Presidential

राष्ट्रपति डेनियल ओर्टेगाले तेस्रो पटक जित्नुको रहस्य

राष्ट्रपति डेनियल ओर्टेगाले तेस्रो पटक जित्नुको रहस्य

वामपन्थी–बुद्धिजीवि एजाज अहमदले ल्याटिन अमेरिकी मुलुकहरुमा सन् १९७० को दशकयता वामपन्थी शक्तिहरु एकपछि अर्को गर्दै निर्वाचनको प्रक्रियाद्वारा सत्तासिन हुन थालेपछि टिप्पणी गर्दै लेखेका थिए, ‘संसारभरि घटिरहेका अनेक घटनाक्रमभन्दा ठीक विपरीत ल्याटिन अमेरिका संसारकै सर्वाधिक साहसिक परिवर्तनकामी आन्दोलनको क्रिडास्थलको रुपमा देदिप्यमान छ, जहाँ मृदुल वामपन्थी झुकाव भएका सामाजिक जनवादी सरकारहरु बनिरहेका छन् ।’

ल्याटिन अमेरिकाको एउटा सुन्दर देश निकारागुवामा केही समयपूर्व डेनियल ओर्टेगा तेस्रो पटक राष्ट्रपतिमा निर्वाचित भएपछि वाम बुद्धिजीवि अहमदको विश्लेषणले झनै सार्थकता पाएको छ । ल्याटिन अमेरिका एउटा त्यस्तो महादेशको रुपमा विश्वमा परिचित छ, जहाँ सन् १९७० को दशकदेखि वामपन्थीहरु सत्तामा आउने क्रम जारी छ । चाहे भेनेजुयला होस् वा बोलिभिया, चिली होस् वा अर्जेन्टिना, ब्राजिल होस् वा इक्वेडर वामपन्थी शक्तिको लहरले सबै मुलुकहरुलाई ढाकेको छ । क्युवाको त कुरै नगरौं, जहाँ साठीको दशकदेखि नै वामपन्थी शक्ति सरकारमा छ ।

निकारागुवा र सान्दिनिस्ता क्रान्ति एकअर्काको पर्याय बनिसकेको छ । निकारागुवामा कम्युनिष्टहरुले लामो समय क्रान्ति गरेपछि सन् १९७९ मा सफलता पाए । र, अमेरिकाको सहयोग र सद्भावमा टिकिरहेको सोमोजातन्त्रलाई परास्त गरे । सोमोजा सरकारलाई नित्य ४५ वर्षसम्म टिकाउन अमेरिकाकै भूमिका रहेको थियो । त्यसो त, निकारागुवामा अमेरिकाको हस्तक्षेपको लामो इतिहास छ । सन् १९१२ अघि पटकपटक आक्रमण र हस्तक्षेपको सिकार बनाइएको निकारागुवालाई अमेरिकाले त्यसपछि त १ लाख २० हजार २ सय ५४ वर्ग किलोमिटर क्षेत्रफलमा फैलिएको त्यो देशमा सैन्य अखडा नै खडा गर्न पुग्यो । आफ्नो हातबाट निकारागुवा नफुत्कियोस् भनेर अमेरिकाले सन् १९२८ मा अमेरिकी राजदूत हेनरी स्टिम्सनलाई त्यो देशको निर्वाचन आयोगको अध्यक्षमा नियुक्त गरेर चुनावको नाटकसमेत रच्यो । चुनावी नाटकपछि अमेरिकाकै पहलमा सन् १०३४ मा अनास्तिासियो सोमोजा गार्सियालाई सत्तासिन तुल्याइयो र उनीहरुकै सन्तान–दरसन्तानमा सत्ताको अधिकार निहित रहने गरी शासन चलाउन दिइयो ।

सोमोजाले सहज रुपमै सत्ताको बागडोर सम्हाल्न भने पाएका होइनन् । उनले अमेरिकाको आडमा सत्ता हत्याएका थिए । तर, तत्कालीन अमेरिकी राष्ट्रपति फ्रेंकलिन रुजवेल्टले उनको सत्तालाई मान्यता दिए । अमेरिकाको दह्रो समर्थन र सहयोग प्राप्त हुँदै गएपछि सोमोजाको सत्ताले दीघायू प्राप्त गर्दै गयो र यो क्रम सान्दिनिस्ताहरुले क्रान्ति गरेर सत्ता आफ्नो हातमा नलिएसम्म चलिरह्यो ।

