Presidential

हो अम्बर दाइ, तिमी दूर भएर धेरै भो !

यतिबेला नेपाली सांगीतिक आकाश रित्तो र सून्य हुन पुगेको छ । नेपाली संगीत जगत्का धरोहर अम्बर गुरुङले आफ्नो भौतिक अस्तित्व बिसाएसँगै देशले नेपाली संगीतलाई नयाँ उचाइँ, आयाम र ऊर्जा प्रदान गर्ने एक होनहार प्रतिभा गुमाएको छ । लाग्छ, कालजयी संगीतको एउटा युगको अन्त्य त भएकै छ, गितार र किबोर्डहरुले पनि एउटा असल, प्रतिभासम्पन्न र सार्थक तपस्वी गुमाएका छन् । लाग्छ, एउटा सुमधुर आलापको अन्त्य भएको छ ।

आजको दिन नेपाली संगीत क्षेत्रको दुःखद् दिनको रुपमा अंकित हुनेछ । लामो समयसम्म थलिएका गुरुङको आज बिहान देहावसान भएपछि नेपाली संगीत जगत्ले रिक्तता महसुस गरेको त छ नै, राष्ट्रिय गान सयौं थुँगा फूलका हामी एउटै माला नेपालीका संगीत–सर्जकको दुःखद् अवशानले हरेक नेपालीको मनमस्तिष्कलाई समेत छोइहरेको छ । सयौं थुँगामध्येका एउटा भर्भराउँदो, प्रतिभाशाली र नेपालीहरुको हृदयमा आत्मीय सुगन्ध फैलाउने एउटा थुँगा झरेको छ ।

बीसको दशकमा दार्जिलिङ, सिक्किम र कालिम्पोङतिरका नेपालीभाषी प्रतिभाहरु काठमाडौं आउने लहर नै चलेको थियो । त्यही बेला पारिजात, हरिभक्त कटुवालजस्ता साहित्यिक प्रतिभाहरुले काठमाडौं रोजेका थिए भने अम्बर गुरुङ, गोपाल योञ्जनजस्ता दार्जिलिङको आँगनमा जमिरहेका संगीत–सर्जकहरुको मन पनि यतै तानिएको थियो । खासगरी, साहित्य र संगीतप्रति मोहित तत्कालीन राजा महेन्द्रले पूर्वोत्तर भारतमा रहेका नेपालीभाषी प्रतिभाहरुलाई नेपालमा आएर आफ्नो प्रतिभा विकास गर्न प्रेरित गरेपछि गुरुङजस्ता प्रतिभाले नेपाललाई नै कर्मभूमि बनाउन चाहेका थिए ।

तत्कालीन समयमा पूर्व–पश्चिम राजमार्ग बनिसकेको थिएन । त्यसैले दार्जिलिङ, सिक्किम, असमलगायत पूर्वोत्तर भारतबाट नेपाल भित्रिनेहरुले भारतीय भूमिहुँदै वीरगञ्जबाट प्रवेश गर्नुपथ्र्यो । राजा महेन्द्रको सद्भाव र स्नेह बटुल्दै नेपाल आएका गुरुङले वीरगञ्ज नाकामा भन्सारका हाकिमले आफू सँगै ल्याएको हारमोनियममा भन्सार लाग्ने बताएको क्षणलाई आफ्नो संस्मरणात्मक पुस्तक ‘ती नबिर्सने दिनहरु’मा मीठो ढंगले उल्लेख गरेका छन् । भन्सारका हाकिमले उनको हारमोनियमतिर संकेत गर्दै भनेछन्, ‘यसको त भन्सार तिर्नुपर्छ ।’ गुरुङले सोधेछन्, ‘यो मैले व्यक्तिगत प्रयोजनका लागि दार्जिलिङबाट लिएर आएको हुँ, बेच्नका लागि बोकेको होइन । कसरी भन्सार लाग्छ र ?’

ती हाकिमले भन्सार लाग्ने अडान लिएपछि हाकिमसामु उनने आफू संगीतकार अम्बर गुरुङ भएको परिचय दिएछन् । त्यतिबेला रेडियो खर्साङबाट गुरुङका गीतहरु प्रशस्तै बज्ने गर्दथे र उनी लोकप्रियताको चुलीमा थिए । ती हाकिमले पनि गुरुङका गीतहरु सुन्ने गरेका रहेछन् । उनी तत्कालै गुरुङप्रति नतमस्तक भएछन् र हारमोनियम नेपाल भित्र्याउन छुट मात्र दिएनछन्, निकै मानमनितो समेत गरेछन् ।

गुरुङ राष्ट्रिय गानका संगीत–सर्जक भएपछि मात्रै नेपाली संगीतको धरोहरका रुपमा स्थापित भएका होइनन् । तीसको दशकमै उनले प्रसिद्धिको शिखर चुमिसकेका थिए । त्यतिबेला उनले सिर्जना गरेको नौलाख तारा उदाएजस्ता गीत ‘सुपरडुपर’ नै हुन पुगेको थियो । उनको सांगीतिक प्रतिभालाई चिनेर नै प्रख्यात निबन्धकार शंकर लामिछानेले सुन्दर र कलात्मक शैलीमा गुरुङको व्यक्तिवृत्त लेखेका थिए । अहिले पनि उनीबारे तीसको दशकतिरै लामिछानेले लेखेका व्यक्तिवृत्त नेपाली साहित्यमा उत्तिकै पठनीय रचनाका रुपमा अंकित छ ।

आखिर अम्बर गुरुङद्वारा सिर्जित गीत–संगीत किन गम्भीर, कालजयी र सदावहार हुन पुगे ? यसको एउटा मात्रै उत्तर छ– संगीतप्रति उनको तीव्र लगाव, मोह र समर्पण भाव । उनले जति पनि गीतमा संगीत भरे, सबै नै गहिरो अर्थबोध र शब्दसामथ्र्यले भरिपूर्ण रहे । चाहे उकाली चढ्दा पसिना पुछ्ने तिमी नै नभए अरु को होला जस्ता मायाप्रेमको गहिरो भाव झल्काउने गीत नै किन नहोऊन्, कहिले लहर कहिले तरंग जस्ता हरेकको मनमस्तिष्कमा अटाउन सक्ने गीत नै किन नहोस् । गुरुङले सदैव संख्यालाई भन्दा गुणवत्तालाई जोड दिए, संगीतलाई मनोरञ्जनका हल्काफुल्का विषय नभएर एउटा गहन र सार्थक सिर्जनाको रुपमा जीवनभरि ग्रहण गरिरहे । उनको यही विशेषताले नै उनलाई नेपाली संगीत आकाशको एउटा उज्यालो, प्रखर र शक्तिशाली नक्षत्रको रुपमा स्थापित तुल्यायो ।

कुनै बेला, गुरुङले गाएका थिए– ‘म दूर भएर के भो ?’ हो, तिमी दूर भएर धेरै भएको छ, संगीत आकाशको त्यो रिक्तता सम्भवतः कहिल्यै पूर्ति हुने छैन ।

7 पटक पढिएको

    
        Loading...     
    

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

        
            Loading...     
        

    अन्तरवार्ता

    समाचार