहुन्नथ्यो त !’

“भाउजू नमस्ते !” कृष्णजीले उनको वाल्ल मुद्रालाई झकझकाइदिनुभयो ।

“पहिले त मोटो हुनुहुन्थ्यो होइन ?” उनले बल्ल बोली फुटाइन् ।

“हो नि भाउजू ! यो काठमाडौँमा यस्तै हो ।” कृष्णजीले मानौँ खुइâय सुस्केरा काढ्नुभयो… !

“होइन तिमी कुरो बुझ्दिनौ— उहाँ त्यसै भन्नुहुन्छ । बरु वाकिङ गर्नुहुन्छ होला, एक्सरसाइज गर्नुहुन्छ होला । तिमीलाई थाहा छैन— काठमाडौँ आएर कतिकति मान्छे मोटाएका… !” मैले लुती स्वास्नीलाई नजानिँदो पाराले अब तिमी पनि मोटाउँछ्यौ नि भनेर साउतीमा जिस्क्याएँ… !

कृष्णजी अलिक छटपटाउनुभयो— “जाऊँ छिटो ! उता बस पाइन्छ, कि ट्याक्सी… ?”

“भो बा सकिन्न ट्याक्सी, बसमै जाऊँ ।” हत्तपत्त श्रीमती नै बोलिन् । श्रीमतीलाई मेरो उदार बानी थाहा थियो र मलाई श्रीमतीको बन्धन आवश्यक रहेको— बोध थियो ।

चुपचाप हामी हिँड्यौँ ।

नजिकै बस लागिरहेको थियो— “खरीखोला–खरीखोला…!” खलासी चिच्च्याइरहेको थियो ।

“होइन यसमा त कसरी सकिन्छ ?” बसतर्फ हेर्दै मै बोलेँ । मान्छे भरिइसकेका थिए । उभिनेहरू पनि लगभग भरिइसकेका !

“यहाँ यस्तै हो जाऊँजाऊँ !” कृष्णजीले फेरि हडबडी लगाउनुभयो । हामी ठेलमठेलमा चढ्यौँ । खलासीले “अलि भित्र, अलि भित्र” भन्दै हामीलाई भित्रभित्र कोच्ने प्रयत्न गर्दै गयो ।

“धेरै भित्र नजाऊँ है, हामी त भोटेपुल भएठाउँ ओर्लिने… !”

तर कृष्णजीको कुरो सुन्ने कसले । श्रीमती कहाँ पछाडि पुगिन् । कृष्णजीले अँठ्याएर समाएको ढोकानेरको रेलिङ छाडेनन् । म पनि हुत्तिएर पछिल्तिर पुगेँ ।

निकै हम्मे प¥यो बस छुट्नलाई । मानौँ एक जनासम्म पनि मान्छे अटिने ठाउँ भएसम्म चढाएरै लैजाने दाउ खलासीको छ, ड्राइभरको छ, कन्डक्टरको छ । आखिर तिल राख्ने ठाउँ नहुने देखेपछि बल्ल खलासीले सिटी फुक्यो— सुइâय !

ड्राइभरले सिग्नल पाएपछि गाडी अघि बढायो— घ्यार्र, घ्यार्र… !

बल्लतल्ल हिँडेको बस पनि अनेक ठाउँमा रोकिँदै अघि बढ्यो ।

भोटेपुल कटेपछि कृष्णजी कराउनुभयो— “रोक्के गुरुजी !”

“महेशजी ! कहाँ हुनुहुन्छ ?” फेरि कराउनुभयो ।

“भाउजू ! उत्रिनुस्— आइपुग्यो ।” हगुन्जेल कराउनुभयो फेरि ।

त्यति नगरे बल्लबल्ल रोकिएको गाडी फेरि स्वात्त अघि बढ्न के बेर !