क्युवाको पनि सहयोग

निकारागुवामा सान्दिनिस्ता क्रान्तिको उदय हुनुको पछाडि मूलतः क्युवाली क्रान्त्रिको सफलता र प्रेरणाले अथक भूमिका खेलेको छ । हुन त, क्युवामा क्रान्ति सम्पन्न हुनुअघि नै सान्दिनिस्ताहरुले सोमोजातन्त्र विरुद्ध आफूलाई उभ्याइसकेका थिए, तर अमेरिकाको आडमा टिकिरहेको सोमोजाको निरंकुश सत्तालाई जरैदेखि उखेलेर फ्याँक्ने प्रेरणा भने क्युवालीहरुकै सफल क्रान्तिको नतिजा थियो ।

केही दिनपूर्व मात्रै दिवंगत भएका क्युवाली क्रान्तिका नायक एवं पूर्वराष्ट्रपति फिडेल क्यास्ट्रोले पनि सो कुरा उल्लेख गरेका छन् । सन् १९९८ को मार्च १९ मा अमेरिकी समाचार संस्था सीएनएन र बीबीसीलाई संयुक्त रुपमा दिएको अन्तर्वार्तामा उनले भनेका थिए, ‘क्युवाली क्रान्तिको निकारागुवामाथि जबरजस्ती रुपमा प्रभाव प¥यो । १९७० को दशकमा त्यहाँ संयुक्त राज्य अमेरिकाको हस्तक्षेप भएको थियो । त्यहाँ सान्डिनोको समय थियो । उसले आफूसँग एउटा पूरै वंश छाडेर गएको थियो, जुन सोमोजाको वंश थियो । जब निकारागुवामा अत्यधिक रुपमा गरिबी बढ्यो, तब सत्तामा बाबुको स्थान छोराले लिए । क्युवाली क्रान्तिको विजयले निकारागुवाका युवा वर्गमा जबरजस्ती रुपमा प्रभाव पा¥यो र सान्दिनिस्ता आन्दोलनको सुरुवात भयो ।’

सान्दिनिस्ता आन्दोलनलाई क्युवाको पनि सहयोग रहेको थियो । क्यास्ट्रोले सो कुरा स्वीकार्दै भनेका छन्, ‘सान्दिनिस्ता आन्दोलनलाई हामीले कयौं वर्षसम्म सहायता, सहयोग र समर्थन ग¥यौं । हामीले नै सान्दिनिस्ताका बीच एकताका लागि प्रोत्साहित गरेका थियौँ, किनकि उनीहरु विभाजित थिए ।’ क्यास्ट्रोले विभिन्न क्रान्तिकारी शक्तिहरुलाई एकताबद्ध गर्ने हेतुले सहयोग गरेको पनि खुलासा गरेका छन्, ‘विशेष गरी, निकारागुवाको सवालमा, जति सम्भव थियो, त्यति नै हतियार हामीले दियौँ । यो सबै कथा हो । तर, हामीले उनीहरुलाई पूरा समर्थन ग¥यौं । जब उनीहरु सरकारमा आए, तब जति सम्भाव्य थियो, त्यति नै धेरै समर्थन दियौं ।’

ओर्टेगा यसरी सत्तामा आए

सन् २०१६ मा सम्पन्न निकारागुवाको राष्ट्रपतिको निर्वाचनमा विजयी भएर तेस्रो पटक ओर्गेटाले सत्ता सम्हालेका हुन् । यसअघिको निर्वाचनमा पराजित भए पनि पछिल्लो समय भने जनताको अपार समर्थन पाएर ७१ वर्षिय ओर्टेगा फेरि सत्ता सम्हाल्न पुगेका हुन् । निकारागुवाका सीमान्त तहका गरिब, आदिवासी र श्रमजीवि जनताको व्यापक समर्थन पाएर उनले राष्ट्रपतिमा निर्वाचित हुने मौका पाएका हुन् । यसअघि उनी सत्तामा हुँदा तिनै समुदाय र वर्गका हितका निम्ति सामाजिक कार्यक्रमहरु सञ्चालन गरेका थिए ।

