Presidential

भारतसँगको सम्बन्ध विशिष्टः सभामुख घर्ती


भारतसँगको सम्बन्ध विशिष्टः सभामुख घर्ती

२ पुस । सभामुख ओनसरी घर्तीले नेपाल भारत सम्बन्ध विशिष्ट रहेको बताएकी छन् । बीपी कोइराला भारत-नेपाल फाउन्डेसनको रजत जयन्ती कार्यक्रमलाई सम्बोधन गर्दै सभामुख घर्तीले भनिन्, ‘हालै भारतका राष्टपति प्रणव मुखर्जीको नेपाल भ्रमण र नेपालका प्रधानमन्त्री पुष्पमकल दाहालको भारत भ्रमणले त्यसलाई अझ मजबुत बनाएको छ ।’

सभामुख घर्तीले दुई देशबीचको सम्बन्ध जति मजबुत हुन्छ, दुबै देशका सरकार र जनतालाई त्यति फाइदा हुने चर्चा गर्दै त्यस दिशामा काम भइरहेको उल्लेख गरिन् ।

कार्यक्रममा नेपालका लागि भारतीय राजदूत रणजीत रायले नेपालीमा भाषण गर्दै दुई देशका सरकारका बीचमा मात्र नभएर जनताका बीचमा समेत इतिहासदेखि नै घनिष्ट सम्बन्ध रहँदै आएको चर्चा गर्दै त्यसको उपजका रुपमा वीपी कोइरालाका नाममा प्रतिष्ठान खडा भएको बताए । उनले भने, ‘दुई देशबीचको सम्बन्ध हार्दिक र ऐतिहासिक छ ।’

कार्यक्रममा सभामुख घर्ती र राजदूत रायले एकअर्काको प्रशंसा गरेका थिए । रायले सभामुख घर्तीलाई ‘एसियाकै महिलाकी प्रेरणा’ भनेका थिए भने घर्तीले रायले ‘राम्रो काम गरिरहेको’ भन्दै प्रशंसा गरेकी थिइन् ।

सन् १९९१ मा तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइराला भारत भ्रमणमा जाँदा दुई मुलुकका प्रधानमन्त्रीबीच सम्पन्न सम्झौता अनुसार वीपी कोइराला भारत-नेपाल फाउन्डेसन गठन भएको थियो । नेपालमा भारतीय राजदूत र भारतमा नेपाली राजदूत उक्त फाउन्डेसनको अध्यक्ष हुने प्रावधान छ ।

फाउन्डेसनले साहित्य, कला, संगीत, खेलकुद, सीप विकास, प्रकाशन आदि क्षेत्रमा काम गर्दै आएको उक्त अवसरमा जानकारी दिइयो । नेपालमा भएका गतिविधिका बारेमा नेपालस्थित फाउन्डेसनकी सचिव रुबी शर्मा र भारतमा भएका गतिविधिबारे त्यहाँस्थित सचिव सिर्जना अधिकारीले जानकारी गराएकी थिइन् ।

कार्यक्रममा विभिन्न कलाकारहरुका समूहहरुले सांस्कृतिक कार्यक्रम प्रदर्शन गरेका थिए ।

    
        Loading...

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

    
        Loading...     
    

अन्तरवार्ता

समाचार