हामी सबै हल्लीखल्ली गर्दै तल ओर्लियौँ । श्रीमती मीना ऐया र आत्थु गर्दै ओर्लिइन् ।

“ऐया ! यस्तो पनि हुन्छ— खरीखोला… ?” मैले मीनाको कुरा सुनेर पनि अन्ठाएँ । मुसुमुसु हाँसेँ— “मोरी ! काठमाडौँमा यस्तै त हुन्छ नि !” उडाएँ हाँसेर ।

“यस्तो मोरो काठमाडौँ !” उनी फतफताइन् ।

हतारे कृष्णजीको ओठमा पनि बल्ल मुस्कान खुल्यो । हामी पैदल एकातिर बढ्यौँ । कृष्णजी अगाडि हामी पछाडि । एक पटक सुनील पुरीसँग मनु ब्राजाकी दाइलाई भेट्न यसै ठाउँमा आएको सम्झिएँ ।

कृष्णजीले हामीलाई अभैm अगाडि— अझै अगाडि लिएर जाँदै गर्नुभयो ।

बाटाका दुवैतर्फ भव्यभव्य महलजस्ता ठूला भवनहरू ! ठूलोठूलो कम्पाउन्डका घरघरमा मोटर, कार… ! ससाना घरहरू टाढाटाढासम्म नास्ति… ! श्रीमतीका मनमा केके कुरा खेले कुन्नि ! मेरा मनमा भने धेरै प्रश्नहरूले पिङ खेलिरहे । सबै कर्मचारीहरूका यत्रा ठूला भवनहरू हुन् ? ठूला अग्ला पर्खाल र गेटबाट भित्र छिरेर मैले कुन अर्को जागिरेको सुखदुःख बुभुmँला वा ती पर्खालबाट बाहिरिएर मैले बनाउन सकेको मामुली घरमा कुन यी ठूला छिमेकी आइदिएर मेरो सुखमा सामेल होलान्, अनि दुःखमा रोइदेलान् ?

मनु दाइ ! तपाईं खरीखोलामा डेरा गरेर के अझै बसिरहनुभएको छ— बस्न सकिरहनुभएको छ ?
के मेरो कथा लेख्ने बाटो पर्खिरहनुभएको छ ?

अचानक टाढा पुगेर हेर्छु— श्रीमती त धेरै पर छुटेकी छिन् । आउँदै पनि होइन उनी त थ्याच्च छेउमा बसेकी पो छिन् ।

कृष्णजी पनि धेरै अघि बढिसक्नुभएको छ । म जहाँको त्यहीँ अडिन्छु । कृष्णजीले कुनै चालचुल थाहा नपाएर होला पछाडि फर्केर हेर्नुभयो । मैले हातको इसाराले फिर्ता आउन सङ्केत गरेँ । कृष्णजी आइपुग्नुभयो । दुवैले पछाडि फर्केर हे¥यौँ— श्रीमतीजी हातको इसाराले हामी दुवैलाई फर्किन भन्दै थिइन् ।

हामी एकअर्काको मुखमा हेर्दै फर्कियौँ । उनीनेर पुग्यौँ ।

“लु भयो ! यस ठाउँमा घडेरी नकिन्ने !” केही भन्नुअघि नै उनी बिच्किइन् ।

कृष्णजी केही बोल्नुभएन ।

“हामीसित मोटर छ ? ठूलो बिल्डिङ बनाउने हैसियत छ ? म रातदिन आज आएजसरी बसमा कोचिएर आउन सक्छु ? मेरा केटाकेटी कोचिन सक्छन् ? भो हामीलाई सुकिलो आवासक्षेत्र चाहिँदैन…!” धाराप्रवाह एकै सासमा धेरै कुरा बोलिसिद्ध्याइन् उनले ।

“ए ! म त महेशजीले राम्रो ठाउँ खोजिदिन भनेकाले… ।” कृष्णजी खिस्स हाँसेर बोल्नुभयो ।

“तपाईंं कहाँ बस्नुहुन्छ ?” उनको प्रश्न कृष्णजीलाई ओइरियो ।

“म त उतै भक्तपुरको दुवाकोटमा… ।”

“अनि हामीलाई किन यता, उता जमिन पाइँदैन ?”

“त्यो… उता त गाउँ… ! अलिक गरिब टोल…!!”

“हामीलाई धनी देख्नुभा’छ ? तपाईंंको साथीलाई चिन्नुभएन ? उहाँले सञ्चयकोष कर्जा लिएर घर बनाउन खोज्नुभएको… !”

“ए म त… ! अधिकृत भएको साथी थुप्रै पैसा कमाको होला भनेर पो त… ।”

कृष्णजीले ठट्यौली पाराले मलाई हेर्नुभयो र फेरि बोल्नुभयो— “काजी ! तपाईंं पनि मजस्तै…!”