त्यसो त, ल्याटिन अमेरिकी मुलुकहरुमा वामपन्थी शक्तिहरु कहिले सत्तामा आउने र कहिले अमेरिकाको समर्थनमा उभिने प्रतिगामी शक्तिले केही अवधिका लागि सत्ता आफ्नो हातमा लिने क्रम सन् ७० को दशकदेखि नै चलेको हो । सन् १९७९ मा निकारागुवामा सान्दिनिस्ता विद्रोहले सफलता पाएपछि सन् १९८४ मा भएको राष्ट्रपति निर्वाचनमा ओर्टेगा निर्वाचित भएका थिए । तर, सन् १९९० मा भने उनले सफलता हात पार्न सकेनन् । तत्कालीन समयमा विश्व कम्युनिष्ट आन्दोलन रक्षात्मक अवस्थामा थियो । सोभियत संघको विघटनपछि विश्वमा उठिरहेको कम्युनिष्ट आन्दोलनलाई केही मात्रामा धक्का लाग्न पुगेको थियो । विश्व कम्युनिष्ट आन्दोलनले असफलताका क्षणहरुसँग जुधिरहेको त्यही समय ओर्टेगाले पराजय बेहोर्नुप¥यो । पराजित भए पनि निकारागुवाका श्रमजीवि जनताका बीच आफ्नो पार्टीको प्रभावलाई निरन्तर रुपमा कायम राख्ने कार्यमा भने उनी चुकेनन् ।

सन् १९९६ मा सम्पन्न निर्वाचनमा असफल भए पनि सन् २००६ मा सम्पन्न राष्ट्रपति निर्वाचनमा भने उनी पुनः विजयी भए । निकारागुवाका जनताका बीच लोकप्रिय ओर्टेगा सान्दिनिस्ता नेशनल लिवरेसन फ्रन्टमा सानै उमेरदेखि नै जोडिएर आन्दोलनमा सहभागी भएका थिए । सोमोजाको शासनतन्त्र विरुद्ध निकारागुवामा चलेको आन्दोलनमा सहभागी भएका उनी १५ वर्षका छँदा नै गिरफ्तार भएका थिए । आफू गिरफ्तार भएर छुटेपछि नै उनले सान्दिनिस्तामा सहभागी भएका थिए ।

सानैदेखि विद्रोही स्वभावका ओर्टेगाले आफूलाई क्रान्तिमा होम्नुअघि क्युवामा गई गुरिल्ला तालिम पनि लिएका थिए । गुरिल्ला तालिम प्राप्त गरेपछि उनी निकारागुवा फर्किएर सोमोजा शासन विरुद्ध उत्रिएका थिए । क्युवाली क्रान्तिको सफलतापछि पूरै ल्याटिन अमेरिकी देशहरुमा क्रान्तिको लहर नै छाएको थियो । क्युवाली क्रान्तिका नायकहरु क्यास्ट्रो र चे ग्वेभारालाई आदर्श–क्रान्तिकारीको रुपमा लिँदै ल्याटिन अमेरिकी मुलुकका युवाहरुले आ–आफ्नो देशलाई निरंकुश शासकहरुको पञ्जाबाट बाहिर ल्याउन क्रान्ति गरेका थिए । ल्याटिन अमेरिकी मुलुकहरुमा क्रान्तिको लहर यति धेरै झ्यांगिएको थियो कि, अमेरिकी शासकले आफ्ना सैनिकहरु पठाएर दबाउन खोज्दा पनि सफल हुन सकेनन् ।

तिनै क्रान्तिको पृष्ठभूमिबीच सत्तामा आएका निकारागुवाका राष्ट्रपति ओर्टेगा तेस्रो पटक सत्तामा पुगेपछि ल्याटिन अमेरिकी मुलुकहरुमा सन् ७० को दशकमा वामपन्थीहरुलाई स्थानीय जनताले जति रुचाउँथे, त्यो क्रम अझै जारी रहेको र वामपन्थी शक्ति अझै लोकप्रिय रहेको सन्देश सिंगो विश्वलाई दिएको छ ।
–विवश वस्ती

4 पटक पढिएको

    
        Loading...     
    

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

        
            Loading...     
        

    अन्तरवार्ता

    समाचार