हामी गफ गर्दै धेरै तलसम्म आयौँ । सबै जनाले अघिजस्तो कोचिएर बस चढ्नुभन्दा हिँडेर नै तीनकुनेसम्म जाने विचार ग¥यौँ ।
बाटामा कृष्णजीले सुनाउनुभयो— “मलाई त पटक्कै यस ठाउँमा बस्न मन छैन । अब किनिहालियो, कता छोडेर जाऊँ ! जग्गा पनि बिक्दैन । बिकेदेखिन् त उतै बाबुबाजेकै थलोतिर फर्कन पाए हुन्थ्यो ।”

केटाकेटीको शिक्षा–दीक्षाका बारे कुरा गर्दा उहाँले भन्नुभयो— “यहाँ पनि पैसा राम्ररी खर्च गरेर पढाउन सके मात्र त हो नि ! पैसा छैन भने त के पढ्छन् नि— उस्तै हो जहाँ पनि… !”

म झसङ्ग भएँ— भएको दस कट्ठा गाउँको खेतीजग्गा बेचेर काठमाडौँमा घडेरी किन्ने ! सञ्चयकोष कर्जा लिएर घर बनाउने ! अनि केटाकेटीलाई काठमाडौँको महँगो शिक्षा कहाँबाट केले दिलाउने ?

धेरै दिन बसेनौँ हामी काठमाडौँ ! केटाकेटीलाई विराटनगरमा नै छाडेर आएका थियौँ । विचार थियो— बिस्तारै व्यवस्था भएपछि ल्याउने । तर हाकिमलाई मैले स्पष्ट भनिदिएँ— “मलाई काठमाडौँ मन परेन सर ! सरुवा पाऊँ । म विराटनगर जान्छु ।”

हाकिमले ट्वाल्ल परी मुखमा हेरे । अलिकति हाँसे । सबै काठमाडौँ ताक्छन् । काठमाडौँ सरुवा गरिदिन गाह्रो । काठमाडौँबाट बाहिर जान कोही चाहँदैनन् । भर्खरै सरुवा भएको भए पनि मेरो सरुवाका लागि हाकिमलाई कुनै गाह्रो भएन ।

हामी दुई जोईपोइ एक दिन नाइटबस चढेर विराटनगर हुइँकियौँ । श्रीमती अत्यन्त प्रसन्न थिइन्… !

मैले सोचेँ— आमाबाले दूर क्षितिजमा रहेर हामीलाई, हाम्रो परिवारलाई आफ्नो पुरानो थलोमा देख्न खोजिरहनुभएको छ । त्यही थलोमा जहाँ बाआमाका सपना अल्पायुमै तुहिएका थिए ।

बसमा श्रीमती उल्टी रोक्ने औषधी ‘एभोमिन’ खाएर आँखा चिम्लिरहेकी थिइन् ।

म पनि आँखा चिम्लिएर मनैमन खरीखोलालाई ‘टाटा’ गर्दै थिएँ—

भव्य भवनहरू— बिदा !

शालीन पर्खालहरू— बिदा !

4 पटक पढिएको

    
        Loading...     
    

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

  • आक्रोश

    आक्रोश

    सेतु वि.क. चोकबाट वीरेन्द्र चोक आउँदा मोडमा रोकिएर धनेले होसियारीपूर्वक चारैतिर हे¥यो र जुलुस, भीड नदेखेपछि रि..

  • दुई कविता

    दुई कविता

    अब त घरमुलीहरुलाई अरिङ्गाल यति प्यारो लाग्न थाल्यो धुरीमै पाल्न थालेका छन् तिनीहरुका सम्मानमा अगरबत्ती बाल्..

  • यिनी प्राज्ञ हुन् कि काँग्रेसको प्रचारक ?

    यिनी प्राज्ञ हुन् कि काँग्रेसको प्रचारक ?

    एकेडेमीको कुलपति गंगाप्रसाद उप्रेतीले भने प्राज्ञ परिषद्मा रहेकाहरु कुनै राजनीतिक दलको प्रचार कमिटीमा बस्न नमि..

  • जित्ने कृष्णचन्द्र

    जित्ने कृष्णचन्द्र

    चौध वर्ष साझा प्रकाशनको महाप्रबन्धक भएको कुरा, केदारमान व्यथितले तपाईंलाई दुईदुई पटक प्रज्ञा प्रतिष्ठानको सदस्..

        
            Loading...     
        

    अन्तरवार्ता

    समाचार